text
stringlengths
146
47.7k
अल्बर्ट आइन्स्टाइन र रवीन्द्रनाथ टैगोर बीचकाे बहस (पहिलो पटक नेपालीमा): ‘ अन द नेचर अफ रियालिटी’को बहस भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोरले सन् १९१३ मा गीताञ्जली गीतिकाव्यमार्फत नोबेल साहित्य पुरस्कार पाएका थिए । उनी सो पुरस्कार प्राप्त गर्ने प्रथम भारतीय लेखक बन्न पुगे । त्यसपछि युरोपमा उनको लोकप्रियता ह्वात्तै बढ्यो । धेरै युरोपेलीहरू उनीसँग भेट्न चाहन्थे, संवाद गर्न चाहन्थे । उता अल्बर्ट आइन्स्टाइन पनि सामान्य सापेक्षताको सिद्धान्त र सापेक्षताको सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिकका रूपमा त्यो बेला निकै चर्चित थिए । उनले फोटोइलेक्ट्रिक इफेक्टको सिद्धान्त प्रतिपादन गरेको भन्दै सन् १९२१ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए। त्यस बेलाका नाेबेल पुरस्कार प्राप्त गर्ने अति चर्चित यी दुई हस्तीको भेट हुन पुग्यो । सन् १९३० को जुलाई १४ मा टैगोरले आइन्स्टाइनको निमन्त्रणामा उनको घर क्यापुथ (जर्मनी) मा भ्रमण गरेका थिए । त्यहीँ यी दुई महान् व्यक्तिबीच भएको संवाद त्यस बेला कसैले रेकर्ड गरेर राखेको थियो, जसलाई सन् १९३१ को जनवरीमा मोडर्न रिभ्यु पत्रिकामा प्रकाशन गरिएको थियो। सोही सम्वाद ती महान् दुई हस्तीको सम्झनामाः टैगोर: हजुर गणितको दुई प्राचीन अस्तित्व: समय र असीमित ठाउँ (टाइम एण्ड स्पेस)मा लीन भइरहनु भयो जबकि म चाहिँ यो देशमा मानिसको अनन्त संसार, ब्रह्माण्डको सत्यको बारेमा प्रवचन गरिरहेको छु। आइन्स्टाइन: के तपाईं संसारभन्दा पृथक् पवित्रतामा विश्वास गर्नु हुन्छ? टैगोर: पृथकतामा होइन। मानिसको असीमित व्यक्तित्वले ब्रह्माण्डको बयान गर्दछ। मानव व्यक्तित्वको बदलामा संसारमा केही कुरा पनि हुन सक्दैन र यसले यो प्रमाणित गर्दछ कि मानव सत्यता नै ब्रह्माण्डको सत्य हो। आइन्स्टाइन: ब्रह्मण्डको रचनाको बरेमा दुई फरक अवधारणाहरु विद्यमान छन्—मानवतामा निर्भर संसारको एक स्वरुप र मानव तत्त्वबाट स्वतन्त्र संसारको वास्तविकता। टैगोर: हामीलाई थाहा छ, यो हाम्रो संसारको मानिस—अनन्त—सँगको मेल नै सत्य हो। हामीले यसको सुन्दरता तब मात्र महसुस गर्न सक्छौँ। आइन्स्टाइन: त्यो ब्रह्माण्डको बारेमा शुद्ध मानव अवधारणा मात्रै हो। टैगोर: यो संसार मानवको संसार हो—संसारको वैज्ञानिक धारणा पनि मानवकै धारणा हो। त्यसैले हामी भन्दा बाहेकको संसारको अस्तित्व छैन; यो संसार सापेक्ष छ। यसको सत्य मानिसको चैतन्यमा निर्भर छ। तर्क र प्रसन्नताले केही हदसम्म सत्य दर्शाउँछ। अनन्त मानव जातिको अनुभवको स्तर हाम्रो अनुभवहरुले सम्भव छ। आइन्स्टाइन: संसारको सत्यमा मानव अस्तित्वको पनि अवस्था बुझिन्छ। टैगोर: हो, मानव एक अनन्त अस्तित्व हो। हामीले यसलाई हाम्रो भावना र क्रियाकलापमार्फत बुझ्न पर्दछ। हामीले हाम्रो कमी कमजोरीबाट परमात्मा जसको कुनै वैयक्तिक कमीकमजोरी छैन, उसलाई बुझ्नु पर्दछ। विज्ञानले व्यक्तिभन्दा बाहिर सम्बन्ध राख्दछ। यो अवैयक्तिक मानव संसारको सत्य हो। धर्मले यिनै सत्यहरुको स्थिति बुझाउने चेष्टा गर्दछ र त्यसलाई हाम्रो परम आवश्यकतासँग जोड्दछ। हाम्रो वैयक्तिक सत्यको चेतनाले सर्वमान्य महत्त्व प्राप्त गर्दछ। धर्मले सत्यलाई महत्त्व दिन्छ। संसारसँगको मेलले हामीलाई थाहा छ कि सत्य सुन्दर छ। आइन्स्टाइन: के त्यसो हो भने सत्य अथवा सौन्दर्य मानिसबाट स्वतन्त्र छैन त? टैगोर: हैन, मैले त्यसो भन्न खोजेको होइन। आइन्स्टाइन: संसारमा मानिसहरु हुदैनन् थिए भने के एपोलो बेलभेडर सुन्दर हुने थिएन? टैगोर: अहँ। आइन्स्टाइन: म यो सौन्दर्यको अवधारणासँग सहमत छु तर सत्यको अवधारणासँग छैन। टैगोर: किन हुनुहुन्न? मानिसहरुमार्फत नै त सत्य बुझिन्छ। आइन्स्टाइन: म मेरो अवधारणालाई सही साबित गर्न सक्दिनँ तर मेरो त्यही अवधारणा नै मेरो धर्म हो। टैगोर: सौन्दर्य नै मानिस र संसारको पूर्ण मेलको नमुना हो, जुन सर्वमान्य छ।सत्य सर्वमान्य बुद्धिको पूर्ण बोध हो। हामी व्यक्तिहरु यसलाई आफ्नो गल्ती र महाभुलद्वारा बुझ्दछौ। हाम्रो समग्र अनुभव, भ्रामिक चेतनाद्वारा बुझ्दछौ। नत्र कुन अरु तरिकाबाट हामीले सत्य बुझ्न सक्छौ र? आइन्स्टाइन: म मेरो कुराहरु प्रमाणित गर्न सक्दिनँ तर म पाइथागोरियन तर्कमा विश्वास राख्दछु जसले यो भन्दछ: सत्य मानवजातीसँग अनिर्भर छ। यो समस्या अविरल तर्कशास्त्रको हो। टैगोर: सर्वमान्य अस्तित्वको एउटै सत्य आवश्यक रुपमा मानिस हुन पर्छ। नत्र हो भने जेसुकै पनि हामी व्यक्तिहरु विश्वास गर्छौ त्यसलाई कदापि सत्य भन्न मिल्दैन। कम्तीमा, सत्य जुन वैज्ञानिक भनी वर्णन गरिन्छ, जसलाई तर्कशास्त्रको विचार विज्ञान (अर्को शब्दमा, जसलाई विचारको अङ्ग जुन मानिस हो) ले भेट्टाउन सक्छ। भारतीय दर्शन अनुसार ब्रह्म मात्र एउटा पूर्ण सत्य हो, जसलाई एउटा मात्र पृथक् बुद्धिले मनन गर्न सक्दैन वा शब्दमा बयान गर्न सकिदैन तर असंख्य व्यक्तिहरुको बुद्धि गाभेर वास्तविकता पहिचान गर्न सकिन्छ। तर त्यस्तो सत्यले विज्ञानसँग सम्बन्ध राख्दैन।जुन सत्यको हामी बहस गरिरहेको छौँ, त्यो एउटा ज्ञात हो। भन्नुपर्दा त्यो सत्य हाम्रो मानव बुद्धिमा ज्ञात छ, त्यसैले त्यो मानविय हो र त्यसलाई माया अथवा भ्रम पनि भनिन्छ। आइन्स्टाइन: यो भ्रम केवल एउटा व्यक्तिको नभएर पुरा प्रजातिको हो। टैगोर: त्यो सत्य पनि एकता वा मानवतामै पर्दछ। त्यसकारण सम्पूर्ण मानव बुद्धिले मात्र सत्य पहिचान गर्छ। भारतीय र यूरोपेली बुद्धि एउटै वास्तविकतामा मेल खान्छ। आइन्स्टाइन: प्रजाति शब्द जर्मन भाषामा पुरै मानव जातिलाई दर्शाउन प्रयोग गरिन्छ। वास्तवमा यसले ढेडु, बाँदर र भ्यागुतोको प्रजातिलाई पनि दर्शाउँछ। सत्य हाम्रो चेतनासँग अनिर्भर वा स्वतन्त्र छ कि छैन भन्ने एउटा समस्या हो। टैगोर: जे कुरालाई हामी सत्य भनिरहेका छौँ, त्यो वास्तविताको आत्मपरक वा विषयगत र वस्तुगत पक्षको बुद्धि विवेकको मेल हो जुन परमवयैक्तिक मानिसको हुन्छ। आइन्स्टाइन: हामीले हाम्रो बुद्धिले दैनिक जीवनमा थुप्रै कार्यहरु गर्छौ, जसको लागि हामी जिम्मेवार हुँदैनौ। हाम्रो बुद्धिले यो भन्दा बाहिरको र यसबाट स्वतन्त्र वास्तविकताको पहिचान गर्दछ। एउटा उदाहरण, यस घरमा कोही पनि नहुँदा पनि त्यो टेबल जहाँ छ, त्यहीँ रहन्छ। टैगोर: हो, यो वयैक्तिक बुद्धिको बाहिर रहन्छ तर सर्वमान्य बुद्धिको बाहिर होइन। त्\u200dयो टेबल हामीसँग भएको कुनै प्रकारको चेतनाको ज्ञात हो। आइन्स्टाइन: यदि त्यहाँ कोही पनि थिएनन् भने पनि त्यो टेबल त्यहीँ रहन्थ्यो तर त्यो कुरा तपाईंको विचारमा पहिले नै अनुचित छ किनभने हामी यसलाई यो के हो भनेर बयान नै गर्न सक्दैनौँ। हामीबाट स्वतन्त्र र अनिर्भर त्यो टेबल त्यही नै छ। सत्यको अस्तित्वमा हाम्रो प्रकृतिक नजरविन्दु मानवताबाट टाढा छ र यो बयान वा प्रमाणित गर्न सकिँदैन तर यो एउटा विश्वास कोही कसैमा पनि कमी छैन। यो विश्वास हाम्रो पूर्खाहरुमा पनि कमी थिएन। हामी सत्यलाई परमानवीय वस्तुगतको श्रेय दिन्छौँ। सत्य के हो भनेर हामीले बयान गर्न नसके पनि यो हाम्रो अस्तित्व, अनुभव, र बुद्धिसँग अनिर्भर वा स्वतन्त्र छ र यो हामीलाई नभई नहुने तत्त्व हो। टैगोर: कुनै अवस्थामा पनि यदि त्यहाँ कुनै मानवतासँग असम्बन्धित पूर्ण सत्य छ भने पनि त्यो हाम्रो लागि पूर्ण अस्तित्वविहीन छ। आइन्स्टाइन: त्यसो हो भने म तपाईंभन्दा धेरै धार्मिक छु। टैगोर: मेरो धर्म परमवयैक्तिक मानिस, सर्वमान्य आत्मा, लाई मेरो आफ्नो वयैक्तिक अस्तित्वसँग पुनर्मिलन गर्नु हो। #अल्बर्ट आइन्स्टाइन #रवीन्द्रनाथ टैगोर #सम्वाद #संवाद
झटारो: बढ्यो घरबन्दी अझ बढ्यो घट्यो धैर्य जनका झन् घट्यो हरायो उपाय अरु विकल्पको भएन व्यवस्था अझै क्वारिन्टीनको रोकिन्न लर्को हेर घर फिर्तीको पुगेन उपचार बेलैमा बरा तिनको अस्पतल भर्ना हुन भो कठीन कस्तो मरेपछि, शव उठ्न त झनै गाह्रो किन यस्तो दिन हामीले देख्न परेको ? ‘एक थुकी सुकी, हजार थुकी नदी’ खोई सबले सम्झेको काम हैन, मुखैमा गाली किन हो झुण्डेको ? एक एक सब जान्ने जो कोही विशेषज्ञ हुन थालेको थामी नसक्नु लर्को कति हो अर्ति उपदेशको नदेख्ने रहेछन् क्या तिनले आफ्नै धोती खुस्केको । आफ्नैलाई नलागी नखुल्दो रहेछ ढोका चेतको बेवास्ता गर्छौ अहिले भरे देखिन्छ ताईं मैहुँ भन्नेको खति रोकिन्न अझै दुःख देख्नु छ दुनियाँको लौ अब स्वीकारौं यथार्थ आजको हटाऔं सब डर मन भित्रको । यत्रतत्र देखिन्छ सबलाई हतारो ठाउँ कुठाउँ हान्नै पर्ने रे झटारो सके फैलाउ हात सहयोगको नसके रोक्ने होकी ट्याउँ ट्याउँ चोथाले मुखको । #तारक धिताल #व्यंग्य कविता
प्रिय कविलाई पत्र: प्रेमको स्निग्ध पानामा तिमीले लेख्न सुरू गरेको म एउटा कविता तिम्रो मस्तिष्कबाट प्रस्फुटित हृदयमा पल्लवित सुन्दर अक्षर, भाव, विचार र अनुभूति यथार्थ र कल्पनाको साकार रूप लेख्नु , कसरी लेख्छौ मलाई मन मुटुले लेख्नू अगाध विश्वासले लेख्नू कसरी सिँगार्छाै मलाई ? रूप र अलङ्कारले सिंगार्नू । म तिम्रो हृदयको जीवन्त आवाज भावनाको सुन्दर प्रतिबिम्ब ओ कवि ! लेख्नू, तिमी मलाई नितान्त फरक शैलीले लेख्नू मेरो आँसु लेख्नू मुस्कान लेख्नू बसन्त र शिशिर लेख्नू तिम्रो हृदयको प्रेमले सजाउनू मलाई निश्छ्ल सोच र चिन्तनको थोपाथोपाले सिञ्चनू तिमीलाई थाहा छ नि कवि ! म तिम्रो हृदयको सुन्दर फूल तिमी मेरो प्रिय माली हृदयको आवाजलाई कहिल्यै शब्द चाहिँदैन र पनि मेरो शब्द तिमी म तिम्रो कविता तिम्रो सृष्टि सिर्जनाको अनुपम स्वरूप । म हरदम तिमीभित्रै तरङ्गीत भएर तिमीलाई स्पर्श गरिरहन्छु कविताको मीठो परिभाषा तिमी मेरो जीवनको आशा तिमी ओ कवि ! शीतल बतास बनेर सुस्तरी स्पर्श गर्नू र पगार्नू मलाई जसरी पगार्छन् शिशुहरूले आमाको स्तन जसरी पगार्छन् बाछीहरूले गाईको थुन उसरी नै पगार्नू मलाई म तिम्रो प्रेम तिम्रो प्रेमिल स्पर्श पाएर बन्नेछु कविता तिम्रो भाव अनुभूतिको कोमल सिरानी लाएर एक निन्द्रा मस्त निदाउनु छ मलाई देख्नु छ, मीठो सपना पढ्नु छ प्रेमको मीठो अध्याय ओ कवि ! कसरी लेख्छौ मलाई भनन कसरी लेख्छौ ? मलाई तिम्रा अधरका मुस्कान भएर आँखामा आँसु भएर तर्नु छ जीवनको गहिरो नदी र धेरै अप्ठ्यारो छिचोलेर पुग्नु छ कविताको सुन्दर गाउँ । #प्रिय कविलाई पत्र
अर्धनग्न विज्ञापन: अचेल म ! यो सोचिरहेको छु किन कविता लेखिरहेको छु ? के का लागि लेखिरहेको छु ? कसका लागि लेखिरहेको छु ? नबुझी लेखिरहेको छु कि ? बुझेर लेखिरहेको छु तर पनि लेखिरहेको छु बाह्रखरीसंँग काँचो दुश्मनी मोलेर आकार ईकार मिलाई नमिलाई डाडा भाटा भेल्सी ठडाइरहन्छु पुतली पाखामा बतासे बन्धन बाँधेर शिरमा शिरबिन्दु, चन्द्रबिन्दु राखेर पाउमा पाउपोष उकार लागाइदिन्छु अनि बोलाउँछु, सक्दो बोलाउँछु तर पनि बोल्दैन मेरो कविता सायद मस्तिष्क नभएर होला चेतना शून्य भइरहन्छ केही बोल्दै नबोले पनि लेखिरहन्छु कर्कर्ती बोलाइरहन्छु स्वर व्यञ्जनको साँघुरो गल्लीमा ह्रस्व दीर्घहरूको घाटी निमोठेर कति अर्थ, अनेकार्थ पारिदिन्छु बोल्न खोज्नेहरू पनि अर्कै बोल्छन् नबोल्नेहरू झन् चिच्याउदै बोल्छन् बिना अर्थका प्रत्येक पंक्तिहरू हरफ हरफ भएर पाना मैलो पार्छन् शब्दको चाङ मात्रै थुपारिरहन्छु डोकोबाट मल भारी थुपारे जस्तै न कुनै अर्थ दिन्छ त्यसले जसले जस्तो अर्थ दिनु पर्ने हो गाई लेख्दा गोरू ड्वाँ गर्छ कोइली लेख्दा काग काग काग गर्छ सायद म यस्तै यस्तै कविता लेखिरहेछु हिज्जेहरूको घुँडा भाँचेर शब्द शब्दमा काम्रो बाँधिरहेको छु शल्यक्रिया कक्षमा बेहोसीको सुइ हालेर झन बेहोस बनाइरहेको छु म आज किन अराजक भइरहेको छु कविता भन्दै भाषण लेखिरहेको छु साँढेहरू आपसमा सिंगौरी खेले जस्तै कतै सिङ भाँचेर, कतै आँखा फोडेर रक्तामे पारिरहेको छु, मुटु कलेजो कवि हुने वहानामा अहंकार ओकलेर म ! अ कवि कविको ट्याग झुण्ड्याउन हतारमा छु सेण्डिगेट साहित्यमा छेपाराहरू बटुलेर सस्तो लोकप्रियताको खातिर होर्डिङ बोर्डको अर्धनग्न विज्ञापन जस्तै कवि हुने लहडमा झुण्डिन आतुर छु कपि पेस्टको, यो जमानामा सबै देवकोटा, भूपी बन्न खोज्छन् जर्ज बनार्डशा, ह्यामलेट बन्न खोज्छन् म पनि सायद त्यस्तै उस्तै हुँला होर्डिङ बोर्डको अर्धनग्न विज्ञापन ।। #अर्धनग्न
भ्यागुतो र राष्ट्रवाद: तराजुमा जोख्न राखिएको भ्यागुतो जस्तो कहिले पुग्दैन हाम्रो राष्ट्रवादको धार्नी । बगाउन त बगाउँछौ नसा नसामा रगतसँगै बारुद पनि तर मरिकाटे बल्दै बल्दैन कसैले नझोसी छातीमा तातो फलामे तिरहरू जब च्वास्स दुख्छ अलि पोले जस्तो हुन्छ बल्ल उर्लिन्छ राष्ट्रवाद र इन्द्रेणी भएर पोखिन्छाँै सडकमा यस्तो लाग्छ अब फेरि एउटा प्रलयकारी परिवर्तन नजिक छ तर फगत यो समुन्द्रमा आएका उत्ताउला कच्चा छालहरू जस्तै एकैछिन आएर उही समुद्रमा फर्केर हराउँछ उम्लिएकै हो रगत पटक पटक मेची, सुस्ता, कालापानी र लिम्पियाधुरामा महाकालीमा पनि हो उम्लिएकै हो १९५० को सन्धि लिएर पनि बेला बेला उम्लिरहन्छ रगत नाकाबन्दीमा उधुमै उम्लिएको हो उम्लिरहेकै हुन्छ रगत बारबार सिमाना सर्दा र पुर्खाहरूको स्मरण गर्दै खुकुरी देखाएर धम्काउदै वीर भएको प्रमाणित गर्छौँ मानौ अब यो धर्तीमा एउटा ज्वालामुखी निर्माण हुँदैछ र विष्फोटन भएर त्यसका लाभाहरू कुईरीमण्डल वातारण बनाउँदै बग्नेछ तर त्यो प्रचण्ड ताप नांगा डाँडाको टुप्पोमा फुस्फुसाएको पातला हिउँ जस्तै भोलिपल्टको घामसंगै हराउँछ त्यसपछि सबथोक जहाँ छ त्यही अडिन्छ महाकाली जहीको तही हुन्छ कालापानी त्यही उभिन्छ १९५० को सन्धि फेरि बिर्सिन्छ सिमाना सरेर मूलढोका आइपुग्छ । त्यसपछि रातदिन फत्पताउँछौ मात्र देश लुटे ! गद्दार निस्किए ! शासक भए ! आत्मसमर्पण गरे ! देश बेचे ! र फेरि चुनाव आउँछ उसैलाई छाप लगाउँछौ र एउटा युद्ध जितेसरी ढक्क छाती फुलाउँछौ दोस्रो दिनदेखि फेरी सराप्न थाल्छौ उल्टै आफ्नै हातहरूलाई दोषी देखेर हाम्रो अजिव बानी र रगत देखेपछी उस्तै लाग्छ तुलोमा कहिले धार्नी नपुग्ने भ्यागुतो र हाम्रो राष्ट्रवाद । #भ्यागुतो #राष्ट्रवाद
पुस्तकमाथि बढ्दो चिनियाँ लगानीमा अमेरिकी चिन्ता: फाङ फाङ र उनको चर्चित पुस्तक वुहान डायरी लस एन्जल्स, अमेरिका/ अमेरिकामा किताबमाथि विदेशी लगानी केही समयअघिसम्म कुनै चिन्ताको विषय थिएन। अमेरिकाका ठूला पुस्तक प्रकाशकहरू प्रायः विदेशी नै छन्। पेइन्गुइन रेन्डम हाउस र म्याकमिलन जर्मन लगानीमा छन्। हटाची बुक ग्रुपमा फ्रान्सेली समूहको लगानी छ । हार्पर कोलिन्समा अस्ट्रेलियाली कम्पनी न्युज कर्पको लगानी छ। सिमोन एन्ड सुस्टर मात्र एउटा यस्तो कम्पनी हो, जसमा पूर्ण रूपमा अमेरिकी लगानी छ भन्न मिल्छ। पछिल्लो समय चिनियाँ कम्पनी थिङकिङडमले पुस्तक प्रकाशन थालेपछि केहीको चासो ह्वात्तै बढेको छ भने केहीले त चिनियाँको काम गर्ने शैलीमाथि नै आलोचना गर्न थालेका छन् । थिङकिङडमको काम भनेको किताब प्रकाशन गर्नु मात्र नभई हलिउडसँग नजिकको सम्बन्ध बनाउनु रहेको र जोजसँग सम्झौता गरेको छ। सम्झौतामा चिनियाँ सरकारका बारेमा न त सार्वजनिक न त निजी वार्तालापमा नै चीनबारे आलोचना वा कुरा काट्न नपाइने भन्दै सम्झौता गर्न थालेको भन्दै थिङकिङडमको आलोचना भएको हो। २०१४ मा बेइजिङमा मुख्य कार्यालय भएको मेडियाटाइम बुक्सले अमेरिकामा सिएनटाइम्स बुक्सको नाममा कम्पनी खोलेको छ र यसले चीनका धारणाहरू उजिल्याउने पुस्तकहरू प्रकाशन गर्ने गरेको छ, जस्तो कि चाइनिज लिबरेसन आर्मी र द चाइना ड्रिम ग्रेट पावर थिङकिङ इन द पोस्ट अमेरिकन एरा। यस्ता कम्पनीको स्थापना चीनमाथिको आलोचना कम गराउने उद्देश्यका साथ स्थापना भएको भन्दै केहीको आपत्ति भए पनि चिनिया लगानीको अर्को कम्पनी अस्ट्र बुक्सले भने आफ्नो लगानी स्वतन्त्र भएको र सरकारसँग कुनै लेनदेन नभएको स्पष्ट पार्न थालेको छ । ‘किताबका लागि अमेरिका सबैभन्दा राम्रो व्यापारथलो हो,’ कम्पनीले लस एन्जल्स टाइम्स पत्रिकासँग भनेको छ, ‘व्यापार गर्ने कम्पनीले ठूलो बजार भएको जुनसुकै ठाउँमा आफ्नो सम्भाव्यता खोज्छ।’ चीनका राम्रा कुरा छाप्न रूचाउने तर चीनको थोरै आलोचना भएका किताब लेख्ने र प्रकाशन गर्ने कम्पनीलाई भने चीनले रत्ति ठाउँ नदिएकामा भने धेरैको चिन्ता छ । जस्तो कि पछिल्लो समय फाङ फाङको बहुचर्चित पुस्तक वुहान डायरी चीनमै प्रकाशन गर्नबाट रोकियो। सो पुस्तकलाई अमेरिकामा हार्पर कोलिन्सले प्रकाशन गरेपछि र पुस्तकको लोकप्रियता बढेपछि भने डायरीलाई चिनिया सरकारी अधिकारीहरूले फेक डायरीको उपमा दिन थालेका छन्। चीनमा मनको भँडास पोख्ने कुनै ठाउँ छैन । त्यसैले अनलाइन डायरी एउटा राम्रो माध्यम बन्दै जान थालेको छ । यसको लोकप्रियता मनन गर्दै ठूला व्यापारीहरूले अनलाइन लिटरेचर राइटिङमाथि ठूलो लगानी गरेका छन् । जसमध्ये प्रविधि कम्पनी टान्सेन्ट पनि एक हो । यसले लगानी गरेको चाइना लिटरेचरको अनलाइन संस्करण निकै लोकप्रिय छ । त्यहाँ हिट भएका कन्टेन्टलाई अंग्रेजीमा अनुवाद गर्दै बजारमा ल्याउने क्रम बढेको छ। फाङ फाङको वुहान डायरी त्यसमध्येको एउटा उदाहरण हो। सन् २०१९ मा मात्र चिनियाँ भाषाबाट अंग्रेजीमा अनुवाद भएका पुस्तकको संख्या २५ थियो। यस वर्ष भने २० भन्दा उकालो नलाग्ने सम्भावना भएको पब्लिसर्स विक्लीले जनाएको छ। तर अनुवादित पुस्तकले अमेरिकामा बेस्ट सेलर हुने मौका भने पाएका छैनन् । चीनमा भने क्लासिक र राम्रा साहित्यको निकै ठूलो माग छ । पछिल्लो समय जब मार्खेजको हन्ड्रेड इयर्स अफ सोलिच्युड पुस्तकको अधिकार लिइयो, त्यसको मोल १० लाख डलर तिरिएको थियो । थिङकडम कम्पनीले लगानी गरेको अस्ट्र बुक्सले मार्खेज मात्र होइन, पाउलो कोएलो, एलिस मुनरो, हारूकी मुराकामी, जेडी स्मिथजस्ता लेखकलाई मज्जैको रकम दिएर आफ्ना लागि लेख्न लगाइरहेको छ। यति मात्र होइन, चिनियाँ मूलका लेखकहरू यु हुआ र मिया जियाजस्ता लेखक पनि उसको पोल्टामा परिसकेका छन्। अहिले अस्त्र बुक्सको शस्त्र बढाउनका लागि पब्लिसिङ उद्योगका सशक्त हस्तीको भिड बढाइएको छ। किताब व्यवस्थापनको व्यापारलाई उचाई दिने बेन स्राङ्क कम्पनीको पब्लिसरमा नियुक्त भएका छन् भने एलेसान्द्रा वास्ताग्ली, सम्पादकीय निर्देशक मारिया रूसोजस्ता साहित्यप्रेमी त्यहाँ भेला भएका छन् । यी सबै भिडको अर्थ धेरैले अमेरिकी पठन संस्कृतिमा आफ्नो पकड क्रमशः बढाउँदै लैजाने अमेरिकी नीतिको एउटा पाटोका रूपमा हेरिरहेका छन् । यसको परिणाम हेर्न भने कुर्नु नै पर्ने केहीको धारणा छ। #अमेरिका #चिनियाँ लगानी #चिनियाँ साहित्य #चीन
बम्मनलाल माझी: लक्ष्मी पौडेल सधैंजसो कुखुराको डाकोभन्दा पहिले उठेर घरायसी कामकाज भ्याइसक्ने बम्मनलाल माझी आज अबेर गरेर उठ्यो । सञ्चो भएन होला भन्दै रामधुनीले पनि लोग्नेलाई उठाइन् । “के भो ? सञ्चो भएन ?”, उसले सोधी । “ठिकै छ । यस्तै हो, शरीर अलि भारी भएको छ ।”, उसले भन्यो । “काममा जाने होइन ?”, भन्ने स्वास्नीको प्रश्नमा उसले केवल, “जान्छु” मात्र भन्यो । रामधुनीले खाजा पोको पारिदिई । ऊ जाली बोकेर माछा मार्न हिँड्यो । भर्खरै उठेकी छोरीले, “बाई बाबा..” भन्दै हात हल्लाई । उसले खोलामा जाल फाल्यो । जतिपटक फाले पनि जालमा माछा परेनन् । पर्दै परेनन् । “बिहानैदेखि मन मानिरहेको थिएन । आज खाली हात फर्कनु पर्ने भो !”, उसले अन्तिम पटक जाल हाल्यो । एउटा सुनको औँठी जालमा अड्किएर आयो । ओर्काइफर्काई हेर्यो । “सुन नै हो” भन्ने यकिन भएपछि पाइजामाको गोजीमा सुरक्षितसँग राख्यो । ऊ घर नगइकन सिधै त्यसलाई बेच्न बजारतिर लाग्यो । सुनारले राम्रो मूल्य दिएर त्यो औंठी किन्यो । पैसा लिएर उसले चाहिए जति सरसमान, लुगाफाटो किन्यो । बाटोमा सोच्दै फर्क्यो, “बिहानीले दिनको झल्को दिन्छ भन्थे, मिथ्या रहेछ ।” रामधुनीले एक एक गरेर सबै सरसामान, लुगाफाटो खोली । रातो धोती, रातै पेटिकोट । एक जोर चप्पल । छोरीलाई पहेंलो फुलबुट्टे जामा ! लोग्नेको मुखमा पुलुक्क हेरी । मायाले भित्रैदेखी च्वाप्प म्वाई खाई, मनमनै । झोलाको पोका सबै खोलिसकेपछि एकाएक रामधुनी खिन्न भई । छोरीले पनि कालो अनुहार लाएर आमाको मुखमा हेरिरही । उसले स्वास्नी र छोरीको भावभङ्गीमा अचानक परिवर्तन आएको देख्यो, र प्रश्नवाचक दृष्टिले आमाछोरीलाई हेर्यो। “खै त माछा ?”, आमाछोरी दुबैको मुखबाट एकैचोटि निस्केको यो प्रश्नले बम्मनलाल माझी झल्याँस्स भयो ।
कवि सुदेश सत्याललाई पितृशोक: नयाँ पुस्तामा छन्दमा कविता लेखेर चर्चामा आएका कवि सुदेश सत्याललाई पितृशोक परेको छ । उनका बुबा लामो समयदेखि बिरामी थिए । आज दिउँसो तीन बजे उनको निधन भएको हो । यसअघि पनि करिब आठ महिना अगाडिमा उनकी आमाको निधन भएको थियो । आमाको आशौच बारिरहेका बेला सुदेशलाई अर्को गम्भीर आघात परेको हो । उनले यसबारे फेसबुकमा स्टाटस लेखी जानकारी गराएका हुन् । राष्ट्रिय युवा पुरस्कार र प्रज्ञा प्रतिष्ठानबाट आयोजित कविता प्रतियोगितामा कास्य पदक जितेका कवि सदेश सत्यालको ‘अन्तरिक्षकाे धर्ति’ छन्द कविता प्रकाशित छ । #अन्तरिक्षको धर्ति #निधन #सुदेश सत्याल
चीनतर्फ औँलो ठड्याउँदै तिब्बती कवि: अनुवाद – राजा पुनियानी तेन्जिङ सुन्डु कविता मेरा लागि सास फेराइ हो । भारतमा जन्मिएँ । तिब्बतमा मर्ने सपना देख्छु । तेञ्जिङ सुण्डु भन्छन् । सुण्डु शरणार्थी कवि, लेखक, एक्टिभिस्ट हुन् । आगो ओकल्ने यिनका कविताले तिब्बती शरणार्थीहरूको पीड़ा र आक्रोश बोल्छ । इस्ट तुर्किस्तान र इनर मङ्गोलियालाई कब्जा गरी उपनिवेश बनाउने चीनले तिब्बतलाई पनि कब्जा गरेको छ । तिब्बती उत्पीड़ितहरूलाई भारतले धरमशालामा आश्रय दिएको छ । तिनै तिब्बती शरणार्थीहरूको पक्षमा आन्दोलनरत सुण्डु साना मुलुकमाथि हैकम जमाउने दादा देशहरूको निम्ति विचारका चुनौती हुन् । सुण्डु निर्भीक प्रदर्शनहरूका लागि चिनिन्छन् । सन् २००१-मा पहिलो आउटलुक पिकाडोर अवार्ड पाएका सुण्डुले चारवटा किताब लेखे – क्रसिङ द बोर्डर (१९९९), कोरा (२००२), सेमशूक (२००२) र शेन-गोल (२०१२)। फ्रेण्ड्स अफ टिबेट (भारत) –मा संलग्न रही उनी तिब्बती स्वाधीनताका लागि सक्रिय छन् । मेरो तिब्बतीपना निर्वासनको एकतीस साल भइसक्यो अझै कुनै देशले हाम्रो समर्थन गरेन नाथे एउटा देशले धरि गरेन ! हामी यहाँ रेफ्युजी हौँ देश हराएको मान्छे कुनै देशको पनि नागरिकता नभएकोहरू । तिब्बती : संसारको सहानुभूतिका पात्रहरू शान्त भिक्षु र उत्साही परम्परावादीहरू एक लाख र केही हजार । चिटिक्क मिसिएका विभिन्न सांस्कृतिक दमनमा सोसिएका । प्रत्येक चेक-पोस्ट र अफिसमा म एक ‘भारतीय-तिब्बती’ । सलाम ठोकेर मेरो रेजिस्ट्रेसन सर्टिफिकेट प्रत्येक साल रिनिउ गराउने गर्छु । भारतमा जन्मिएको एक विदेशी म । म भारतीयभन्दा पनि बढ़ेर कोही हुँ मेरो चिङ्की तिब्बती अनुहार बाहेक । “नेपाली ?” “थाई ?” “जापानी ?” “चीनियाँ ?” “नागा ?” “मणिपुरी ?” सोध्छन् सबै तर कसैले सोध्दैन – “तिमी के तिब्बती हौ ?” म खाँट्टी तिब्बती तर म तिब्बतबाट आएको होइन कहिल्यै त्यहाँ पुगेको पनि छैन तरै पनि म त्यहीँ मर्ने सपना देख्छु । रेफ्युजी जब म जन्मेँ मेरो आमाले भन्यो – तँ रेफ्युजी होस् ! हिउँ परिरहेको बेला धुँवा निस्कन्थ्यो सड़क किनारको हाम्रो तम्बूबाट । तेरा दुइ आँखीभौँबीच तेरो निधारमा खोपिएको छ – R मास्टरले भन्यो । मैले खोजेँ र मेट्टाएँ मेरो निधारमा मैले जे भेट्टाएँ त्यो रातो पीड़ाको थोप्ला थियो । म जन्मँदै रेफ्युजी । मसँग तीनवटा जिब्रो छन् । जुन जिब्रोले म गाउँछु त्यो मेरो आमाको जिब्रो हो । इङ्लिस र हिन्दीको बीचबाट मेरो निधारको R –लाई तिब्बती जिब्रोले पढ़्छ : रङ्जेन रङ्जेन माने स्वाधीनता । क्षितिज घरबाटै तिमी यो क्षितिजसम्म आइपुगेका हौ । तिमी जानेछौ यहाँबाट फेरि अर्को क्षितिज । त्यहाँबाट अर्को अर्कोबाट अर्को क्षितिजदेखि क्षितिजतिर जानेछौ – मानौँ प्रत्येक पाइला नै एक क्षितिज । पाइलाहरू गन्ती गर्नू सङ्ख्या याद गर्नू । दलसिंह ढुङ्गा र अजबगजब पातहरू टिप्नू । चट्टानमा रेखाचिनो कोर्नू किनभने तिमी फेरि घर फर्कनु पर्ला । गद्दारी हाम्रो घर हाम्रो गाँउ हाम्रो देश रक्षा गर्दा गर्दै बिते मेरा बाबा । खासमा लड़्नै चाहन्थेँ म पनि । उनीहरू भन्छन् – हामी बौद्धमार्गी हौँ हामी शान्त र अहिंस्रक हुनुपर्छ र मैले माफी गरिदिएँ मेरो दुश्मनलाई । आज आएर मलाई लाग्छ मैलै मेरो बाबालाई गद्दारी गरेँ । टेररिस्ट म एक टेररिस्ट हुँ मलाई मार्न मन पर्छ । मसँग सिङ छ मेरो दुइवटा तिखो दाँत छ र घामकिरीको पुच्छर छ । आफ्नै घरबाट लखेटिएको आफ्नो जिन्दगी जोगाएर डरले लुकिरहेको अनुहारमै दैलो ढप्काइएको निरन्तर न्याय खोसिएको टेलिभिजनमा धैर्यको जाँच लिइएको मौन बहुमतअघि हिर्काइएको भित्तामा थिचिएको । म फर्किएको हुँ त्यो अन्धा गल्लीबाट । च्याप्टो नाकसँगै तिमीले निलेको अपमान हुँ । तिमीले अन्धकारमा गाड़ेको लाज हुँ । म टेररिस्ट लु शूट गर मलाई । म्याँउ गरिरहेका बिरालो र चाटिरहेका कुकुरहरूमाझ उपत्यकामा छाड़िराखेर आएको हुँ मेरो डरलाई । म मुख्लिस मसँग केही छैन गुमाइ पठाउन अब । म बुलेट हुँ म सोच्दिनँ । मात्र २ सेकेण्डको रोमाञ्चक जीवनका लागि बुलेट शेलबाट उफ्रन्छु म र मारिनेसँग मर्छु । तिमीले छाड़ेर आएको जीवन हुँ म । निर्वासनको घर चुहिरहेको थियो हाम्रो टालीको छाना र भित्ता ढल्ने जोखिम थियो तर हामीलाई त चाँड़ो फर्कनु थियो घर । हामीले आफ्नो घरबाहिर मेवा फलायौँ । बगैंचामा खुर्सानी र बार लाउनलाई बेत रोप्यौँ । गोठको परालको छानाबाट कुलुलु लड़्दै आएको छ फर्सी टाट्नोबाट लड़खड़ाउँदै निस्कन्छ बाछा । छाना ढाकेको छ घाँसले सिमीको टुसा पलाएको छ र चढ़्न थालेको छ देवालमा बेलको लहरा । खिड़कीबाट घस्रिँदै आउन थालेको छ मनीप्लाण्ट । अनुवादकः राजा पुनियानी यस्तो लाग्छ मानौँ हाम्रो घरको जरा पलाएको छ । घरबार जङ्गलमा फेरिएको छ अब म कसरी बताउँ आफ्ना नानीहरूलाई – कहाँबाट आएका थियौँ हामी ? #अनुवाद कविता #तिब्बत #तेञ्जिङ सुण्डु #शरणार्थी
तिम्रो प्रश्न गाह्रो लाग्छ: अक्सर सोध्ने गथ्र्यौ तिमी ससांर यो कस्तो लाग्छ ? हाँसी हाँसी भनिदिन्थेँ साह्रै राम्रो जस्तो लाग्छ । आज मेरा सोचाई सबै गलत सिद्ध भए मेरा आफ्ना लक्ष्य अनि इच्छाहरू रद्द भए । सोचे जति गर्न पनि नसकिने रै छ यहाँ खोजे जति कुरा पनि नपाइने रै छ यहाँ । त्यसैले त आजभोलि जिन्दगानी साह्रो लाग्छ हाँस्न खेल्न परै जाओस सासै फेर्न गाह्रो लाग्छ । देख्नुपर्ने जति कुरा सकिएन देख्न पनि लेख्नुपर्ने जति कुरा सकिएन लेख्न पनि । त्यसैले त आजभोलि तिम्रो प्रश्न गाह्रो लाग्छ के उत्तर दिनु मैले साह्रै अप्ठेरो लाग्छ । #तिम्रो प्रश्न गाह्रो लाग्छ
हार्दिक श्रद्धाञ्जली: सुमन वर्षा कुनै ठूलो सपना थिएन उसको कुनै विशाल आकांक्षा थिएन अलिकति तातो घाम ताप्न अलिकति शितल छहारीमा बस्न बोकेको थियो नाइलभन्दा लामो नाम्लो… ठेला उठेका हातहरूले पटक-पटक हालेको थियो भोट पैंतालाले टेकेर तातो-घाम छानेको थियो समृध्दि फुलाउने शासकहरू तर यतिबेला समय ! चूपचाप साक्षी बनिरहेको छ एउटा कुरूप युगको टाढ़ासम्म हेरिरहेछ खिल्ली उडिरहेको देश सुशासनको र सुनिरहेको छ सूर्यबहादुर तामाङको लाशलाई रूङ्गिरहेको एक जोडी परेवाले भाषणका आदिम श्रृङ्खलामा फगत भेटिइरहने व्यवहारतः कहिल्यै नमेटिने भोकसँगै भाषणमा जहिल्यै नथाक्ने पूर्णता व्यवहारत: सधैं छालामा टाँसिने अभाव यतिबेला ऊ गरिबीको भव्य-रथमा चढेर मजदुर दिवसको नारालाई चुपचाप सम्झिरहेको होला र आर्यघाटसम्मको यात्रा तय गर्न एउटा महाजुलुसको पर्खाईमा होला बन्द गरेर दुवै आँखाहरू बन्द भएका उसका आँखाहरूमा बन्द भएका छन् सबै सपनाहरू भाँच्चिएका छन् समृद्धिका शाब्दिक आश्वासन भाँच्चिएका उसका आकांक्षा जस्तै… मानवतालाई गिज्याउँदै ढलेको एउटा सिङ्गो सभ्यताले चिच्याई चिच्याई भनिरहेको छ बन्द गर यी मृत्युका कारखानाहरू बन्द गर खोक्रा भाषणहरू नबाँढ झूठा सपनाहरू र बन्द गर राज-नीति गर्नका लागि गरिएको राजनीति उत्पीडनको भारले कुप्रिएका ढाडहरूमा चडेर ठेला उठेका उसका हातहरुले आफ्नो भाग्य कोरेर राजनीति गर्ने तिनै शासकहरू यतिबेला थकान मेट्न रोस्ट र ह्विस्कीसँगै आफैंले विवश पारिएका ती थुप्रै थुप्रै सूर्यबहादुर तामाङहरुलाई टिभीको स्क्रिनमा देखेर मुस्कुराई रहेका होलान् – तर, उसको ठेलाम्य हत्केलाले बताइरहेछ अझै बाँच्ने सम्भावना जिउँदो राख्नलाई ऊ थाकेको थिएन गन्तव्यको खोजीमा चलायमान् पाइला अविराम हिँड़िरहेका थिए भोकको साम्राज्यविरुद्द युध्द जित्न राज्यलाई गरिबीको रेखाबाट माथि उठाउन समृध्द नेपालको सपनालाई साकार पार्न! विवशता ! विकृति ओढ्दै गरेको बेतुकको राष्ट्रियतालाई श्रध्दाञ्जली दिँदै स्वतन्त्र भएका छन् उसका ठेला उठेका हातहरू र वज्र बनाइएका मुटुहरू!! हार्दिक श्रध्दाञ्जली सूर्यबहादुर तामाङ !!! #सुमन वर्षा #सूर्यबहादुर तामाङ
उत्कृष्ट फिल्म स्क्रिप्टलाई पाँच लाख: नेपाली फिल्म क्षेत्रमा केही नयाँ गर्न र नयाँ ट्यालेन्टलाई फिल्म क्षेत्रमा आउन मौका दिनका लागि एच.पी. इन्टरटेनमेन्ट ले ‘ स्क्रिप्ट राइटिङ कम्पेटिसन’ गराउने भएको छ । उक्त स्क्रिप्ट फिल्मको स्क्रिप्ट हुनेछ, र विजेतालाई ५ लाख नगदद्वारा पुरस्कृत गरी विजेताको नाम फिल्ममा पनि उल्लेख गरिने जानकारी । यस प्रतियोगितामा सबै उमेर समूहले सहभागिता जनाउन सक्नेछन् भने भाग लिन कुनै प्रकारको शुल्क लाग्ने छैन । स्क्रिप्ट जुलाई अन्तिमसम्म पठाइसक्नुपर्नेछ | त्यो नितान्त आफ्नो रचना हुनु पर्नेछ। फिल्म क्षेत्रकै निर्णायक राखिने भएकाले विजेता छनौटको सम्पूर्ण अधिकार निर्णायकको हातमा रहने छ भने विजेता छनौट निस्पक्ष हुने कुरा पनि एच.पी. इन्टरटेनमेन्टले जनाएको छ । प्रतियोगितासम्बन्धि थप जानकारी वेवसाइट ( http://ppfilmy.com/ ) तथा फेसबुक पेज ( https://www.facebook.com/ppfilmy/posts/120732806313271 ) मा हेर्न सकिने छ। #फिल्म स्क्रिप्ट
राजुको गजल: गाउँमा गोरेटो हुन्छ सहरमा सडक हुन्छ जनताले पाउने सुखसुविधा फरक हुन्छ ।। कृत्रिमताले बलेको तिम्रो रुपले बताउँछ दुईचार दिनमात्र अनुहारमा चमक हुन्छ ।। बाँच्न र बचाउन भने पनि नचाही नचाही विचरा गरिबले ढाँटेको हजारौँ पटक हुन्छ ।। चलन यस्तै छ छोरी पठाउँदा रुवाबासी नयाँ बुहारी ल्याउँदा घरैभरि रौनक हुन्छ ।। उसैको निम्ती हातहरू उठाइन्छ मनैबाट जसको संगठनमा प्रयासहरू अथक हुन्छ ।। #राजुको गजल
प्रकाशको गजल: जसो तसो यो ढुकढुकी चलेको छ आमा मुर्छिँदै भुइँमा शरीर यहाँ ढलेको छ आमा ।। खबर सुने मेरै पीरले दुब्लाउँदै गाकी छौ रे खै किन हररात सपनीमा छलेको छ आमा ।। टुहुराको दुःखमा साथ दिने कोनै हुन्छन यहाँ तिम्रो यादले सताउँदा मन जलेको छ आमा ।। सपनीमा देखे आज बिरामी भयौ कि तिमी नसार्दै यी पाइलाहरू सार्है गलेको छ आमा #प्रकाशको गजल
सुजनको गजल: उसले पीडा मात्रै खेप्नुपर्यो साथ दिएर पनि धिकार्न छोडेन यो समाजले आज मारिएर पनि ।। मैले सम्झिएर पनि बिर्सिन सकिन जानेहरूलाई जानेहरू सम्झिएरै गएका हुन् बिर्सिएर पनि ।। ऐना र दिल उस्तै लाग्छ टुट्यो भने सकिन्छन् बरू भित्तेपात्रोले साथ दिन्छ आफू झुण्डिएर पनि ।। कसैको सिन्दुर पनि एक पलको सौभाग्य रहेछ कसैको दुर्भाग्य भर्खर सकियो भर्खर रङ्गिएर पनि ।। तिमी सानो नदी भएर पनि सागर कहलियौ म बगरको बगर नै रहेँ नदीको स्वरुप बद्लिएर पनि ।।
भुवनको गजल: नसोध भयो ! जीवन कसरी चल्दैछ ज्यान बन्दी छ मुटु घरीघरी चल्दैछ ।। मेरो पनि देश छ भेटौला कुनैदिन सोध्नेछु देशमा किन लैबरी चल्दैछ ।। शान्त छन् महलहरू सहर भित्रका झुपडीमा मात्रै ठूलो हुण्डरी चल्दैछ ।। पल्ला घरेले सीमाना वर सारेपछी बिना आँगन यो घर सुस्तरी चल्दैछ ।। हाम्रो दोष छँदै छैन हामी छुट्टिनुमा देशमा अझै जातको पगरी चल्दैछ ।। #भुवनको गजल
बिमनको गजल: बेला कुबेला राजधानी कर्णालीको कुरा गरेर बाँकी चुपचाप सुत्छ राष्ट्रवादको रहर पुरा गरेर ।। दिन खोज्दैन एकै पटक समृद्धिको सौगात सरकार भोटको लागि किस्ताबन्दी माया औँठी चुरा गरेर ।। एउटै देशमा दुईटा निती आखिर कहिले सम्म भेग हरी बाचा गर्छन् मत लान्छन् नेता विकास सधैँ अधुरा गरेर ।। कर्णालीलाई सधैँ हेला कर लगी तर खान्छ सिंहदरबार कर हैन कर्णाली,राजधानीलाई पठाऊ कोसेली चक्कु छुरा गरेर ।। #बिमनको गजल
विश्व वातावरण दिवसः फूलको वेदना: इच्छाको आवाजलाई लुकाउन सकिनँ अनिश्चितताको विषाक्ततालाई थुक्न पनि सकिनँ म त भर्खर फक्रेकी पालुवा न हुँ हृदयको चन्चले मुस्कान ओठमा ल्याउने चाहनालाई फाल्न पनि सकिनँ सांसारिकताभित्रै म पनि तिमीहरू झैं अल्मलिएकी छु आशा र आकांक्षाको चक्रब्यूहमा फँसेकी छु मेरो शरीरलाई मल, जल र ममता देऊ बदलामा म तिमीलाई अघाउने गरी सुवास दिनेछु नदीहरू सुक्दैछन्, न त वर्षा नै भइदिन्छ परिस्थितिको हुरीले मेरो धैर्य र साहस लुटिदिन्छ गृष्मको गर्मी र हिउँदको तुषारापातले मेरो रुप लग्यो एकचोटी नियाल त मेरो रुप सँगसँगै प्रकृति पनि उजाडिने भयो माटोहरू मलाई छोडी नदीको लहलह सँगै लाग्यो अचानकै आएको पहिरो र भूक्षयले मेरो त बासै उजाडिने भयो तर पनि थोरै ठाउँमा अटाएर बसेकी छु, हे मानव स्वार्थी प्रवृत्ति त्यागेर प्रकृतिलाई नै तुल्याऊ सजीव मनमा तिमीहरू प्रति आक्रोशित भावना भए पनि म त समुद्र झैं गम्भीर भएर बसेकी छु तिमीहरू भन्दा सानी एक तुच्छ फूल भए पनि मेरो भावनाहरू हिमालझैं अटल बनाएकी छु हेर न, धर्ति माता उदास छिन् तिम्रो बढ्दो कृत्रिमताको मादतकताले म त आफ्नै सुगन्धले वाक्क भइसकेँ तिमीहरू मबाट प्रतिदिन टाढिंदै गएकाले प्रभातका किरणहरू सँगसँगै उदाउने चेष्टा गरेँ बादलले हामी बीचको मित्रता टुटाइदियो स्वस्थ हावामा हराउने प्रयास गरेँ तिमीबाट आएको प्रदूषित हावाले मलाई रोगी बनाइदियो ब्रम्हाले हामीलाई एकअर्काको लागि सृष्टि गरे तर तिमीलाई त मेरो आवश्यता नै परेन अर्थहीन अहंकारको आडम्बरमा रमाइरहेका छौ हाम्रो लोप भएपछि बल्ल खुल्नेछ तिम्रो नयन तिमीहरूमध्ये कयौंले मेरो छिमेकी रुखलाई रुवाउनु रुवायौ प्रतिदिन बन्चरोले हिर्काएर ठुटै पारिदियौ थियो मेरो भाग्य त्यसबखत, सानी म थिएँ किशोरावस्थालाई क्षतविक्षत बनाइदियौ, आँसु मैले बगाउनु बगाएँ चौबाटोमा अहिले आसन कसेर मैले सहानुभूति प्राप्तिको झिनो आशामा तिमीलाई पुकार्दैछु मेरो मुस्कानलाई थोरै मूल्य दिन्छौ कि भनेर तिमीहरूसँग दयाको भीख माग्दैछु नयनहरू स्थिर हुन थालिसके दूरदूरसम्म तिमीलाई देख्दिनँ निर्ममताको भीषण ज्वालामा त डढेनौ? नत्र, तिमीहरुको ममता किन पग्लेन? मनको इच्छामा पखेटा हालेर क्षितिज पारि म पुगेँ ठूलो बाढीले अचानकै मलाई बगाइसकेछ मैले आफूलाई त्याग्ने स्थितिमा बल्ल तिमीलाई मेरो याद आएछ मलाई सम्झ्यौ मानव एक लास भइसकेपछि खोज्न हिँड्यौ मानव, म प्रकृतिबाट लुप्त भइसकेपछि तिम्रो थोरै माया पाएकी भए रहने थिएँ जिवन्त मानवताको छायाँ पहिल्यै तिमीमा परेको भए रहने थिए म युग पर्यन्त । #5th June #world envirnment day #डा. संगीता स्वेच्छा #विश्व प्रकृति दिवस #विश्व वातावरण दिवस
वैदेशिक रोजगारीको कथाः मुटुलाई ताल्चा: यतिबेला रिमा सउल टावरको अब्जरभेसन डेकमा राखिएको साढे चार फिट अग्लो दुरबिनबाट हान नदीको पुलमा ओहोरदोहोर गरिरहेका सवारीहरूका गति नियालिरहेकी छन् । पाँच सय वनको सिक्का छिराएर आँखा टाँसेकी उनले पुरै समयभर आँखा झिमिक्कै नगरी सउल शहर वरिपरि केही चिज हराएजस्तै गरी खोजिरहिन् । उनको सिक्काको अवधि सकिएपछि दुरबिनको दृष्य बन्द भयो । बिस्तारै अगाडि बढिन् र थुचुक्कै बसिन्; बस्नका लागि छुट्याइएको सिंडीमा। लगभग तीन वर्षपछि पुगेकी हुन् उनी । तर उनको दोस्रोपटकको यो पुगाई धेरै अर्थमा फरक छ । कति धेरै हर्ष र उमंग थियो त्यो बेला, जो आज टावरमुनिको जंगलमा पातविहीन भएर खङ्ग्रङ्ग देखिने रेड लिफको रूखहरूजस्तै छ मन । आँखामा धेरै टाढासम्मका सपनाहरू थिए, तर आज भर्खरै दृष्य बन्द भएको दुर्बिनको दुइटा प्वालजस्तै अन्धकार छ । तर पनि रिसिभरको खोजीमा टावरबाट निरन्तर फ्याँकिने रेडियो तरंगहरूजस्तै जिन्दगीका सुदूर सम्भावनाहरूको खोजी त गर्नै छ । तिनै सम्भावनाहरूको सूत्रमा बाँधिएकी छन रिमा। हिजो शनिबार । ड्युटी सकेर होस्टलमा आउनासाथ बाथरुम छिरिन् । नुहाएर निस्कनेबित्तिकै म्यासेन्जरमा म्यासेज आएको संकेत बज्यो । टावेलले जिऊ र कपाल पुछिसकेर म्यासेज हेरिन् । नेपालबाट साथीले सोधेकी रहिछन्, “फुर्सद भएपछि कल गर ल ! एउटा खबर छ।” हतार हतार कपडा लगाइन र म्यासेन्जरमा कल लगाइन्। दुई रिङ्पछि उताबाट जयाको आवाज आयो, “छुट्टी भइसक्यो तिम्रो ?” “भर्खर आएर फ्रेश भैसकेँ । सुनाऊ न त के खबर हो खै ?” रिमा विषय प्रवेश गरिहालिन्। “अँ, सुन न ! पर्वत इज नो मोर यार !” जयाको उत्तरले रिमाको दिमागमा हिउँदे चट्याङ्ग खसाल्यो । अलि सम्हालिदै सोधिन्, “हँ, कहिले हो नि ?” “हस्पिटलाइज्ड भएको हप्ता दिन बढी भएको रै’छ । हिजो बिहान डेथ भयो रे ! म पनि गाउँमा छु यतिबेला त।” जयाको आवाज स्पस्टै थियो, तर रिमालाई मधुरो र नबुझिएझैँ लाग्यो । तर पनि आफूलाई केही नभए जस्तै बनेर भनिन्, “हुन्देऊ यार ! आई डन्ट केयर !! अलि हतारमा छु, पछि कुरा गरौँला है !” प्रतिक्रिया सुन्ने धैर्यता थिएन, रिमाले कल डिस्कनेक्ट गरिन् । जाडो समयको मध्यभाग, तापक्रम निरन्तर ओर्लंदो छ । माइनस पाँच, छ, सात हुँदै दैनिक चिसोको साम्राज्य बढ्दो छ तर रिमालाई भतभती गर्मी भयो । उम्लिरहेको पानीमा पुरै जिऊ डुबेजस्तै आफ्नै रगत तातिएर उम्लिएर आयो । ========================= मध्यम परिवारकी रिमा डिप्लोमा पढ्नका लागि काठमाडौं आएकी थिइन् । भूतपूर्व भारतीय सेना, पेन्सनरकी छोरी भए पनि सधैँभरि परिवारमै आश्रित भएर बस्न मन लागेन । केही समय घरबाटै खर्च चलाए पनि अलि पछिबाट काठमाडौंमा केही कामको खोजी गर्न थालिन्। त्रि-चन्द्र कलेजको पढाइ, दैनिक विद्यार्थी संगठनहरूको आन्दोलनले नियमित पढाइ नहुने । सबै तह र तप्कालाई तात्कालीन व्यवस्था मान्य थिएन । तर रिमालाई व्यवस्थासँग त्यति ठूलो लेनदेनको जरुरी थिएन । आफ्नै जिल्लाबासी एक जना विद्यार्थी नेताको चिनजानको आधारमा पुतलीसडकतिर एउटा पुस्तक पसलमा दिउँसो बाह्र बजेदेखि बेलुकी आठ बजेसम्मको काम पाइन् उनले । कोठा भाडा र सामान्य दुई छाकका लागि एक जनालाई पुर्\u200dयाउन सकिने तलब पाउँथिन् । बार्\u200dह बजेभन्दा अगाडि उनी कलेज जान्थिन्, दैनिक । उनको डेरा घन्टाघर र पुतलीसडकको ठीक बीचतिर पर्थ्यो, काम र कलेज जान गाडी चढ्नु परेन । तैपनि घरबाट पनि आठापाँचा खर्च पाउँथिन् तर पहिला जस्तो परिवारकै मुख ताकिरहन भने परेन । कलेजको पहिलो वर्षको पढाइ लगभग सकिन लागेको थियो । परीक्षा आउन तीन महिना जति बाँकी थियो । रिमा केही साथीहरूसँग क्यान्टिनमा खाजा खाएर गफिँदै थिइन् । एक जना केटा हातमा चिया कप बोकेर कपाल मिलाउँदै केटीहरूभन्दा माथिल्लो टेबलमा बस्यो । उसको पाइन्टको पछाडिपट्टि गोजीमा बेरिएको निक्कै मोटो फोटोकपी पेपर देखिन्थ्यो । केटीहरूको गफगाफमा ऊ पनि मिसिन चाह्यो, “कलेज त सार्\u200dहै रमाइलो रहेछ, यस्तो गज्जब हुने भए त म पहिल्यै आउने थिएँ,” केटीहरूको हुलतिर लक्ष्य गर्दै बोल्यो र फिस्स हाँस्यो। “ए, तिमी अर्कै ग्रहबाट टुप्लुकिएको एलियन हौ कि कसो ?” केटीहरूबाट सामूहिक हाँसोसहित उत्तर आयो। “त्यसो होइन, काठमाडौंले फाप्दै फाप्दैन मलाई । कलेज पुग्न नपाउँदै लखेटिहाल्छ । एनि वे, म पर्वत । घर झापा ।” “एए, तीर त यसो पो ?”, केटीहरूले खेदो लगाए अझै । “अब अहिले आएर केटाहरूलाई साथी बनाउन थालौँ भने झुर मान्छन् । एक्जाम आउन लाग्यो । कमसेकम केटीहरूसँगको दोस्ती अलि चाँडै स्प्रेड होला नि त ! चुम्बकको विपरीत ध्रुव जस्तै,” पर्वतले आँखा झिम्क्याउँदै आफ्नो स्पष्टीकरण सिध्यायो । सबै उठ्न लागे । “साँच्ची, मेरो पहिलो दिन हो आज । केही नोट कलेक्ट गर्दैछु । किताब किन्नुभन्दा बरू केही सोल्युसन मेटेरियल भेट्न पाए सही हुन्छ होला है ! तर कहाँ कहाँ खोज्ने ? बडो फसाद छ हौ !” आफ्नो निरीहता सुनायो । “तिमी बूक लिने हो भने म हेल्प गर्छु,” रिमा बोलिन् । “ए अँ त, उसको पुस्तक पसल छ नि !” कसैले थप्यो। “मेरो होइन, मेरो साहुको,” रिमाको कुराले एक चरन हाँसो गुञ्जियो, र क्यान्टिन सुनसान भयो । महिना जेठ । कलेज परिसरका रूखहरू बैँशालु थिए । हरियो र झ्याम्म परेका रूखहरूले रानीपोखरीलाई ओझेल पारिरहेका थिए । अघिसम्म गर्मीले उकुसमुकुस भएको काठमाडौं, अस्ताउँदो घामसँगै फुसफुस पानीको छिटाले अलि शीतल बनेको थियो । कलेजबाहिर निस्किएपछि सबै रत्नपार्कतिर लागे। रिमा र पर्वत भने कलेजभन्दा अलिकति अगाडि आएर ओरालो लागे, पुतलीसडकतिर । “थ्याङ्क्यू ! तर तिम्रो त नाम नै थाहा छैन मलाई,” जेब्राक्रस कटेर सडकपेटीमा हिँड्दै गर्दा पर्वत बोल्यो। “नाम नै चाहिहालेको र ?” रिमाले भाउ खोजिन् । “अब यत्रो बिरानो ठाउँमा यस्तो सहयोग गर्ने मान्छेको नाम जान्न पाउने अधिकार नि हुन्न र ?” पर्वतले आफ्नो अडान राख्यो । “रिमा। घर मोरङ्ग ।” “ए, घर जाने बाटो त एउटै रहेछ । छिमेकी पनि । खुसी लाग्यो ।” “यतिमै खुसी हुन जरुरत छैन । कति धेरै छन् त उताको मान्छे, सबैसँग खुसी हुँदै हिँड्ने ?” हातमा समाइराखेको रुमालले मुख आधा छोप्दै बोलेको देखेर पर्वतले बुझ्यो, रिमा कुरा गरिरहन चाहन्छिन् । तर उनीहरू पुस्तक पसल पुगिसकेका थिए । रिमालाई थाहा भएसम्मका सोल्युसन बूकहरू पर्वतलाई देखाइन् । केही थान किन्यो पनि र अन्तिममा आफ्नो नोटबूक पनि फोटोकपी गरेर दिइन् । ===================== “साँच्ची हिजो त हतारमा तिमी हिँडिहाल्यौ । कता छ बसाइ ?” भोलिपल्ट बिहान क्लास जाँदै गर्दा करिडोरमा भेटिएकी रिमाले पर्वतलाई सोधिन् । “कलंकीमाथि ढुंगाअड्डामा बस्छु, एउटा साथीसँगफ” पर्वतले छोटो उत्तर दिइनसक्दै क्लास पुगिसकेका थिए । पर्वत तीन वर्षअघि झापाबाट काठमाडौं आएको थियो । पढ्दै संगीत सिक्ने धोको लिएर आएको ऊ यही भीडहरूभित्र आफ्नो सपना उधिन्दाउधिन्दै लखतरान भइसकेको थियो । न त पढ्न सकेको थियो, संगीत सिक्ने त टाढाकै कुरा। सामान्य किसानको छोरा ऊ, घरबाट पैसा लिएर काठमाडौंमा नियमित पढ्ने सामर्थ्य थिएन । पढ्नुभन्दा पहिले हातमुख जोड्ने आधार बनाउनुपर्\u200dयो उसले । कलंकीनिरको एउटा ग्यारेजमा काम गर्न थाल्यो । केही महिना काम गरेपछि तलब माग्दा साहुसँग झगडा पर्\u200dयो । महिनौँ काम गरेको तलबसमेत माया मारेर काम छोड्नुपर्\u200dयो । केही समयपछि फेरि त्यही नजिकैको ग्रिल फ्याक्ट्रीमा काम पायो, र अहिलेसम्म अल्झिएको छ । काम राम्रै सिकेपछि तलब पनि चित्त बुझ्दो पाउन थाल्यो, सँगै उसको एउटा सुषुप्त सपना फेरि बौरियो र कलेज भर्ना भएको थियो । आन्दोलन र हड्ताल बाहेकको दिनमा रिमा प्रायः बार्\u200dह बजेसम्म कलेजमा हुन्थिन् । उनका निश्चित साथीहरूको समूह थियो । त्यो समूहमा पर्वत पनि थपियो । प्रायः सबै जना छुटेको क्लासको नोट साथीहरूबाट सारेर काम चलाउने गर्थे । क्लास नभएको समय, रानीपोखरी पट्टिको झ्यालछेउको सिटमा सबै जना भेला भएर बाहिर हेर्दै गफ गर्ने, कहिले बाहिर चउरमा झुम्मिएर बस्ने त कहिले क्यान्टिनमा चिया गफ गर्दै बस्ने यो समूहले यसैगरी उस्तै समय बिताइरहन्थ्यो सायद, यदि एकदिन क्यान्टिनमा अचानक पर्वत बेहोस भएर नढलेको भए । पहिलो वर्षको परीक्षा सकिएर दोस्रो वर्षको पढाइ हुन थालेको निक्कै भइसकेको थियो । उम्कँदो माघ महिना, लाग्थ्यो काठमाडौं वरिपरि उभिएका डाँडाहरू होइनन्, चिसो हावा फ्याँकिरहने बडेमानका ढ्वाङ्गहरू हुन् । तर त्यहाँबाट ओर्लने हावा काठमाडौं छुन नपाउँदै बिस्तारै उकुसमुकुसिन्थ्यो मान्छेहरूको चाप थेग्न नसकेर । तैपनि बिहानीपख मुटु काँप्ने चिसोले काठमाडौंलाई छाडिसकेको भने थिएन । रिमाहरूको समूह क्यान्टिनमा त्यो दिनको अन्तिम बसाईमा थिए । बार्\u200dह बज्न लागेकोले रिमा पसल पुग्न हतारिँदै थिइन् । अचानक पर्वत आफू बसेको कुर्सीसँगै भुइँमा पछारियो । सबै भयभित देखिए । ‘के भयो, किन भयो ?’ भन्ने खुल्दुली शुरु भयो । केही साथीहरू उसलाई उठाउन गए । हातको पल्स र मुटुको धड्कन जाँच गरे, सुस्तरी चल्दैथियो । कसैले क्यान्टिन सञ्चालकलाई खाजामा केही मिसाएको थियो कि भन्दै र्\u200dयाखर्\u200dयाख पार्दैथिए । “अस्पताल लैजानुपर्छ,” भीडबाट कोहीले बोल्यो । अरूले “हो हो” को शैलीमा पर्वतलाई काँधमा चढाएर बाहिर ल्याउन्जेलमा एम्बुलेन्स बोलाउनुभन्दा ट्याक्सीमा लैजानु चाँडो हुन्छ भन्ने निष्कर्ष आइसकेको थियो । वीर अस्पतालको आकस्मिक कक्षमा पर्वतलाई भर्ना गराइयो । बेडमा सुताइएको केहीबेरपछि चेकजाँच गर्ने मान्छे आए । हात-खुट्टा छामे, जिउ छामे, छाती छामे, स्टेथेस्कोप डुलाए अनि कागजमा ख्यार्रख्यार्र केही लेखे, नर्सलाई काम अह्राए । केही समयपछि मुटु जाँच्ने मेसिन लिएर एक महिला आइन् । रिमाले पर्वतको सर्टको टाँक खोलिन् र भित्रको स्यान्डो घाँटीसम्म सोहोरेर पुर्\u200dयाइदिइन् । दिउँसोको दुई बज्नै लागेको थियो, पर्वतलाई होस आयो । उसको होस आएसँगै अनेकौं प्रश्न जन्मिए। ‘एक्कासि चक्कर चलेको मात्रै थाहा छ, त्यसपछि केही थाहै पाइनँ,’ पर्वतको उत्तर यही थियो। सबै अस्पतालमै बसेर पनि काम थिएन, आफ्नो बाटो लाग्ने सुर कस्दै थिए। “रिमा, मिल्छ भन तिमी बस न है,” पर्वतले अनुरोध गर्\u200dयो । “तिम्रो त यहाँ नजिकै छ रिमा, तिमी बस ल ! हामी जान्छौँ,” नयाँ बानेश्वर बस्ने जयाले कुरा थपिन्, “बरू म तिम्रो पसलमा खबर पुर्\u200dयाईदिउँला नि !” रिमा रनभुल्लमा परिन् । के गर्ने, के नगर्ने ? साथीहरूले आफूसँग भएको पैसा रिमाको हातमा राखिदिंदै बाहिरिए । रिमा पर्वतको बेडनिर एउटा टूल लिएर बसिन्, र सोधिन्, “तिमीलाई यो पहिलोचोटि हो पर्वत ? कि पहिला पनि यस्तै हुन्थ्यो ?” पर्वतले सिलिङ्गतिर हेरिरह्यो । केही बोलेन । बरू आँखा चिम्म गर्\u200dयो । रिमालाई लाग्यो, सायद निद्रा लागेको होला ! तर एकैछिनमा उसका आँखाका चेपबाट बिस्तारै आँसु बग्न थाले । निधार, घाँटी, कन्चट सबैतिर मूल फुटेजस्तै पसिना चुहिन थाल्यो । रिमालाई डर लागेर आयो, एक्कासि के भएको होला यस्तो ? सम्हालिदै पर्वतलाई बोलाइन्, “पर्वत, तिमी सुन्दैछौ ? के भएर हो तिम्रो त आँसु र पसिना पुरै आयो त ?” पर्वतले हत्केलाले आँसु पुछ्यो र बोल्यो, “म विगत दुई वर्षदेखि निरन्तर आफैँसँग लडिरहेको छु रिमा । तीन दिनदेखि लगभग अनिंदो थिएँ, कामले गर्दा । खाने-सुत्ने टुंगो पनि भएन । एउटा इन्जेक्सनले बाँचिरहेको छु । तर त्यो पनि एक हप्ताअगाडि नै लिनुपर्थ्यो । सायद त्यसैको परिणाम आज म यहाँ आइपुगेँ।” “भएको चाहिँ के हो त ? भन न !” रिमाले कर गरिन् । “मेरो मुटुको समस्या छ । एउटा भल्ब ड्यामेज । जसको स्थायी उपचार गर्ने औकात छैन मसँग, त्यसैले पेनिसिलिनको सहायताले अस्थायी आयू बाँचिरहेको छु ।” “मुटुको भल्ब ?” रिमा चकित भइन्, “अनि कहिले थाहा पाएको तिमीले ? घरमा भन्यौ कि भनेको छैनौ त ?” एकै श्वासमा सोधिन् | “म काठमाडौं आएको एक वर्षपछि काम गर्दागर्दै एक्कासि प्रेसर डाउन भएजस्तो भयो । पसिनैपसिना मात्रै आइरहन्थ्यो । पुरै शरीर त्यसै कमजोर भएर आयो । त्यही भएर चेक अप गराएँ । त्यस्तो रिपोर्ट आयो । घरमा त कसलाई भन्नू र मैले ! म सानै हुँदा आमा गुमाएँ । बाबाले कान्छी आमा बिहा गरे । बाबाले त केही हदसम्म माया गर्नुहुन्छ तर बाबाको मात्रै कुरा नहुने,” पर्वतले लामो श्वास तान्यो, रिमाले सुनिरहिन् । “छोडिदेऊ यस्तो कुरा, घरमा भन्नू र नभन्नूको कुनै अर्थ छैन ।” रिमालाई पर्वतको पीडाले मर्माहत बनायो । उनलाई असहज महसुस भयो । `एकछिन है’ भनेर बाथरुमतिर लागिन् । दुर्गन्ध खपिसक्नु थिएन, तैपनि आँखालाई रोक्न सकिनन्, मनलाई बाँधिराख्न सकिनन् । निक्कैबेर मनलाग्दोगरी बगिरहे दुई आँखा । धित मरुञ्जेल निचोरियो मन । अनि अलि शान्त भएर धारानेर पुगिन् । तपतप चुहिने धाराहरू मात्रै । बल्ल एउटामा अलिकति पानी आयो, र अनुहार पखालिन्। रिमा पर्वतको बेडनेर पुग्दा एक नर्सले मुटुको ईसीजी रिपोर्ट देखाउँदै थिइन्, “यो लिएर डाक्टर सा’बलाई भेट्नूस् ।” “डिस्चार्ज आजै हुन्छ नि ?” पर्वतले सोध्यो । “डाक्टर सा’ब ले नै भन्नुहुन्छ,” हिँडिसकेकी नर्सले नहेरी उत्तर दिइन्। “रिमा मसँग पैसा छ । यो तिमी राख ल ! के कस्तो खर्च भयो, यसबाट मिलाऊ,” पर्वतले आफूसँग भएको पैसा रिमालाई दियो । “मसँग पैसा छ अहिलेलाई । सबै साथीहरूले आफूसँग भएको पैसा छोडेर गएका छन् । पुगेन भने थपौँला बरू,” रिमाको कुरा मानेन पर्वतले । करै गर्\u200dयो । अन्तमा उसले जसरी दियो त्यसैगरि पैसालाई च्यापेर ब्यागमा राखिन् रिमाले । डाक्टरको क्याबिनभित्र पुगेर ईसीजी रिपोर्ट देखाए, “यसअगाडिको तपाईँको स्वास्थ्य अवस्थाको जानकारी छ तपाईँलाई ?” डाक्टरले सोधे । “थाहा छ डाक्टर,” पर्वतले छोटो जवाफ दियो । “आफ्नो ज्यानको माया नभएर हो कि किन यस्तो हेलचेक्र्याइँ गरेको त ? तुरुन्त गंगालाल हृदयरोग केन्द्र जानूस् । यहाँबाट केही गर्न सकिन्न।” डाक्टरको कुरा सुनेपछि रिमाले सोधिन्, “डाक्टर सा’ब ! अहिलेको अवस्थामा छ ? के गर्दा ठीक हुन्छ ?” अवस्था त बिरामी आफैँलाई थाहा हुनुपर्ने हो । बाँकी कुरा हामीलाई भन्दा पनि यस सम्बन्धित विशेषज्ञहरूबाटै बुझ्नुभएको राम्रो । मेरो विचारमा ढिला नगर्नू नै उत्तम हुन्छ,” डाक्टरको सल्लाहपछि उनीहरू बाहिरिए । “भोलि एकपटक गंगालाल जाऊँ,” रत्नपार्क, जमल, घण्टाघरतिरबाट पुरानो बसपार्क भित्रिने गाडीहरूको रफ्तारमा आँखा दौडाइरहेको पर्वत झस्कियो, रमाको आवाजले । “गएर के गर्नु रिमा ? म निर्विकल्पको बाटोमा छु,” आँखा नहटाई उत्तर दियो पर्वतले । “पहिला जाने कुरा त गर ! त्यसपछि अरू विकल्प सोच्न सकिन्छ,” रिमाले अड्डी कसिन्, ” साथीहरूले छाडेको पैसा छ । त्यसमा तिम्रो पनि छ । त्यति गर्दा त भोलिलाई पुग्छ होला नि ! खासै के खर्च होला र चेक अपकै लागि त ?” रिमाको आँट देखेर पर्वतमा अलिकति आशाको किरण जाग्यो । दुई वर्षअगाडि नै उसलाई पुरै निको हुन निक्कै महंँगो खर्च गर्नुपर्ने भनिएको थियो । त्यतिबेला ऊ आफ्नै गाउँको साथीसँग बस्थ्यो । पर्वत रोगी भएको थाहा पाएपछि एकदिन पर्वत काममै भएको बेला डेराबाट गायब भएको थियो साथी । पर्वत कन्भिन्स भयो, भोलिपल्टको लागि। भोलि कलेज नजाने भए दुवै । तर बार्\u200dह बजेभन्दा अगाडि फर्केर आइपुग्नुपर्छ भन्ने कुरामा सहमत भएर जना आआफ्नो डेरा फर्किए । ====================== भोलिपल्ट बिहान सबेरै दुवै जना भेट भएर गंगालाल हृदयरोग केन्द्र बाँसबारी पुगे । काउन्टर खुल्नै बाँकी थियो । क्यान्टिनमा चिया खाए । अस्पताल खुलेपछि डाक्टरकोमा पुगे । पुरानो रिपोर्टहरूसँगै सामान्य चेकजाँच भयो । ल्याब टेस्ट गर्नुपर्ने बताइयो । वीर अस्पतालकै कुरा दोहोर्\u200dयाए डाक्टरले । ल्याब टेस्ट्को नतिजाका लागि तीन दिनपछि बोलाइयो । तीन दिनपछिको बिहान फेरि दुवै जना पुगे । ल्याब रिपोर्ट लिए, अनि डाक्टरलाई भेटे । सबै रिपोर्ट हेरेपछि उनले मुटुको भल्ब फेर्नैपर्ने अवस्था भएको बताए । तर यति ठूलो अप्रेसनको लागि पैसाको अभाव हुने अवस्था रिमाले बताइन् । “आर्थिक रूपले विपन्नहरूको मुटुको अप्रेसनका लागि सीमित संख्यामा सरकारले डोनेसनको व्यवस्था गरेको छ । तर त्यसका लागि वेटिङमा बस्नुपर्छ । निक्कै समय लाग्नसक्छ । र अर्को कुरा, विपन्न हो भन्ने कुरा गा.वि.स.ले सिफारिस गरिदिएको हुनुपर्छ । अवस्था जति जटिल हुनुपर्थ्यो, त्यति भइसकेको छ, अब समयले त्यति फरक पर्दैन । एक वर्षभित्रमा अप्रेसन गर्दा राम्रै नतिजा आउन सक्छ,” डाक्टरले निक्कै आशा जगाउने कुरा गरे । “कम्प्लिट्ली ठीक हुने चान्स कति छ डाक्टर सा’ब?” रिमाले नै सोधिन् । “नाइन्टी फाइभ पर्सेन्ट चान्स छ,” डाक्टरको उत्तरले दुवै जनालाई थप उत्साहित बनायो । ==================== रिमा दशैँपछि घर गएकी थिइनन् | लामो समय घर नगएको कारण पसलमा पनि साहुले समय मिलाएर घर जाने छुट्टी दिए । एक महिनापछि दुवै जना घर आए । पर्वत गाडीले मात्ने रहेछ । रातभरिको यात्रामा लगभग रिमा जागै भएर पर्वतको स्याहार गरिरहिन् । बिहान उत्रने बेलासम्ममा पर्वत हात समाएर डोर्\u200dयाउनैपर्ने भएको थियो । उनीहरू पहिला रिमाको घर गए । रिमाले सबै कुराको जानकारी घरमा गराइन् । परिवारमा उनको प्रयासको तारिफ भयो । बिहानको खाना खाएर पर्वतको घर झापा लागे । बाबाले पर्वतको कुरामा विश्वास गरे पनि आमाले शंका गरिन्, “अंश खोज्न आएको” भन्नसमेत भ्याइन्। “अब गा.वि.स.मा गएर दुन्याँको मुखेञ्जी हाम्रो बिजेत गर्ने भइस् हैन ! ‘म गरिब छु, मसँग केई छैन’ भन्दै भिख मागिदिनुपर्ने हामीले ?”, उनको कुरा सुनेपछि रिमाले बेलिबिस्तार लगाएर सम्झाइन् । “ल ल नानी, ठिकै छ उसो भने । तर मचाहिँ एक पैसा खर्च गर्न सक्दिनँ । आफ्नै छोराछोरीको कुन हालत छ यहाँ । कहाँ कहाँ गएर के के रोग ल्याउँछ, घरमा आएर लाजको पसारो लाउँछ,” कान्छी आमाको भजन जारी नै थियो। बाबाले कुरा बुझे सायद, सिफारिस बनाइदिने वचन दिए । पर्वतलाई घरमा छोडेर रिमा फर्किइन् । हप्ता दिनपछि सँगै काठमाडौं फर्किने गरी । ===================== फागुनको अन्तिम साता बित्दै थियो । डाक्टरले भनेको सिफारिस बोकेर सोही डाक्टर खोज्दै एक बिहान फेरि पर्वत र रिमा गंगालाल हृदयरोग केन्द्र पुगे । आवश्यक प्रकृया बमोजिम ‘डोनेसन कोटा’को लागि आवेदन गरे । लगभग पाँच महिनापछि पर्वतको पालो आउने भयो । यी दुईको जोडी प्रायः छुट्न छाडेको निक्कै समय भएथ्यो । बेलाबेलामा परामर्श र थप सोधपुछको लागि दुवै जना अस्पताल पुगिरहन्थे । दुईमध्ये कसैले पनि भनेनन्, “तिमीलाई म मन पराउँछु, माया गर्छु।” तर दुवैमा माया र समर्पण अतुलनीय थियो, एकअर्काका लागि । आफसेआफ जिन्दगीको लामो यात्रासम्मका सपनाहरू बुन्थे दुवैले । दुवैलाई आशा र भरोसाको बलियो डोरीले बाँधेको थियो । मुटुको भल्ब डोनेसनमा पाउने भए पनि बाँकी एक लाख जति खर्चको जोहो गर्नुपर्ने थियो । जुन कुरा दुवैको लागि पहरा फोर्नु जत्तिकै ठूलो चुनौती बन्यो । रिमाले हिम्मत हारिनन् । आफूले गलामा लगाएको सुनको सिक्री बेचिन्, घरमा गएर बुवा आमासँग समस्या राखिन् । काठमाडौंमा भएका परोपकारको नाममा खुलेका प्रत्येक संघ संस्थाको ढोका चहारिन् । कोहीसँग व्यक्तिगत सहयोग नै मागिन् । पर्वतको घर जाने कुरै थिएन, तर पनि अपरेशन गर्दैछौँ भन्ने जानकारी चाहिँ दिए । पैसामा सबथोक बिक्ने रहेछ । समय बित्यो । पर्वतको अपरेशनको समय आयो । रिमाले कामबाट छुट्टी लिइन् । बर्खायामको समय, पर्वत अपरेशन थिएटरभित्र थियो । पर्वतभन्दा पछि शुरु गरिएकाहरू धमाधम होस् आएर कुराकानी गर्न थालिसके । तर तीन दिन भइसक्दा पनि पर्वतको होस आएको थिएन । रिमा आत्तिन थालिन् । डाक्टरलाई सोध्दा, “नर्मल नै भएको हो, तर होस अलि ढिलो आउने भयो । कहिलेकाही यस्तो हुन्छ’ भन्ने सहानुभूति जनाउने जवाफ दिन्थे । बल्ल तेस्रो दिनको साँझ लगभग पर्वतको होस आयो । पुरै रगत निचोरिएझैँ देखिने, आँखाको टुटुल्को मात्रै भएझैँ । रिमालाई त्यहीँ डाँको छोडेर रुन मन लाग्यो । पर्वतलाई तङ्ग्रिन समय लाग्यो । रीमाले अस्पतालको चिसो भुइँमा फालिएका थोत्रा कार्टुनका टुक्राहरू ओच्छ्याएर रात दिन कटाइन् । कतिबेला बिरामीलाई दिशा पिसाब आउँछ, भोक लाग्छ सबै कुराको ख्याल गरिदिनुपर्ने । भर्खरै जन्मिएको बच्चालाई स्याहार गर्न सहज होला बरू, त्यति धेरै स्याहार गर्नुपर्\u200dयो । तर रिमा यति कुरामा ढुक्क थिइन् कि पर्वत अब ठीक हुनेछ । लगभग डेढ महिनाको अस्पताल बसाइमा साथीभाइ, रिमाको परिवारलगायत अरू मान्छेहरू भेट्न आए, तर पर्वतको परिवारबाट कोही आएनन्। दोस्रो वर्षको परीक्षा सकेपछि दशैँ बिदा हुँदै थियो । रिमाले पर्वतलाई आफ्नै कोठामा राखेर स्याहारिन् केही समय । त्यहींबाट परीक्षा दिए । पर्वतको अलि सुधार भएको थियो । दशैँमा घर गए, तर पर्वत आफ्नो घर गएन । रिमाकै घरमा दशैँ मनायो उसले पनि । रिमाले काठमाडौंमा आफैँ सामान्य व्यवसाय गर्ने मनसाय राखिन् । आमा बुवालाई मनाइन् । त्यसको मुख्य उद्देश्य पर्वतलाई गह्रुङ्गो काम गर्नबाट जोगाउनु थियो । केही पैसा लिएर काठमाडौं फर्किए । काठमाडौंमा एउटा कस्ट्मेटिक एन्ड गिफ्ट सेन्टर शुरु गरे । पर्वत त्यहीँ व्यस्त भयो । फुर्सदमा कलेजको किताब हेर्थ्यो । रिमा भने फेरि अर्को पुस्तक पसलमा काम गर्न थालिन् । दुवै जनाको कलेज छुट्यो । “परीक्षाचाहिँ दिनुपर्छ” दुवैको योजना थियो । केही समयपछि कोरियाको रोजगारिका लागि सरकारले सम्झौता गर्\u200dयो । काठमाडौंमा कोरियन भाषाको पढाइ धमाधम शुरु भयो । रिमालाई लाग्यो, दुई जनाको जीवनरथ अब उनकै बलले अघि बढ्नेछ । रिमाले पसलको कामबाहेकको समय कोरियन भाषा पढिन्। निक्कै मेहनत गरिन्। अन्ततः पास भइन् । तर दुई वर्षसम्म जाने अवसर मिलेन । भाषा परीक्षा पास गरेको दुई वर्षपछि बल्ल पहिलोचोटि नेपाली कामदारलाई वैधानिक माध्यमबाट कोरिया लैजान थालियो । रिमा शुरुमै कोरिया जाने लिस्टमा परिन् । कोरिया जानुअघि पर्वत एक्लैलाई गार्\u200dहो हुन्छ भनेर कस्ट्मेटिक पसल बिक्री गरे । काम कठिन भए पनि नेपालको तुलनामा निक्कै राम्रो आम्दानी हुने भएकोले रिमा र पर्वत दुवै खुसी थिए । हप्ताको एक दिन हुने छुट्टीमा फोनबाट कुराकानी हुन्थ्यो । आम्दानीको पैसा सबै पर्वतलाई पठाउन थालिन् । पर्वतको पुरानै रुचि, संगीत सिक्न लगाइन् । स्वास्थ्यको नियमित जाँच र त्यसको जानकारी लिन सम्झाइरहन्थिन् । पर्वतलाई हिँडडुल गर्न असहज भएको कुरा भयो, बाइक किन्न लगाइन् । गीत रेकर्ड गरेर एल्बम निकाल्ने कुरा भयो । त्यसमा पनि रिमाले नाइँनास्ती गरिनन् । रिमाले कोरियामा पनि फुर्सदको समयमा भाषा सिक्न छाडिनन् । लेबल टेस्ट परीक्षा दिइरइन् । चार वर्ष दस महिनापछि नेपाल पुगिन् । सबै राम्रै भइरहेको थियो । पर्वत तन्दुरुस्त थियो, उसले संगीत सिकेकै ठाउँमा उसले पनि प्रशिक्षकको काम पाएको थियो । रिमा एउटै कम्पनीमा निरन्तर काम गरेको कारण सोही कम्पनीले पुन: सम्झौता गरेर बोलाएकोले चार महिनापछि कोरिया फर्किइन् । केही पैसा बचत थियो, अब थपेर जग्गा किन्नुपर्छ भन्ने सल्लाह थियो दुवैको । कोरिया आएपछि लेबल टेस्ट पार गरेसँगै रिमाले भिसा परिवर्तनको आवेदन गरेकी थिईन् । E-9 लाई E-7 मा परिवर्तन गरे कोरिया बसाईको सिमा तोकिन्न र आफ्नो परिवारसमेत ल्याउन सकिने प्रावधान थियो । तर भिसा परिवर्तनभन्दा अघि नै एकपटक पर्वतलाई कोरिया ल्याएर घुमाउन मन लाग्यो रिमालाई । कम्पनीको साहुसँग अनुरोध गरिन् । आवश्यक प्रक्रिया पुरा गरी पर्वतलाई दुई हप्ताको लागि कोरिया बोलाइन् । निक्कै खुसी थिए दुवै जना। कोरियाका मुख्य पर्यटकीय स्थलहरू डुले । कोरियाको टापु छेजु, ६३ तले बिल्डिङ्ग, सउल टावर, विभिन्न समुद्री किनार आदि आदि । एउटा साइड ब्याग भिरेर आएको पर्वतलाई रिमाले २५ केजी तौलको लगेज, इलेक्ट्रीक गिटार, एउटा ब्राण्डेड ल्यापटप किनमेल गरेर घर पठाइन् । ========== “अब त पैसा पुग्छ होला, यसो राम्रो ठाउँमा जग्गा हेरिराख न,” पर्वत फर्किएको चार पाँच महिनामा रिमाले भनिन् । “हुन्छ,” पर्वतले स्वीकार गरेथ्यो । तर निक्कै समय आल्टाल गर्\u200dयो उसले । कतै आकार नमिल्ने, कतै ठाउँ नै अप्ठ्यारो । केही न केही बहाना बनाइरह्यो । “जम्मा कति रहेछ त हामीसँग पैसा ? बैँकमा गएर स्टेट्मेन्ट मागेर ल्याऊ त भोलि,” रिमाले यति मात्र भनेकी थिइन्, “तिम्रो पैसा मैले खाइदिएको छैन । एक एक पैसाको हिसाब छ । सबै बैँकमा जम्मा गरिदिन्छु ।” एक्कासि आएको पर्वतको जवाफले रिमा अवाक् भइन् । यो जवाफ उनको कल्पनामा पनि थिएन । यही बिन्दुबाट दुई बीचको खट्पट अघि बढ्यो । दैनिक कुराकानीमा झगडा सुरु भई । यो सिलसिला लामो समय चल्यो । मनमा पीर भएर पनि आफ्नो ड्युटी भ्याउनैपर्छ । रिमा एक साँझ पर्वतसँग बोल्न खोज्दैथिइन् । पर्वतले नै फोन गर्\u200dयो, “तिम्रो दया र भिक्षा अब मलाई चाहिएन । जतिबेला मलाई तिम्रो आवश्यकता थियो, त्यतिबेला तिमी पैसाको पछि लाग्यौ । अब तिमीलाई सबै कुरा पैसाले दिइहाल्छ नि !” आफूले गरेको केयरिङ्गलाई त्यो रूपमा अर्थ्याइदिएको कुराले चित्त त दुख्यो, तर मन दर्\u200dहिलो बनाइन्, “अरु कुरा बिर्सिए पनि हस्पिटलको चिसो भुइँमा डेढ महिना बसेर तिमीलाई स्याहारेँ, त्यो सम्झ !” “त्यो त परेको बेला जसले पनि गर्छ नि ! म भएको भए पनि गर्थेँ ।” यति सहज उत्तर सुनेर रिमा फेरि भक्कानिइन्। “त्यतिबेलैको कुरा गर्छ्यौ भने तिमीले लगाइदिएको यही मेटलको भल्ब हो, झिकेर लैजाऊ । तर के तिमीसँग वेस्ट भएको मेरो दस वर्ष समय फिर्ता गर्न सक्छौ ?”, अबचाहिँ रिमालाई असह्य भयो । मोबाईलको स्क्रिनमा म्यूट बटन दबाइन्, र हिक्का छोडिन् । आँशुले आँखा पुरियो । सम्हालिएर बोलिन्, “अनि अहिलेसम्मको मेरो पैसा नि ?” “ए, त्यसको लागि त प्रमाण देखाऊ अनि तिरौँला,” कति सटिक जवाफ थियो । त्यही दिन अर्थात् आजभन्दा दुई वर्षअघि सम्बन्धलाई पूर्णविराम लगाएर छोडेका थिए । त्यसपछिको समयमा साथीहरू कसैले पर्वतलाई केटीसँग बाइकमा देखेँ भने कसैले केटीसँग होटलमा खाजा खाँदैगरेको देखेँ त कसैले केटीसँग बाइकमा पेट्रोलको लाइनमा । केटीबिना देखेको कसैले सुनाएनन् । पर्वत रिमाको मनबाट लगभग फर्म्याट भइसकेको नाम थियो । तर हिजो एक्कासि आएको एउटा फोन कलले आज उनलाई पुनः सउल टावरमा हुत्याएर पुर्\u200dयायो । तीन वर्षअघि पर्वतसँगै ट्रेन चढेर यहाँ मुनिसम्म आएर कोरियन परम्परागत बस्ती हेर्दै घुमाउरो बाटो कटेर टावर पुगेथे । अब्जरभेसन डेकमा निक्कैबेर भुलिएथे । थुप्रै भावभंगिमा फोटो खिचेथे । तल ओर्लिएर “हार्ट लक” स्पटमा दुवै जनाले नाम लेखेर चाबी झुन्ड्याएथे । यतिबेला रिमाले सोही चाबी खोज्दैछिन् । तर ठ्याक्कै यहीँ ठाउँमा भन्ने सम्झिन सकिनन् । झल्याँस्स सम्झिइन्, गूगल ड्राइभ । त्यहाँ दुई जनाको युगल फोटोहरू सबै रिसाइकल बिनबाट समेत हटिसकेका थिए, तर उनको एउटा फोटो थियो । भेटिन, जो चाबी झुन्डाउँदै गर्दा पर्वतले खिचेथ्यो । फोटो हेरेपछि ठाउँ पता लगाइन् । तर निक्कै भित्र पुरिएको थियो । सामान्य खिया लागिसकेको भए पनि एक दुईपटकमा खुल्यो । सरक्क निकालेर ब्यागमा राखिन् । अघि आएको केबुलकार स्टेशनमा पुगिन् । उनीसँग एकतर्फी टिकट मात्र थियो । पर्वतसँग केवलकारबाट फिरेका थिए, जुन उनीहरूको भ्रमणको अन्तिम दिन थियो । दुवैले मन गर्\u200dहुङ्गो बनाउँदै शुरुदेखि अन्तिमसम्म अंगालोमा बाँधिएर पार गरेथे । आज उनी पैदल नै ढुङ्गा कुँदिएको सिँढीहरूले बनाइएको बाटो पैदलै झर्नेछिन् । तीन वर्षअघि जताततै राताम्मे देखिने रेड लिफका बोटहरू आज हिऊँले खाएर डाँठा मात्रै उराठलाग्दो भुइँकुहिरोसँग लुकामारी खेल्दैछन् । चिसो बतासको सर्सराहटमा पनि रिमा भने दुवै हातमा एक एक वटा चिसो क्यान बियर बोकेर ओरालो झर्दैछिन्, सुस्तरी सुस्तरी…। #प्रेम #वैदेशिक रोजगारी
बिमलाका हाइकु: १. मायाको मन पग्लन नै नसक्ने पत्थर देव । २. प्रिय बनायौ आँखामा नि सजायौ मनमा शंका । ३. बाँच्ने आधार सुम्पिएँ त्यो सर्वस्व प्रेम वासना । ४. सुम्पे जवानी फूलको अनादार प्यासी भमरा । ५. फूलको आस्था सजिलै भत्काएछौ मन मन्दिर । ६. स्वार्थी नयन मायालु अभिनय नौनीको पल । #बिमलाका हाइकु
मलर सदाको भोक: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । यो सामग्री हामीले कान्तिपुर दैनिकबाट लिएका हौँ । यो सामग्रीलाई यहाँ क्लिक गरेर कान्तिपुरकै साइटमा पढ्नसक्नुहुन्छ । ======================================================= सप्तरीका मलर सदा चार दिन भोकै बसे । पाँचौं दिन थेग्न नसकिने बुझेर खाना-खोजीमा निस्के, कोदालो उठाए, केही बेर हिँडे र ढले । भोकले उनलाई फेरि कहिल्यै उठ्न नदिने गरी ढाल्यो । मलर सदासँगै ‘भोकले अब कोही मर्नुपर्दैन’ भन्ने सरकारी आह्वान ढल्यो । सत्ताका नाराहरू प्रत्येक मलर सदाको मृत्युमा ढल्छन् र सत्ताधारीको हरेक नयाँ भाषणमा बौरिएर आउँछन् । ढल्नु र बौरिनुमा भेद नहुनु भनेको मूलतः अर्थहीन हुनु हो । नारालाई अर्थपूर्ण मान्नेहरू सत्ताको अन्नले ‘पूर्ण’ भइरहनेहरू मात्र हुन् । सरकारप्रतिको भरोसा फरक सवाल हो । सरकारको भरमा हिजो पनि थिएनन् सदाहरू, आज पनि छैनन् । कारण, मलर सदा मुसहर हुन्, मधेसी दलित हुन्, निमुखा हुन् र त्यसैकारण सत्ताले सधैं र सजिलै बेवास्ता गर्न सक्ने एक अति सीमान्त सत्य हुन् । पहुँचविहीनले सरकारको आडभरोसा पाउनु सुखद संयोग मात्र हो, केवल कहिलेकाहीँ घट्ने अनौठो घटना हो । त्यसैले उनीहरू कहिल्यै सरकारको भर पर्दैनन् । पहुँच हुनेहरूले सत्ताको खल्तीमा सोझै हात हालेर नगद, जिन्सी, तागत सबै निकाल्न सक्छन् । यसबारे थप भनिरहनु आवश्यक छैन किनभने उज्यालो सडकमा नाङ्गा तथ्यहरू नृत्यमग्न छन् । यी तथ्यहरूले भोकै मरेका (अ)नागरिकका लासछेउ पनि उस्तै नृत्य जारी राखेका छन् । अहिले मलर सदा बिते, तीन वर्षअघि कोशीमा आएको बाढीमा कमलु सदा बगे । कमलुका काकाले कोशी बगरमा उभिएर भतिजोको लास हेर्दै पत्रकारसँग भनेका थिए, ‘निमुखालाई सरकारले त हेर्दै हेर्दैन, भगवान्ले समेत नहेर्दा रहेछन् ।’ कमलुले आफूलाई पुर्ने ओभानो जमिनसम्म भेटेनन् । उनीहरूका नाममा एक फिट जमिन पनि थिएन । न धरतीको भर, न आकाशको । न सवर्ण समुदायको भर, न सवर्ण सत्ताको । कमलु र मलरहरू ‘सदा’ भएर जन्मनुलाई हाम्रो शक्ति संरचना र सामाजिक परिवेशले अभिशाप सिद्ध गरेको छ । कोरोना विषाणुले सधैं महामारी निम्त्याउँदैन, उनीहरूका लागि नबदलिएको समाज स्वयं जोखिमयुक्त धराप हो । थिति बदल्न नदिने राजनीतिले त्यस्तो धराप घरीघरी थापिरहन्छ, जुन विषाणुभन्दा बढ्ता भयकारी छ । सरकारी तथ्यांकले नै बताउँछ- १३ प्रतिशतभन्दा बढी दलितमध्ये जम्मा १ प्रतिशतको स्वामित्वमा मात्रै जमिन छ । मधेसका ४४ प्रतिशत दलित भूमिहीन छन् भने, करिब ९० प्रतिशतलाई आफ्नो जमिनको फसलले वर्षभरि खान पुग्दैन । यो कुनै नयाँ तथ्यांक होइन । करिब दस वर्षपहिलेको तथ्यांकमा फेरबदल नआएको मात्रै हो । तथ्यांक अद्यावधिक गरेर हेरे अवस्था अझ बिग्रेको हुन सक्छ । सकारात्मक बदलावको गति तीव्र होला भन्ने कुनै संकेत छैन । नेपालमा बाँझै राखिएका सयौं हेक्टर जमिनमा माटोसँग गाढा साइनो गाँसेका मुसहरकै स्वामित्व हुन्थ्यो भने कुनै मलर वा कमलु सदाले अकालमा मर्नुपर्ने थिएन । कोरोना महामारीले निम्त्याउने भोकमरीको सिकार भइएला भनेर उनीहरूले मात्र होइन, मुसहरइतर समुदायले पनि भयभीत हुनुपर्ने थिएन । बाँझा जमिनमा श्रम गरेर उनीहरूले उब्जाउने फसलले धेरै नेपालीको पेट भर्ने थियो । राणा, शाह र पछिका सवर्ण हाकिमले अनेक प्रपञ्चमार्फत जमिन कब्जा गरेर आफ्नो बनाउँदा, समुदायगत कृषि प्रणाली पनि सँगै विलुप्त भएको थियो । निजी स्वामित्वले आखिर जमिनसँग अत्यन्त गाढा सम्बन्ध भएको समुदायलाई जमिनबाटै बेदखल गरेको इतिहासले आधुनिक वर्तमानलाई गिज्याउन थालेको छ । खोस्रेर खाने आफ्नो जमिन नभएपछि, मलर सदाका सबै छोरा भारतको गुजरातमा श्रम गर्न गए । जमिनबाट खेदिएका सर्वहारालाई पुँजीले सस्ता श्रमिक बनाएर शोषण गर्ने हो । तन्नेरी सदाहरू कुनै गुजराती मालिकले जे चाह्यो त्यही गराउन सक्ने मजदुर भए । साबिक अवस्थामा मर्ने गरी काम गरे, जेनतेन पेट भरे । महामारी सुरु हुन नपाउँदै काम खोसियो, अलपत्र परे । बाबु बितेको उदास आँगनमा आइपुग्न खोज्दा कोरोना संक्रमित हुन सक्छन्, सिमानामै अर्को अलपत्रको सिकार हुन सक्छन् वा कथम् आइपुगिहाले भने फेरि नंग्रा तिखारेर बसेको गरिबीसँग जुध्न कति पनि साहस बाँकी नरहेको हुन सक्छ । ती क्लान्त शरीरमा जीवन सञ्चार गर्ने र मस्तिष्कमा हौसला भरिदिने यता कोही हुँदैन । सरकारसँग भए डन्डा हुन्छ, नत्र ऊ रमिते मात्र बन्छ । राजनीतिक परिवर्तनको फेहरिस्त लामो बनाउन सकिन्छ, गन्ती गरेर थुप्रै बुँदा तयार पार्न सकिन्छ । ती सबै बेकार भए भन्न खोजेको होइन । तर ती सफलतालाई स्थिर रहेको वा झन् बिग्रेको दलितको अवस्थाले गौण बनाएको छ । कोरोनाकालमै पटकपटक घटाइएका दलितद्वेषी घटना सम्झनु नै काफी छ । कमलु र मलर सदाले भोकै मर्नुपर्ने र मरेर पनि विभेद भोग्नुपर्ने थितिले परिवर्तनको यात्रा सुरु हुँदै विचलित भएछ भन्ने संकेत गर्छ । क्रान्ति सम्पन्न भएको ठान्नेहरूलाई यो यथार्थले के भन्छ ? दलितबारे अब विमर्शसम्म नचाहिने दाबी गरिरहेका दलका नेतालाई के भन्छ ? दलित शब्दकै ‘अब्युचरी’ लेख्न तम्सेका भारदारी विद्वान्लाई के भन्छ ? दशकौंपछि सुदूर भविष्यमा प्राप्त हुने सुन्दर समाजको परिकल्पनाका आधारमा राजनीति गर्नेहरूलाई के भन्दो हो ? पहाड र सहरमा बस्ने दलितका अनेक दुःख आजभोलि मात्रै अखबारका विषय बन्न थालेका हुन् । अखबारका पानामा इज्जतिलो स्थान पाउन थालेदेखि मात्रै दलितका विविध समस्याबारे नेपाली बौद्धिक क्षेत्रमा विमर्श सुरु भएको हो । दलित समुदायका बौद्धिकहरू हस्तक्षेप गर्न सक्ने भएपछि सहरमा केही तरंग देखिएको हो । त्यति पनि नहुँदो हो त कमलु र मलर सदाहरू खबरसम्म बन्ने थिएनन् । गाउँ, देहात र खास गरी मधेसका दलित मरेपछि मात्रै खबर बन्ने गर्छन् । भोला पासवान र सोना खटिकजस्ता अपवादहरू आफैं तम्सेर खस भाषामा कलम घोट्न थालेपछि मात्रै हाम्रा ‘गफ’ मा मुसहरका सुखदुःख बेलाबेला सुनिन थालेका हुन् । यही गफ पनि सहन नसक्ने बुझक्कडहरूको सहरमा कुनै कमी छैन । उनीहरू उचालिएर भन्ने गर्छन्, ‘रक्सी खाने बानीले बिगारेको हो उनीहरूलाई । काम गरेर खानेले भोकै मर्नुपर्दैन अचेल ।’ प्रत्येक हिउँदमा निमुखा मधेसी मर्छन्, अखबारमा एक पंक्ति यस्तो दोहोरिन्छ- जाडोले कोही मर्दैन, सत्ताले मार्छ । प्रत्येक बाढी र पहिरोमा निमुखा भरिया वा गरिब किसानको ज्यान जान्छ, टीभीमा कोही आउँछ र भन्छ- प्रकृतिले होइन, मान्छे र उसले बनाएका संरचनाले विपत्ति निम्त्याउने हुन् । भूकम्प आओस् वा महामारी फैलियोस्, सञ्चारमा सुनिने कुनै स्वरले प्वाक्क भन्छ- विपत्ले आखिर जात र वर्ग भन्दैन । भन्ने ‘कुरा’ को कुनै खाँचो छैन, अभिव्यक्तिका बान्की पनि परीपरीका छन् । जमिनी जर्जर यथार्थ भने जस्ताको तस्तै रहन्छ । कोरोना महाव्याधि सुरु भएपछि अरुन्धती रोयले लेखिन्- यो संकट आफैंमा नयाँ दुनियाँमा प्रवेश गर्ने ‘पोर्टल’ अर्थात् द्वार बन्न सक्छ । उनले यो पनि लेखिन्- पुरानै ‘नर्मल’ मा फर्कनु त्रासदीपूर्ण हुनेछ । हालसम्म सतहमा आएका संकेतहरू हेर्दा लाग्छ, संकटले दक्षिणपन्थ, राष्ट्रवाद र फासीवादलाई थप मजबुत बनाउनेछ । बरु प्रगति र परिवर्तनका आन्दोलनहरू महाव्याधिको ढोकाबाटै क्षतिग्रस्त भएर नयाँ दुनियाँमा पुग्नेछन् । सग्लो फर्किनेमा तिनै हुनेछन् जो अहिले समाजको मूलधारमा, सत्तामा, शासनमा र हैकममा छन् । जमिनबाट बेदखल भएका मलर सदाहरूलाई भोकै मर्न नदिने हो भने वा गुजराती मालिकले कज्याउने सस्ता श्रमिक बन्न नदिने हो भने, संकटको यो ढोकाबाट परिवर्तनको आकांक्षालाई सग्लै पार लगाउन जरुरी छ । सत्तालाई होइन, समुदायलाई समतामूलक, सबल, स्वतन्त्र, प्रकृतिमैत्री र दिगो बनाउने सपना कोरल्न आवश्यक छ । #उज्ज्वल प्रसाईं
प्रियतावादी सत्ताको संवेदनहीनता: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । यो सामग्री हामीले कान्तिपुर दैनिक बाट लिएका हौँ । यसलाई राजनैतिक विश्लेषक तथा विचारक सीके लाल ले लेख्नुभएको हो । ====================================================== चिनियाँहरूले महाव्याधिको प्रारम्भिक चरणमा सूचना लुकाउन खोजेका भए पनि डिसेम्बर महिनादेखि नै कोरोना विषाणुबारे विश्वव्यापी रूपमा चर्चा हुन थालिसकेको थियो । विश्व स्वास्थ्य संगठनको उदासीनताले गर्दा कतिपय देशले आसन्न संकटको विकरालतालाई समयमै ठम्याउन नसकेको भने हो । भारतको पहिलो कोभिड-१९ ग्रस्त व्यक्तिको पहिचान जनवरी महिनामै भएको थियो । त्यसका बावजुद प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण राज्यशक्तिलाई अहमदाबादमा आयोजना गरिने अमेरिकी राष्ट्रपतिको भव्य स्वागत कार्यक्रम ‘नमस्ते ट्रम्प’ व्यवस्थापनमा अल्झाएका थिए । विषाणु सल्किसक्दासम्म पनि सत्ताधारी भारतीय जनता पार्टी मध्यप्रदेशमा राजनीतिक जोडघटाउद्वारा आफ्नो सरकार बनाउनमै व्यस्त थियो । त्यसैले फेब्रुअरीको अन्तिम सातातिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कोरोनामुक्त क्षेत्र रहेको श्रव्यदृश्य प्रचार सामग्री अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा तयार गरेर व्यापक प्रचारप्रसार गर्न दिएको निर्देशनलाई अन्यथा लिन मिल्दैन । जस्तोसुकै जिम्मेवार व्यक्तिमा देखिए पनि अनभिज्ञतालाई अनैतिक मान्नु अनुपयुक्त हुनेछ । नेपाल सरकारले त्यसपछि प्रदर्शन गरेको नीतिगत अन्योल, प्राथमिकता व्युत्क्रमण (प्राइआरिटी इन्भर्सन), कार्यान्वयनका कमजोरी, प्रतिपुष्टि प्रणालीको बेवास्ता एवं सुधार गर्ने क्षमताको अभावलाई भने आपराधिक विश्वासभंग (क्रिमिनल ब्रिच अफ ट्रस्ट) ठहर्\u200dयाउन धक मान्नुपर्दैन । राजनीतिक दल फुटाउने गरी अध्यादेश जारी गराउने एवं त्यसको उपादेयता शंकास्पद हुने देखेपछि तत्काल खारेज गर्न लगाउने कर्मलाई शासन व्यवस्थाको कुनै पनि मापदण्डअनुसार स्वीकार्य ठहर्\u200dयाउन सकिँदैन । प्राथमिकता व्युत्क्रमणको अनुभव गोरखा भुइँचालोको बिच्चमा हतारहतार संविधान जारी गर्दा पनि भएको थियो । त्यसैले पनि होला, संविधानको अनुसूचीमा राखिएको आधिकारिक नक्सा एवं निशानछापले नेपालको सिमानासम्बन्धी औपचारिक दाबीलाई प्रतिविम्बित गर्दैन । तर, कमजोर वैधानिकता एवं क्षयोन्मुख स्वीकार्यता भएको सत्ताका लागि शब्दाडम्बरपूर्ण राष्ट्रवादजत्तिको भरपर्दो जनोत्तेजक सिंहनाद अर्को कुनै हुँदैन । राजनीतिक वृत्तको वर्तमान प्राथमिकता विद्यमान कोभिड-१९ चुनौती, तात्कालिक आर्थिक संकट, आसन्न भूराजनीतिक जटिलता, जनजीविका सुरक्षणका दीर्घकालीन मुद्दा वा राष्ट्रिय ऐक्यबद्धता निर्माण गर्ने रचनात्मक उपायको खोजी नभएर अन्तर्राष्ट्रिय मञ्चमा अप्रासंगिक ठहरिन सक्ने नक्साको एकपक्षीय संशोधन हुन पुगेको छ । एक थरी नेपालका ‘ट्रम्पार्डहरू’ त विवाद निरूपणअगावै सिमानामा तारबार नै लगाउनुपर्ने माग गरिरहेका छन् ! एउटा पुरानो हिन्दी फिल्मको गीत छ, ‘आग लगी हमरी झोपडिया में हम गाँवै मल्हार ।’ बेवकुफको बहाना के हुन्छ भने, मेघ मल्हार गाएपछि पानी परिहाल्छ, आगो आफैं निभ्छ । नेपालको राज्य व्यवस्था अहिले त्यस्तै दिवास्वप्न बेच्न बाँसुरी बजाउने एवं कविता कोर्ने काम गरिरहेको छ । यो सबै यति विघ्न पीडादायक नभइदिएको भए विस्मित हुँदै सुदिनको प्रतीक्षा मात्र गरेर बसे पनि हुन्थ्यो । सार्वजनिक क्लेश घट्नुको साटो बढ्दै गएकाले सम्भाव्य आक्रोश अब भाग्यवादी विवशतामा परिवर्तित हुने हो कि भन्ने डर बढ्दै छ । त्यसैले सत्ता निश्चिन्त छ । कपटपूर्ण बहकाउ प्रसंग नेपालको आर्थिक राजधानी मानिने वीरगन्जको हो । एउटी मध्यवयी महिलालाई अचानक असहज महसुस भयो । स्थिति उत्ति साह्रो गम्भीर नदेखिएकाले उनका घरका सदस्यले मोटरसाइकलमा राखेर सबभन्दा नजिकको स्वास्थ्यकेन्द्रतिर दौडाए । त्यहाँ चिकित्सक रहेनछन् । नारायणी अस्पतालको ढोका सामान्य बिरामीका लागि बन्द छ । अर्को नाफा क्षेत्रको अस्पतालतिर जाँदा बाटामा बन्दाबन्दीको नियमित सोधपुछमा समय खेर जाने नै भयो । सघन उपचार कक्ष नभएको अस्पतालले मुटुको रोगी नहेर्ने रहेछ । बिरामीका आफन्तलाई सुझाइएको ठूलो अस्पतालसम्म पुर्\u200dयाउँदा दुई घण्टा बितिसकेको थियो । ढिलो भइसकेको थियो । घटना शोकजनक भए पनि अपवादात्मक भने होइन । उपयुक्त सुरक्षावस्त्रबेगर स्वास्थ्यकर्मी वा एम्बुलेन्सचालक सामान्य बिरामी बोक्न पनि हच्किन्छन् । अप्ठ्यारो परिस्थितिमा नाफा क्षेत्रका अस्पताल सञ्चालकले अनावश्यक जोखिम उठाउन चाहँदैनन् । पर्याप्त तयारी परको कुरा भयो, सामान्य सम्भाव्य परिदृश्य चित्रण गर्ने मामिलामा पनि सत्तासीनहरू अक्षम ठहरिएका छन् । स्वास्थ्यसेवा नाफा क्षेत्रको जिम्मा लगाइएको देशमा विपन्न व्यक्ति बिरामी पर्नु भनेको काल कुर्नुसरह हुन गएको छ । अर्को प्रकरण तात्कालिक रूपमा ज्यानै जाने प्रकृतिको नभए पनि त्यसको असर पनि कम हतोत्साहित गर्ने किसिमको छैन । कुनै बेला साहेबज्यूको दरबारले गर्दा चिनिने छपकैंया टोलको परिचय आजभोलि मुसलमानबहुल क्षेत्र हुन पुगेको छ । प्रारम्भिक चरणमा कोरोना विषाणु संक्रमितको पहिचान छपकैंयामै भएको थियो । बजार क्षेत्रतिर बन्दाबन्दी अपेक्षाकृत खुकुलो देखिए पनि मुसलमानबहुल बस्ती भएकाले छपकैंयाका बासिन्दाले प्रहरी वा प्रशासनबाट कुनै छुट पाउँदैनन् । सबैजसो अनिवार्य घरबन्दीमा छन् । नातिनीका लागि दूध किन्न निस्केकालाई प्रहरीले लाठोले वीरगन्जमा अरूतिर पनि हिर्काउँछन् । छपकैंयाका बासिन्दासँग राज्य संरचनाको व्यवहार त्यसभन्दा पनि क्रूर हुन्छ । कोरोना विषाणुभन्दा राज्यको त्रास बढी भएकाले ढोकाबाहिर चियाउन पनि गाह्रो छ । मान्छेसँगै झुपडीहरूमा बाख्राबाख्री पनि बन्द छन् । गाई त कमैले पालेका होलान्, भैंसीको भने दूधसँगै पछि राँगाको मासुसमेत बेच्न पाइने भएकाले ती जन्तुहरू घरैपिच्छै देखिन्थे । बाटामा बाँधिएका घरपालुवा जनावर घाँस र पराल चपाइरहेका हुन्थे । राहतमा पशु आहार बाँडिँदैन । तिनको अवस्था सोध्न कोही पुग्दैन, किनभने पशुपालन गरेर गुजारा गर्ने अनुभव भएको कोही पनि जिम्मेवार व्यक्ति शासन वा प्रशासनमा छैन । राहत बाँड्ने जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ, स्रोत व्यवस्थापनको एकाधिकार भने संघीय सरकारसँग छ । जनस्वास्थ्य प्रदेश सरकारको कार्यक्षेत्र हो, संगरोधन (क्वारेन्टिन) बाट उम्किन खोज्नेलाई ‘गोली हान्ने’ दमनकारी आदेश भने संघीय सरकारको संयन्त्रले जारी गर्छ । प्रतिनिधिसभामा विद्वान् सांसद प्रदीप गिरिले आसन्न भोकमरीबारे पूर्वसूचना दिएका छन् ।खेती एवं पशुपालनबाट गुजारा चलाउने, ज्याला मजदुरी गरेर ज्यान पाल्ने वा परिवारको भरणपोषणका लागि गुजरातको सुरत सहरदेखि लद्दाखको कालापहाडसम्म दाससरह पसिना बगाउने श्रमिकहरू राष्ट्रवादी सत्ताको प्रमुख चिन्ता कहिल्यै बन्न सकेनन् । दलीय अनुशासनको कोर्रा (पार्टी ह्वीप) देखेपछि हात उठाएर विवादित संविधान पारित गर्न हतारिने संसदीय परम्पराका संवाहकहरूलाई अब निःसन्देह नक्सा एवं निशानछाप सच्याउनका लागि गरिने प्रस्तावित संविधान संशोधनलाई उच्च प्राथमिकतामा राख्ने गरी सर्वेसर्वाको उर्दी जारी हुनेछ । विवादित संविधानमा औंठाछाप लगाउन अस्वीकार गरेर सभासद् गिरीले उच्चतम राजनीतिक नैतिकता प्रदर्शित गरेका थिए । आफ्ना मतदाता एवं देशको उल्लेख्य जनसंख्यालाई निषेधाज्ञामा थुनेर तीव्र पथबाट जारी गरिने मूल कानुन स्वीकार गर्ने बाध्यता विवेकशील जनप्रतिनिधिलाई हुँदैन । अहिले भने उनीजस्ता अन्तर्विवेकशील (कान्सिएन्सस) राजनीतिकर्मीलाई नृजातीय मुख्तियार खड्गप्रसाद शर्मा ओलीले ‘नैतिक द्विविधा’ भनिने कर्तव्यपरायणताको पासोमा नराम्रोसँग फसाइदिएका छन् । निशानछापका लागि गरिने संविधान संशोधनका पक्षमा उभिन राजनीतिक नैतिकताले दिँदैन । पहिलो कुरा त, त्यो निरर्थक अभ्यास हो । एकपक्षीय नक्सांकनले कूटनीतिक मान्यता पाउँदैन । दोस्रो कुरा, भेनेजुएला, पाकिस्तान एवं उत्तर कोरियाजस्ता देशहरूले नेपालको दाबीलाई समर्थन गरी नै हाले पनि सामान्यजनले त्यस्तो अन्तर्राष्ट्रिय मान्यताबाट कुनै लाभ लिन सक्नेछैनन् । राजा वीरेन्द्रको शान्तिक्षेत्र प्रस्तावले संसारका सबैजसो शक्तिराष्ट्रको कूटनीतिक अभिपोषण पाएको थियो । कालान्तरमा त्यो सबै निरर्थक मात्र नभएर सरासर प्रत्युत्पादक ठहरिएको हो । त्यसैले प्रस्तावित संशोधनको व्यावहारिक उपयोगिता पनि देखावटीभन्दा बढी पटक्कै छैन । तर, कागजै भए पनि क्षेत्रफल बढाउन गरिएको प्रयत्नलाई खारेज गर्न राष्ट्रवादको मान्यताले गर्दा मन मान्दैन । नहुने कुरा गरेर मन बहलाउने कर्मका लागि उर्दूमा ‘खुशफहमी’ शब्द प्रयोग हुन्छ । दक्षिणबाट पानीजहाज, उत्तरबाट रेल, पाइपबाट ग्यासपछि सर्वेसर्वा शर्मा ओलीले नक्सा संशोधन गरेर क्षेत्रफल बढाउने नयाँ ‘खयालीपुलाव’ पस्केका छन् । यो कागजी पुलाउ न मिल्काउन मिल्छ न त खान नै सकिन्छ । कोरोना विषाणुभन्दा पनि जोखिमपूर्ण बहकाउ मुद्दा (डिभर्टिस्मन्ट) उक्याएर सर्वेसर्वा शर्मा ओलीले प्रदर्शन गरेको संवेदनहीनताले नेकपा दोहोरोको सत्तालाई सुरक्षित बनाएको भए पनि सामान्यजनलाई त्यस अनुपयुक्त निर्णयको ठूलो मूल्य बेहोर्नुपर्ने हुन सक्छ । अपचलित नैतिकता बोलीचालीको भाषामा अपचलित कर्म स्वतः अनैतिक ठहरिन्छ । राजनीतिका ज्ञाताहरूले भने वर्णनात्मक एवं आदर्शात्मक गरी सत्ताका कम्तीमा दुई थरी नैतिकताबारे व्याख्या गर्ने गर्छन् । वर्णनात्मक नैतिकताले समाजमा व्याप्त मूल्य एवं मान्यताहरूको अवस्थालाई जनाउँछ । जर्मन समाजले मुखर वा मूक तवरले चाहेकाले नै हिटलरको उदय भएको थियो । आदर्शात्मक नैतिकताले भने उच्चतम मानवीय मूल्यहरूका लागि निरन्तर गरिनुपर्ने संघर्षको आचारसंहितालाई दर्साउँछ । जातीय पृष्ठभूमि, नृजातीय प्रतिबद्धता एवं राजनीतिक प्रशिक्षणले गर्दा सर्वेसर्वा शर्मा ओली वर्णनात्मक नैतिकताका अभ्यासकर्ता छन् । त्यसैले उनमा आलोचक त के, समर्थकहरूको कुरा सुन्ने सहनशीलता पनि सायद छैन । सत्ताको विरुदावली गायनमा रमाउने जमात जुनसुकै समाजमा अपेक्षाकृत वाचाल नै हुन्छ । नृजातीय ऐक्यबद्धताको आकर्षणले गर्दा सर्वेसर्वा शर्मा ओलीका पक्षधरहरू सार्वजनिक वृत्तमा समेत अत्यधिक सक्रिय रहन्छन् । त्यसैले उनी जे छन्, कठोर यथार्थ त्यही हो । वर्तमान सत्ताले आफ्नो कार्यशैली सुधार गर्ने, प्राथमिकता सच्याउने वा सकारात्मक प्रभावकारिता बढाउने सम्भावना न्यून होइन, शून्य छ भन्दा हुन्छ । शताब्दीको सम्भवतः सबभन्दा विकराल विपत्तिका बेला आत्ममुग्ध एवं अकर्मण्य सरकार भोग्नुपर्ने अवस्थालाई नियतिको खेल भनेर मात्र नजरअन्दाज गर्न सकिँदैन । हरेक देशले आफ्नो युक्तिअनुसारको सरकार पाउँछ भन्ने उक्तिलाई पत्याउने हो भने नेपालको राज्यसत्ता मात्र नभएर समग्र समाजमा व्याप्त रहेको आदर्शविहीनताबारे पनि बहस चलाउनुपर्ने हुन्छ । गोर्खाली राजाले तथाकथित दिव्योपदेशमार्फत जग बसालेको ‘आफ्नो मान्छे’ एवं ‘चाकरी प्रथा’ सम्म पुग्नुपर्दैन । जंगबहादुरको ‘जसको तरबार, उसको दरबार’ मान्यतालाई पनि त्यस कालखण्डको आवश्यकता भनेर अर्थ्याइदिए हुन्छ । राजा महेन्द्रले आफ्नो शासकीय महत्त्वाकांक्षा पूरा गर्न रोपेको देशाहंकारको विषवृक्षलाई निर्मूल नगरेसम्म भने निरंकुशता एवं संवेदनहीनता सबैजसो सरकारको अन्तर्निहित चरित्र हुने त्रासदीबाट मुक्त हुन सकिनेछैन । इतिहासनिर्माताको एउटा गल्तीको सजाय पुस्तौंपुस्ताले भोग्नुपर्ने बाध्यता ‘सत्ताको नैतिकता’ बाट सिर्जित सामाजिक मूल्यको व्यापकताले गर्दा उत्पन्न हुन गएको हो । राज्य एवं समाजलाई वर्णनात्मकबाट आदर्शात्मक नैतिकतातिर उन्मुख गराउन सजिलो भने हुँदैन । कानुनतः छुवाछूत निर्मूल भएको आधा शताब्दीभन्दा बढी भइसक्दा पनि हिन्दु समाजमा ‘जनै जाति’ भनिने समूहको वर्गविहीन हालीमुहाली नेपालमा मात्र नभएर भारतमा पनि यथावत् छ । धर्मनिरपेक्ष भारतमा मुसलमान एवं बहुसांस्कृतिक नेपालमा मधेसीको सामाजिक सम्मान निरन्तर संघर्षका बावजुद सुरक्षित हुन सकेको छैन । जटिल मुद्दाका पछाडि ऐतिहासिकदेखि लिएर वर्तमानका कैयन् कारक तत्त्व रहेका हुन्छन् । प्रियतावादको आकर्षणले गर्दा एउटा तथ्य भने प्रायशः ओझेलमा पर्छ- मानवीय मूल्य एवं मान्यताको निर्धारण बहुमत मात्रले गर्न थाल्ने हो भने अवश्यम्भावी त्रासदीका लागि तयार भएर बस्नुपर्छ । सत्तालाई सत्य सुनाउनु सचेत नागरिकको प्राथमिक कर्तव्य हो । र, बहुमतको पक्ष यदि सही छैन भने सामान्यजनलाई तिनको गल्ती औंल्याउने जिम्मेवारी पनि न्यायप्रेमी व्यक्तिहरूकै हुन आउँछ । वर्तमान राज्यसत्ता नेपाली मतदाताको विवेकको साटो आवेगबाट गठन भएको हो । यो जतिसम्म रहन्छ, सामान्यजनको कठिनाइ बढिरहने पूर्वनिश्चित छ । #प्रियतावादी सत्ताको संवेदनहीनता
बाहुनले बाहुनसँगै लुकाएको भाषा: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । यो लेख हामीले शिलापत्र बाट लिएका हौँ । शिलापत्रका लागि यो लेख चेवन राई ले तयार पारेका हुन् । यहाँ क्लिक गरेर यस लेखलाई शिलापत्रमै पढ्न पनि सक्नुहुने छ । ==================================================== म स्वविवेक र जिज्ञासाले संस्कृत अध्ययन गर्दै गरेको मान्छे हुँ । मेरो निजी अध्ययन र बुझाइमा धेरै मानिसहरूले भनेको जस्तो संस्कृत बाहुनको भाषा होइन बरु अतिवादी पण्डित बाहुनले लुकाएको भाषा हो । यो भाषा लोप हुनुमा अन्य भाषी समुदायको कुनै भूमिका छैन, जति बाहुनको छ । निश्चय नै, अतिउपयोगी गुढ रहस्यहरू यस भाषामा अङ्कित छन्, जो अन्यले थाहा नपाऊन् भनेर लुकाइएको हो । बाहुनले बाहुनसँगै पनि लुकाएको हो । पण्डितले पण्डितसँग पनि लुकाएको हो । वास्तवमा मानवीय स्वार्थमा अल्झिएर आफूले मात्र जानूँ र अरूले नजानोस् भनेर लुकाइएको हो । बाहुनले किन लुकाए संस्कृत ? संस्कृतलाई दैवीय भाषा पनि भनिन्थ्यो । यस भाषाबाट देवआदिसँग सम्पर्क गर्न सजिलो थियो । त्यसबेला हरकोही विज्ञ र ज्ञाता थिए । को कति ज्ञाता थिए ? कसका कति शिष्य थिए ? कसका शिष्य कति प्रखर थिए ? सो हेरिन्थ्यो । कसैले यज्ञ कर्मलाई उत्तम भन्थे, कसैले भक्ति नै भगवान् पाउने सहज र सजिलो बाटो भन्थे । यसैगरी कसैले योगभन्दा उत्तम अरू नरहेको सिकाउँथे । यसरी उनीहरूबीच एकआपसमा मतभेद रहन्थ्यो । को कति जान्दथे भनेर थाहा पाउन उनीहरु झुण्डझुण्ड बनाएर बेलाबेला शास्त्रार्थ गर्थे । जसले विजय पाउँथे, उसलाई अन्यले पुज्नुपर्ने हुन्थ्यो । यसरी कोभन्दा को कम ? भन्ने मनसायले उनीहरूले आफूले परम्पराबाट जानी आएका ज्ञानहरूलाई आफ्नो मत सम्प्रदायभित्र मात्र लुकाएर राख्न थाले । यसरी विभिन्न मत सम्प्रदाय बढ्दै जाँदा, उनीहरूले लुकाउँदै जाँदा एकआपसमा ज्ञानको आदानप्रदान भएन र यो लुप्त हुँदै गयो । यस संस्कृत भाषालाई लुकाउन र क्लिष्ट बनाउन वा आफ्नो विज्ञता देखाउन शब्दहरूलाई निकै छोटो, साङ्केतिक बिम्बमा र वाक्यहरूलाई जोडेर निकै लामोलामो बनाइयो, जसले अन्य समुदायलाई दिग्भ्रमित बनायो । जुन साधारण मानिसले नबुझ्ने भए र नबुझेपछि उपेक्षा गर्ने नै भए । उपेक्षा यस भाषाको मृत्युको कारण पनि हो । यसरी जनमानसमा यो भाषामोह मर्\u200dयो । आफूले नजानेको वा जान्न कठिन र दुरुह भएपछि, सिकाउने गुरुको पनि अभाव भएपछि यस विषयप्रति नै उपेक्षा हुँदै गयो र समूहगत रूपमै शब्दका अर्थहरूले अरूअरू रूप धारण गर्न थाल्यो र यसको मूल मर्म मर्न थाल्यो । विस्तारै नयाँ पुस्ताका पण्डितहरूले पनि यसलाई पूरा नबुझ्ने र गलत बुझ्ने भयो । गलत अर्थ्याउने भयो । गलत अर्थले अभिप्रेरित भएर आचरणहरू पनि गलत भए । त्यसपछि यज्ञकर्मको फल पाउन छाडेर बरु हानि हुन थाल्यो । भक्ति पनि स्वार्थमा मात्र हुन थाल्यो । योगको पनि भाँति पुगेन । मन्त्र पनि दुरूपयोग भएर श्रापित हुन पुग्यो । नित्य गर्नुपर्ने क्रियाकलापहरू औँशी पूर्णेमा हुन थाले । दान, दया, धर्म, शान्ति, सत्य र अहिंसा जस्ता धर्मका खुट्टाहरू भाँचिए । मानिसहरू काम, क्रोध, लोभ, मोहबाट ग्रस्त हुन थाले । संस्कृत शब्दले समेटेको मिठास, भाव, अर्थ र मर्म नै मरेर गयो । त्यसैले यो लुप्त भयो । मानिसहरूले यसलाई सामान्य शब्दको रूपमा मात्र बुझ्न थाले । जस्तो कि संस्कृतमा ‘नर’ शब्दको अर्थ हामी वर्तमानमा के बुझ्छौँ ? ‘नर’को अर्थ अहिले कुनै पुलिङ्ग वा केटा वा पुरुष वा मान्छे, हामी यति नै बुझ्छौँ । तर ‘नर’ भनेको विष्णु र त्यही विष्णुको तपबाट ‘नार’ (पानी) उत्पन्न भई जीवहरूको सृष्टि व्यापक भएको, नारमै बस्ने भएकाले ‘नारायण’ भनिएको, पुरुषहरूमै उत्तम भएकाले पुरुषोत्तम भनिएको भावार्थ र मर्म नै मरेर गयो । तर, पण्डित्य परम्पराले थेगेका कारण यो कुरा ग्रन्थमा भने सुरक्षित नै रह्यो । संस्कृत किन पनि महत्त्वपूर्ण छ भने, प्राचीन ज्ञानका कुराहरू यसै भाषामा लेखिएका छन् । शरीर विज्ञानका दुर्लभ र महत्त्वपूर्ण कुराहरू यसै भाषामा छन् । संस्कृत मूलतः मन्त्रहरूका लागि चर्चित छ । ‘अहं ब्रह्मास्मि’ वा म नै ब्रह्माण्ड हो भन्ने, यो शरीर नै ब्रह्माण्ड हो भन्ने र यो मन्त्रमय छ भन्ने संस्कृत श्लोकमै छ । मन्त्र योगमा पूरा शरीर नै कुनकुन मन्त्रको संयोगले बनेको छ, त्यो सिकाइन्छ । शरीरको कुनकुन भागमा कुनकुन देवी, देवताको वास छ, ती देवी, देवता कुनकुन मन्त्र स्वरूपमा छन् ? त्यो सिकाइन्छ, सिकाइन्छ मात्र होइन, उनीहरूको बीज मन्त्र ज्ञान नै दिएर अनुभूत गराइन्छ । तर, बाहिरी ब्रह्माण्डमा खोज पड्ताल गरिदैँन । शरीर नै ब्रह्माण्डको प्रतिरूप हो र पञ्चतत्त्वको सहअस्तित्वले यो अाविर्भूत छ भनेर गुरुदीक्षा नै दिइन्छ । यस्ता ज्ञानका कुरालाई आजकल अन्धविश्वास वा धर्म सम्प्रदायसँग जोडेर साँघुरो बनाइएको छ वा वितृष्णा जगाइएको छ । अध्यात्म भनेर अलिकति सहज त पारिएको छ तर जो यो सबै मान्दैन, त्यसलाई भौतिकवादी पनि भनिएको छ । भौतिकवादी हुनु भनेको सारा छुट र स्वतन्त्र हुनु हो भन्ने बुझिएको छ । उता, अध्यात्मवादी भन्नेचाहिँ धर्म, सम्प्रदाय र गुटबन्दीमा खुम्चिएर रम्नुपरेको छ । धर्मको नाममा यो पनि गर्नुहुँदैन, त्यो पनि गर्नुहुँदैन भनेर बस्नुपरेको छ । मानौँ, धार्मिक हुनु भनेको किरिया-पुत्र बसेको जस्तो हो । खैर, मैले अध्यात्म नमान्नेलाई चाहिँ ‘भूआत्म’ भनेको छु । भौतिक अलिक गलत शव्द चयन हो । अध्यात्मको उल्टो भौतिकता अलिक नमिलेजस्तो पनि भयो र अध्यात्मसँग मिल्ने शव्द ‘भूआत्म’ भनेँ । ‘भू’ भनेको जमिन र जमिन भनेकै पृथ्वी भएकाले अनि हाम्रो शरीर पनि पृथ्वी तत्त्वले नै बनेकाले र जिउँदो शरीर शव नभएर त्यसमा आत्मा हुने भएकाले ‘भूआत्मा’ भनिएको हो । अलिकति आत्मकेन्द्रित पनि होस् भन्ने मनसायले भनेको हो किनकि शब्दले पूरा जीवन अर्थलाई नै परिवर्तन गर्न सक्छ । साधरणतया भौतिकको अर्थ हुन्छ निर्जीव, जो जीव होइन, जसमा आत्मा छैन । तर, एउटा संवेदना बोकेको मानिस कसरी निर्जीव हुन सक्छ ? कसरी भौतिकवादी हुन सक्छ ? हुनै सक्दैन । यो गलत शब्द चयन हो भन्ने लागेर नै मैले भूआत्म भनेँ । हुनत यो पनि मलाई त्यस्तो नयाँ शब्द जस्तो लाग्दैन किनकि यो प्रकृतिमा नयाँ केही छैन, सबै दोहोरिइरहन्छन् भनिन्छ । अध्यात्म, जो आत्म अध्ययनमा तत्पर छ । भूआत्म एउटा आत्म बोकेको शरीर मात्र हो, जो नाशवान् छ । कुरा शब्द र भाषाको हो । हरेक जिउँदो आत्माको भाषा हुन्छ । हरेक भाषामा मन्त्र हुन्छ । यो संस्कृतमै मात्र हुन्छ भन्ने छैन । नवनाथ परम्पराको अन्तिम नाथ गुरु गोरखनाथले साधारण बोलीचालीको भाषालाई नै मन्त्र बनाए । उनले बनाएको मन्त्रलाई ‘शाबर मन्त्र’ भनिन्छ । भाषा, शब्द र त्यसको मर्म बुझे शब्द नै ईश्वर हो पनि भनिन्छ । हामीले धेरै भाषा सिक्नु आफ्नै क्षमता बढाउनु हो । रुचि हुनेले सिक्नु नराम्रो होइन । मरिसकेपछि त आत्माले जुनसुकै भाषा पनि बुझ्छ । आत्माले हाम्रो सोच र विचार बुझ्न सक्ने, बदल्न सक्ने क्षमता राख्छन् । नेपाली, अंग्रेजी, हिन्दी, संस्कृत वा जुनसुकै भाषा नि बुझ्छन् । अब यहाँ भूआत्मावादीले अन्धविश्वास ठान्लान् । त्यो उनीहरूको अज्ञानताको कुरो हो । खासमा भाषा एउटा मनसाय मात्र हो, जुन एकअर्काको मनको आसय बुझ्न शब्दमा व्यक्त गरिन्छ । कैयौँ भाषाहरू त एकअर्काले नबुझून् भनेर कोड भाषामा पनि प्रयोग गरिन्छ । साङ्केतिक भाषाको पनि प्रयोग गरिन्छ । यी सङ्केतहरू नै भाषा हुन् । अक्षरहरू सङ्केत हुन् । इशाराहरू सङ्केत हुन् । इश बाटै इशारा बनेको त हो । तर, यो केवल स्थुल शरीर हुँदा मात्र हो । शरीरै नरहेपछि सूक्ष्ममा त आसयहरू मात्र रहन्छन् । विगत र आगतका सयौँ आसयहरू रहिरहन्छन् । आत्माको सयौँ जन्म नै आसयमा रहने हो । मरिसकेपछि आसयको आपूर्ति र खुदको कर्मले नै छट्पटी बढाइरहन्छन् । भनौँ, आत्मा नै आसय हो । ती आत्माहरू आसय स्वरूपमै रहन्छन् । यिनीहरूले जुनसुकै भाषामा प्रकट गरिएको आसय पनि बुझ्छन् । मनसाय पनि बुझ्छन् । वास्तवमा अध्यात्म र भूआत्म, आस्तिक र नास्तिक भन्ने नै हुँदैन । सारा जगत चैतन्य स्वरूपमा छ तर खण्डखण्डको अज्ञानतामा, व्यष्टि र समष्टिको स्वरूपमा, जीवन र जगतको यो मायामा, यसको परिभाषामा । यो आवश्यक भएर नै लेख्दै छु । तर, मैले बुझेको छु- यदि अत्यन्त नास्तिक जो छ वा हुन सक्छ, त्यो यही भूआत्म शरीर रहस्य बुझ्ने, सारा ईश्वरलाई आफैँमा समेट्ने नै महाईश्वर हो । हरेक जागेको शरीर, चैतन्यसँग एकाकार भएको शरीर नै ईश्वर हो । महाईश्वरको इशारा नै ईश्वर हो । ईश्वर, जुन स्वर रूपमा छ, जुन ध्वनि रूपमा छ, जुन ॐको स्वरूपमा छ । यस्ता लुकाइएका ॐ का कुरा संस्कृत साहित्यमा मात्र पाइन्छ, जुन अलिक विस्तृत रूपमा छ । हुनत अन्य भाषामा पनि छ । अहिले आफ्नो अज्ञानताले विरोध गर्ने जनजातिको भाषामा पनि छ । हाम्रै किरातीहरूको मुन्धुममा पनि छ तर विस्तृत छैन । लुप्त भइसकेको छ । यद्यपि, उत्पत्तिका कथाहरूमा भने एकरूपता आउँछ । तर, भाषाहरूको पनि स्वरूप र आयु हुने हुनाले यो पनि प्रकृतिकै खेल हो । हामीले जुनसुकै उपलब्ध भाषाबाट भए पनि सिक्नुपर्छ । सिक्नुपर्छ कि जन्म कसरी भयो ? किन भयो ? केका लागि भयो ? मृत्युु केका लागि हुन्छ ? मृत्युपछि के हुन्छ ? त्यो संस्कृतबाट मात्र नभएर हरेक भाषाबाट सिक्नुपर्छ । त्यसैले हरेक भाषा, हरेक सचेत नागरिकले जोगाउनै पर्छ । भाषाहरू अव्यक्तलाई व्यक्तमा प्रकट गरिने माध्यम हुन् । हाम्रो आत्मसत्यलाई प्रकट गर्ने ज्ञानको माध्यम नै भाषा हो । भाषामा नअटाएको, भाषाले देख्न नसकेको उत्पत्ति र अन्त्यको बृहत् स्वरूपको कथा नै अव्यक्त हो । भाषामा व्यक्त ती कथाहरू आनन्द स्वरूप हुन् । भनिन्छ- बुद्धले बुद्धत्व पाएपछि पनि एक हप्ता मौन बस्नुपरेको थियो । किनकि जुन ज्ञान, जुन बोध, जुन आनन्द बुद्धले पाउनुभएको थियो, त्यो अव्यक्त थियो । भाषामा प्रकट गर्न सम्भव थिएन । हामीभित्र पनि बुद्धको जस्तो ज्ञानबोध हुन्छ । यति हो, हाम्रो यो भूआत्म शरीरका भाषाहरू, अक्षरहरू केही समय मात्र नित्य छन् । वास्तवमा सबै अनित्य छन् । खैर, यो संस्कृत भाषालाई एेच्छिक नै भए पनि कक्षा १ देखि पढाउने भन्ने सोचचाहिँ अतिवादी सोच हो । कसले कक्षा १ देखि पढाउने भन्ने सोच ल्याएको हो ? किन भने होलान् ? के स्वार्थले भने होलान् ? त्यो म जान्दिनँ । संस्कृत शास्त्रमा हरेक बालबालिकालाई ७ वर्षदेखि मात्र पढाइ र अध्ययनमा लगाउन उपयुक्त उमेर भनिएको छ, जुन मानवीय पनि छ । बालबच्चाहरूले ठूलो हुने क्रममा घरमै धेरै सिक्छन् आफ्ना आमाबाबाबारे, बाजेबोजुबारे, घर परिवारबारे । उनीहरूको स्नेह, उनीहरूको प्रेम र सामीप्यबारे, आदर, सत्कारबारे, नैतिक-अनैतिकबारे, भुतप्रेत , देवी, देउता र ऋषिमुनिहरूबारे , जन्म-मृत्युबारे प्रारम्भिक ज्ञान त घरमै सिक्छन् । यही नै हाम्रो सनातन शिक्षा पद्धति हो । यसलाई भुलेर आफ्ना छोराछोरीलाई दुई, अढाई वर्षदेखि नै स्कुल घुसार्नेहरूले अलिकति सोच्नुहोस् । आफ्नो सन्तानमा मानवीय चेतना प्रवृत्त हुन दिनुहोस् । यो म वर्तमानको शिक्षक, अभिभावक, नियामक र सचेतकहरूलाई भन्दै छु। १ कक्षामै संस्कृतको भारी नलदाउनुहोस् । हरेक भूआत्मलाई न्याय दिनुहोस् । उसै पनि हामी नेपालीहरूले आफ्नो मातृभाषा, नेपाली भाषा, छिमेकीको भाषा र विदेशीको भाषा त सिकी नै रहेका हुन्छौँ । प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७, १९:१४:००
संस्कृत भाषाको राजनीति: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । तलको समाग्रीलाई हामीले कान्तिपुर दैनिक बाट साभार गरेका हौँ । कान्तिपुरका लागि यो लेख आहुति ले लेखेका हुन् । तपाईँले यो समाग्री यहाँ क्लिक गरेर कान्तिपुरमै पनि पढ्न सक्नुहुनेछ । =============================== नपालमा फेरि एक पटक संस्कृत भाषाको अध्यापनसम्बन्धी बहस उत्पन्न भएको छ । सरोकारवाला जनताको जीवनमा गम्भीर प्रभाव पार्ने विषयहरूमा गुपचुप निर्णय गर्ने र बलात् लागू हुने बेला मात्र थाहा दिने नेपाली राज्यको परम्परागत घातक शैली कक्षा एकदेखि नै संस्कृत भाषा पढाउने निर्णयका सन्दर्भमा पनि पुन: प्रकट भएको छ । नयाँ संविधान बन्ने प्रक्रियासँगै परिकल्पना गरिएको भाषा आयोग यथार्थमा लामो समयदेखि उत्पीडनमा परेका खस नेपाली भाषाबाहेकका विभिन्न भाषिक समुदायको दैनन्दिन जीवनमै जीवन्त रहेका भाषाहरूको रक्षा र विकास गरी ती समुदायलाई न्याय गर्नका लागि थियो । तर भाषा आयोगले त सबैभन्दा हतारोका साथ संस्कृत भाषालाई कक्षा एकदेखि नै पढाउने सिफारिस गर्न पो तीव्रता देखाएछ, यो आफैंमा उदेकलाग्दो प्रसंग हो । समाजमा दशकौं विवाद रहेको विषयलाई सार्वजनिक बहसमा नल्याई एक्कासि लागू गर्ने स्तरमा पुग्नुले सरकारको नियत शतप्रतिशत सही होला भनी पत्याउन सकिने अवस्था अवश्य छैन । सरकारले आजसम्म विभिन्न भाषालाई पाठ्यक्रममार्फत कुन ढाँचामा उन्नयन गर्ने नीति लिँदै छ भन्ने विस्तृत खाका सार्वजनिक गरेको छैन । माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहको हुने संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै कक्षा एकदेखिकै पाठ्यक्रम तोक्न केन्द्र सरकार लागेको भाँडभैलो त एकातिर छँदै छ, अर्कातिर संस्कृत भाषालाई विद्यालयले ऐच्छिक विषयका रूपमा सय पूर्णांकमा पढाउन सक्ने व्यवस्था कुन तर्कका आधारमा लागू गर्न चाहेको भन्ने पनि स्पष्ट छैन । यस स्थितिमा यो विषय झन्पछि झन् गम्भीर बन्दै गइरहेको छ । संस्कृत भाषालाई विद्यालयस्तरमा पढाउने विषयमा चल्दै आएका विवादहरू केही हदसम्म समुदायगत पूर्वाग्रह वा अहंकारमा आधारित हुँदै आएका छन्, जुन बिलकुल अनावश्यक कुरा हो । किनभने संस्कृत भाषा आज नेपालमा रहेको कुनै पनि समुदायको जीवन व्यवहारको मातृभाषा होइन । नेपाली समाजको जीवनमा संस्कृत भाषा मूलत: कथित हिन्दु उच्च जातको सांस्कृतिक अनुष्ठानमा प्रयोग हुँदै आएको छ । त्यो आम बुझाइका लागि होइन, केवल मन्त्रोच्चारणका निम्ति र ती जातको पनि जीवन व्यवहारको मातृभाषा त होइन । जुनै धार्मिक सम्प्रदायको धार्मिक अनुष्ठानमा सुरुमा जुन भाषामा मन्त्रहरू कथिए, पछिसम्म त्यही भाषामा पुरेतहरूले भट्टयाउने चलन छ, इस्लामहरू अरबीमा वा क्याथोलिकहरू ल्याटिनमा आदि । जनजीवनबाहेक नेपालसहित विभिन्न देशमा संस्कृत भाषा प्राज्ञिक अध्ययन–अनुसन्धानका निम्ति मात्र पढिन्छ । यसरी नेपालमा संस्कृत भाषा कसैको पनि जीवन व्यवहारको मातृभाषा नभएकाले चाहे जनजाति, चाहे मुस्लिम, चाहे दलित, चाहे विभिन्न मातृभाषी हिन्दु उच्च जातका व्यक्तिले संस्कृत भाषालाई आफ्नो वा पराई ठानेर बहस तन्काउनु निरर्थक कुरा हो । त्यसकारण संस्कृत भाषाप्रति नेपाली समाजले कस्तो व्यवहार गर्दा फाइदा हुन्छ भनी चिन्तन गर्नु नै यस सवालको मुख्य सरोकार बन्नु सही हुन्छ । संसारका विभिन्न सभ्यतामा विकसित भई लेख्य परम्परामा ढालिएका विभिन्न भाषाजस्तै संस्कृत पनि आफ्नो समयको एक समृद्ध भाषा हो । यसको व्यापक शब्दभण्डार, द्विअर्थी शब्दहरूको न्यूनता अनि उच्चारणको विधिका कारण यसलाई उन्नत कोटिको भाषा मानिँदै आएको छ । प्रत्येक समृद्ध भाषा या त कालान्तरमा आफ्नै स्वरूप बदलिएर अर्को भाषा बन्ने या आफ्नो शब्दकोश क्रमश: दान दिँदै अर्को भाषालाई समृद्ध बनाउँदै जाने नियमअनुसार नै संस्कृत भाषाले पनि संसारमा थुप्रै नवीन भाषा जन्माउन वा समृद्ध पार्न योगदान दिएको छ । यस सिलसिलामा दुई हजारदेखि पच्चीस सय वर्षअगाडि आएर पाणिनिले व्यवस्थित गरेको व्याकरण त्यहीँ स्थिर हुन पुग्यो, पतञ्जलीले गरेको व्याख्या पनि त्यही अवधिमै अड्कियो । दुई हजार वर्षदेखि अमरकोशमा कुनै पनि नयाँ संस्कृत शब्द थपिएन । संस्कृत भाषा ठूलो दमनका कारण स्थिर हुन पुगेको ऐतिहासिक तथ्य फेला परेको छैन । त्यस्तो सम्भव पनि थिएन किनभने त्यस भाषाका हर्ताकर्ता सधैंजसो हिन्दुस्तानमा शासक नै रहँदै आए । मूलत: भाषिक दमनको चक्र नबेहोरी शासकीय भाषा स्थिर हुन पुग्ने ऐतिहासिक सामाजिक प्रक्रियाअन्तर्गत नै संस्कृत भाषा स्थिर हुन पुगेको थियो । यस प्रक्रियाको तुलना करिबकरिब ल्याटिन भाषाको नियतिसँग मिल्दोजुल्दो पाइन्छ । इटालीमा पोपहरू सधैं शासक र आदरणीय रहे तर उनीहरूको ल्याटिन भाषा भने जीवन्त हुन सम्भव भएन । यस प्रकार संस्कृत भाषा मृत भाषा बन्न पुग्यो । मृतको अर्थ भाषाविज्ञानमा स्थिर भएको वा गति र परिवर्तनशीलता नभएको वा सामाजिक जीवनको दैनन्दिन आवश्यकताबाट अलग्गिन पुगेको भन्ने हो । व्यक्ति होस् या सभ्यता या भाषा, त्यसको मृत्युपछि त्यसका बारेमा अध्ययन–अनुसन्धान गरिन्छ; त्यसमा भएका वर्तमानलाई काम लाग्ने चीज ग्रहण गरिन्छ तर कदापि त्यही व्यक्ति वा सभ्यता वा भाषा पुनर्जीवित गर्न लाग्ने मूर्खता गरिँदैन । संस्कृत मृत भाषा भएकाले त्यसभित्र भएका सबै किसिमका सम्पदाको अध्ययन–अनुसन्धान गरिनुपर्छ । अध्ययन–अनुसन्धान एक स्तरको उमेर, शिक्षा र रुचि भएका प्राज्ञिक कार्य रुचाउने प्रौढको आवश्यकता हो । त्यसैले संस्कृत भाषा उच्च शिक्षामा इच्छाधीन विषय बनाउनु सर्वथा जरुरी कुरा हो । आफ्नै मातृभाषामा पनि पूरा बोली नफुटेका कक्षा एकका शिशुहरूको दैनन्दिन जीवनसँग सम्बन्धै नभएको संस्कृतको पढाइ बालबालिकाका निम्ति बलात् बोझयुक्त अत्याचारबाहेक केही हुन सक्दैन । नेपालमा दशकौंदेखि संस्कृत भाषामा पढाइने विद्यापीठहरूमा पढ्ने हिन्दु उच्च जातका विद्यार्थीहरूले राज्यको ढुकुटीबाट विशेष सुविधा र विशेषाधिकार पाउँदै आए । यो ऐतिहासिक प्रकरणले त्यस सुविधाबाट वञ्चितहरूको पीडा र आक्रोश एक ठाउँमा जीवित नै छ, अर्कातिर त्यस्ता पीठहरूमा पढेकाहरूले आफ्नो जीवन के त्यही भाषामा चलाउन सम्भव भयो ? जनजीवनचाहिँ त्यो भाषामा चल्दैन भने अबोध शिशुहरूमाथि के आवश्यकता छ त्यो लाद्नु ? विज्ञानमन्त्रीले संस्कृत भाषालाई आयुर्वेद र प्राकृतिक चिकित्सा अध्ययनसँग जोड्नुपर्ने बताए । कतिपयले भन्दै छन्— व्यक्तिलाई नैतिकतावान् बनाउन संस्कृत भाषाको पढाइ ठीक हुन्छ । गौरवमय इतिहासबोध गर्न र त्यस भाषामा भएका अपार ज्ञानलाई ग्रहण गर्न संस्कृत भाषामा पढाइ चाहियो भनेर त विगतदेखि एक प्रकारले रट नै लगाइएको पाइन्छ । आज भारतदेखि इरानसम्म आयुर्वेदमा कार्य भैरहेको छ; के त्यो संस्कृतमा भएको छ ? भारतको आयुर्वेदको सबैभन्दा बढी जनस्तरमा अभ्यास गर्ने मानिएको केरला राज्यमा मलयालम भाषामा समाज चल्छ हैन ? प्राकृतिक चिकित्सा त संस्कृत भाषासँग सम्बन्धित सभ्यताको मात्र विषय नै हैन । अझ संसार र नेपालका सबै सभ्यतासँग रहेका परम्परागत औषधिशास्त्रको अपार ज्ञान जुन राज्यबाट मान्यताप्राप्त आयुर्वेद वा प्राकृतिक चिकित्साभित्र समेटिँदैनन्, के तिनको जानकारीका लागि पनि शिशु कक्षादेखि नै ती भाषामा पढाउने सोच बन्न सक्ला ? सम्भव हुन्छ ? भाषासँग नैतिकतालाई जोड्ने व्याख्यान त झन् चर्चायोग्य पनि होइन । जुन बेला अर्थात् दुई हजार वर्षभन्दा अघि भारतवर्षमा दास युग वा सामन्तवादी समाज थियो, त्यो कठोर जातव्यवस्था र पितृसत्तात्मक थियो । त्यसैले त्यति बेलाको नैतिकताको मूल सार जातवादी, पितृसत्तावादी, राजावादी अनि महिला, शूद्र र श्रमिकविरोधी थियो । अब त्यही नैतिकता सिकाएर आजको आवश्यकताको नैतिकतावान् नागरिक तयार हुन्छ ? यो कुरा सत्य हो, दक्षिण एसियामा विकसित हिन्दु सभ्यता विशिष्ट ज्ञानहरूसहित थियो । त्यसभित्र शंकराचार्यको ब्रह्मवाद पनि थियो र त्यसको खिलाफमा चार्वाकहरू पनि थिए । त्यसभित्रको सिंगै दर्शनको विकल्पमा बुद्ध र महावीरहरू पनि जन्मिएका थिए । दर्शन मात्र होइन, सबै क्षेत्रमा ठीक र बेठीक विकसित थिए । ती धेरैजसो संस्कृत भाषामा लिपिबद्ध भए । त्यसैले त्यसबारे अध्ययन जरुरी छ, तर त्यो त प्राज्ञिक प्रौढ कार्य हो । यहाँ याद राख्नु जरुरी छ, संस्कृत भाषाको महिमागानका सन्दर्भमा विवेकानन्दले यसलाई ईश्वरको भाषासम्म भन्न भ्याए, तर त्यसको प्रतिरोधमा अन्य विद्वान्ले तथ्यसहित जवाफ दिँदै भनेका थिए, ‘संस्कृत भाषामा भएका ज्ञान लिन संस्कृत भाषा सिक्नु जरुरी छैन, बरु संस्कृतका पण्डित ब्राह्मणहरूले तिनलाई हिन्दी र अन्य भाषामा उल्था गरिसकेका छन् ।’ जहाँसम्म गौरवमय इतिहासको बोध भन्ने सवाल छ, योचाहिँ सामन्तवादले निर्माण गरेको अवधारणा मात्रै हो । संसारको कुनै पनि सभ्यतामाथि सम्बन्धित समुदायलाई गौरव नै हुन्छ तर त्यहाँभित्र पिल्सिएकाहरूमा आक्रोश पनि हुन्छ । हिन्दु समाजमा शूद्रहरूमा गौरव हैन, विगतप्रति आक्रोश र घृणा नै बढी छ र त्यो स्वाभाविक छ । संस्कृत भाषालाई एक कक्षादेखि नै पढाउने खबरपश्चात् अनर्गल प्रकारका लेखहरूसमेत सञ्चारमाध्यमहरूमार्फत गनिएका व्यक्तिहरूले प्रचारमा ल्याउन थालिनु अर्को विडम्बना देखिन्छ । भारतका एक थरी हिन्दु अतिवादीहरूले विभिन्न वेबसाइटमा प्रचार गरेका छन्- अमेरिकी संस्था नासाले संस्कृतलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र अन्तरिक्ष विज्ञानका निम्ति सबैभन्दा उपयुक्त भाषा मानेको छ, नासाका वैज्ञानिक संस्कृत पढ्दै छन् आदि । त्यस्ता प्रचारबाट प्रभावित भएर नेपालमा लेख र मन्तव्यहरू बाँडिनु दु:खद कुरा हो । यथार्थमा नासाले आधिकारिक रूपमा त्यस्तो घोषणा कहिल्यै गरेको छैन । अर्को कुरा, अन्तरिक्ष विज्ञान वा कम्प्युटर प्रणालीका निम्ति वैज्ञानिकहरू उपयुक्त संकेत भाषा (साइन ल्याङ्ग्वेज) लाई विकसित गर्न क्रियाशील छन्, कुनै ‘नेचुरल ल्याङ्ग्वेज’ वा ‘लिङ्गुस्टिक ल्याङ्ग्वेज’ को खोजीमा होइन भन्ने कुरा त चल्तीका विज्ञान पत्रिका पढ्ने बानी बसाल्दा पनि ज्ञान हुन्छ । संसारका विभिन्न विश्वविद्यालयमा संस्कृत भाषा पढाइन्छ भन्ने विषयलाई यति ठूलो रूपमा प्रचार सुरु गरिएको छ, मानौं त्यसबाट संस्कृत भाषा ‘ईश्वर’ कै भाषा प्रमाणित हुनेछ । विश्वविद्यालयमा पढाउनुको अर्थ कक्षा एकदेखि पढाउनु त पक्कै हैन । संस्कृत मात्र होइन, संसारका धेरै भाषा क्षमताले भ्याएसम्म विश्वविद्यालयमा पढाइन्छन्, तब त विश्वविद्यालय हुन्छ । के नेपाल सम्पन्न हुने हो भने ल्याटिन वा ग्रीक भाषा नेपालका विश्वविद्यालयमा पढाएर उनीहरूको तत्कालीन समाज जान्ने रहर हुन्न र ! शासकहरूले आफ्नो निहित स्वार्थ पूरा गर्न वा समाजको अन्तरविरोधको सही समाधान दिन नसक्दा उदेकलाग्दा प्रकरणहरू जन्माउँछन् । नेपालमा संस्कृत विश्वविद्यालय खोलिनु त्यस्तै एउटा अनावश्यक विषय थियो । नाम संस्कृत राखे पनि यो यथार्थमा हिन्दु धर्ममा आधारित विश्वविद्यालय हो । अनि अहिले त बौद्ध विश्वविद्यालय पनि पो ! संस्कृत भाषा हो, बौद्ध दर्शन हो; यी दुवैलाई कुनै पनि विश्वविद्यालयले एउटा विभाग बनाएर पढाए काफी किन छैन ? संस्कृत भाषा र बौद्ध धर्मका विश्वविद्यालय हुन्छन् भने नेवार भाषा विश्वविद्यालय र मुन्धुम वा इस्लाम विश्वविद्यालयको माग गरियो भने कुन तर्कले हुन्न भनिएला ? नेपालमा जति व्यवस्था फेरिए पनि शासनमा ढलीमली गर्ने प्रशासक र शासकहरू मूलत: कथित हिन्दु उच्च जातबाट रहँदै आए । उनीहरूमा सुदूर विगतको त्यान्द्रोमय इतिहासको गर्वको विभ्रम बाँकी रहेको देखिन्छ । त्यही विभ्रम अन्धराष्ट्रवादका रूपमा पटकपटक प्रकट भइरहेछ । शिशुहरूमाथि संस्कृत शिक्षाको बोझमय अत्याचार त्यही राष्ट्रवादको नयाँ अध्यायसिवाय केही होइन । यो प्रकरण मातृभाषामा कम्तीमा प्रारम्भिक शिक्षाको अवधारणामा प्रतिगमनको ठोस संकेत हो । मातृभाषामा शिक्षा त्यस भाषाको रक्षाका निम्ति मुख्य होइन, बरु त्यस भाषामा हुर्केको शिशुलाई समग्र वर्तमानसँग जोड्न सजिलोका लागि हो, अनि सहोदर अन्य भाषीमा पनि अरूको भाषालाई सम्मान गर्ने संस्कृति विकासका लागि हो । संस्कृत सबैले बच्चैदेखि सिक्नुको वैज्ञानिकता पुष्टि हुन्छ भने ऐच्छिक किन, अनिवार्य गर्नुपर्छ । होइन भने, एउटा मृत भाषा र अर्को जीवन्त मातृभाषामध्ये एउटा रोज्न मिल्ने ऐच्छिकता कुन सिद्धान्तले पुष्टि हुन्छ ? यो त ठाडै असैद्धान्तिक बलमिचाइँबाहेक केही हुनै सक्दैन । अहिलेको यो प्रकरण विभिन्न मातृभाषा पाठ्यक्रमबद्ध र सुविधासम्पन्न हुन सक्दैनन् र लामो कालदेखि संस्कृतसँग भ्रमपूर्ण अनुराग भएकाहरू नै धेरै हेडमास्टर वा सञ्चालक समितिका हर्ताकर्ता भएको अवस्था बुझेर ऐच्छिकका नाममा अन्तत: संस्कृतलाई अनिवार्य रूपमा लागू गर्न सकिन्छ भन्ने दुष्प्रयत्नसिवाय केही होइन । साथै संस्कृत विश्वविद्यालय र शिक्षापीठहरूले उत्पादन गरेका खास समुदायका केही हजार व्यक्तिलाई प्रतिस्पर्धाहीन सुविधाको रोजगारी निरन्तर उपलब्ध गराइरहने चालबाजी पनि यससँग टाँसिएको सजिलै देखिन्छ । यो फेरि पनि हिन्दुकरण प्रक्रियाको नयाँ बोतल फेर्ने तर रक्सी पुरानै पस्किने राजनीति मात्र हो, जसको दृढतापूर्वक प्रतिरोध अनिवार्य छ । यस प्रकारको अनावश्यक लफडामा समयलाई अड्काइरहन चाहने शासकहरूका हर्कतका विरुद्ध सबैभन्दा बढी शिक्षित हुन पुगेका कथित हिन्दु उच्च जातबाट आएका प्रगतिशील चेतनाका बौद्धिकहरू अगाडि आउनु जरुरी छ, ताकि यो मुद्दालाई साम्प्रदायिक अनुरागबाट अलग गरेर ठीक र बेठीकको मुद्दाका रूपमा अघि बढाउन सहज होस् । प्रकाशित : जेष्ठ ४, २०७७ ०८:५९ #आहुति
सोलिच्युड बाँचिरहेको एउटा मान्छे: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । दीपक सापकोटा ले कवि विप्लव प्रतीक माथि तयार गरेको प्रस्तुत फिचर २०७४, जेठ ६ गते अन्नपूर्ण पोस्ट मा प्रकाशित भएको थियो । यहाँ क्लिक गरेर यस सामग्रीलाई अन्नपूर्ण पोस्टमै पनि पढ्न सक्नुहुनेछ । …………………………………………… व्यक्ति पोयट्रीका साधु कहिलेसम्म वेश्यालयमा किशोरीहरू बेचिएको सहिरहनेछ ईश्वरले ? गरिबहरू कहिलेसम्म गरिबै हुनेछन् उसको साम्राज्यमा ? -मेरो खुलदुली/विप्लव प्रतीक कविताका यी चार लाइनमा गहिरो उदासी र तीव्र बेचैनी छ । संसारका सारा दृश्य देखेपछि कवि हैरान छन् र प्रश्न गरिरहेछन् ईश्वरलाई । सायद शंका छ उनलाई ईश्वरको तथाकथित साम्राज्यमाथि । यो दिक्दारीभित्र भुत्भुताइरहेको आक्रोश भेटिन्छ । त्यसो त उनी आक्रोशभन्दा पनि प्रेमका कवि हुन् । प्रेम उनको ब्रान्ड हो । प्रेम उनको कविता ब्रान्ड हो जसरी ‘ब्ल्याक लेबल’ उनको मदिरा ब्रान्ड । जसरी मदिराको लस्करमा बेग्लै उभिन्छ- ब्ल्याक लेबल, कविताको लस्करमा उसैगरी बेग्लै उभिन्छन् उनका कविता । अरूभन्दा प्रेमिल, रोमान्टिक, अलि बढी भावुक र सबैभन्दा कोमल । त्यसैले त उनलाई ‘कमलो कवि’ भन्न रुचाउँछन् पत्रकार किशोर नेपाल । ‘यिनको शब्द चयन विलक्षण हुन्छ । साना कुरा समातेर पनि कविता लेख्छन्’, किशोर टिप्पणी उठाउँछन्, ‘जबर्जस्ती कविता लेख्ने धेरै छन् यहाँ । तर उनी मनमा, दिमागमा आएपछि मात्रै कविता लेख्छन् ।’ लामो श्वेत कपाल बोकेको शिरमा टोपी अड्याएर हातमा कुनै कागज नलिई लीन भएर बडो भावुक मुद्रामा कविता सुनाइरहेका कुनै आकृति सहरमा देखिए भने ढुक्क भए हुन्छ- ती विप्लव प्रतीक हुन् । असीम पीडाबोध र गहिरो अनुभूतिको खँदिलो प्रस्तुति उनका कविता र गीतका खास विशेषता हुन्। कवितामा विशेष सिग्नेचर भएका विप्लवलाई सम्झनुमा वा उनीमाथि मिमांसा गर्नुमा के घाटा छ ? विप्लव भनेको क्रान्ति । तर, कवि विप्लवको आकृति मस्तिष्कमा आउनासाथ प्रेम विम्ब आइहाल्छ । कवितामा उनले नयाँ परिभाषा निर्माण गरेका छन् । जीवनभर ‘कमलो’ कविता लेखे यिनले । गालामा मुजा परेपछि कवि झन् ‘कमलो’ होलान् । अब यी कविसँग सहरका विप्लवी कविहरूले जस्तो ‘क्रान्तिकारी कविता’को आशा पनि के गर्नु ? मैदानमा असंख्य रुखबीच पनि एक्लै फुलिरहेको गुलमोहर टाढैबाट प्रस्ट चिनिन्छ । विप्लव प्रतीक त्यही गुलमोहर हुन् । आफ्ना कविताका शक्ति, सामथ्र्य, लाइफस्टाइल, गेटअप र ‘कमलो’ ब्रान्डले उनी भीडमा पनि चिनिने ‘गुलमोहर’ कवि हुन् । मेरो समयका आम कविभन्दा उनी भिन्न छन् – लेखाइमा, वाचनमा र लाइफस्टाइलमा । केवल एउटै समानता छ, उनी पनि ‘कविता’ लेख्छन् । तर, अरूभन्दा भिन्न कविता जो बिना दुविधा उभिएका छन् सहरमाझ- पशुपतिको विरूपाक्षझैं । तिनका कविता र भावभंगीको विश्लेषण क्याम्पसे समीक्षकको जिम्मा । मेरो निम्ति उनको कविता अपरेसन थिएटरमा पल्टिएको बिरामी शरीर होइन । विप्लवका कविता त अनुभूतिका लागि हो । महसुसका लागि हो । के अनुभूतिको पनि अपरेसन हुन्छ र ? लेखक कुमार नगरकोटीको नजरमा त उनी ‘साधु’ हुन् । एक भेटमा नगरकोटीले आफ्नै अन्दाजमा भनेका थिए, ‘विप्लव प्रतीक मलाई साधुजस्ता लाग्छन् । पोयट्रीका साधु, यु सी ! यिनका कविता मन्त्रजस्ता हुन्छन्, जसलाई प्रार्थना भन्न सकिन्छ । प्रार्थना अफ लभ, लाइफ, कम्प्यासन एन्ड डेथ । हिज पोयट्री इज अ साइलेन्स कम्पोज्ड इन मेडिटेसन । आत्माको प्रार्थनालाई शब्दमा कुँद्ने कवि आत्मीय हुन्छ । र, विप्लव प्रतीक आत्मीय कविको नाम हो ।’ नगरकोटीले भनेजस्तै उनका कविता भीड वा जुलुसमा होइन एकान्तमा सेलिब्रेट गर्नका लागि हो । ‘त्यस्तो एकान्त जहाँ प्रेम, अनुभूति, संवेदना र आनन्दको सत्संग चलिरहन्छ । विप्लवका कविता एकान्तमा गुञ्जने तानपुराको उच्छवास हो । डेथ बेडमा मर्दै गरेको मृत्युको अन्तिम स्वास हो,’ नगरकोटीले त्यो साँझ विप्लव-कविता फिलिङ्सको मिस्ट्री सेयर गरेका थिए, ‘मलाई लाग्छ, एकान्तमा मास्टरवेसन गर्नुभन्दा काव्य-सेलिब्रेसन गर्नु अग्र्याजनिक उपलब्धि हो । आनन्द हो । प्लेजर अफ पोयट्री इज अ प्लेजर अफ कस्मिक मिस्ट्री । शब्दहरूको भीडमा होइन, अपितु शब्दहरूबीच-इन बिटविन वर्डस-जुन लामो एकान्त हुन्छ त्यही एकान्तमा विप्लव प्रतीकको आत्माले गुँड बनाएको छ । र, त्यो गुँड मलाई मनपर्छ । साधनाले मनुष्यलाई साधु बनाउँछ, साधवी बनाउँछ । र, यो देशमा यस्तो भागदौडबीच कविताका साधुज् एन्ड साधुविज् विरलै पाइन्छन् । विप्लव प्रतीक मलाई लाग्छ, एक अपवाद हुन् । एन्ड एक्सेप्सनल पोयट । यू सी ! कवि अपवाद भएकै राम्रो ।’ नगरकोटीले निचोड निकालेका थिए, ‘यिनलाई पढ्दा, कहीँ-कतै भेट्दा, काव्य-झरनामा नुहाएझैं लाग्छ । मन चोखो, निर्मल हुन्छ । यिनको पोयट्रीमा, गीतमा म एक किसिमको अरोमा एन्ड फ्रेगरेन्स पाउँछु । त्यस्तो फ्रेगरेन्स जुन तपाईं बाथरुमको ओडोनिल या कुनै नारी देहको अत्तरमा होइन अपितु मन्दिरको प्रांगणमा बल्ने अगरबत्तीको सुगन्धमा भेट्न सक्नुहुन्छ । तर, दैवको लीला हेर्नुस् ! यस्तो सुगन्धित, कोमल मनुवाको नाम छ- विप्लव ! कस्तो खुँखार नाम ! लाग्छ, कविज्यूको जिन्दगीको शीर्षक नै गलत भयो । लाग्छ, यो साधुको निम्ति कुनै सुन्दर नाम खोजुँ । तर, नयाँ नाम र जिन्दगीको शीर्षक फेला नपारुन्जेल यी कविलाई साधु नै भनिरहुँ । पोयट्रीका साधु, यु सि !’ तपाईंलाई लाग्न सक्छ, म बढी नै विप्लव भक्त भइरहेछु । यो सिन्डिकेटग्रस्त समय र समाजमा कुनै साधु वा शासक जसको पनि प्रशंसा गर्नु संशयपूर्ण हुन्छ । तपाईंको मनमा उठेको संशय नाजायज होइन, जायज नै हो । तर, यो धोकाधडी समयमा एकजना इमानदार, समर्पित र कमलो कविको प्रशंसा गर्नुमा के घाटा ? द्वन्द्व र द्वेषको साटो प्रेमको कविता अवश्य पनि सबैभन्दा सुन्दर र सबल हुन्छ ।अब यी ‘पोयट्रीका साधु’को निजी जीवनभित्र पस्नुअघि केही ‘इन्ट्रेस्टिङ’ इभेन्ट्सको चर्चा गर्नु लाभदायक होला । यथार्थको भ्रम यौटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ यौटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ र इतिहासले बरखी बार्छ कसको हो यो कविता ? यो कविताको रहस्य र दासढुंगाको रहस्य उस्तै छ । र, दुवै चर्चित छन् । नेपाली कम्युनिस्ट नेता मदन भण्डारीको हरेक स्मृति दिवस (जेठ ३) वा जन्मजयन्तीमा उनलाई श्रद्धा गर्नेहरूले यी दुई लाइनलाई उनै भण्डारीको रचनाको रूपमा प्रस्तुत गर्छन् । कतिपय एमाले नेताहरू यो रचना मदनकै भएको दाबी नै गर्छन् । पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाललाई पटकपटक सुने पनि यो कविताको रचनाकार थाहा रहेनछ । खनालले यसबारे जानकारी लिन ‘सञ्जय थापा (प्रदीप नेपाल) लाई सम्पर्क गर्न’ सुझाए । नेता प्रदीप नेपालले भने यो कविता मदन भण्डारीकै भएको दाबी गरे, ‘यो कविता मदन भण्डारीकै हो ।’ तर, मदनले यो कहिले लेखे भन्ने चाहिँ नेपाललाई थाहा छैन । प्रदीप नेपालजस्तै अर्का एमाले नेता प्रदीप ज्ञवालीका निम्ति पनि यो ‘मदन भण्डारीकै उक्ति’ हो । दासढुंगाको घटना रहस्यमय छ । कविताको रहस्य भने अब रहनु हुँदैन । रहस्यमयी कविता पछाडिको कथा भने बेग्लै छ ।२०५० जेठ ३ गते । कवि विप्लव प्रतीक आफ्नै निवास घट्टेकुलोमा थिए, केही गरिरहेका । अचानक रेडियोले सुनायो- एमाले नेताद्वय मदन भण्डारी र जीवराज आ िश्रत चढेको जिप चितवनको दासढुंगाबाट त्रिशूलीमा खस्यो, नेताद्वय बेपत्ता छन् । विप्लवको मस्तिष्कभरि मदनको सम्झना घुम्न थाल्यो । उनले मदनको भाषण सुनेका थिए- ‘राजा श्रीपेच फुकालेर आऊ’ । जापानी पत्रकारले लिएको मदनको अन्तरवार्ता विप्लवले अनुवाद गरी दृष्टि साप्ताहिकमा प्रकाशन पनि गरेका थिए । र, नेपाल टेलिभिजनमा मदनको शालीन अन्तरवार्ता हेरेका थिए । पछि मदनको शव भेटियो । उनकोे मृत्युको घोषणा भएको दिन बिहान ३ बजे उठेर विप्लवले कविता लेखे, मदन भण्डारी सम्झनामा- ‘योद्धा र मान्छे’ । माथिका दुई पंक्ति त्यही कविताको अन्तिम दुई लाइन हुन् । किन ती दुई लाइनलाई आजसम्म मदन भण्डारीको रचनाको रूपमा लिइन्छ ? त्यसको पनि कथा छ । ‘योद्धा र मान्छे’ लेखेको बिहान नै विप्लवले कार्यालयमै पुगेर दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई कविता बुझाए । त्यतिबेला ‘दृष्टि’ बुधबार बजारमा आउँथ्यो । तर, ९ गते शनिबार ‘दृष्टि’को मदन भण्डारी विशेषांक प्रकाशित भयो । त्यही विशेषांकमा विप्लवले पठाएको कविता त छापियो तर माथि उल्लेखित दुई लाइन मात्र- शोकमग्न सर्वसाधारणको तस्बिरहरूले भरिएको पृष्ठ ३ को सिरानमा, रचनाकारको नाम नलिई । विप्लव सम्झिन्छन्, ‘मैले दिएको कविता त शोक जनाउन छापिएको रहेछ, दुई लाइन ।’ त्यही विशेषांकबाट यी दुई लाइन स्थापित भए । तर, मदन भण्डारीको रचनाको रूपमा । ‘दृष्टि’सँग आबद्ध लेखक अग्निशिखाले ती दुई पंक्ति विप्लवको भएको उजागर गर्ने प्रयास पनि गरे । विशेषांकलगत्तै प्रकाशित ‘दृष्टि’को नियमित अंक – वर्ष १०, अंक २९, २०५० जेठ १३ गते बुधबारको पृष्ठ ६ मा विप्लव प्रतीककै नाममा ‘योद्धा र मानिस’ सिंगो कविता छापियो । कविताको पुछारमा अग्निशिखाले नोट लेखेका छन, ‘दृष्टिले गतांकमा उल्लेख गरेको ‘एउटा मान्छे मर्दा इतिहासले बरखी बार्छ’ भन्ने वाक्यांश यही कविताबाट लिइएको हो।’ दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ पनि यो कविता विप्लवले उतिबेलै लेखेको बताउँछन् । ‘यो कविता विप्लवले मदन भण्डारी बित्नेबित्तिकै लेखेर मलाई बुझाएका हुन् र दृष्टिमा प्रकाशित पनि भएको थियो,’ शम्भु भन्छन् । विडम्बना ! अग्निशिखाको नोट ख्याल नगर्नेहरू धेरै भइदिए । अहिलेसम्म हजारौंपटक यी दुई पंक्ति कोट भएका छन्, तर मदन भण्डारीको नाममा । कतिसम्म भने, मदन भण्डारीको दुर्घटनामा आधारित फिल्म ‘दासढुंगा’मा पनि यी दुई लाइन मदन भण्डारीकै भनेर उल्लेख गरियो । ‘हिमाल’ खबर पत्रिकामा विज्ञापन छापियो ‘दासढुंगा’को । विज्ञापनमा यी दुई पंक्तिमुनि ‘क. मदन भण्डारी’ लेखिएको थियो । विज्ञापन देखेपछि विप्लवले नाटक निर्देशक सुनील पोखरेललाई कविताको यथार्थ बताएका थिए । सुनीलले ‘यो कविता विप्लव दाइको हो’ भनेर निर्देशक मनोज पण्डितलाई फोन पनि गरे । पछि फिल्मको रिसर्च गर्ने मानिसले विप्लवलाई नै फोन गरेर झपारे- ‘यस्तो कालजयी सिर्जनालई आफ्नो भनेर चर्चामा आउन खोजेको ? ‘ विप्लवले भनिदिए- ‘चर्चामा आउन त्यो कविता मेरो भनेको भए म तिम्रो लागि जन्मेको पनि छैन ।’ पछि पत्रकार यज्ञशले विप्लवलाई फिल्म प्रोड्युसर अपिल विष्टसँग भेट गराएपछि उनले सच्याउने वचन दिए । तर, अहिले पनि ‘दासढुंगा’को कास्टिङमै यी दुई पंक्ति मदन भण्डारीकै नाममा देख्न पाइन्छ । मनोज पण्डितले कुनै किताबमा मदन भण्डारीकै नाममा यी पंक्ति देखेपछि फिल्ममा राखिएको बताए । कविताको यथार्थ सुनाउँदा निर्देशक पण्डित छक्क परे । एउटा कविताका दुई लाइन रहस्यमयी बनिरहेका छन् । ती दुई लाइनसँग दुई व्यक्ति जोडिन्छन्- मदन भण्डारी र विप्लव प्रतीक । भण्डारीको मृत्यु रहस्यमय छ । कविताको रहस्य अब रहनु हुँदैन । कवि देवी नेपाललाई पनि धेरै समयसम्म कविताको यो यथार्थ थाहा थिएन । उनले यस कवितालाई मदन भण्डारीकै हो भनेर लेखे २०५८ सालको नेपाल समाचारपत्रमा प्रकाशित एक लेखमा । पछि तथ्य खोजी गर्दा विप्लव प्रतीकको भन्ने थाहा पाए । त्यसपछि भण्डारीका रचनामाथि अनुसन्धानपछि तयार गरिएको किताब ‘मदन भण्डारीका कविता र गीत’मा यस कविता समावेश गरेनन् । यथार्थ र इल्युजन जे भए पनि यी दुई लाइन शक्तिशाली बनेर उभिइरहे । मानिसको हृदयमा टाँसिए । किनभने यी पंक्ति हृदयको ज्वारले लेखिएका थिए । ‘बंगलादेशको वाणिज्यदूत बन्ने, इन्डियाको सांस्कृतिक सहचारी बन्ने, युरोप-अमेरिकाको कल्चरल एट्याची बन्ने लोभमा यो कविता मैले लेखेको थिइनँ’, कविताको गर्भ सुनाउँदै विप्लव भन्छन्, ‘म साउथ अफ्रिकामा जन्मेको भए नेल्सन मण्डेलाको लागि, अमेरिकामा जन्मेको भए मार्टिन लुथर किङको लागि लेखिएको कविता हुन्थ्यो यो । सौभाग्यवश, म नेपालमा जन्मिएँ र मदन भण्डारीको निधनले नै मेरो काव्यको ज्वार फुट्यो ।’ सोलिच्युड जिन्दगी त्यो कुन गल्ली थियो जहाँ विप्लव कविताका कच्चापदार्थ खोज्दै दिनैभरि भट्किइरहन्थे ? त्यो कुन सडक थियो जहाँ विप्लवले मदिराको रमरममा पनि कविता सोच्दै हिँडे ? र, उमेरका पाँच दशक ६ वर्ष बोकेर उनी हिँडिरहेको यो कुन समयको गल्ली हो ? के हो यसको रंग ? जीवनका फरक-फरक कम्प्लेक्स रंगका साक्षी बसेका विप्लव प्रतीक अचेल अनेक कुरा खेलाइबस्छन् । काठमाडौं उनको निम्ति केही खास हो । जीवनभर यही सहरको मादकताले उनलाई पछ्याइरह्यो । कहिलेकाहीँ त उनलाई लाग्छ, यो सहर एउटा उत्तेजक सिम्फोनी हो । चर्का लाइटहरूले घेरिएको, समयको चेतनामा डुबिबसेको बासी सपना देख्ने सहर । यही सिम्फोनी-सहरको मुटुमा हुर्किए विप्लव । भजनले भरिएका मन्दिरहरू छेउ । साँझदेखि रातिसम्मै तबला र हार्मोनियमको सुरमा मस्त हुने चोकहरूमा । यिनैले त हो उनलाई दिवाना र कवि बनाएको । कहिलेकाहीँ उनी यो सहर र ती समयको चित्र कोर्न खोज्छन् । चाहेजस्तो बन्दैन सायद, बीचैमा छोड्छन् । ‘यो सहरमाथि लेख्ने त्यस्तो फोटोग्राफिक पिक्चर मसँग छैन,’ नोस्टाल्जिक ट्युनमा भन्छन् । काठमाडौं भीमसेनस्थानको बहाल (वसन्तपुरबाट ताहाचलतिर) – उनको जन्मस्थान । धोबीधारा- पुख्र्यौली घर । कृष्णप्रसाद सर्वहारा- उनका बुवा – लेफ्ट मुभमेन्टमा लागेका लेखक । बुवा कस्ता भने, घर बन्धकी राखेर किताब प्रकाशन गर्ने किसिमका । ‘प्रेमको हत्या’, ‘विद्रोही आँसु’, ‘दुई छेस्का सलाई’, ‘दरबारकी केटी’, ‘मान्छे बेचिँदैन’ (कथासंग्रह), अचेल पुस्तक पसलका र्\u200dयाकमा नदेखिने यी किताबमा उनकै बुवाको नाम टाँसिएको छ । किताब छाप्न बन्धकी राखेको घर पाँच सय रुपैयाँमा गएपछि उनीहरूको बसाइँ सर्ने क्रम सुरु भएको थियो- भीमसेनस्थानबाट प्याफल, प्याफलबाट प्युखा, प्युखाबाट सिफल । बुवा कृष्णप्रसादले आफ्नो नाममा ‘सर्वहारा’ जोडेका थिए । राजा महेन्द्रले भनेका थिए- ‘सर्वहारा’ उपनाम नराख्नू ! बुवा मान्ने किसिमका मानिस कदापि थिएनन्, लेखक जो थिए । परिणामः ‘फलानालाई सरकारी जागिर नदिनू’ भन्ने मौखिक फरमान जारी भयो । त्यसैले बुवा कामको सिलसिलामा टाढाटाढा पुग्थे । त्यही कारण आफ्नो बुवालाई उनले सातवर्षको भएपछि मात्रै चिने । विप्लवको कवि जीवन उनै ‘सर्वहारा’बाटै सुरु हुन्छ । उनकै करले विप्लवले पहिलो कविता लेखेका थिए लेनिनको शतवार्षिकीमा भ्लादिमिर इलिच लेनिनबारे । ‘रेडियो नेपाल’मा कविता सुनाउने मौका पनि पाए । तर, रच्न आउँदैनथ्यो । विदेशी पत्रिकाबाट कुनै २२ पंक्तिको कविता ट्याकटुक मिलाएर आफ्नोजस्तो बनाई सुनाइदिए । रेडियो प्रस्तोता निरोधराज पाण्डे, धन लामाले धाप मारे । तर, रेडियोबाहिर निस्केपछि घर जान आफैंलाई धक लाग्यो । ग्लानिबोधले मुर्झाएर भद्रकाली-सिंहदरबारतिर दिनभर ओहोरदोहोर गरिरहेको ब्ल्याक एन्ड ह्वाइट अनुहार विप्लव प्रतीककै थियो । त्यसपछि उनी रेडियो नेपालको बाल-कार्यक्रममा जानै छोडे । विप्लवसँग जोडिने अर्को कथा उनको नाम हो । प्रतीक उनको टाइटल होइन, जात, थर सबैथोक हो । विप्लव पछाडि झुन्डिनुपर्ने पहिचान के हो ? धेरैलाई थाहा छैन । उनी तागाधारी हुन् कि मतवाली ? त्यो पनि धेरैलाई थाहा छैन । सोधे उनी भन्छन्- ‘माई नेम इज विप्लव प्रतीक’ । उनको नाम पटकपटक फेरिइरह्यो- कहिले विप्लव तामाङ, कहिले विप्लव खाँ र कहिले विप्लव भारती । उनका मनपसन्द मित्र थिए- वीरबहादुर तामाङ, मकबुल खाँ र राजु भारती । साथीजस्तै तिनका थर पनि प्रिय थिए । त्यसैले डायरीमा पेन्सिलको सानो टुप्पोले उनले पटकपटक आफ्नो नाम पछाडि तिनै थर लेखे/मेटे । त्यसो त उनले धेरै नाम र ‘प्रिय’ थर छोडेर विप्लव कुमार अञ्जाना, विप्लव कुमार अकेलाजस्ता नामहरूमा पनि मोह नदेखाएका होइनन् । डायरीमा पटक-पटक लेखिएका/मेटिएका अनेकन् थर देखेर एकदिन बाले सोधे- ‘पछाडिको नाम किन यसरी फरकफरक लेखेको ? ‘ ‘सबै मेरै साथी हुन्, केही भन्दैनन् ।’ ‘जहिले पनि यसरी फरक फरकै लेख्छस् ? ‘ ‘अँ’ । त्यो क्षण सम्झिन्छन् विप्लव, ‘बाले भन्नुभयो- तँलाई जे लेख्न मन लाग्छ लेख्, तर एउटै लेख् बुझिस् ? नत्र पछि झन्झट हुन्छ ।’ र, अन्ततः उनले आफ्नो नयाँ नामको घोषणा गरे- ‘माई नेम इज विप्लव कुमार प्रतीक।’ अहिले ‘विप्लव कुमार प्रतीक’बाट ‘कुमार’ हटिसकेको छ ।आखिर किन पारिवारिक कुल-नाम लेखेनन् उनले ? एउटा निबन्धमा विप्लव लेख्छन्, ‘मेरो आदर्श र नायक हुनुहुन्थ्यो, मेरा लागि बा । सायद सिको गर्न पुगेको थिएँ म उहाँको । मलाई पनि त्यस्तै कुनै नाम, उपनाम वा विशेषणको प्रबल मोह हुन पुग्यो ।’ इन्ट्रेस्टिङ ! सबै सरकारी कागजात, राहदानी, नागरिकतामा उनी ‘विप्लव प्रतीक’ नै छन् । अन्य कतिपय यस्तै नामधारीहरूले जस्तो ‘फलानो नामधारी ‘क’ फलानो ‘ख’ नै हो’ भन्ने टाइपको सफाइ दिइरहनुपर्दैन उनले । एक्लोपन विप्लवको जीवन-छाया हो । एउटा गहिरो एक्लोपन बोकेर हिँडिरहेका छन् उनी । त्यही एक्लोपनमै कविताका बुट्टाहरू कोर्छन्, त्यसलाई शब्दले सिँगार्छन्, लयको धुन दिन्छन् । तैपनि एक्लोपन उनीसँगै रहिरहन्छ । सायद, त्यही एक्लोपन हटाउन भट्किरहेका हुन्छन् उनी । कुनैबेला काठमाडौंका गल्ली, थिएटर, वा अन्तै कतै भट्किइरहन्थे । अहिले पनि भट्किरहेका हुन्छन्- जहाँतहाँ, जताततै । काँकडभिट्टामा केही महिनाअघिको कला-साहित्य उत्सवमा भेटिएका थिए । उत्सव सकिएपछि अरू सहभागी आ-आफ्नै थलो फर्किए । उनी भने महिनादिनपछि मात्रै काठमाडौं आइपुगे । विप्लवको यो एक्लोपन र यो फिरन्तापनमा जोडिएर आउँछ उनको विखण्डनको दुःख । किशोरवयमा उनले परिवार विखण्डनको दुःख व्यहोर्नुपर्\u200dयो । बुवा आमा सँगै बस्न सकेनन्, छुट्टिए । ‘आमाबाले आ-आफ्नो बाटो समात्नुभयो र हाम्रो परिवार भताभुंग भयो’ उनी सुनाउँछन् । त्यसपछि उनले बुवाआमा छुट्टिएको पीडामा हरेक दिन दुई÷तीनका दरले कविता लेखे । ६ महिनासम्म बुवासँग बसे । भाइबहिनी आमासँग बस्थे । बुवासँग पनि बस्ने वातावरण रहेन । अनि एक्लै बस्न थाले । अहिलेसम्मै एक्लै छन् । उनले कतै लेखेका छन्, ‘बाआमाको बात्सल्यमा लाडिएर बाँचिरहेको मैले अचानक जीवनको नौका एक्लै चलाउनुपर्ने अवस्था आइलाग्दा त्यतिखेर पहाडै खसेजस्तो लागेकोे थियो ।’ आमा गइसकेपछि उनमा छिमेकीहरूको सहानुभूति पोखियो । उनी भने जवाफ दिन्थे, ‘यो आमाको च्वाइस हो । आफ्नो जीवनको छनोट गर्ने अधिकार सबैलाई हुन्छ ।’ त्यसबेला उनमा यस्तो हिम्मत जगाइदिने र जीवनप्रतिको विचार निर्माण गर्न सहयोग गर्ने कोहीकेही थिए भने ती किताब थिए- निकोलाई अस्त्रोभस्कीको ‘हाउ द स्टिल वाज टेम्पर्ड’, दोस्तोवस्कीको ‘इडियट’, ‘कारमाजोभ ब्रदर्स ।’ आमाले छोडेको, बुवालाई छोडेका उनले अन्नतः टोल नै छोडे । बत्तीसपुतली बस्न थाले । वनकाली, पुतलीसडक, मञ्जु श्री टोलतिर पनि लामै समय बसे । विप्लव हेर्दाहेर्दै नितान्त एक्लो भए यो सहरमा । त्यही एक्लोपनको उपहार हो उनको कविता । नौ वर्षको नियमित अभ्यासपछि आफूलाई सुनाउनयोग्य कवि ठाने । जे लेख्यो त्यही कविता हुन्छ भन्ठान्दैनन् उनी । साधना उनको स्वभाव हो । भन्छन्, ‘कविता रि-राइट, सम्पादन निकै गर्छु । कवितासँग वर्षौं खेलिरहनुपर्छ भन्ने लाग्छ ।’ बाँच्नुपर्ने एउटा जिन्दगीले धेरै थोक बनायो उनलाई । रुसी भाषा सिके । १६ वर्षकै उमेरमा ‘रसियन कल्चर सेन्टर’मा जागिरे भए । १९७८ मा सुरु गर्दा मासिक आठ सय पाउँथे । १९८१ मा छोड्दा २२ सय तलब बुझे । पत्रकारिता उनीसँग जोडिएको अर्को पाटो हो । दुई दशक पत्रकारिता गरे । स्क्रिप्ट लेखे, फिल्म निर्देशन गरे । निर्देशनकै लागि पाकिस्तानसम्म पुगे । तर, नाम कतै लेखाएनन् । उनी चाहन्थे, नाम कवितामै होस् । एक्लोपनको फरक मोड, २९ वर्षमा बिहे गरे । १४ वर्षसम्म सँगै बसे । र, छुट्टिए । किन ? ‘इगो ट्रिपको हालतमा मानिसले एकअर्कोलाई सम्मान गर्न सक्दैन । बिहे गर्नु भनेको प्रेमजस्तै एउटा साधना हो । कसरी आफ्नो सहधर्मिनीलाई सधैं फक्रिएको फूलजस्तै राख्नका लागि निपुर्ण माली बन्न सक्छु भन्ने थाहा नहुनेले विवाह नगरेकै राम्रो । म जतिसुकै मान्छेको सम्मान गर्ने र माया गर्ने व्यक्ति भए पनि सम्बन्धविच्छेद पछि मलाई त्यस्तो माली बन्ने आँट आएन । जाँगर चलेन । सायद छुट्टिनुको कथा त्यही इगो ट्रिपले बुनेको होला ।’ बिहेपछि पनि ‘प्रेम’ नामका सम्बन्धमा नगाँसिएका कहाँ हुन् र ? तर, बिहेको विधानसम्म पुगेनन् । ‘आफूलाई ओल्टाएर, पल्टाएर, संग्लाएर, सम्झाएर हेरेँ । दोहोर्\u200dयाएर बिहेको सिस्टममा एडजस्ट हुन सकिनँ’, कारण खोतल्छन् विप्लव, ‘मेरो मनले बिहे गर्ने अनुमति दिएन । मलाई सिमोन द बुआजस्तो वा अमृता प्रितमजस्तो युवती पाउने आशा पनि यो जुनीमा छैन ।’विप्लवले यसो भनेर अरूलाई एक्लै बस्न प्रेरित गरेका होइनन् । ‘यस्तो प्रेरणा अरूलाई दिन्नँ । एक्लोपन, लन्लिनेसलाई म सोलिच्युडमा रूपान्तर गर्छु । म जुन अवस्थामा छु, गुनासो पटक्कै छैन,’ विप्लव भन्छन् । गीतको कथा गहिरो भावुकता विप्लवको नामसँगै जोडिएर आउने विशेषता हो । यो भावुकता उनको गीतले गाउँछ । साउन-भदौको झरीमा रेडियोले बजाउँछ- ‘हर रात सपनीमा…।’ सुनिरहँदा एकतमासको उदासीले छोप्छ । गीतका हरेक शब्दहरू सजीव भएर प्रस्तुत हुन्छन् । कहिल्यै घर नछोेडेको मानिसले पनि घरबाट टाढा हुनुको दुःख महसुस गर्छ । गीतको अन्तर्यमा एउटा मानिस छ- घरको मायाबाट धेरै टाढा, घर सम्झिरहेको मानौं कतै भट्किरहेको । त्यो मानिस विप्लव नै हुन् । यो गीतले हामीलाई ०४४ सालमा लैजान्छ । त्यतिबेला उनका बुवा पशुपतिनाथ छेउको देउपाटनमा माटोले जोडेको घरमा बस्थे । विप्लव चाहिँ भाडामै सही सिमेन्टको घरमा बस्थे । त्यो माटोको घरमा उनका बुवा सुत्ने सिरानपट्टिको गाह्रो चिरिएको थियो । त्यही चिरिएको गाह्रो सम्झेर हरेक मनसुनमा विप्लव आफैं चिरिन्थे । मनसुन आउँदा उनलाई टेन्सन हुन्थ्यो । जब चट्याङ बज्रन्थ्यो, बुवाको साह्रै याद आउँथ्यो । कसरी बसिरहेका होलान् ? न घर भत्कियो कि ? घर भत्केर उनलाई कतै पुर्\u200dयो कि ? दुःस्वप्नले ऐँठन गथ्र्यो । भोलिपल्ट बुवाले पढाउने स्कुलमा फोन गरेर उनको आवाज सुनेपछि ढुक्क हुन्थे । १० वर्षसम्म यो अनुभूतिमा गुम्सिइरहे । १० वर्षपछि उनी चितवनमा थिए । नारायणी उर्लेर घरघर छोएको थियो । नारायणीको त्यो उर्लंदो भेलले एक दशकदेखिको गुम्फनलाई निकास दियो । चार लाइन चितवनमै लेखे, काठमाडौं आएपछि थपे ‘आगो र आँधी सोचिरहेछु÷भुँइचालोलाई थाम्छु भनी÷हर साँझ सहरमा हुरी चल्छ÷गाउँमा सायद छानै उड्यो कि ? ‘ २०५६ मा दीप श्रेष्ठले गाएपछि गीतले विशेष उचाइ लियो । उनका अरू पनि गीत छन् । बज्छन् । सुन्दा राम्रै छन् । तर, विप्लवलाई जीवित राख्न यही एउटा गीत काफी छ । उनको चर्चित कवितासंग्रह छ- नहारेको मान्छे । अमेरिकाबाट प्रकाशित अर्को कवितासंग्रह छ- अ पर्सन किस्ड बाई द मुन । उनका कविता स्पेनी र फ्रान्सेलीमा पनि अनुदित छन् । ‘नहारेको मान्छे’ कविता कृतिबाट पाँच कविता जोडेर २०६५ सालमा घिमिरे युवराजले नाटक मञ्चन गरेका थिए । घिमिरे भन्छन्- ‘विप्लव दाइका कविता सधैं म जतनले पढ्छु । उनका कविताका हरेक अक्षर र शब्दहरू पवित्र लाग्छन् । खासमा विप्लव दाइ आफैंमा कविता हुन् ।’ घिमिरेले निर्देशन गरेको पछिल्लो नाटक ‘दीक्षान्त’मा पनि विप्लवले दुई गीत लेखेका थिए । सहरका ताता वा चिसा चिया अड्डाहरूमा विप्लवको कुरा नकाटिने होइन । प्रेमदेखि प्रेमसम्मका कविका रूपमा परिभाषित छन् उनी । तर, उनी डिफेन्स गर्छन्, ‘जीवनमा प्रेममात्रै होइन । आँसु, विरह, दर्द, अन्याय सबै हुन्छ । मैले प्रेमबाहेक अरू कविता पनि लेखेको छु- राजनीति, नारी, मोक्षजस्ता विषयमा ।’ भनिहालियो सोलिच्युड उनको जीवन हो । कहिलेकाहीँ कविताहरू साथ लाग्छन् । कविता अर्थात् कविता । उनी कवितालाई प्रेम गर्छन् । घट्टेकुलोमा घर छ । जागिर छैन । बेलाबेला अनुवाद गर्छन् । स्कच खान पुगेकै छ । पिउनुलाई नसासँग होइन शालिनतासँग जोड्छन् । पिएर हल्ला गर्ने र ठूला कुरा गर्ने विप्लव प्रवृत्ति होइन । अचेल उनी रक्सी, सम्बन्ध र शब्दलाई बढो जतनले चलाउँछन् । विप्लव प्रतीकसँग संगत गरेपछि लाग्छ, यो सहरमा यस्तो पनि मान्छे छ जो अरुको लागि समस्या बन्दैन । विप्लव प्रतीक इज अ हार्मलेस म्यान । #दीपक सापकोटा #विप्लव प्रतीक
चियाको बुटासँग गोर्खालीले हारेको अर्को युद्ध: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । तलको सामग्री हामीले अन्नपुर्ण पोस्ट बाट साभार गरेका हौँ । संस्मरण विधाको प्रस्तुत लेख घिमिरे युवराज ले लेख्नुभएको हो । तपाईँले प्रस्तुत संस्मरण अन्नपूर्णकै फुर्सदमा पनि पढ्न सक्नुहुनेछ । …………………………………………………………….. संस्मरण म मिरिकको फुगुडी चिया कमानमा छु। शान्तिला तामाङलाई बुबाआमाको मातृभाषा आउँदैन। उनको मातृभाषा नेपाली भयो। उनले बोल्दा खस भाषा फरक सुनिन्छ। अर्कै मिठास सुनिन्छ, लवजका कारणले। ‘मेरो आमाले बोलेको नेपाली कस्तो अप्ठेरो सुनिन्छ !’ लाज मान्दै शान्तिलाले भनेकी थिइन्। ‘कस्तो अप्ठेरो ?’ म उत्सुक थिएँ सुन्नलाई। तर, उनकी आमाको उच्चारण पनि फरक र मिठासपूर्ण लाग्यो मलाई। शान्तिलाको बुबाआमाको सहयात्राको सुन्दर कथा रहेछ। शान्तिलाकी आमा नागाल्यान्डकी नागामिज। बुबा मिरिक, दार्जिलिङको तामाङ। रतन तामाङ भारतीय सेनामा भर्ती भएर नागाल्यान्ड पुगेछन्, सन् १९६८ मा। सेनाको जागिर छोडेर शिक्षक बनेका रतनको प्रेम बसेछ, १७ वर्षीया सोसेली संताङसँग। सन् १९८६ मा भागी विवाह गरेछन्, यी दुईले। रतनले सोसेलीलाई मिरिकको फुगुडी चिया कमानभित्रको पुख्र्यौली घरमा लिएर आए। रतन र सोसेली त्यसबीचमा कहिल्यै नागाल्यान्ड गएनन्। यहीँ जन्मिए, यिनका दुई छोरी र एक छोरा। गत फेब्रुअरीमा कान्छी छोरी शान्तिलाले आमालाई लिएर नागाल्यान्ड पुगिन्। ३४ वर्षपछि सोसेलीले आफ्नो माइतीघर टेकिन्। आमाबुबा बितिसकेछन्। दाइभाउजू र तिनका छोराछोरी रहेछन्। ‘मलाई त मर्\u200dयो भनेर माया मारेको जिउँदै देखेर अचम्ममा परे। मलाई र शान्तिलालाई भेटेर सबैजना खुसी भए।’ तर, सोसेलीले नागामिज भाषा नै बिर्सिछन्। खिन्न अनुहार लाएर उनले भनिन्, ‘आफ्नो आमाबुबाको भाषा बोल्छु भनेको त नेपाली पो फुत्कियो। मलाई एकदमै नराम्रो लाग्यो। उनीहरूको अपमान गरेजस्तो भयो। र, मैले हात जोडेर भनेँ, ‘मलाई माफ गर्नुस् नागामिज भाषा बिर्सेंछु।’ सुरुमा त दाजुभाउजू अचम्ममा परे तर पछि उनीहरूले मलाई माफी दिए।’ मूलघरसँगै जोडिएको सानो भान्साघरमा बसेर म शान्तिलाकी आमासँग बात मार्दै छु। म चिया कमानभित्रको गोर्खाली बस्तीमा छु। यस्तो लागिरहेको छ, मानौँ म अध्ययनका लागि कुनै विश्वविद्यालयमा छु। शान्तिलाको टोलको नाम हो, २ नम्बर। शान्तिला मेरी विद्यार्थी हुन्, रंगमञ्चको। तालिमको क्रममा गत वर्ष यिनी पाँच महिना बसिन्, काठमाडौँ। एउटा नाटकमा अभिनय गरिन्। ‘निर्मलाका निम्ति न्याय’ अभियानमा सरिक भइन्। त्यसपछि फर्किइन् आफ्नै जन्मथलो। काठमाडौमा हुँदा उनले शिल्पी र अरू थिएटरमा पनि भ्याएजति नाटक हेरिन्। यसले उनीभित्र रंगमञ्चको रहर र तिर्खा झन् जगायो। यतै हुँदा भन्ने गर्थिन्, ‘सर चिया कमानको जिन्दगीमाथि नाटक बनाउने इच्छा छ।’ सिलिगुडीका कवि राजा पुनियानीले मोनोलग लेखेर पठाए चियाकमानकी एक मजदुरको। निलो खुन। मालिकैलाई चियाबारी रातो सुन हामीलाई त चियाबारी हरियो खुन धर्ती छाडी ताक्नु हुन्छ हजुर जून हामीलाई त निस्तो गाँसमा ढिका नुन बग्यो बालासन लैलै सुक्यो बालासन मैले फिटिक्कै नबुझेको विषय हो, यो। नाटकलाई कसरी बलियो बनाउन सकिन्छ भनेर केही लिटरेचर पढ्दै थिएँ। राजाले केही अनलाइन पुस्तक पठाउँदै थिए। शान्तिला मिरिकमै थिइन्। मिरिकमै नाटक कार्यशाला गरेर नाटक बनाउने योजना बन्यो। शान्तिला र राजाको निम्तोमा मिरिक लागेँ, खाली दिमाग बोकेर। फेब्रुअरी २८ को दिउँसो म झरेँ, भद्रपुर विमानस्थलमा। काठमाडौँ चिसो थियो। पानी परेर हिलाम्मे पनि। झापा तातो भइसकेको रहेछ। मैले लगाएको बाक्लो ज्याकेट र मफलर मलाई धेर भइसकेको थियो। त्यसमाथि लामो बसाइका लागि बोकेको ठूलो झोलाको बोझ थियो। चारआलीमा पत्रकार पर्वत पोर्तेलसँग भेट भयो। पर्वतसँगै परिवर्तन थिएटर काँकडभिट्टा पुगेँ। त्यहीँ आइपुगेकी थिइन्, मलाई लिन शान्तिला तामाङ। गोर्खालीहरूले लडेको युद्धका कैयौँ वीरताका कथा हामी आज पनि पढ्छौँ। दार्जीलिङको आफ्नै भूमिमा आफ्नै सरकारसँग गोर्खालीहरू किन हारिरहेका छन् ? मेची पुल तरेर भारतको पश्चिम बंगाल टेकिन्छ। पानीट्यांकी हुँदै हामी पब्लिक बसमा लाग्यौँ, सिलिगुडीतर्फ। सिलिगुडीमा कवि पुनियानी भेटिए। म उनकै साथ लागेँ। पब्लिक भ्यानमा मिरिक लागिन्, शान्तिला। सिलिगुडीसँग मेरा केही सम्झना छन्, २०४८ सालबाट। सुबुकमोड, प्रधाननगर, भानुनगर थोरै ठाउँ याद थियो, मलाई। प्रधाननगरका प्रधानले मेरो गाउँ कर्जुनामा २०औँ बिघा जग्गामा पोखरी खनेका थिए। अझै छ। भानुनगरमा मेरी काइँली फुपू फुपाजुको घर छ। विशाल हलमा केहीपटक फिल्म हेरेको छु। अन्तर्राष्ट्रिय नाटक महोत्सवमा जाँदा सिलिगुडी हुँदै जान्थ्यौँ हामी बहरामपुर। अस्तव्यस्त सडक र बंगाली अक्षर मेरो सम्झनामा गडेर बसेका थिए। तर, सिलिगुडी सम्झँदा सुनचरी पत्रिका र यसका सम्पादक कुमार प्रधान झन् गाढा भएर बसेका छन्। फुपूको घरमा हरेक बिहान सुनचरी आउँथ्यो। मलाई त्यहाँ नेपाली पत्रिका पढ्न पाउँदा निकै खुसी लाग्थ्यो। त्यसभन्दा बढी यसको भाषा शैली र समाचारको किसिमले तान्थ्यो मलाई। आदरणीय कुमार प्रधान रहेनन्। अचेल सुनचरी पनि आउँदैन। हिमालय दर्पण आउँछ। पुनियानीले हिमालय दर्पणको कार्यालयमै लगे। यसका सम्पादक र अरू पत्रकार साथीहरूसँग पनि भेट भयो। सम्पादक शिवु क्षेत्रीले आफ्नो बालकथा संग्रह मलाई उपहार दिए। कला र रंगमञ्चको कारणले बंगालीहरूसँग सामीप्य रह्यो। बंगाली फिल्म र थिएटरप्रति विशेष रुचि रह्यो। बादल सरकार बंगाली भाषाका बेजोड नाटककार लाग्छ मलाई। उनले नाटक लेखन छोडेर शारीरिक रंगमञ्चको अभ्यास थाले र नाम दिए, आँगन रंगमञ्च। सन् २००४ मा कलकत्ता आयोजित नाटक महोत्सवमा उनीसँग भेट भएको थियो। उनीसँग अन्तर्वार्ता पनि गरेको थिएँ। त्यही मञ्चमा साहित्यकार महाश्वेतादेवीसँग पनि भेट्ने सौभाग्य मिलेको थियो। दुवै बितिगए। अचेल प्रोविर गुहा, ब्रत्य बसु, सञ्जय गांगुली, पार्थ गुप्ता आदिसँग कुरा हुन्छ। टेगोर, सत्यजित रे, हृत्विक घटक, उत्पल दत्त, शरदचन्द्र चटोपाध्याय, विमल मित्रो, शम्भु मित्रोजस्ता दर्जनौँ सर्जकले बंगाली कलाको समृद्धिलाई सम्झाइरहन्छन्। हामीले मानेका बंगाली साहित्य, कला र त्यसका सर्जकहरूको महत्व एकातिर छ, अर्कोतिर सामाजिक संरचना र राजनीतिक कठोरताको डरलाग्दो पाटो छ। पश्चिम बंगालमा नेपाली भाषी र त्यहाँका आदिवासीमाथिको थिचोमिचो नबुझुन्जेल बंगालीहरू प्रिय नै लाग्ने रहेछ। तर, यो कुरा आममानिसको भन्दा पनि शासकहरूको रणनीतिको कुरा भयो। त्यस साँझ राजा पुनियानीले सालबारीको एउटा गजबको चिया पसलमा लगे। दर्जनौँ किसिमका चिया किन्न पाइने र चिया पिउन पनि पाइने त्यहाँ। पसलको नाम रहेछ ‘गार्डेन्स् टी’। अनन्त गोम्देन रहेछन्, यसको सञ्चालक। साह्रै मिजासिला गोर्खाली। गोम्देनको पाँच पुस्ता चिया व्यापारमा रहेछ। संसारभरका धेरै चर्चित मिडियाले यो परिवारबारे लेखेका रहेछन्। पसलको टेबलमा एउटा अंग्रेजी पुस्तिका भेटेँ। गोम्देनका बुबा अरुण गोम्देन संसारमै प्रसिद्ध थोरै टि टेस्टरमध्ये पर्दा रहेछन्। त्यहीँ थाहा पाएँ, अफिसियल टि टेस्टरलाई धूमपान, मद्यपान वा पानसमेत खान बर्जित रहेछ। टि टेस्टरको जिब्रो निकै चनाखो हुनुपर्ने र स्वादको पारख गर्नसक्ने हुनुपर्ने हुनाले निश्चित अनुशासनमा बस्नुपर्ने रहेछ। अनन्तकी आमा सविता गोम्देन कुशल चित्रकार र कवि रहिछन्। सविताका सुन्दर चित्र चिया पसलको फराकिलो र सफा भित्तामा सजिएका छन्। उपलब्ध पुस्तिकामा लेखिएको थियो, ‘सन् १८७५ मा नेपालको पहाडबाट कामको खोजीमा तत्कालीन ब्रिटिस शासित भारतमा छिरेका गञ्जवीर लामा गोम्देनले लिबोङ टि कम्पनीको लागि कामदार ठेकेदारका रूपमा वह तुकवर चिया कमानमा काम गर्न थाले।’ कतिपय नेपाली भाषीहरू यसरी नै ब्रिटिसकालीन समयदेखि चिया कमानमा बस्दै आएको इतिहास छ। गोपालसिंह विश्वले (पुस्तक: सन्दर्भ: डुवर्स र गोर्खाहरू) लेखेका छन्, ‘दार्जीलिङ पहाडमा चिया बगानको स्थापना गर्न डा. क्याम्पबेलको ठूलो भूमिका छ। उनले सन् १८४१ तिर चीनबाट चिया खेतीका प्रशिक्षक झिकाएर दार्जीलिङका नेपालीलाई चिया खेती र चिया तयार गर्ने प्रशिक्षण दिएका थिए। सन् १९५६ मा दार्जीलिङ टि कम्पनीद्वारा प्रथम आलुबारी चिया कमान खोलिएको थियो।’ अहिलेसम्मै दार्जीलिङका चिया कमानका मजदुर नेपाली भाषीहरू हुन्। त्यसभन्दाअघिदेखि नै नेपाली भाषीहरू टिस्टासम्म फैलिएको इतिहास छ। राजा पृथ्वीनारायण शाहको राज्य विस्तारमा नेपाल देश टिस्टा नदीसम्म फैलँदा युद्धको क्रममा गएका कति नेपाली उतै बसे भन्ने पनि इतिहास छ। (सुवास घिसिङको लेखरचना संकलनबाट) ‘गार्डेन्स् टि‘मै भेट भए साहित्यकार ज्ञानेन्द्र खतिवडा, अनुवादक इन्द्र गिरी। त्यसैगरी मनबहादुर मुखियाको नाटक अनि देउराली रुन्छको पहिलो प्रदर्शनदेखि नै अभिनय गरेका कलाकार कालु सिंह रणपहेँली। केही क्षण हामीले मुखियाका नाटकबारे कुरा गर्\u200dयौँ। क्रसमा टाँगिएको जिन्दगी, अँध्यारोमा बाँच्नेहरू, असत्यम् अशिवम् असुन्दरम्, फेरि इतिहास दोहोरिन्छ आदि। ज्ञानेन्द्र दाइले अभि सुवेदीका नाटक र समीक्षा पढेका रहेछन्। निकै प्रशंसा गरे। निर्देशक प्रताप सुब्बाको पनि चर्चा भयो। उनको घर त्यहीँ सालबारीमै रहेछ। ज्ञानेन्द्र दाइले दुई महिनाअघि मञ्चन भएको पर्वत पोर्तेलको लेखन र मेरो निर्देशनको नाटक दसगजा हेर्न ठूलो समूह बटुलेर परिवर्तन थिएटर काँकडभिट्टा पुगेका रहेछन्। एकछिन त्यही नाटकको चर्चा भयो। साँझ झमक्क परिसकेको थियो। राजाले स्कुटरमा राखेर मलाई मिरिक पुर्\u200dयाउने भए। ठ्याक्कै मिरिक त हैन रहेछ। पुगेर थाहा पाएँ। मिरिकभन्दा सात किलोमिटर यतै। ‘फुगुडी चिया कमान’मा पुग्नु थियो हामीलाई। साँझको स्कुटर राइड गजबको भयो। बाटोमा रोकिँदै चिया पिउँदै। पान चपाउँदै। राति अबेर मोबाइल फोनको लाइटको साहरामा राजाले डोहोर्\u200dयाएर चिया बगानको बाटो डाँडा कान्ला हुँदै एउटा सुन्दर घरमा पुर्\u200dयाए। त्यहीँ घर रहेछ, शान्तिलाको। मनभरि अनेकौँ कौतूहल जगायो रातले। पर्यटकका रूपमा घुमेको भन्दा भिन्न छ, यसपटकको चिया बगान मेरा लागि। म छु फुगुडी चिया कमानको लगभग केन्द्रमा। वरिपरि टिनको छाना भएका घर छन्। शान्तिलाको घर एक तलाको छ, सिमेन्ट छत भएको। छतबाट चारैतिर आँखाले देखुन्जेल चिया कमान छ। दोस्रो दिन बिहान म घरको छतमा छु चिया कमानको रमिता हेर्दै। शान्तिलाका बुबा रतन मलाई चिया कमानबारे भन्दैछन्, ‘फोगडी चिया कमानको पश्चिममा सौरेनी चिया कमान छ। पूर्वमा छन् अम्बटे, सिंगेल र मकैबारी। उत्तरमा छ नोल, घैयाबारी, टिङलिङ मञ्जु चिया कमान। टिङलिङ चिया कमान त्यही नामले मेचीपारि पनि छ, नेपालमा। दक्षिणमा छन्, बालासन टर्जङ, गोपालतारा, सियोक, थर्जु, ओकाइटी, कम्बल, मिम, चुङथुङ, सम्रिक, मगरजुङ चामुङ।’ शान्तिला थप्छिन्, ‘चामुङ चिया कमानमा हाम्रा बडा काम गर्छन्।’ रतनले सम्झिए, ‘सुवास घिसिङको घर मञ्जु चिया कमानभित्र थियो। उनी त्यहीँ जन्मिएका।’ जता हेर्छु, आँखाले भ्याएसम्म चियाबारी। फोगडी चिया कमान ६९.१४ एकर क्षेत्रफलमा फैलिएको रहेछ। ब्रिटिसकालीन समयमा दार्जिलिङ जिल्लामा मात्रै १८९ वटा चिया कमान थिए। अचेल धेरैजसो बन्द भएर ८८ कमान सञ्चालनमा छन् (सन्दर्भ : डुवर्स र गोर्खाहरू)। चिया बगानभित्र चिया पिएर शान्तिला, राजा र म चिया कमानका गाउँ घुम्न हिँड्यौँ। यहाँका घर असाध्यै सुन्दर रहेछन्। चिया कमानले दिएको एक चोक्टो जमिनमा छरिता दुई कोठे घर छन्। चिया कमान कोतरेर सानो सागबारी र फूलबारी बनेको छ। यस्तोमा पनि चिटिक्क घरहरू, चिटिक्क कोठा, थरीथरीका फूल फुलेका चिटिक्कको फूलबारी। प्राय: घर यस्तै देखेँ, मैले। सफा। अपनत्वको चेतना, शृंगारको भावना। तर, चिटिक्कका यी घरभित्रका डरलाग्दा कथाव्यथा छन्। तिनकै मुखबाट ती कथाहरू सुन्न मैले केही समय पर्खनु पर्नेछ। उहिल्यै पढेको आईबी राईको ‘आज रमिता छ’ दोहोर्\u200dयाएको छु। तिनका पात्रहरू जनक, सीता, रवि, भुदेव, विनाकसुर जेल परेका चिया कमानका मजदुरहरू झल्झल्ती सम्झँदो छु। फोगडी चिया कमानको चिया फ्याक्ट्री पनि नजिकै रहेछ। वर्षमा तीन महिना फ्याक्ट्री बन्द हुने रहेछ डिसेम्बर, जनवरी र फेब्रुअरी। मार्चबाट नोभेम्बरसम्म चिया कमान सञ्चालनको समय रहेछ। संयोग गजबको परेछ। हिन्दु पुजारीको साइत सल्लाहअनुसार फेब्रुअरी २९ मा विशेष पूजासहित फ्याक्ट्रीको मेसिन चलाइयो। जो कोहीलाई फ्याक्ट्रीभित्र छिर्ने अनुमति छैन। शान्तिलाको आमा चिया कमानमा काम गर्ने हुनाले उनले त्यहाँ मिलाइन् कुरा। (चिया कमानभित्र घर भएकाको हरेक परिवारबाट कम्तीमा एक जना कमानमा काम गर्न जानुपर्छ। तर, अहिले त्यो अनिवार्य छैन।) फ्याक्ट्रीका मेनेजरलाई नेपाली भाषी कामदारले सोर्स लगाएपछि भेटिए फ्याक्ट्री इन्चार्ज शुभम श्रेष्ठ। उनैले घुमाए ब्रिटिसकालीन त्यो चिया फ्याक्ट्री। डेढ सय वर्ष पुराना मेसिनहरू थिए त्यहाँ। उनले भने, ‘फुगुडी चिया फ्याक्ट्रीले उत्पादन मात्रै गर्छ। यसको मालिक हो बगेरिया कम्पनी जसको कार्यालय कलकत्तामा छ। फुगुडी चियाको बजार मूलत: जर्मनी हो। कामदार, पारिश्रमिक वा बगानको कुनै पनि निर्णय कलकत्ताबाट हुन्छ। धेरै कामदारले आजसम्म मालिकको अनुहार देखेका छैनन्।’ नाटकका लागि यो एउटा रिसर्चजस्तो थियो। तर, त्यहाँ पुगेपछि त्यसै पनि यो नौलो संसारप्रति रुचि जागेर आयो। शान्तिला र म चिया बगानभित्र छिर्\u200dयौँ, कामदारहरूलाई पछ्याउँदै। सामान्यतया कामदारहरूको रुटिन रहेछ : घरबाट बिहान ६:३० बजे बगान निस्कियो। ७:०० देखि ११:३० बजेसम्म चिया टिप्यो। ११:३ देखि आफूले टिपेको चिया तौलिने समय हुन्छ। १२:०० देखि १:०० बजेसम्म खानाको समय। १:०० देखि ३:३० बजेसम्म फेरि चिया टिप्यो। ३:३० बजेपछि आफूले टिपेको चिया तौलिएर फ्याक्ट्रीलाई बुझायो। दर्जनौँ महिला चियाबारीमा छन्। घुँडासम्म आउने प्लास्टिकको जुत्ता (गम्बुट), हातमा पन्जा, छाता र ढाडमा डोको भएपछि चिया बगान छिर्न मिल्यो। मार्च १ देखि काम सुरु भएको छ बगानमा। अझै केही हप्ता चिया टिप्ने बेला भएको छैन। अहिले चियाको बोट सफा गर्ने समय रहेछ। खुट्टामा प्लास्टिकको जुत्ता र हातमा पन्जा लगाएका महिलाहरूको हातमा फलामको अंकुशे छ। त्यही अंकुशेले चियाको बोटमा लागेको झ्याउ, लहरा र अन्य फोहर निकाल्न मद्दत गर्छ। चियाको बोटलाई यसरी स्याहारिरहेका छन् महिलाहरू मानौँ आमाबाले कलिलो सन्तानलाई स्याहार्दै छन्। गाईले आफ्नो भर्खरै जन्मिएको बाछी÷बाछोलाई चाट्दै छ। ६० वर्षीया शान्ति घले भन्छिन्, ‘चियामा लाग्ने झार सैतानजस्तो हो। यसलाई हटाएन भने चियाको बोट मर्छ। जो काम नलाग्ने त्यही बढी फैलन्छ। चियालाई चाहिने भिटामिनजति काम नलाग्ने झारले खाइदिन्छ। घरमा पनि काम नलाग्ने झार छ।’ मैले सोधेँ, ‘हो र ? कस्तो झार ?’ उनले हाँस्दै भनिन्, ‘श्रीमान्।’ ५० वर्षीय विप्साङ तामाङले भनिन्, ‘चियाको पात पो जोखेर थाहा लाग्छ काम गरेको। यो झार टिपेको कसले देख्छ ? खोल्सामा हाल्यो भने साहेबहरूले देख्दैन। त्यसैले टिपेको झारमाथि रोडमा लगेर राख्छौँ काम देखाउन। ढाड दुखिसक्यो, कम्मर दुखिसक्यो। आधा घण्टामै डल्लै बोरा भरिन्छ झारले।’ यहाँका अधिकांश महिला खासमा यहाँका हैनन्। बिहे गरेर अर्कै गाउँ वा अर्कै देशबाट आएका। ४० वर्षकी मञ्जु लोहनीको माइती मोरङ नेपालको पथरी हो। ३५ वर्षीया गीता राईको माइती झापाको भद्रपुर हो। मञ्जुले भनिन्, बिहे गरेर देश नै फेरियो। अचेल चियाबारीमा काम गर्नेहरू महिला मात्रै हुन्छन्। चियाको बोट सफा गर्ने, चियाको पत्ता टिप्ने काममा पुरुषहरूको मन जाँदैन। चिया टिप्नेहरूको निरीक्षण गर्नेहरूलाई ‘कामदारी’ भन्छन्। उनीहरू चाहिँ पुरुष हुन्छन्। कामदारीले गर्ने गाली काँचो चियाको पत्ता चपाउँदाभन्दा तीतो हुन्छ। फ्याक्ट्रीभित्र काम गर्नेहरू भने पुरुष हुन्छन्। यहाँ कामको पनि लिंग हुन्छ। आज पनि चिया कमानका मजदुरहरूको दु:ख उही छ। ज्यालाको। हरेक चिया कमान मजदुरहरूले आज पनि पाउने ज्यादा भनेको प्रतिदिनको १७४ भारतीय रुपैयाँ हो। यो अत्यन्तै न्यून हो। सामाजिक सुरक्षाको, जग्गामाथिको अधिकारको, श्रमको मूल्यको ठूलो समस्या छ। नेपालको तराईमा उखु किसानहरूको जस्तै पीडा। वा कोलम्बियामा चिकिता बनानाको खेतीमा काम गर्ने मजदुरहरूको जस्तै पीडा। त्यसैले मजदुर दिवसको नारा बनेको होला, ‘संसारभरिका मजदुर एक हौँ।’ यो पुँजीवादी अर्थ व्यवस्थामा संसारभरिका मजदुरहरूको पीडा एउटै भएको छ। तुलनात्मक रूपमा चिया कमानका मजदुरहरूको पीडा केही भिन्न छ। आज पीडा खेपिरहेका चिया कमानभित्रका मजदुरहरू आजको व्यवस्थासँग वाक्क भएर भन्ने गर्छन् बरु ब्रिटिसकालमै राम्रो थियो। आजको नेपालमा भ्रष्ट राजनीतिक दल र नेताबाट वाक्क भएर नेपालीहरूले बरु राजै ठीक थिए भनेजस्तो। यो वितृष्णा जातीय पहिचानसँग जोडिएको छ। भाषासँग जोडिएको छ। माटोमाथिको अधिकारसँग जोडिएको छ। ज्यालासँग जोडिएको छ। हाम्रो मधेस र उताको गोर्खाल्यान्डका कतिपय पीडा समान लाग्छन्। नेपाल भन्ने देश विचित्रको संघीय प्रणालीमा छ, एउटा मैथिली वा नेवारी विद्यार्थीलाई अझै नेपालीमा राष्ट्र गान घोकाइन्छ। उनीहरूले आफ्नै देशको राष्ट्र गान आफ्नो मातृभाषामा गाउन पाउँदैनन्। उता गोर्खाल्यान्ड आन्दोलन झन् चर्कियो (सन् २०१७) जब पश्चिम बंगाल सरकारले सबै नेपाली भाषी विद्यार्थीहरूका लागि बंगाली भाषा अनिवार्य गर्ने घोषणा गर्\u200dयो। सन् १९९२ मा नेपाली भाषाले भारतका २२ वटा सरकारी मान्यता प्राप्त भाषामध्ये आठ सूचीमा स्थान पाएको थियो। शिक्षक तथा इतिहासका अध्येता मनोज गिरीसँग एक साँझ सघन छलफल भयो, फुगुडी चिया कमानभित्रै। मसँग उनका लागि प्रश्न मात्रै थिए। उनले भने, ‘मूलत: मालिकको जमिनमाथिको आधिपत्य अन्त्य गर भन्ने हो।’ चिया कमानभित्र सयौँ वर्षदेखि गोर्खालीहरू बसेका छन्। जग्गा सरकारी हो। सरकारसँग कम्पनीले चियाका लागि जमिन लिजमा लिन्छ। यो ठूलो असुरक्षा र भय हो नागरिकलाई। ‘कम्पनीमा काम गर्ने मजदुरहरूका लागि न फ्याक्ट्री एक्ट लागू हुन्छ न त प्लान्टेसन एक्ट। कागजमा छ तर व्यवहारमा छैन।’ उनको विचारमा नेपाली भाषी भारतीयहरूको आत्मसम्मान र पहिचानको कुरा मात्रै हैन, बंगाली समुदायको अगाडि पश्चिम बंगालका आदिवासीहरूको स्थिति पनि दयनीय छ। उनी नेपाली भाषीहरूमा राजनीतिक, सांस्कृतिक चेतनाको आवश्यकता ठान्छन्। र केही वर्षदेखि ‘आह्वान’ अभियान चलाइरहेका छन्। उनीबाट प्रशिक्षित विद्यार्थीहरू मरिना राई, लावा शेर्पा, विनिता राईहरू जेएनयू देल्लीबाट पनि अध्ययन सकेर यही अभियानमा फर्किएका छन्। उनी गाउँगाउँ जान्छन् र युवाहरूलाई चिन्तनको प्रशिक्षण दिन्छन्। फुगुडी चिया कमानमै घर भएका दिलप्रसाद शेर्पा किशोरवयदेखि नै गोर्खाल्यान्ड आन्दोलनमा हिँडेका रहेछन्। सुवास घिसिङको नेतृत्वमा सन् १९८६ मा सुरु भएको गोर्खाल्यान्ड आन्दोलनमा लाग्दाका कथा उनले सुनाए। सन् १९८६ मा गोर्खाल्यान्डको विषयमा तत्कालीन राजा वीरेन्द्रलाई बुझाएको मेमोरेन्डमबारे पनि उनले सुनाए। ‘कि त गोर्खालीहरू हाम्रा हुन् भनिबक्स्योस्, हैन भने भारत सरकारलाई दार्जिलिङका गोर्खाली नेपालका नागरिक हैनन् भनिबक्स्योस्।’ यही कुरा सुवास घिसिङका भाषणहरूको संकलनभित्र पनि उल्लेख छ। यो पुस्तक पढ्दा वा सुवास घिसिङको भाषण भिडियोमा हेर्दा मजस्तो सामान्य मानिसका लागि अचम्म लाग्नु स्वाभाविक छ। सुवास घिसिङले सीधै भारत सरकार र बंगाल सरकारलाई चुनौती दिएका छन्। सार्वजनिक भाषणमा गोर्खाल्यान्डको माग गर्दै खुलेआम सत्तालाई लल्कार्ने घिसिङलाई सत्ताले छुन पनि नसकेर अन्य १२ सय गोर्खाली कसरी मारिए ? गोर्खाल्यान्ड आन्दोलनको सुरुवाती समयका घिसिङ भोको र आक्रामक सिंहजस्तो लाग्छन्। भारतीय नेपाली भाषीहरूको स्वतन्त्रताको कथा झन्झन् चाखपूर्ण भएर गयो जब मैले चिया बगान भित्रै बसेर डा. खेमराज शर्माको पुस्तक दार्जीलिङका गोर्खा पढेँ। घिसिङका किताब पनि मैले उतै पढेँ। घिसिङकै ‘मने‘ र प्रकाश कोविदको ‘तर कहिले’ उपन्यासले झन् बलियोसँग ब्रिटिसकालीन समयदेखि चिया कमानका मजदुर गोर्खालीहरूको संघर्षको कथा बोलेको छ। त्यसो त युवा लेखक छुदेन काविमोको उपन्यास फातसुङले सन् १९८६ पछिको एकखाले स्थिति बोलेको छ। गोर्खालीहरूको स्वतन्त्रताको सपना, विपन्न जीवनचर्या, गोर्खाल्यान्ड आन्दोलनको असफलता र फुटको पीडादायी कथा कहेको छ। असीकै दशकमा लेखिएका भागिरथ रावतको ‘बास सल्किरहेछ’ र असित राईको ‘नयाँ क्षितिजको खोज’ पढ्न पाएको छैन। गोर्खाल्यान्ड आन्दोलनको उपलब्धिहीन अवसानसँगै भारत सरकारको नयाँ नागरिकता विधेयकले भारतीय नेपालीको अस्तित्वको घाउमा अझै नुनचुक छरेको छ। मिरिक बजारमा विमल गुरुङले सम्झौता गरेर ल्याएको अधिकारको बोर्ड देख्छु, गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन र मधेसलाई सम्मानित स्थानमा पुर्\u200dयाउँछु भनेर आन्दोलनमा ओर्लिएका तर सत्ताको गुलियोमा भुलेका उपेन्द्र महतोहरूलाई सम्झन्छु। म भारतीय नेपालीहरूमाथि लेखिएको फिक्सन र इतिहासको भावनात्मक बन्दीजस्तै भएँ। अनि बिहान उठेर साँच्चै तिनै चिया कमानका गोर्खालीहरूलाई भेट्दा निसास्सिएको जस्तो महसुस हुन्थ्यो। काठमाडौँ फर्किएर पनि तिनै चिया कमानका मिहिनेती, निर्दोष मजदुरहरू, भारतीय सीमा रक्षाका लागि लडिरहेका हजारौँ गोर्खाली सैनिकहरू, मैले चिनेका प्रिय सर्जकहरू, मेरी फुपू, फुपाजुहरूलाई सम्झिरहेछु। थाहा छैन यसको राजनीतिक निकास कस्तो हुनुपर्छ ? तर, आजको भारत, आजको बर्मा वा आजको भुटानलाई हेर्दा एकल धर्म, एकल, भाषा, एकल जाति वा एकल राजनीतिक पार्टीको आधिपत्यले अल्पसंख्यक धर्म, जाति, भाषाका समुदायलाई अनाचक गैरनागरिक बनाइरहेछ। भुटानका नेपाली भाषी वा बर्माका रोहिंग्या समुदाय एकल जाति र धर्मको सिकार भएर अचानक आफ्नै देशमा अनागरिक भएर लखेटिए। एक वर्षको बर्माको बसाइ अनुभवबाट भन्नसक्छु, ‘बर्माका नेपाली भाषी वा अन्य अल्पसंख्यकसँग नागरिकका रूपमा चाहिने कानुनी डकुमेन्ट हुँदाहुँदै पनि सधैँ सत्तालाई म यही देशको सुधो नागरिक हुँ भनेर प्रमाणित गराइरहनुपर्ने बाध्यता छ। पहिचान र अधिकारको कुरा नगरी बन्धक मजदुरझैँ बस्नुपर्ने अवस्था छ।’ सत्ताको राजनीति विचित्र छ, भारतको नयाँ नागरिकता विधेयकको विषयमा राजनीतिक विश्लेषक अरुन्धती रोयले भनेजस्तो, ‘नागरिकहरूको भोट र सहयोगले नेताहरू सत्तामा पुग्छन्। र सत्ताको उन्मादमा तिनै नागरिकलाई अनागरिक बनाउने कानुन ल्याउँछन्।’ सन् २०१७ मा गोर्खाल्यान्ड आन्दोलन चलिरहँदा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संसद्मा गृहमन्त्रीलाई सम्बोधन गर्दै आफ्नो धारणा राखिन्, ‘गोर्खालीहरूको दार्जीलिङको विचलनको अरू कोही जिम्मेवार छ भने त्यो पश्चिम बंगाल सरकार र केन्द्रीय सरकार हो। दार्जीलिङमा गोर्खाल्यान्डको माग धेरै दिनदेखि चलिरहेको छ। गोर्खाल्यान्ड बन्नुपर्छ वा बन्नुहुन्न भन्ने दुई मत हुनसक्छ। हरेक राज्यबारे यस्तै दुई मत हुनसक्छ तर यो कुरा पक्का छ, यो आन्दोलन पृथकतावादी आन्दोलन हैन। बरु यो आन्दोलन गोर्खालीलाई भारतसँग जोड्ने आन्दोलन हो। हिन्दुस्तानमा पृथक् राज्यको धेरै आन्दोलन भए। उत्तरप्रदेशबाट उत्तराखण्ड, बिहारबाट झारखण्ड, मध्यप्रदेशबाट छत्तीसगढ अलग हुने आन्दोलन चल्यो। आन्ध्रप्रदेशबाट तिलंगना अलग हुने, महाराष्ट्रबाट मध्यप्रदेश अलग हुने आन्दोलन चलिरहेको छ। अरू पनि धेरै सानासाना राज्यहरूको कुरा भइरहेको छ। यी सबैलाई त हामीले पृथकतावादी आन्दोलन भनेनौँ। मैले आन्दोलनकारीहरूसँग कुरा गरेँ। उनीहरूले भने, म्याडम हाम्रो तन भारतीय छ, मन भारतीय छ। खालि हामी निधारमा हिन्दुस्तान लेखाउन चाहन्छौँ।’ उनले अरू धेरै कुरा भनिन्। तर, पश्चिम बंगालले उनको कुरा सुनेन। सन् १९७७ देखि सन् २००० सम्म पश्चिम बंगालको मुख्यमन्त्री रहेका ज्योति बसु होऊन् या सन् २०११ देखिकी मुख्यमन्त्री ममता बेनर्जी सबैले सैनिक शक्ति प्रयोग गरेर र फुटको राजनीति गरेर आन्दोलनलाई दबाई छोडे। गोर्खालीहरू भन्ने गर्छन्, ज्योति बसुले सुवास घिसिङलाई लोभ्याए। ममता बेनर्जीले विमल गुरुङलाई लोभ्याइन्। सत्तामा बसेकाहरूको राजनीतिक चक्र विचित्रको छ। एकातिर तिब्बती शरणार्थीहरू भारतमा शरण लिएर बसेका छन्। अर्कोतिर काश्मीरमा भारतको डरलाग्दो हत्तक्षेप छ। करोडौँ नागरिक भएका देशहरू चीन, अमेरिका, भारत र बर्मा अल्पसंख्यकहरूमाथि झन्झन् क्रर हुँदै जाँदै छन्। संसारकै लागि मानवताको यो ठूलो घाउ हो। यी ठूला देशका शक्तिशाली शासक भनाउँदाहरू सँगै बसेर समाधान खोज्दैनन्। त्यसो त पाउलो फेरेको पेडागोजी अफ द अप्रेस्ट वा अगस्टो बोअलको थिएटर अफ द अप्रेस्टले भन्छ, पीडकहरूले समाधान दिँदैनन्। समाधानका लागि पीडितहरूले संघर्ष गरिरहनुपर्छ। चिया कमानमा १० दिनको बसाइपछि म फेरि सिलिगुडी झरेँ। ‘गार्डेन्स् टि’मा सिर्जना वृत्तले मसँग अन्तक्र्रिया कार्यक्रम राखेको थियो। आदरणीय कवि मोहन ठकुरीदेखि नाटककार मुक्ति उपाध्याय त्यहीँ भेटिए। छुदेन काविमो त्यहीँ थिए। सम्बोधन प्रकाशनका सुरज गुरुङ ऊर्जावान रहेछन्। स्वागतका लागि उनले लामै भाषण गरे। र आफ्ना साहित्यिक सपना बोले। मलाई त्यहाँ मेरो रंगमञ्चीय यात्रा र अनुभव बोल्न उभ्याइएको थियो। तर, अन्तक्र्रिया खण्डमा संवेदनशील प्रश्नहरू मतिर आए। धेरै प्रश्नहरूमध्ये एउटा प्रश्न थियो, ‘दुईवटा ठूला आन्दोलन विफल भए। पहिचानको लडाइँमा अब युवाहरूको भूमिका के हुनुपर्छजस्तो लाग्छ ?’ सिलिगुडीको सिरानमा सिंगै नेपालको सैनिक क्याम्पभन्दा धेरै ठूलो सैनिक क्याम्प देखेको मैले भनेँ, ‘यस्तै लडाइँ नेपालमा धेरै अल्पसंख्यकको अस्तित्वको लडाइँ हो। अब खुकुरी र युद्धको बहादुरीले काम गर्दैन। सांस्कृतिक जागरण र चेतनाबाट नै यो लडाइँ लड्न सकिएला।’ साहित्य, संगीत, चित्रकला र रंगमञ्चमा एक से एक प्रतिभा जन्माएको दार्जीलिङ भूमिले आफ्नो श्रम र पसिनाले भारतको भूमिलाई सिञ्चित गरेको छ। सन् २०१८ मा देहरादुन घुम्दा भेटिएका नेपाली भाषी भारतीयहरूको पनि सम्झना हुन्छ। आफ्नो भाषा, संस्कृति र पहिचानप्रतिको मोह अधिक देख्छु तर केन्द्रीय सत्ताको छायाँमा ओइलाउँदै गएको देख्छु। तत्कालीन नेपाल सरकार र इस्ट इन्डिया कम्पनीबीच भएको सन् १८१५ को सुगौली सन्धिपछि मेचीपारि र महाकालीपारि भूमि मात्रै गाभिएन। त्यो भूमिसँगै नागरिक पनि उतै छुटे। ती नागरिकको दु:ख र संघर्षका धेरै कथा लेखिएका छन्। डा. कुमार प्रधानको द गोर्खा कङ्क्वेस्ट होस् वा लुडविङ एफ स्टिलरको द साइलेन्ट क्राइ यिनले सुगौली सन्धिपछि राजनीतिक सट्टापट्टामा परेका लाखौँ नागरिकको दर्दनाक कथा भन्छ। भूगोलको एकीकरण र आममानिसको भावनाको एकीकरण बिल्कुलै फरक कुरा रहेछन्। पृथ्वीनारायण शाहको नेपाल एकीकरणको सन्दर्भमा पनि इतिहासको विवेचना चलिरहेको छ। तर, यस आधुनिक युगमा आफ्नै नागरिकहरूको आत्मसम्मान दिन नसक्ने भारत नेपाल, बंगलादेश, पाकिस्तानजस्ता छिमेकी देशहरूका लागि सधैँ पीडक छिमेकी साबित भएको छ। आफ्नै देशभित्र अल्पमत र किनारमा परेकाहरूलाई बेवास्ता गर्दै धार्मिक अतिवाद लादिरहेको मोदी सरकारले राजनीतिक हस्तक्षेपसँगै आज पनि भूमि अतिक्रमण गरिरहेको छ। यस्तो नेतृत्वले बंगालमा नेपालीभाषा र आदिवासी (गराँउ, रावा, मुण्डा, लेप्चा आदि) वा पूरै भारतका दलित, आदिवासी वा गैरहिन्दुको पहिचान र आत्मसम्मान कसरी रक्षा गर्नसक्छ ? ठूलो सन्देह छ। यस्तो लाग्छ, हिमाञ्चल प्रदेशको धर्मशालामा बसेका तिब्बती शरणार्थीहरू भारतीय नेपालीभन्दा सम्मानित जीवन बिताइरहेका छन्। मिरिकलाई सम्झिरहेको छु। सय वर्षभन्दा बढी उमेर भएका चियाका बोट गोर्खाल्यान्डको आन्दोलनको इतिहास बोकेर मौन छन्। तिनले दिने चियापत्ती संसारमा फैलिएका छन्। बरु तिनको मूल्य गहकिलो छ तर तिनलाई हुर्काउने किसान र मजदुरहरूको मूल्य निकै सस्तो छ। गोर्खाल्यान्डको चियाको ब्रान्ड संसारमा प्रसिद्ध छ तर तिनलाई हुर्काउने नागरिक अझै अस्तित्वको लडाइँ लडिरहेका छन्। शान्तिला र राजाहरूको सांस्कृतिक लडाइँमा भावनात्मक रूपमा म सँगै छु। तर, यो पीडाको इपिकमाथि कसरी नाटक बनाउने होला म अन्योलमा छु। सिलिगुडीमा नाटककार मुक्ति उपाध्यायको घर पुगेँ। उतिबेलै मलाई मनपर्ने कवि मनप्रसाद सुब्बा दाइको फोन पाएँ। लामो कुरा भयो। लामो आन्दोलन र त्यसको असफलताबाट भर्खरै तंग्रिदै आएको दार्जीलिङ जिल्लामा म बबुरोले नाटक बनाउनु फलामको चिउरा चपाउनुजस्तो महसुस भयो। मनप्रसाद दाइको अचुक सल्लाह मनमै छ। अहिले यहाँ लेख्नु सामाजिक स्वास्थ्यका लागि हानिकारक छ। पत्रकार मित्र पर्वत र कलाकार गणेश पनि काँकडभिट्टाबाट सिलिगुडीसम्म आएका थिए। अघिल्लो साँझको कार्यक्रम अनेकौँ रंगका सोमरस मिसिएर तिरमिराएछ। साथीहरूको आँखा बिहान १०:० बजेसम्म खुलेकै थिएन। मेरा फुपूका छोरा पुष्पराज निरौलाले मलाई कवि मोहन ठकुरीसम्म पुर्\u200dयाइदिए। कवि अविनाश श्रेष्ठका लागि उहाँबाट एउटा पुस्तक कोसेली (आईबी राई विशेषांक) थापेर हामी काँकडभिट्टातिर हानियौँ। उहाँसँग लामै भलाकुसारी गर्ने मन भएर पनि सकिएन। बक्यौतामा फर्किएँ। धेरै दिनसम्म मेरो मगजमा तिनै मिरिकका चिया मजदुरहरू आइरहे। शान्तिलाका बाआमा। उसको भाइ सिलासले गितार बजाउँदै गीत गाएको। दार्जीलिङे लवजमा खस भाषा बोलेको। त्यो चिया कमान। चिया कमानभित्रका गोरेटो बाटो। कमानमा काम गर्ने आमाहरू, दिदीबहिनीहरू। हृदयभरि स्मृतिका पत्रैपत्र बोकेर फर्किएँ। गोर्खालीहरूले लडेको युद्धका कैयौँ वीरताका कथा हामी आज पनि पढ्छौँ। दार्जीलिङको आफ्नै भूमिमा आफ्नै सरकारसँग गोर्खालीहरू किन हारिरहेका छन् ? कि मैले गलत सोचेँ ? अनि शान्तिका लागि मोहन ठकुरीलाई पढेँ, ‘फेरि दार्जीलिङ’मा। कतै सुप्त-ज्वालामुखी फुट्छ कि भनेर चियाउनु आएको म। निद्राले बोझिल छन्÷आँखाहरू। सपना पर्खनुछ बिहान पर्खनुछ एउटा रातो घाम पर्खनुछ। @Ghiyub नाट्यनिर्देशक, कलाकार तथा लेखक हुन्। उनको पछिल्लो कृति ‘आँधीको मनोरम नृत्य’ हो। #गोर्खाली
आत्महत्या गर्नु अघिको मानिस: कृष्ण कुसुम ऊ लेख्थेन राजेश्वर रेग्मीले झैं– “मेरो मृत्युको खबर सुनेपछि सारा शहर खुशीमा रमाइरहेछ र, एक्लो म आफ्नै मृत्युको शोकमा डुबिरहेछु” जस्ता कविताहरु न त पढ्ने नै गर्थ्यौ– सिल्भिया प्लाथका “द वेल जार” वा सारा टिज्डेका सुसाइड नोट। ऊ एउटा शिक्षक जो हजारौं चेलाहरुलाई सिकाउँथ्यो– सफलताको सूत्र र, सुनाउँथ्यो जीवन संघर्षका कथाहरु आत्महत्याको केही क्षण मात्र अघि उसको गतिले बताउँथ्यो– उसको हतारोपन मुहारले देखाउँथ्यो– छटपटी र, आँखाले जनाउँथ्यो– नयाँ कुराको खोज यिनै विशेषताको साथ लम्किरहेको उसको यात्रा रोकियो एउटा डोरीको पासोमा आफ्नै पनि माया नगर्ने ऊ अलिकति मायालु बन्न खोज्दै “मेरी श्रीमती, आमा र बहिनीलाई दुःख नदिनू” लेख्छ र हस्ताक्षर गर्छ आफ्नै मृत्युपत्रमा । म सोचिरहेछु ऐले– सिंगो संसार जित्ने यौटा उत्साही यात्रामा निस्केको मानिस किन जित्न सक्दैन आफैँलाई र रोकिदिन्छ जिन्दगीको यात्रा ? #आत्महत्या #कृष्ण कुसुम
माझकिरातका दुर्लभ कागजात: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । यो लेख हामीले कान्तिपुर कोसेलीबाट साभार गरेका हौँ । कान्तिपुरका लागि यो लेख भोगिराज चाम्लिङले तयार पार्नु भएको हो । तपाईले यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस् । भोगीराज चाम्लिङ डेढ महिनाअगाडि ‘म्यासेन्जर’ मा एउटा गज्जब ‘सन्देश’ आयो, जुन पढेर म खुसीले छटपटिएँ । लेखिएको थियो– ‘सेवा–नमस्कार सर, म भोजपुर दिङ्लाबाट । यहाँ मसँग संवत् १८२५–२६ सालको कागजात छ तर खुट्याएर अर्थ्याउन असमर्थ भएकोले तपाईंबाट समाधान हुने थियो कि ?’ विनोद राईले भरोसा गरेर पठाउनुभएको (१२ फेब्रुअरी) यो ‘सन्देश’ पढ्नासाथै मैले त्यो ऐतिहासक कागजात पठाइदिन आग्रह गरेँ । त्यो कागज पढेपछि त झन् मेरा रौंसमेत ठाडा भए । त्यो यति दुर्लभ ऐतिहासिक कागजात थियो कि धेरै–धेरै धेरै नै दुर्लभ थियो । तीन थानमध्ये दुईवटा अटल रायले ‘राजाभारासामर्थ’ का रूपमा जारी गरेको बिर्ता खेत र खेतसँग सम्बन्धित कागज थियो । अर्को एक थानचाहिँ किरात राईहरूले गोरुको मासु खाएबापत सरकारलाई कर (मेगजिन) तिरेको कागज थियो । यी कागजात दिङ्लागढी गाउँपालिका, वडा नम्बर ७ साल्मा निवासी पदमबहादुर राई (दुमी) को घरमा उहाँकै छोरा ध्रुव राईको सहयोगमा फेला पारिएको हो । किरात संस्कार र इतिहासबारे गहिरो चासो मात्रै होइन, दखलसमेत राख्नुहुने अवकाशप्राप्त शिक्षक पदमबहादुर राईलाई मैले विनोद राईमार्फत प्रश्न सोधेको थिएँ, ‘यति दुर्लभ ऐतिहासिक कागजात कसरी सुरक्षित रह्यो ?!’ उहाँको सूत्रात्मक जवाफ आयो, ‘मेरा बराजु, च्याप्जु बाजेहरूको अवज्ञाका कारण ।’ यो ‘अवज्ञा’ का पछाडि रोचक कथा लुकेको रहेछ । पदमबहादुर राईका अनुसार, किरात राई समाजमा बाबुको मृत्युपछि छोराले बाबुसँग सम्बन्धित कुनै पनि प्रकारका कागजात राख्नुहुँदैन, खोला, नदी, धारा इत्यादिमा सेलाउनुपर्छ, अन्यथा ‘स्वर्गको बाटो’ मा बाधा आइलाग्छ भन्ने मान्यता स्थापित गरिएको छ । यसकारणले गर्दा पनि किरात राई समाजमा पुराना कागजपत्रहरू नष्ट भएछन् । उहाँले बताउनुभएको अर्को एउटा कारण पनि रोचक छ । धनकुटा भ्रमणका बखत राजा महेन्द्रले ‘ताम्रपत्र बुझाउनू, हामी हेरी तिमीहरूको हक अधिकार सुनिश्चित गर्छौं’ भनेर लिम्बूहरूलाई उर्दी लगाएका रहेछन् । त्यही क्रममा ताम्कुका राईहरूले पनि राजा महेन्द्रलाई ताम्रपत्र बुझाएछन् । तर, पदमबहादुर राईका पितापुर्खाहरूले चाहिँ स्वर्ग जाने प्रलोभन पनि अवज्ञा गरेछन्, राजा महेन्द्रको हुकुम पनि अवज्ञा गरेछन् । 0000 प्राप्त तीनमध्ये अटल रायको नामबाट जारी दुई कागजातमा लेखिएको छ – कागजात १ स्वस्ति श्रीराजाभारासामर्थ श्रीअटलजीत राये जीव आगे श्री कदुमाफुफुकै हरिबोद्या षेत तीस् मुरी बीर्ताकै दीहल है आपना बीर्ता जानी जोतहु जोतावहु परम सुष भोग्या करहु इती स्मवत् १८२६ साल माहा ७ रोज मोकाम डी(ङ्)लाकोट सुभम् कागजात २ स्वस्ति श्रीराजाभाराकसामर्थः श्रीअटलजित राये जीव स्वस्ति श्रीसाके १६९० श्रीसंवत् १८२५ मास फाल्गुन तद्दिने १० रोजः रयाल्या षेत बाधा असि मुरिको षेत सषा रुपया असि ८० नगदका जमान लाग्याका हः तस् वातका साछि श्री जित राया श्री प्रमानन्द राय श्री अमर्सिंह थापाका मार्फत् शुभं मुकाम लेगुवा (बायाँ छेउमा) सही श्रीवाद रायेले लिया 00000 यी दुई कागजातलाई थुप्रै सन्दर्भबाट केलाउन सकिन्छ । तर, यसपटक तीन कोणबाट मात्र हेर्ने प्रयास गरिएको छ– एक, अटलजित राय र चतमे राय : इतिहास कागजपत्र र अभिलेखमा मात्र बाँचेको हुँदैन, सामाजिक स्मृतिमा पनि जीवन्त भइरहेको हुन्छ । फेरि लिखित प्रमाणहरूका अभावमा लामो समयपछि किंवदन्तीमा परिणत हुँदो रहेछ इतिहास । तर, किंवदन्ती नभइसकेका इतिहासका पात्र हुन् माझकिरातका अटल राय र चतमे राय । पश्चिम नेपालका मुकुन्द सेनका छोरा लोहाङसेनले १६ औं शातब्दीमा कोचे राजा विजयनारायणलाई हराएर मोरङ राज्य, समग्र पूर्वी पहाड र तराई विजय गरेका थिए । तर, उनको निधनपछि छोराहरूले अंशवण्डा गरी तीन राज्य खडा गरे (ज्ञानमणि नेपाल, नेपाल निरुक्त, २०४० : पृ. २७८) । पल्लो किरात अर्थात् लिम्बुवान विजयपुर राज्यअन्तरगत पर्दथ्यो भने ओल्लो र माझकिरात भनिने भूभाग मकवानपुर राज्यअन्तर्गत थियो । राजा हेमकर्ण सेनले माझकिरातको प्रशासन सञ्चालनका लागि भाइ जगत् सेनलाई नियुक्त गरे । तर, माझकिरातका खम्बू (राई) हरूले जगत सेनलाई नै राजा बनाएर विसं १७९२ मा छुट्टै राज्य खडा गरे जसलाई चौदण्डी राज्य भनेर भनिन्छ । त्यो चौदण्डी राज्यको राजधानी उदयपुरको उत्तरी पहाडमा पर्ने चौदण्डी डाँडामा थियो । सेन राजाहरू चौदण्डीगढीमा बसेर मगरात (उदयपुरको मगर बस्ती), भावर र अम्बपुरका तलहट्टीमा शासन गर्थे भने खम्बू (राई) दीवान तथा चौतरियाहरू माझकिरातमा बसेर प्रशासन सञ्चालन गर्थे (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षीप्त जीवनी, २०६१, पृष्ठ ४१५) । उनै दिवान तथा चौतरियाहरूमध्ये हालको भोजपुर जिल्लाका थिए अटल राय, हालको खोटाङ जिल्लाका थिए चतमे राय । पृथ्वीनारायण शाहको सैनिक आक्रमणविरुद्ध उनै चतमे र अटल रायको नेतृत्वमा लडाइँ भएको थियो, जसले गर्दा माझकिरातमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहका सैनिकहरूलाई ५ महिना (विसं १८२९ भदौ–पुस) लागेको थियो (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१८) । खोटाङका सबै गढीहरूमा पराजित भएपछि खम्बूहरू हतुवागढीमा केन्द्रित हुन पुगे । उनीहरूबीच सरसल्लाह हुँदा अटल रायले भनेछन्, ‘आत्मसमर्पण गर्नुभन्दा म युद्धमा मर्नु बेस ठान्दछु ।’ उनलाई दह्रो साथ दिनेहरूमा खोटाङ हलेसीका चतमे चाम्लिङ (राय), खोटाङ चिसापानीका माने पुमा, नरवीर साम्पाङ र ओखलढुंगाका जगवीर कोयू थिए । तर, गोरखाली सेनाका बन्दुकका अगाडि धनुकाँडको केही नचलेपछि अटल र चतमे रायहरूले हतुवागढी छाडेर हिँडे । त्यसैले चतमे राय र अटल राय दुवैका शाखासन्तान अहिले भोजपुर र खोटाङ क्षेत्रमा पाइँदैन । युद्धमा पराजित भएपछि उनीहरू कोशी तरेर भारतको विहार पुगे । उनीहरूसँगै हिँडेका खम्बूहरू अहिले पनि ठूलो संख्यामा उत्तरी विहारको मधेपुरा र सुपौल जिल्लाको पनि उत्तरी भेगमा बसोबास गरिरहेका छन् । अटल रायका सन्तानहरू चाहिँ अहिले हाङपाछाका रूपमा चिनिन्छन् (विष्णु एस राई, खम्बुवानबाट हराएका सन्तानहरू, २०६७, पृष्ठ १६) । चतमे रायका बारेमा खासै लोकोक्तिहरू प्रकाशमा आएका छैनन् तर अटल रायबारे चाहिँ फुटकर सवाईहरू भोजपुर र धनकुटातिर प्रचलित छ – भोजपुर क्षेत्रमा बान्तावा राईभाषामा प्रचलित लोकसवाई यस्तो छ : नेपालायाङका ङेनची मबानाङा नाम बाखा टुङ्सा मो एनुकी अटलकाजीओ अलावा लोङ्सा अकमाआ सिरुखाया लोराखारालो कुमाङा ता तोखोक तोखोक छुङ्सा ।। प्वालोन्टाकि लोरा त अघुराङ धुङ्सा अयावाचिआ लेगुवा घाटाया अखाट्टा हुङ्साहुङ्सा ।। (नेपालबाट सेनाहरू आए आकाश धर्ती हल्लाउँदै त्यो सुनेर अटलकाजीको सातो गयो डरले दौडेर गई सिरुबारीमा लुक्दा त ख्वाक् ख्वाक् खोक्यो उठेर दौड्दा त घुँडा ठोक्कियो साथीहरूले लेगुवाघाटमा पर्खैंदैपर्खंदै लगे ।।) (चन्द्रकुमार राई ‘हतुवाली’, भोजपुर जिल्लामा रहेको ऐतिहासिक हतुवागढीको वस्तुपरक तथ्य अध्ययन प्रतिवेदन, २०६८, पृष्ठ ११५) । त्यस्तै धनकुटा छिन्ताङतिर बान्तावा राईभाषामा प्रचलित लोकसवाई यस्तो छ – अटले नु बडले लेगुवा नु फुङ्सा। पृथ्वीनारान बाना उक्टा धरती लुङ्सा।। (अटले र बडले लेगुवाबाट आयो। पृथ्वीनारान आउँदा धर्ती काम्यो।।) (अर्जुन माबुहाङ/भरत तुङघङ, हज्शन पाण्डुलिपिमा गोर्खा–खम्बुवान–लिम्बुवान युद्ध, २०७०, पृष्ठ ६६) अटल राय र चतमे रायबारेमा नारायणहिटी राजदरबारनजिकै रहेको नारायण मन्दिरको पटाङ्गिनीको संवत् १८५० को कप्तान धोकलसिंह बस्न्यातको शिलालेखमा चर्चा गरिएको छ,, जसमा माझकिरात रावाखोलाका चतिम राय र पामाखोलाका अटल रायको नेतृत्वमा खम्बूहरूले पृथ्वीनारायण शाहका सेनाविरुद्ध लडाइँ लडेको उल्लेख छ (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१८, ४२८) । त्यसो भए के माझकिरातमा दुईवटा मात्र गढी थिए, जसको नेतृत्व चतमे र अटल रायले गर्थे ? त्यस्तो पनि होइन । उनीहरू त कुनै पनि गढीका शासक थिएनन् । त्यसो भए किन चतमे र अटल रायको नेतृत्वमा माझकिरातका खम्बूहरूले युद्ध लडे त ? योचाहिँ आजसम्म पनि नसुल्झिएको प्रश्न थियो, यी दुई कागजबाट खुलस्त हुन पुगेको छ । पहिलो कुरा, चौदण्डी राज्यको पहाडी प्रदेशको शासन सञ्चालन गर्न हतुवागढीमा शासनकेन्द्र कायम गरिएको थियो (ज्ञानमणि नेपाल, ऐजन, पृष्ठ २९२) । र, हालको भोजपुर जिल्लाको प्रशासन हेर्ने दीवान या चौतरिया थिए अटल राय । त्यही भएकाले अटल रायले जारी गरेका यी दुई कागजमा आफूलाई ‘राजाभारासामर्थ’ अर्थात् राजाको भार बोक्न समर्थका रूपमा उल्लेख गरेका हुन् । त्यो राजा भनेको चौदण्डीगढीका कर्ण सेन थिए । त्यस्तै अटल रायका कागजात दुई ठाउँबाट जारी भएका छन्– लेगुवा र दिङ्लाकोटबाट । लेगुवाचाहिँ हतुवागढीमा पर्छ तर दिङ्ला (डिंलाकोट) चाहिँ अर्कै गढी भएको स्थान हो । अटल राय हतुवागढीका मात्र राजा हुन्थे भने दिङ्लाबाट उनले कागज जारी गर्न सक्ने कुरै हुँदैनथ्यो । उनले समग्र भोजपुर क्षेत्रको प्रशासन हेर्ने भएकैले दिङ्लाबाट जारी गरिएका कागज फेला परेको हो । दोस्रो कुरा, चतमे रायबारे पनि यी दुई ऐतिहासिक कागजले अझ बढी खुलस्त हुन पुगेको छ । चतमे राय पनि हालको खोटाङ जिल्लाअन्तर्गत राजा कर्ण सेनको प्रशासन हेर्ने ‘राजाभारासामर्थ’ नै थिए । त्यही कारणले धोकलसिंह बस्न्यातले राखेको शिलालेखमा चतमे र अटल रायलाई समान हैसियतमा प्रस्तुत गरिएको हो । शिलालेखमा चतमे रायलाई रावाखोलाको भनिएको छ । यसको अर्थ उनी रावाखोलाका हुन् भन्ने होइन, बरु रावाखोला क्षेत्रमा सेन राजाहरूको प्रशासनको केन्द्र थियो, त्यसका प्रमुख चतमे राय थिए भन्ने हो । यसो भन्न सकिने दुईवटा आधार छन्— रावाखोला क्षेत्रमा धान उत्पादन हुने भएकाले सेन राजाहरूले ब्राह्मण, संन्यासी, क्षत्रीहरूलाई ठूलो परिमाणमा खेत कुशविर्ता दिएका थिए । आफ्ना विश्वासपात्रहरूको विशेष बस्ती रहेको त्यत्तिको उपयुक्त स्थानमा प्रशासनिक केन्द्र हुनु स्वाभाविकै हो । अझ बलियो आधारचाहिँ अटल रायसँगै भाग्ने क्रममा भारतको विहार पुगेका खम्बू राईहरूले बताइरहेको मौखिक इतिहास हो । बिहार पुगेका त्यतिबेला १४ वर्षका अटल रायका नाति गुमानसिंह राईले आफ्ना सन्तानहरूलाई बताएअनुसार चतमे चाम्लिङ हलेसीका थिए जसले पृथ्वीनारायण शाहविरुद्ध अन्तिम लडाइँ लड्ने अटल रायको प्रस्तावमा सबैभन्दा पहिला समर्थन गरेका थिए (विष्णु एस राई, ऐजन, पृष्ठ १६) । एउटा प्रवल सम्भावना के छ भने चतमे राय हलेसी गढीका प्रथम शासक होलैसुङका शाखासन्तान हुन् । दुई, स्थानीय स्वशासन: सेन राजाहरू आलंकारिक राजा मात्र हुन्थे, खास प्रशासन चाहिँ खम्बू दिवान र चौतरियाहरूले सञ्चालन गर्थे (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१५) । उनीहरूले प्रशासन हेर्ने थुम र गढीहरू त्यसबखत खोटाङ र भोजपुर क्षेत्रमा मात्रै पनि दुई दर्जनभन्दा बढी थिए । हालका ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, संखुवासभा, धनकुटा जिल्लामा गरेर त सयको हाराहारीमा थुम तथा गढीहरू थिए । ती गढीका स्थानीय ‘राजा’ खम्बूहरू हुन्थे (भोगीराज चाम्लिङ र तारामणि राई, किरात क्षेत्रका गढीहरू, २०७४) । यसबाट किरात क्षेत्रमा सेन शासनकालमा स्थानीय स्वशासनको अभ्यास थियो भन्ने देखिन्छ । अझ त्यस्तो स्वशासनको अभ्यास किरातहरूले लिच्छविकालदेखि नै गरिरहेका थिए भन्ने संकेत राजा मानदेवको विसं ५२२ को चाँगुनारायण अभिलेखलले गरेको छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०५३, पृष्ठ १६, ज्ञानमणि नेपाल, नेपालनिरुपण, पृष्ठ २८९) । तीन, धान खेतीः अटल रायका यी दुवै ऐतिहासिक कागज खेत (षेत) सँग सम्बन्धित छन् । एउटाचाहिँ कदुमाफुफुलाई विर्ता दिइएको कागज हो, अर्कोचाहिँ असी मुरी धान उत्पादन हुने खेत असी रुपैयाँ (?) मा जमान (बन्धकी ?) गरिएको कागज हो । यसभन्दा अझ धेरै अगाडि राजा शुभ सेनले रावाखोला क्षेत्रमा विसं १७३१ मै ब्राह्मण, संन्यासी, क्षत्रीलाई खेत कुशविर्ता दिएको कागज फेला परेका कारण (पोखरेलको इतिहास, २०५७, पृष्ठ १३७) लिखित प्रमाणले माझकिरात क्षेत्रमा धान खेतीको इतिहास ३४५ वर्ष पुरानो बताउँछ । यसले अर्को के कुरा पनि संकेत गर्छ भने भोगचलन गरिरहेकै जग्गा विर्ता या कुशविर्ता दिइने भएकाले सेन राजाबाट विर्ता पाएर आर्य र खस समुदाय माझकिरातमा प्रवेश गर्नुभन्दा पहिले नै खम्बू (राई) हरूले धान खेती गर्थे ।
कोरोनापछि किताबको भविष्य के ? फुटपाथका किताब व्यापारीका कुरा: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । तलको लेख हामीले नागरिकन्युजबाट साभार गरेका हौँ । नागरिकका लागि यो लेख ऋतु काफ्लेले तयार पार्नु भएको हो । तपाईले यो सामग्री नागरिकन्युजमा नै पढ्न यहाँ क्लिक गर्नुहोस् । ———————— केही महिनादेखि किताबमा कर लगाइएयता पुस्तकको व्यापार सुस्त भइरहेका बेला कोरोनाको त्रासले अझ ठूलो समस्या थपिएको छ । पुस्तक व्यापारको लाइफलाइन मानिने फुटपाथको व्यापार यतिबेला यति सुस्ताएको छ कि पुस्तक व्यापारीहरु नै पलायन हुने अवस्था आएको छ । ‘पहिले किताब किन्नेको सानोतिनो भिड नै हुन्थ्यो,’ सुन्धारा आकाशेपुलकी फुटपाथे व्यापारी लक्ष्मी थापाले गुनासोको स्वरमा भनिन्, ‘किताब पढ्ने, हेर्ने र किन्नेको सानोतिनो भिडभाड र ठेलमठेल नै हुन्थ्यो । त्यो भिड अहिले सपनाजस्तै भएको छ ।’ उपन्यास र आध्यात्मिक पुस्तक किन्नेहरुको राम्रो संख्या देखेकी उनले पछिल्लो समय सर्वसाधारणको पुस्तक प्रतिको मोह नै रित्तिएजस्तो महसुस गरेकी छन् । उनले लामो श्वास तान्दै भनिन्, ‘व्यापार शून्य !’ काभ्रेकी लक्ष्मी थापाले यहाँ पुस्तक व्यापार गर्न थालेको १४ वर्ष भयो । एक समयमा फुटपाथमै पुस्तक बिक्री गरेर राम्रो आयआर्जन गर्न सफल भएकी उनले पछिल्लो समय पुस्तकको बिक्री उदेकलाग्दो गरी घटेकामा छक्क परेकी छन् । थापाले भनिन्, ‘सरकारले किताबमा कर लगाइसकेपछि अहिले किताबको व्यापार शून्यजस्तै भएको छ । कर लागेपछि व्यापार नै छैन । सरकारी करका कारण किताब महँगो पर्छ । त्यसमाथि पनि कोरोना भाइरसको महामारी हल्लाले मानिसहरुलाई झन् त्रसित बनाइरहेको छ । यस्तोमा किताब झन् कम प्राथमिकतामा पारेको छ ।’ त्यसै पनि घट्दो बिक्री र त्रासका कारण मानिसको चहलपहलमा कमीले व्यापारमा सिधासिधा असर परेको उनको भनाइ छ । ‘सरकारले कर नलगाउँदा र महामारीको डर नहुँदा दिनमा कम्तीमा फाइदा मात्र दुई हजार पच्चीस सय हुन्थ्यो,’ लक्ष्मीले भनिन्, ‘अहिले त महिनामै दुई हजार पच्चीस सय कमाउनै गाह्रो होलाजस्तो भएको छ ।’ लक्ष्मीले धेरैजसो उपन्यास नै बेच्ने गरेकी छन् । पहिलेको तुलनामा अहिले निकै कम पुस्तक बिक्री भएका छन् । दिनमा अहिले जम्मा पाँच सात सयको किताब बिक्री भएको उनको भनाइ छ । उनले किताबमा सरकारले कर लगाएको विषयमा आपत्ति जनाउँदै भनिन्, ‘पुस्तक भनेको धनीले मात्र होइन, गरिबले पनि पढ्छन् । किताबमा कर लागेपछि किताब महँगो हुने भयो र जो कोहीले किनेर पढ्न नसक्ने भए । त्यसैले किताबमा लागेको कर हट्नु जरुरी छ । त्यसमाथि कोरानाको महामारी हल्लाले पनि किताब किन्ने मानिस स्वात्तै घटिसक्यो । व्यापार त अहिले शून्यमा झरिसक्यो भन्दा पनि हुन्छ ।’ कोरोना भाइरसको महामारी हल्लाले मानिसहरुलाई झन् त्रसित बनाइरहेको छ । यस्तोमा किताब झन् कम प्राथमिकतामा पारेको छ । अहिले लक्ष्मीलाई स्टोर भाडा कसरी बुझाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ । उनले भनिन्, ‘स्टोरको भाडा नै दश हजार बुझाउनुपर्ने हुन्छ । महिनामा त्यत्ति पनि व्यापार नहोलाजस्तो भएपछि कसरी स्टोर भाडा बुझाउने ?’ उनको १४ वर्षे किताब व्यापारको अनुभवमा कहिले यस्तो भोग्नु परेको थिएन । पाटनका स्थानीय बासिन्दा ४० वर्षीय दिनेश चित्रकार न्युरोड पिपलबोटमा बसेर पुस्तक व्यापार गर्न थालेको २५ वर्ष भयो । पहिले किताब बेचेर नै दिनमा १५ देखि २० हजार व्यापार गर्ने गरेका उनलाई अहिले दिनमा अहिले ५ देखि ७ सयकै किताब बेच्न मुस्किल भएको छ । पुस्तकमा कर या कोरोना भाइरसको आतंकले भन्दा पनि बेलाबेलामा भृकुटीमण्डपमा लाग्ने पुस्तक मेलाले फुटपाथमा बेच्ने पुस्तक व्यापारमा व्यापक कटौती गरेको चित्रकारको अनुभव छ । ‘मानिसहरु मेलामा नै आफूलाई चाहिने पुस्तक किन्छन्, किताबका लागि फुटपाथ को धाओस् ?’ उनले भने । अहिले मानिसहरु किताब किनेर पढ्नभन्दा पनि अनलाइनमा हेर्न बढी रुचाउने गरेको र धेरैजस्तो किताब अनलाइनमै उपलब्ध गराइने हुनाले पनि किताबको माग घटेको चित्रकारको भनाइ छ । नुवाकोट घर भएका राम पौडेलले न्युरोड भूगोलपार्कमा २७ वर्षदेखि पुस्तक बेच्दै आएका छन् । उनका अनुसार पुस्तकको व्यापार व्यापक रुपमा कमी भइरहेको छ । त्यसमाथि सरकारको किताबी करका कारण नयाँ किताब आउन छोडे र पाठकको रुचि पनि किन्नतर्फ घट्यो । सरकारको किताबी करका कारण नयाँ किताब आउन छोडे र पाठकको रुचि पनि किन्नतर्फ घट्यो । उनले भने, ‘भएका किताबहरु सबै पुराना छन् । ती किताबहरु पाठकले दोहार्याएर कति पढून् ? पहिले मैले नै दिनमा ५० देखि ६० वटासम्म किताब बेचेको रेकर्ड छ । अहिले त त्यो सपना भइसक्यो !’ पौडेलको भनाइअनुसार अहिले पनि दिनमा चार पाँच हजारको किताब त बिक्री भई नै रहेको छ तर यो पहिलेको भन्दा निकै कम हो । अहिले युवावर्गले अनलाइनमै बुकहरु पढ्छन् । अहिले अनलाइनमै किताब बेचिने हुनाले फुटपाथको व्यापार कम भएको उनको भनाइ छ । ‘मानिसहरुले किताब किन्न छोड्नुको कारण किताबमा कर लाग्नु या कोरोनाको महामारी फैलिनु होइन,’ उनको बुझाइ छ, ‘यसले केही मात्रामा प्रभाव त पारेको छ तर बजारमा नयाँ किताबहरु नै आएका छैनन् । त्यसैले पनि व्यापारमा कमी भएको हो । राम्रा र रोचक किताबको अभावका कारण पाठक दौडिएर किताब पसल पुग्ने वातावरण नबनेको हो ।’ यसैगरी नुवाकोटका राजेश गजुरेलले पनि भूगोलपार्कमै २०६२/६३ को आन्दोलपछि पुस्तक र पत्रपत्रिका बेच्दै आएका छन् । उनको १७ वर्षे अनुभवमा पुस्तक कम बिक्री हुनुमा अलि फरक मत छ । ‘अहिले पनि पुस्तक बिक्री भइनै रहेका छन् तर पुस्तक बिक्री हुनु र नहुनुमा पनि पाठकले कस्ता पुस्तक पढ्न चाहन्छन् भन्ने कुराले महŒवपूर्ण भूमिका खेल्छ,’ गजुरेलले भने, ‘अहिलेको सन्दर्भमा सरकारले किताबमा कर लगाएको कारणले किताब बिक्री कम भएको कुरा साँचो होइन । सरकारले त गैरकानुनी रुपमा विदेशबाट भित्रिने विदेशी किताबमा कर लगाएको हो र यसलाई व्यवस्थित गर्न पनि जरुरी नै छ ।’ कुनै रोग वा महामारीका कारण पाठकलाई पुस्तक किन्न समस्या नहुने उनको भनाइ छ । ‘मेरो अनुभवमा पाठकले कस्ता किताब पढ्न मन पराउँछन् भन्ने कुरा महत्वपूर्ण विषय हो,’ गजुरेल भन्छन्, ‘अहिलेका किताबमा पाठकले नयाँ स्वाद पाउन सकेनन् । नयाँ स्वादको अभावमा किताबप्रतिको पाठक रुचि घट्दै गएको देखिन्छ ।’ लेखकहरुलाई गजुरेलले सल्लाह छ, ‘बरु किताब ढिलो निकाल्नुस् तर उत्कृष्ट निकाल्नुस् । अलिकति टाइम लिनुस् । रिसर्च गर्नुस् र पाठकका मन छुने खालका पुस्तक बाहिर ल्याउनुस् । त्यसपछि मात्र किताबको मार्केट आकासिने सम्भावना हुन्छ र आकासिन्छ पनि ।’ ‘बरु किताब ढिलो निकाल्नुस् तर उत्कृष्ट निकाल्नुस् । अलिकति टाइम लिनुस् । रिसर्च गर्नुस् र पाठकका मन छुने खालका पुस्तक बाहिर ल्याउनुस् । त्यसपछि मात्र किताबको मार्केट आकासिने सम्भावना हुन्छ र आकासिन्छ पनि ।’
साहित्यमा मिथक: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । तलको अन्तर्वाता हामीले नागरिकन्युज साभार गरेका हौँ । नागरिकका लागि यो लेख ध्रुवसत्य परियारले तयार पार्नु भएको हो । तपाईले यो सामग्री नागरिकन्युजमा नै पढ्न यहाँ क्लिक गर्नुहोस् । —————- ‘प्रत्येक व्यक्ति मिथकमा बाँचेको हुन्छ । यो थाहा पाएपछि भने अधिकांशलाई विचलित बनाउनेछ, किनभने पारम्परिक किसिमले मिथकको अर्थ हुन्छ, असत्य । कोही पनि असत्यमा जिउन चाहँदैन । हरेकले यो मानेको हुन्छ, म सत्यमै बाँचिरहेछु । मूलभूत रूपमा मिथक एक सांस्कृतिक रचना हो, विश्वको एक साझा बुझाइ हो, जसले व्यक्तिहरू र समुदायहरूलाई आपसमा जोड्छ । यो समझदारी धार्मिक वा धर्मनिरपेक्ष दुवै हुन सक्छ । पुनर्जन्म, स्वर्ग र नर्क, देवदूत र दानव, प्रारब्ध र मुक्त इच्छा, पाप, सैतान र मोक्ष धार्मिक मिथक हुन् । सम्प्रभुता, राष्ट्र राज्य, मानवाधिकार, महिला अधिकार, पशु अधिकार र समलिंगीका अधिकार धर्मनिरपेक्ष मिथक हुन् । धार्मिक होस् या धर्मनिरपेक्ष, सबै मिथकले व्यक्तिहरूको एक समूहभित्र एक मजबुत बोधको निर्माण गर्छ ।’ डा. देवदत्त पटनायकको पुस्तक ‘मिथक : हिन्दू आख्यानों का सम्झने का प्रयास’मा मिथक र विभिन्न हिन्दू ग्रन्थमा वर्णित केही कथालाई व्याख्या गरिएको छ । एकपटक एक विख्यात वैज्ञानिक (कसैको भनाइमा बरट्रेन्ड रसेल)ले खगोलविज्ञानबारे सार्वजनिक व्याख्यान दिए । पृथ्वी गोलो छ र कसरी पृथ्वीले सूर्यलाई घुम्छ भन्नेबारे नै उनको व्याख्यान केन्द्रित थियो । यसैबीच, एक महिलाले भनिन्, ‘तिमी बकबास बोल्दै छौ । यो पृथ्वी चेप्टो छ, जो कछुवाको ढाडमाथि अडिएको छ ।’ ती वैज्ञानिकले सोधे, ‘त्यसो भए कछुवा केमा अडिएको छ त ?’ महिलाले भनिन्, ‘तिमी धेरै चलाख छौ, युवक । त्यहाँ तलैसम्म कछुवा नै कछुवा छन् ।’स्टिफेन हकिङको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’मा यो प्रसंग उल्लेख छ । हकिङले ती महिलाले त्यस्तो भन्नुमा के कुराले भूमिका खेलेको थियो भन्ने बताएका छैनन् । तर, यो स्पष्ट छ– ती महिलाले आफूले सुन्दै आएका पौराणिक कथामाथि पूर्ण विश्वास गरेकी थिइन्, जसमा उनी तर्क र चिन्तन गर्न चाहन्नथिन्, वा तत्कालीन समाज र चेतनाका दृष्टिले असमर्थ थिइन् । पौराणिक कथाका कथातत्व, जसमा अलौकिक पात्र, परिवेश र घटना छन्, जसमाथि लोकविश्वास छ, त्यसलाई नै नयाँ अर्थमा मिथकका रूपमा व्याख्या गरिएको छ । प्राचीन साहित्यको कथातत्वमा किन अलौकिक पात्र, घटना र परिवेश आउँछ ? यो गम्भीर खोज र चिन्तनको विषय हो । यद्यपि सामान्यतः यो अर्थ लगाउन सकिन्छ, जब मानिससँग विज्ञान थिएन, तीव्र कल्पनाशक्ति थियो । प्राकृतिक घटना वा विपत्पछाडिको कारण, ब्रह्माण्डको उत्पत्ति वा अन्त्य आदिबारे चिन्तन गर्दा मानिसले कल्पनाशक्तिको सहारा लिन्थ्यो । ‘मैले एक २२ वर्षीय युवतीसँग कुरा गरेको थिएँ । पुरुषसँग नाच्नु, तास खेल्नु, पौडी खेल्नु, घुम्न जानु पाप हो भनेर उनलाई आमाद्वारा सिकाइएको थियो । आफ्नो आज्ञा र धार्मिक मान्यताविपरीत काम गरे नर्कमा जल्नुपर्ने डर उनलाई उनकी आमाले देखाएकी थिइन् । ती युवतीले शृंगार पनि त्यति गर्दिनथिन् । सबै पुरुष खराब हुन्छन्, यौन–सम्पर्क दानवका लागि हो, यो मानिसलाई बहकाउने दुष्ट तत्व हो भनेर पनि उनलाई आमाले बताएकी थिइन् । जब उनी कार्यालयका पुरुष सहकर्मीहरूसँग घुम्न निस्कन्थिन्, उनलाई ग्लानि हुन्थ्यो, भगवान्ले दण्डित गर्ने भयले आक्रान्त हुन्थिन् । उनलाई धेरै योग्य पुरुषले विवाहको प्रस्ताव गरेका पनि थिए ।उनले मलाई भनिन्, ‘विवाह गर्नु गलत कुरा हो, यौन पाप हो र म पापी हुँ ।’ उनको यस्तै बुझाइ थियो, या उनलाई यस्तै बुझाइएको थियो । उनी दश हप्ताजति दिनहुँ मकहाँ आइन् । मैले उनलाई चेतन र अवचेतन मनको कार्यविधि बुझाएँ । उनलाई ज्ञात भयो, आफूलाई आमाले गलत कुरा बुझाएकोबारे । मेरो सल्लाहमा उनले पहिरन र कपाल कोर्ने शैली बदलिन । पुरुष प्रशिक्षकबाट नृत्य र ड्राइभिङ सिकिन् । पौडिन, तास खेल्न पनि सिकिन् । उनले जीवनलाई माया गर्न थालिन् । आफ्ना लागि योग्य जीवनसाथी पाउन उनले गहिरो विश्वाससाथ आफ्नै अपार अवचेतन मनसँग प्रार्थना गर्न थालिन् ।एक साँझ, उनी मेरो कक्षाबाट निस्कँदै थिइन् । बाहिर मलाई भेट्न कोही पुरुष आएको थियो । मैले उनीहरूको चिनजान गराइदिएँ । अहिले उनीहरूले विवाह गरे, एकअर्कासँग खुसी छन् ।डा. जोसेफ मर्फीको पुस्तक ‘दी पावर अफ योर सबकन्सियस माइन्ड’मा यो प्रसंग उल्लेख छ । एकपटक अलिगढ (उत्तरप्रदेश भारत)का एकजना मलाई भेट्न आए । आफ्नी छोरीले प्रेम गर्ने र मनपराउने केटो उनलाई मनपरेको थिएन ।उनले मलाई भने, ‘त्यो केटो तल्लो जातको हो । उनीहरूबीचको सम्बन्ध विच्देछ भएन भने हामी समाजमा बदनाम हुनेछौँ ।’ उनले छोरीलाई पनि सँगै ल्याएका थिए । मैले उनकी छोरीसँग कुरा गरेँ । उनी आफ्नो विचारमा दृढ थिइन्, कुनै पनि हालतमा आफ्नो प्रेमीलाई नछाड्ने पक्षमा उनी थिइन्। उनका बाबुले आफ्नी छोरी निकै जिद्धी भएको, आफू सम्झाएर थाकेको पनि मलाई बताएका थिए । मैले उनकै अगाडि उनकी छोरीलाई पोस्ट–हिप्नोटिजम्द्वारा उसको प्रेमी निकै कमजोर चरित्रको भएको, आफ्नो स्वार्थ पूरा गर्न मात्रै प्रेमको नाटक गरेको भावना सम्प्रेषण गरेँ । मैले उनलाई भनेँ, ‘उसले आफ्नो स्वार्थ पूरा गरेपछि तिमीलाई छाड्नेछ, अनि तिम्रो जीवन दुःखले भरिनेछ । त्यसैले बेलैमा तिमीले उसलाई त्याग्नु नै उचित हुनेछ । अब तिमी सम्मोहनबाट जागेपछि तिम्रो मनमा त्यस केटाप्रति घृणा जाग्नेछ । तिमीलाई उसको अनुहार पनि हेर्न मन लाग्नेछैन । सदाका लागि तिमीहरूको प्रेम समाप्त हुनेछ ।’ प्रत्येक व्यक्ति मिथकमा बाँचेको हुन्छ । यो थाहा पाएपछि भने अधिकांशलाई विचलित बनाउनेछ, किनभने पारम्परिक किसिमले मिथकको अर्थ हुन्छ, असत्य । कोही पनि असत्यमा जिउन चाहँदैन । हरेकले यो मानेको हुन्छ, म सत्यमै बाँचिरहेछु । मूलभूत रूपमा मिथक एक सांस्कृतिक रचना हो, विश्वको एक साझा बुझाइ हो, जसले व्यक्तिहरू र समुदायहरूलाई आपसमा जोड्छ । यो समझदारी धार्मिक वा धर्मनिरपेक्ष दुवै हुन सक्छ । यसपछि सम्मोहन निद्राबाट उनलाई उठाएँ, अहिले के भयो भन्नेबारे उनलाई बताइनँ । त्यही दिन नै उनीहरू अलिगढ फर्किए । त्यसको १५–२० दिनपछि मलाई ती केटीका बाबुको चिठी आयो, जसमा उनकी छोरीले प्रेमीसँग झगडा गरेको र प्रेमीको अनुहार पनि हेर्न नचाहेको उल्लेख थियो ।डा. नारायणदत्त श्रीमालीको पुस्तक ‘प्राक्टिकल हिप्नोटिजम्’मा यो प्रसंग उल्लेख छ ।यी चार प्रसंगले निश्चय नै तपाईंलाई केही सोच्न बाध्य बनाएको हुनुपर्छ । पछिल्लो प्रसंगमै जाउँ, जसमा एक युवतीलाई सम्मोहन विद्याका गुरुले सम्मोहित पारेका छन् । सोच्नुस् त, आफ्नैबारे वा आफ्नो समाजका ती मानिसहरूबारे, जो पुस्तौँ पुस्तादेखि सम्मोहित छौँ । र, भनिरहेछौँ, मानिरहेछौँ– यो गर्न हुन्छ, त्यो गर्न हुँदैन । यसलाई यो विधिबाट मान्नुपर्छ । त्यसलाई त्यो विधिबाट दुत्कार्नुपर्छ । त्यसो गरे पाप लाग्छ, देवता रिसाउँछन्, त्यसैले यसो गर्नुपर्छ । यसो गर्दा विभेद, अन्याय भए पनि वास्ता गर्नुहुँदैन । हामी हिन्दू संस्कारमा हुर्किएकाहरू दसैँ मनाउँछौँ वा मान्छौँ । दसैँ दुई प्रकारले मनाउन सकिन्छ । यसबारे केही नबुझी बच्चाले जस्तै खुसियाली पनि मनाउन सकिन्छ । अथवा, यसमा तर्कविनै केही मान्न सक्छौँ । जस्तो : दसैँ भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिन । राम देउता, रावण राक्षस । देउता असल, राक्षस खराब । त्यसैले यो दिन हाम्रा लागि महत्वपूर्ण छ ।संस्कृतिविद् सत्यमोहन जोशी आफ्नो पुस्तक ‘नेपाली चाडपर्व’मा लेख्छन्, ‘विजयादशमीको दिन भगवान् रामचन्द्रले शक्तिस्वरूपिणी दुर्गा भवानीको आराधना गरी दुष्ट रावणलाई मारी विजय प्राप्त गर्नुभएको हो भन्ने अनुश्रुतिहरूको कथन छ । यसबाट यो दसैँ कति पुरानो समयदेखि चलेर आइरहेको छ भन्ने थाहा हुन्छ ।’ रामलाई भगवान् र रावणलाई राक्षस मान्नुको पछाडि पौराणिक ग्रन्थको पूर्ण भूमिका छ । पौराणिक ग्रन्थ वाल्मीकिको रामायणमा राम असल, मर्यादापुरुष र रावणलाई खराब–राक्षस भनी वर्णन गरिएको छ । हामी तर्क नगरी मान्छौँ– राम असल, रावण खराब ।रावण खराब नै भएको हामीले देखेका होइनौँ, कुनै ठोस इतिहास वा प्रमाण पाएका पनि होइनौँ । हामीले केवल पौराणिक कथालाई विश्वास गरेका हौँ । पौराणिक कथाहरूले हामीलाई विश्वस्त पारेका छन्— राम असल, रावण खराब । सीता देवी, शुपर्णखा राक्षेसनी । कृष्ण सही, कंस गलत । पाण्डवहरू वीर, दयावान्, धर्मात्मा र कौरवहरू दुष्टात्मा । हामी जुन धर्म वा समुदायका हौँ, हामीले आफ्ना पौराणिक कथा, अनुश्रुतिहरूलाई कतिपय अवस्थामा अभिधा बुझ्यौँ, कतिपय अवस्थामा लक्षणा र व्यञ्जना बुझ्यौँ । कतिपय अवस्थामा अलौकिक शक्ति माथिको विश्वास वा अन्धविश्वासमा बुझ्यौँ । जेहोस्, हामीले त्यसलाई आत्मसात् गर्दै आयौँ । त्यस्तै, हामीले आ–आफ्नो परम्पराअनुसार इद मनाउन सक्छौँ, क्रिसमस वा उभौली–उधौली, ल्होसार, जात्रा–पर्व आदि मनाउँछौँ । यी सबैको पछाडि पौराणिक कथा, किंवदन्ती वा अनुश्रुति छन् । हामीसँग लिखित र एउटा समुदायले मानेको, स्विकारेको पौराणिक कथा मात्रै छैनन्, योसँगै लोककथा, दन्त्यकथा, अनुश्रुति पनि छन् । जसले हाम्रो जीवनको लयमा अवचेतन रूपमा तालमा ताल मिलाइरहेका छन्, जसबारे हामीले त्यति धेरै चेतन चिन्तन वा खोज नगरेका हुन सक्छौँ । गरे पनि पौराणिक वा अनुश्रुतिमय अवचेतनमै अभ्यस्त हुन सक्छौँ । पछिल्लो समय समाजको अध्ययनका लागि लोककथा, किंवदन्तीहरूको पनि संकलन सुरु गरिएको छ । लोककथाहरूको व्यवस्थित संकलन प्रारम्भ जर्मनीमा ग्रिम दाजुभाइले गरेका हुन् । ज्याकोब ग्रिम र विलहेल्म ग्रिम नामका दाजुभाइले जर्मन लोककथाहरूको संकलन गरी सन् १८१२ मा पहिलो भाग र सन् १८१५ मा दोस्रो भाग प्रकाशित गरे । हामीकहाँ अंग्रेजी शब्द ‘फोकलोर’ लाई लोकवार्ता वा लोकसाहित्यका रूपमा बुझिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित पुस्तक ‘नेपाली लोकवार्ता’मा समाविष्ट प्रा.डा. चूडामणि बन्धुको आलेखअनुसार विलियम जोन थम्सले सन् १८४६ मा फोकलोर अर्थात् लोकवार्ता शब्दको पहिलोपल्ट प्रयोग गरेका हुन् । उनले ‘फोकलोर’ शब्दलाई स्पष्ट परिभाषित त गरेनन्, तर रीतिथिति, धमिलिएका जनश्रुति र छरिएका गाथाहरू आदि शब्दबाट उनको अभिप्रायः बुझ्न सकिन्छ। देउता असल, राक्षस खराब । त्यसैले यो दिन हाम्रा लागि महत्वपूर्ण छ ।संस्कृतिविद् सत्यमोहन जोशी आफ्नो पुस्तक ‘नेपाली चाडपर्व’मा लेख्छन्, ‘विजयादशमीको दिन भगवान् रामचन्द्रले शक्तिस्वरूपिणी दुर्गा भवानीको आराधना गरी दुष्ट रावणलाई मारी विजय प्राप्त गर्नुभएको हो भन्ने अनुश्रुतिहरूको कथन छ । यसबाट यो दसैँ कति पुरानो समयदेखि चलेर आइरहेको छ भन्ने थाहा हुन्छ ।’ रामलाई भगवान् र रावणलाई राक्षस मान्नुको पछाडि पौराणिक ग्रन्थको पूर्ण भूमिका छ । पौराणिक ग्रन्थ वाल्मीकिको रामायणमा राम असल, मर्यादापुरुष र रावणलाई खराब–राक्षस भनी वर्णन गरिएको छ । हामी तर्क नगरी मान्छौँ– राम असल, रावण खराब ।रावण खराब नै भएको हामीले देखेका होइनौँ, कुनै ठोस इतिहास वा प्रमाण पाएका पनि होइनौँ । ‘लोक साहित्य र संस्कृतिका केही पाटाहरू’ पुस्तकमा मनोहर लामिछानेले डा. रामनाथ ओझा र मधुसूदन गिरीलाई उद्धृत गरेका छन्, ‘मानवसभ्यताको इतिहासमा अभिव्यक्तिको प्रथम सोपानका रूपमा जन्मेको जेठो साहित्य लोकसाहित्य नै हो । आदिम अपठित मानवको सहज, स्वाभाविक र अकृत्रिम साहित्य लोकसाहित्य हो ।’ हाम्रा पौराणिक कथा, लोककथा वा अनुश्रुतिमा केही मिथक वा असत्य अर्थात् विज्ञानले प्रमाणित गर्न नसक्ने घटना पनि छन् । जस्तो : भगवान् कृष्णले पहाडै उठाएर गोकुलवासीलाई वर्षाबाट बचाए, काल वा मृत्यु सबैले देखिने गरी मानिसलाई लिन आए । अंग्रेजी शब्द मिथ, माइथोलोजीलाई नेपाली र हिन्दी भाषामा मिथक वा मिथकशास्त्रका रूपमा बुझिन्छ । यसको मूल ग्रिक शब्द मुथोस हो, जसको सारभूत अर्थ आख्यान भन्ने नै लाग्छ । मिथकको अर्थबोध भारतीय दर्शनमा भने नयाँ होइन, हिन्दू ऋषिले मिथकलाई मिथ्याका रूपमा बुझ्दथे । पौराणिक कथा, साहित्य हाम्रा प्राचीन धरोहर हुन्, जसले हामीलाई आफ्नो प्राचीन इतिहासको खोज गर्न आधार दिएका छन् । पौराणिक कथाका कथातत्व, जसमा अलौकिक पात्र, परिवेश र घटना आउँछन्, जसमाथि लोकविश्वास छ, त्यसलाई नै नयाँ अर्थमा मिथकका रूपमा व्याख्या गरिएको छ । प्राचीन साहित्यको कथातत्वमा किन अलौकिक पात्र, घटना र परिवेश आउँछ ? यो गम्भीर खोज र चिन्तनको विषय हो । यद्यपि सामान्यतः यो अर्थ लगाउन सकिन्छ, जब मानिससँग विज्ञान थिएन, तीव्र कल्पनाशक्ति थियो । प्राकृतिक घटना वा विपत्पछाडिको कारण, ब्रह्माण्डको उत्पत्ति वा अन्त्य आदिबारे चिन्तन गर्दा मानिसले कल्पनाशक्तिको सहारा लिन्थ्यो । जस्तो : भूकम्प वा ज्वालामुखी, आँधीबेरी आदिको कारण कुनै अलौकिक वा दैवीशक्ति हुनुपर्छ । पानी भगवान्ले पार्दै छन् । आगो सूर्यदेवको उपज हो । प्राचीन युनानी दार्शनिकले आगो र जललाई मूल तत्व मान्थे । स्पष्ट छ– सृष्टिका लागि आगो (सूर्य) र जल (मौसम, वर्षा) को भूमिका अनिवार्य छ। भारतीय विद्वान् राहुल सांकृत्यायन आफ्नो पुस्तक ‘दर्शनदिग्दर्शन’मा युनानी दार्शनिक पायथागोरसबारे लेख्छन्, ‘उपनिषद्का ऋषिहरूझैँ उनी पनि ठोस विश्वलाई छाडेर कल्पनाजगत्मा उड्न चाहन्थेँ भन्ने उनको दर्शनबाट स्पष्ट हुन्छ ।’ यहाँ राहुलले भारतीय प्राचीन ऋषिहरूको तीव्र कल्पनाशक्तिप्रति संकेत गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नो अज्ञान, भयका कारण र सहारा खोज्न थालेपछि प्राकृतिक मानव देउताहरूसम्म पुग्यो । जब धर्म–देउतासम्बन्धी विश्वासले उसको बुद्धिलाई सन्तुष्ट पार्न छाड्यो, उसका दार्शनिक पखेटा उम्रिए । प्राकृतिक मानवलाई यात्राको प्रारम्भदेखि धर्मसम्म पुग्न पनि लाखौँ वर्ष लागेको थियो ।’ पौराणिक ग्रन्थ, गाथा वा कथामा कल्पनाशक्ति हाबी भएको त हामी बुझ्न सक्छौँ । तर, उनीहरूमा कल्पनाशक्तिसँगै चिन्तन, खोज र अभ्यास पनि थियो । जसले ज्योतिषशास्त्र, सिद्धि–साधना, मनोविज्ञान वा तान्त्रिकशक्तिको जन्म दियो । यसले मानिसको मानसिक विकास मात्रै गरेन, यो तत्कालीन समाजका सोझा मानिसमाथि शासन गर्ने हतियार पनि बन्यो । अद्भुत मानसिक आभास, पूर्वाभासमा आधारित कथा–काव्य रच्न सघायो । पौराणिक कथा वा लोककथामा अद्भुत मानसिक घटना, आभास, पूर्वाभास वा मानवीय शक्तिका उदाहरण पाइन्छन् । यस्ता मानसिक घटनाको संस्थागत अध्ययन भने पश्चिममा धेरै पछि भएको हो । ‘पारासाइकोलोजी’ अर्थात् परामनोविज्ञानबारे अध्ययन गर्न लन्डनमा सोसाइटी फर साइकिकल रिसर्च (एसपिआर) को स्थापना भयो, हेनरी सिजविकको अध्यक्षतामा, सन् १८८२ मा । जो पूर्वीय दर्शन वा साहित्यमा भने निकै पुरानो हो ।हिन्दू प्राचीन साहित्यमा शासक र समाजको उच्च वर्गले आफ्नो कुल, वंश वा गोत्रलाई स्थापित गर्न पनि बढाइँचढाइका पात्र र घटना ल्याएको बुझ्न सकिन्छ । रामायणलाई लिउँ, जो राजा दशरथ र उनका छोराहरुको जीवनी हो । हावर्ड फास्ट आफ्नो पुस्तक ‘लिटरेचर एन्ड रियालिटी’मा लेख्छन्, ‘हामी तीन हजार वर्षअघि रचिएको साहित्यसँग तादात्म्य राख्न, त्यसको सराहना गर्न र त्यसप्रति श्रद्धाञ्जलि दिन सक्छौँ । तर, तीन हजार वर्षअघि पृथ्वीको जुन भागमा उक्त साहित्य रचिएको थियो, त्यस भागमा यस्तो वर्ग–समाज रहेको थियो, जो आफ्नो कामका लागि अल्पसंख्यकद्वारा बहुसंख्यक मानिसहरूको शोषणमा निर्भर हुन्थ्यो ।’ मिथक बन्न वा मिथकले मान्यता पाउन लोकविश्वास अनिवार्य हुन्छ । मिथक कुनै जाति वा समुदायको मानसिकता पनि हो, जो मानिसको मन–मस्तिष्कमा अवचेतन रूपमा गढेर रहेको हुन्छ ।आजको समाजको मनोविज्ञान, मानसिकता, चेतना, अवचेतनामा धार्मिक ग्रन्थ वा मिथकको भूमिका देखिन्छ । आममानिसको मनोविज्ञान बदल्न पनि आधुनिककालको साहित्यमा मिथकको प्रयोग हुन थालेको पाइन्छ । ‘ऐतिहासिक दृष्टिले मिथ शब्द धार्मिक अनुष्ठानबाट पैदा भएको र त्यसैसँग जोडिएको हुन्छ । यो धार्मिक अनुष्ठानबाट उच्चरित अंश हो,’ रेने वेलेक र अस्टिन वारेनको पुस्तक ‘थ्यौरी अफ लिटरेचर’मा उल्लेख छ, ‘हामी सुन्छौँ कि विश्व साहित्यमा मिथलाई पुनः स्थान दिन लागिएको छ । सँगै यो पनि सुन्छौँ, न मिथको रचना गर्न सकिन्छ, न मिथमाथि विश्वास गर्न सकिन्छ, न त कसैलाई विश्वस्त पार्न नै सक्छौँ । …धर्म एक ठूलो रहस्य हो, कविता छोटो रहस्य हो । धार्मिक मिथ (पुराणकथा) कविकृत रूपकको व्यापक स्वीकृति हो।’ यद्यपि, आजको समाजलाई आख्यानले प्रभाव पारिरहेकै छ । यो पंक्तिकारलाई एक युवतीले भनिन्, ‘भूकम्पका बेला सबै भूकम्पकै डरमा थिए, तर मैले भारतीय कलाकार सलमान खानबारे सोचिरहेकी थिएँ । उसलाई अदालतले कस्तो फैसला गर्ने होला भन्ने मनमा आइरहन्थ्यो । उसले खेलेको ‘बडिगार्ड’ फिल्म मलाई खुब मनपरेको हो । उसले फिल्ममा गरेजस्तै उड्ने, उफ्रने, हान्ने त होइन, कम्तीमा मेरो प्रेमी बलियो, आकर्षक जिउडालको र साहसी होस् । अनि, करिनाको बडिगार्डजस्तै निर्दोष ।’ मैले उनलाई भनेँ, ‘बडिगार्ड अर्थात् लभ्ली सिंह त आख्यानको पात्र हो । तिमीलाई सलमान मनपरेको हो कि लभ्ली सिंहको चरित्र ? सलमानले त कसैले लेखेको स्क्रिप्टमाथि अभिनय गरेका हुन् । अनि, त्यही भूमिका इरफान खानले निभाएको भए तिमी उसलाई सलमानलाई जत्तिकै मनपराउँथ्यौ ? तिमीले प्रेमीको रूपमा चाहेको सलमान नै होइन होला, कोही होला, जसको स्वभाव वा चरित्र लभ्ली सिङको जस्तै होस् ?’ उनको जवाफ थियो, ‘खोइ, थाह छैन ।’ जेहोस्, यहाँ ती युवतीले सलमान खानलाई मनपराउनुमा बडिगार्ड फिल्मको कथातत्वको पनि भूमिका छ । अझ कतिपय फिल्ममा हिरोलाई पौराणिक कथाको वीर चरित्रलाई जस्तै प्रस्तुत गरिन्छ । पौराणिक कथामा आधारित फिल्मलाई छाडौँ, आधुनिक मानिसको कथामा आधारित कतिपय फिल्ममा आममानिसले कल्पना गरेभन्दा बढी हिरो उफ्रन, उड्न र प्रतिद्वन्द्वीसँग भिड्न सक्छ । यसमाथि ती युवतीले मिडियामा सलमानलाई हेर्दै र पढ्दै पनि आएकी छन् । अर्कोतिर, आजका मिडिया नै आख्यान वा मिथकजस्ता लाग्छन् । सामान वा उत्पादनको हुँदोनहुँदो विज्ञापन गर्नु, सेलेब्रिटी खेलाडी, गायक, संगीतकर्मी, रंग वा चलचित्रकर्मी, लेखकलाई आख्यानका पात्रलाई जस्तै बढाइचढाइ गरी प्रस्तुत गर्नु आजको मिडियाको प्रवृत्ति नै बनेको देखिन्छ । आज एउटा टेलिभिजन सोमा नृत्य वा गायन जितेको कलाकारले मिडियामा यति स्थान पाउँछ, मानौँ उसले आफ्नो देशका सारा मानिसलाई रोग, भोक, गरिबीबाट मुक्त गरेको छ । एउटा अन्तर्राष्ट्रिय खेल जितेको खेलाडीलाई संसारको सारा अन्याय, विभेद र साम्राज्यवादलाई जितेजस्तो गरी प्रस्तुत गरिन्छ । यी पनि डरलाग्दा नवमिथक हुन् । जसले मानिसमा राष्ट्रवादी र कलाप्रेमी भाव त जगाएका छन्, सँगसँगै मानिसले आधारभूत रूपमा बुझ्नैपर्ने समन्यायको ज्ञान वा मुद्दालाई ओझेल पारिरहेछन् । साहित्य र मिथकमा तात्विक भेद छ । मिथक सामूहिक अवचेतनको अभिव्यक्ति हो भने साहित्यमा वैयक्तिक अनुभव र बुझाइ पनि आउँछ । विज्ञानको आँखाबाट हेर्दा साहित्यमा समाज र प्रकृतिको वास्तविकतासँगै कल्पना र मिथ्या पनि पाइन्छ । सबै कल्पना कोरा हुन्छन् भन्ने होइन, कतिपय कल्पना विज्ञानको नजिक हुन सक्छ । विज्ञान पनि कल्पनाकै उपज हो ।यद्यपि साहित्यमा समाहित कल्पना समाज र प्रकृतिभन्दा पर हुँदैन, भलै साहित्यकारको चेत अनुभवजन्य वा आत्मिक होस्, उसले देश र समाजका विविध समुदाय, वर्ग र लिंगलाई बेवास्ता गरेको होस् । आजको समाजमै आधारित साहित्यमा पनि मिथक वा असत्य हुन्छ, भलै त्यो अलौकिक नहोस् । साहित्यकारले जति बुझेको, जानेको, देखेको, भोगेको, अध्ययन गरेको छ, त्यसकै कसीमा साहित्य सिर्जना हुने हो । एउटी महिला वा एउटा उत्पीडित वर्गको व्यक्तिको दुःख–पीडा मात्रै देख्ने साहित्यकारले उसको अगाडिको बाटो वा विद्रोह नदेख्न सक्छ । कुनै पौराणिक कथा वा धर्मग्रन्थ अनुसारको शासकीय सोचका कारण कुनै वर्ग, समुदायको व्यक्ति अन्यायमा परेको हुन सक्नेसम्म त्यस लेखकको चिन्तन नपुग्न सक्छ । डा. देवदत्त पटनायकले भनेझैँ सम्प्रभुता, राष्ट्र राज्य, मानवाधिकार, महिला अधिकार, पशु अधिकार र समलिंगीका अधिकारलाई पनि मिथक वा असत्य मान्नु गलत होला । न्याय र अन्यायलाई त मानिसले महसुस, बोध र भोग गर्न सक्छ । जहाँ अन्याय वा विभेद छ, त्यहीँ नै अधिकारको कुरा आउने हो । त्यसैले आजका चेतनशील लेखक, कलाकार, नेताले कहाँ, कस्तो मिथकले कस्तो प्रभाव पारिरहेको छ, ख्याल गर्न आवश्यक छ । नयाँ मिथकको सहारामा मानिसलाई न्याय र अन्यायको बोध गराउन आवश्यक छ ।
‘अस्थिरतासँग मेरो प्रेम छ’: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । तलको अन्तर्वाता हामीले अन्नपुर्ण पोस्टबाट साभार गरेका हौँ । तपाईले यो सामग्री अन्नपुर्ण पोस्टमा नै पढ्न यहाँ क्लिक गर्नुहोस् । —————- नेपाली आख्यानमा नारायण ढकाल यशस्वी नाम हो । उनका कथा, उपन्यास र निबन्ध विधाका डेढ दर्जन किताब प्रकाशित छन् । उनको सद्यः कथासंग्रह ‘तमस’ चाँडै नै बजारमा आउँदै छ । ‘शहरयन्त्र’, ‘आत्महन्ता’, ‘बहिर्गमन’, ‘इन्द्रजाल’ उनका चर्चित कथासंग्रह हुन् । ‘प्रेतकल्प’, ‘हजार माइलको यात्रा’ उपन्यासका सर्जक ढकालको ‘नरकको ढोका’ कवितासंग्रह पनि प्रकाशित छ । नेपाली कथा साहित्यमा केन्द्रित रहेर ‘सम्पूर्ण’का लागि निर्भीकजंग रायमाझी ले आख्यानकार ढकालसँग संवाद गरेका छन् । कथा तपाईंका निम्ति प्रतिरोधको माध्यम हो कि साहित्यकै अर्को लालित्य ? कथा कलाकै एक विधा भएकाले यो लालित्य नै हो । तर, लालित्य मात्रै वा प्रतिरोध मात्रै कथा होइन । त्यो दुवैको सम्मिश्रणले मात्रै स्पष्ट कथा बन्दछ । तपाईंका कथा विचारप्रधान र मुद्दाकेन्द्रित बढी देखिन्छन् । यसको पछाडि विशेष कारण केही होला ? मेरा कथा मुद्दामा केन्द्रित हुनु स्वाभाविक छ । किनभने, मेरो समाजसँगको जो सम्बन्ध छ, त्यसको कोष–कोषमा मुद्दाहरू छन् । पछाडि फर्केर हेर्ने हो भने मेरो जीवनको यात्रा त्यति सहज भएन । जीवनभरि म विभिन्न राजनीतिक तथा सामाजिक मुद्दासँग जोडिँदै–जोडिँदै यहाँसम्म आइपुगेको छु । अर्थात्, मेरो जीवनको इतिहासमा मुद्दा जोडिएको छ । तर, यसलाई साहित्यमा व्यक्त गर्ने मेरो भिन्नै शैली छ । त्यो शैली समाजशास्त्री, मानवशास्त्रीहरूको जस्तो सीधा भने छैन । यस्ता मुद्दालाई म आफ्ना कथामा लालित्य र साहित्य मिसाएर प्रस्तुत गर्ने गर्दछु । त्यसमा विचार पनि त्यत्तिकै सघन ढंगले मिसिएको हुन्छ । मानिसको मानसिकता अस्थिर भयो भने नै नयाँ कुरा खोजी गर्न सक्छ । खोजीको छटपटीलाई नै मैले अस्थिर भन्न खोजेको छुँ । अस्थिर मान्छे सदा नयाँ कुराको खोज–यात्रामा लागिरहन्छ । तपाईंका कथामा शृंखलाबद्ध घटना हुँदैनन् र एउटै घटनाको सेरोफेरोमा ती कथा घुमिरहेको देखिन्छ, भनिन्छ नि ? परम्परागत साहित्यमा एड्गर एलेन पो, ओ हेनरी, मोपाँसाका हरेक कथामा केही न केही नौला घटना भएका हुन्थे । त्यस्तै, विलियम सेक्सपियरले लेखेका नाटक र कथा घटनाप्रधान नै भेटिन्छन् । ती कथामा बाटोमा हिँडहिँड्दै कोही राजा भएको त कोहीलाई दैवी चमत्कार मिलेको पाइन्छ । तर, पछिल्लो समयमा परिस्थितिप्रधान कथा लेख्ने चलन बढिरहेको छ । घटनाप्रधान कथामा लगाव भएका पाठकलाई सुरुमा यस्ता कथा अरुचिपूर्ण लागे पनि अहिले यस्तो कथाले आफ्नो विशेष स्थान बनाइसकेको छ । यही परम्परामा म जोडिएको हुँ । यसलाई मैले गरेको नयाँ प्रयास भन्न नमिल्ला । फेरि आज कथा लेख्ने शैली एउटै मात्र छैन । तपाईं आफ्नै शैली पनि बनाउन सक्नुहुन्छ । त्यसैले घटनाप्रधान कथा पढ्नेलाई मेरा कथा स्वादिलो नलाग्न पनि सक्छ । तपाईं स्वयं र अन्य कथाकारहरू कथाको स्तर घट्दै गएको, कथा झुर भएको, कथा सक्किएको, कथा शिथिल भएको कुरा बारम्बार भनिरहनुहुन्छ । कथाको स्थिति साँच्चै ‘ब्लिक’ छ, हो ? हाम्रो कथा आज मात्र यस्तो भएको होइन । हाम्रो कथाको परम्परा नै कमजोर छ । यति मात्र होइन कथाको ग्रहणशीलता नै कमजोर छ हामीसँग । तर, यसको परम्परामा जोडिइसकेपछि यसलाई माथि पुर्\u200dयाउने हाम्रो संघर्ष भने जारी छ । आफ्नो कथाको स्तर कमजोर रहेको जुन हाम्रो टिप्पणी छ, त्यो हाम्रै उत्थानका लागि गरेका हौँ । आत्मसमीक्षा हो हो । यसर्थ म आत्मभत्र्सना गर्न डराउँदिनँ । किनभने, ‘जम्मै लेखिसक्यौँ, राम्रो लेखिसक्यौँ’ भन्ने सोच पलायो भने हामीसँग अगाडि बढ्ने बाटो नै हुँदैन । फेरि आत्ममुग्ध भएर अहिलेको अवस्थाकै पक्षमा वकालत गर्न थाल्यौँ भने हामीले हाम्रा कथा उत्थान गर्ने कुनै ऊर्जा प्राप्त गर्न सक्दैनौँ । आफ्नो स्थितिको उत्थानका लागी पनि हाम्रा कथाको यथार्थ स्थितिमाथि गम्भीर समीक्षा जरुरी छ । अघिल्ला कथासंग्रहभन्दा ‘तमस’ मा के नयाँ कुरा छ ? ‘तमस’ नयाँ समयको कथा हो । यसबेलासम्म आइपुग्दा मेरो कथालाई हेर्ने दृष्टिकोण, जीवनलाई हेर्ने दृष्टिकोण र पात्रलाई हेर्ने दृष्टिकोण नै फरक भएको छ । यो नयाँ समय र नयाँ बुझाइबाट लेखिएकाले यसमा पक्कै नयाँ कुरा पाउन सकिन्छ । यसो त पञ्चायतजस्तो छ, आज पनि राजनीतिको प्रवृत्ति उस्तै छ । बाहिरी आवरणमा मात्रै राजनीति फरक देखिएको हो । राजनीतिक संस्कार भने पहिलाकै जस्तो छ । यही तीतो यथार्थ ‘तमस’भित्र भएका कथामा मैले उजागर गर्न खोजेको छु । सँगै, मेरो आफ्नै अनुभव पनि बदलिएको छ । जीवनप्रतिको दृष्टि बदलिएको छ । यो बदलाव मेरा कथामा स्वतः देखिन्छ । अर्को कुरा, तमसमा लामा कथाको बाहुल्य छ । पहिलेभन्दा कथालाई चित्रण गर्न, पात्रहरूको अन्तस्करण छाम्न विशेष प्रयत्न गरेको छु । त्यस्तै, परिवेशमा पनि विविधता छ । मेरो कान्छो छोरा अमेरिकामा भएकाले मैले त्यता पनि लामो समय बिताएँ । त्यही सिलसिलामा अमेरिकाको नेपाली जनजीवन र त्यहीँको मौलिक जनजीवनको कथा लेखेको थिएँ । यसर्थ पञ्चायतकालदेखि लिएर आजको अमेरिकी–नेपाली जनजीवनको कथा ‘तमस’मा समेटेको छु । तपाईंले बारम्बार ‘अस्थिर भएर नै म लेखक भएको हुँ’ भन्नुभएको छ । सँगसँगै, लेखनमा अस्थिरता चाहिन्छ भन्ने पक्षमा वकालत गर्नुहुन्छ । के अस्थिर स्वभावको लेखकसँग बलियो कथा बुन्ने क्षमता बढी हुन्छ ? मानिसको मानसिकता अस्थिर भयो भने नै नयाँ कुरा खोजी गर्न सक्छ । खोजीको छटपटीलाई नै मैले अस्थिर भन्न खोजेको छुँ । किनभने, अस्थिर मान्छे सदा नयाँ कुराको खोज–यात्रामा लागिरहन्छ । मेरो भाषामा अस्थिरता भनेको नयाँ प्रयोग, नयाँ ज्ञान, नयाँ मानसिकताको खोजी हो । जसले यो खोजी गर्न पढिरहन्छ, लेखिरहन्छ, भ्रमण गर्छ र मानिसहरूसँग निरन्तर संवाद गर्छ । यसले कथा लेखन र पठनमा प्रभाव पार्नु स्वाभविक नै हो । अस्थिरतासँग मेरो प्रेम छ । पछिल्लो समय तपाईंका किताब छिटो–छिटो बजारमा आइरहेको देखिन्छ । पाँच दशकदेखि साहित्यमा सक्रिय लेखकलाई यस्तो हतार किन ? छिटो भन्नाले त्यस्तो छिटो पनि प्रकाशन गरेको छैन । दुई वर्षको अन्तरालमा यो कथासंग्रह प्रकाशन गर्न लागेको हँ । अब अर्को पुस्तक आउन भने दुई वर्षभन्दा बढी नै समय लाग्ला । यसलाई के छिटो भन्नुु ? अहिले पनि एउटा उपन्यास लेख्न खोजेको छु, त्यसलाई पाँच वर्ष नै लाग्ला । साना–साना कविता पनि लेख्छु । तर, मलाई एउटा कविता पूरा गर्न धेरै समय लाग्छ । हजार चोटि घोत्लिनु पर्छ मैले कवितामा । काँठकै सेरोफेरोमा केन्द्रित कथा आउँदा तपाईंका पुराना पाठकलाई मोनोटोनस नलाग्ला र ? मैले धेरै पटक एकै विषयलाई साहित्यमा दोहोर्\u200dयाउनु हुँदैन भनेको छु । ‘विषय दोहोरिनु भनेको आत्महत्या हो’ भन्दै आएको छु । परिवेश दोहोरिए पनि प्रतीक र ध्वनि नदोहोरियोस् भन्ने कोसिस गरेको छु । पात्रहरू, समय र परिवेश फरक छन्, जसका कारण मेरा पुराना पाठकलाई ‘तमस’ पढ्दा बोर लाग्दैन । यसपटक स्वैरकल्पना पनि लेखेको छु । समकालीन कथाकार कुमार नगरकोटीहरूले पनि यस प्रकारका कथा लेखिरहेकै छन् । नयाँपन दिने मेरो प्रयास सदैव रहन्छ । एउटा लेखक कति वर्षसम्म सिर्जनशील हुने ? अन्य क्षेत्रमा जस्तै लेखकले पनि उमेर कटेपछि रिटायर्ड हुन मिल्दैन ? मुख्य कुरा त लेखकको मस्तिष्क कति बलियो छ भन्नेमा यो कुरा भर पर्छ । उसको शारीरिक सबलता छ भने जुन उमेरसम्म लेख्दा पनि हुन्छ । सबल भएको अवस्थामा उमेरले लेखकलाई छेक्दैन भन्ने धारणा म राख्छु । अर्को कुरा के छ भने, कुनै पनि लेखकले जीवनभर लेख्ने कुरा त आउँदैन । कसैले किन लेखिनस् भन्न पाउँदैन । यो लेखकको व्यक्तिगत कुरा हो । लेख्ने र नलेख्ने आफैँ निर्धारण गर्नुपर्छ । तर, आफ्नो सिर्जनशीलता र स्वास्थ्य ठीक छ भने एउठा लेखकले लेखिरहनुपर्छ । आखिर सिर्जनशीलता बूढो हुने कुरा त होइन ।
च्याप्टो कविको शक्ति: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ । तलको अन्तरर्वाता हामीले अन्नपुर्ण पोस्टबाट साभार गरेका हौँ । अन्नपुर्ण पोस्ट फुर्सदका लागि यो लेख मनोज बोगटीले तयार पार्नु भएको हो । तपाईले यो सामग्री अन्नपुर्ण पोस्टमा नै पढ्न यहाँ क्लिक गर्नुहोस् । —————- सम्झना टेलिभिजनको दृश्यमा जे छ त्यो घरमा छैन घरमा टेलिभिजन छ टेलिभिजनमा घर कहाँ छ ? बजारले आँसु, क्रान्ति, प्रेम, सौन्दर्य वा मूल्यका हरेक क्षेत्रलाई बजारीकरण गरिरहेको बेला चर्चित कवि कालिकाप्रसाद सिंहले आफ्नो कवितामा यस्तो प्रश्न गरिरहेका थिए । ‘यो घर खोज्ने काम हाम्रो ड्युटी हो ।’ सांग्रिला बुक्स सिलगढीमा एकदिन गप्फिन आइपुगे सिंह । मैले भने, ‘यही घर खोज्ने चेतना विकासको लागि अगमसिंह गिरीले हाम्रो समाजलाई विचार दिए । तर, त्यो विचारलाई छोप्न बजारले अर्को विचार ल्यायो ।’ कालिकाप्रसाद सिंहले मेरो कुराले ताकेको ठाउँको छनक पाए । ‘तर गिरीको विचार छोपिएन । तपाईंहरूको राजनैतिक समाजले बोकेको पहिचानको सवाल गिरीले दिन खोजेको विचार थियो, गिरी अहिले पनि जिउँदै छन् । बरु उनको विचार छोप्न आउने विचारकहरू छोपिइसके ।’ सिंहको निचोड थियो । त्यो हंग्री पुस्ताले परम्परालाई उल्ट्याएर मानिस– अनुकूल समाजको सपना देखिरहेको बेला थियो । गजानन मुक्तिबोधहरूले ‘तिमी कहाँ छौ ?’ भनेर समाजलाई सोधिरहेको बेला थियो । अंग्रेजहरूले भारत छोडेपछि देशभरि चिन्हारीका आन्दोलनहरू चले । संघीय देशको संविधानमार्फत सम्बोधित भइमाग्ने यस्ता आन्दोलनहरूको आन्तरिक प्रभाव सबैतिर थियो । मुक्तिबोधहरू त्यसैलाई सिर्जनामार्फत सम्प्रेषण गरिरहेका थिए । समाजका जटिलताहरूलाई सम्बोधन गर्न सक्ने भाषाको निर्माणमा लेखकहरू जुटिरहेको बेला यता दार्जिलिङ के गरिरहेको थियो त ? खोज्नेहरूले भेट्नेछन्, मुक्तिबोधहरूले सोधिरहेको सवालको जवाफमा अगमसिंह गिरी यसरी बोलिरहेका थिए– तिमी को हौ चिनाउन आएको होइन म । बितेको गौरवगाथा कहन आएको होइन म । तिम्रा सन्तप्त छातीका पीरहरू उखेल्न आएको होइन म । सजिलै खोसिएको गाँस र हलुकै लुटिएको बास दिलाउन आएको होइन म । छातीको त्यो गहिरो खोपिल्टा पुर्न आएको होइन म । निर्धा आँसुका धारा हेर्न आएको होइन म । केवल तिमी तिमी नै हो कि चिन्न आएको म । तर, तिमी त यहाँ नचिनिने भएछौ ! मूलधारको साहित्यिक प्रवाहसित लय मिलाउँदै कोही अघि बढिरहेका थिए भने, उनी गिरी नै थिए । गिरीलाई यहाँसम्म आइपुग्न अनेकौं दुःखवादको भर्\u200dयाङ चढ्नु पर्\u200dयो । गिरीमा द्विविधा थियो, तिनको काव्यमा निरन्तर दुखिरहने, रोइरहने समाज नेपालको नेपाली हो कि भारतको गोर्खाली समाज हो ? धेरै समालोचकहरूले गिरीको यही दुःखवाद चिन्ने निश्चित केन्द्रीय बिन्दु नभेटिने बताएका छन् । मुक्तिबोधहरूले सोधिरहेको सवालको जवाफमा अगमसिंह गिरी यसरी बोलिरहेका थिए– तिमी को हौ चिनाउन आएको होइन म । बितेको गौरवगाथा कहन आएको होइन म । केवल तिमी तिमी नै हो कि चिन्न आएको म । तर, तिमी त यहाँ नचिनिने भएछौ ! गिरीलाई मात्र होइन, उसबेला दार्जिलिङमा बस्नेहरूलाई आफ्नो ‘देश’ नेपाल नै हो भन्ने भ्रम थियो । अहिलेसम्म पनि सन्धि, चुक्तिको इतिहास एकातिर छ, भ्रम अर्कोतिर छ । दुवैको प्रतिबिम्ब भने साहित्यमा पनि झल्कियो । त्यो भ्रम फैलाउनमा धरणीधर, सूर्यविक्रम, बैरागी काइँला, ईश्वर वल्लभहरूको साहित्यिक उपस्थिति र उनीहरूको गतिविधि, राजाहरूको दार्जिलिङ भ्रमण र कलाकारहरूको पलायनले पनि सहयोग गरेको छ । युद्ध र योद्धासम्म आइपुग्दा गिरीमा नेपाल नोस्टालिजा हट्दै थियो । मुक्तिबोधहरूसितै स्वर मिलाएर उनी नचिनिने भएकाहरूको पहिचानको मुद्दा बोकेर अघि बढिसकेका थिए । गिरीको ‘तिमी’ भारतको राजनैतिक गोर्खा हुन् । हामीले यसरी बुझेका हौं । यदि यसलाई लोकल अर्थमा लिइयो भने ग्लोबल अर्थमा ‘तिमी’ संसारभरका किनारीकृत त हुँदै हुन् । ‘युद्ध र योद्धा’सम्म आइपुग्दा, चियामा सुन टिप्न आएका पुर्खा, राजाले दिने विविध आपराधिक दण्डबाट लुक्न आएका नेपाली नागरिक, नेपालका राजा र धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, काइँला, वल्लभहरू र भानुभक्तीय मिथकले रोपेको नेपालमोहमा ग्रहण लागिसकेको थियो । एक समय थियो, दार्जिलिङे कलाकारहरू नेपाललाई आफ्नै देशसरह मान्थे । आफ्नै आमा ठान्थे । इतिहासलाई अघि राखेर नोस्टाल्जिक बन्थे । र, नेपाल सम्झेर भावुक बन्थे । जस्तो अगमसिंह पनि खुब भावुक बनेका छन् । ‘माटोको माया बिर्सेर यहाँ किन पो आयौ नि…’ भन्दै रोएका छन् । इन्द्रबहादुर राईले पशुहरू त्यही ‘माटो’ भएर फर्काएका छन् । (हस्तक्षेपीहरूले आलोचना गर्न थालेदेखि अंग्रेजी संस्करण ‘आज रमिता छ’बाट त्यो अंशबाट हटाएको छ भन्ने सुनेको छु, पढेको चाहिँ छैन) । मनबहादुर मुखियाहरूले मुठ्ठीमा त्यही ‘माटो’ मुठ्याएका थिए । अम्बर गुरुङ त्यही ‘माटो’मै फर्किएका थिए । अथवा राजाले खनेको बाटैबाटै उनी नेपाल छिरेका थिए । (त्यही बाटो धेरै कलाकारहरू नेपाल छिरे । नेपालमा उनीहरूको प्रतिभाले ठाउँ बनायो । तर, यससरी नै छिरेका आम मानिसको कथाबारै अहिलेसम्म कसै अनभिज्ञ नै छन्) । नेपाल छिर्ने ‘धन्दा’ दुई हिसाबले परिभाषित हुन थालिसकेको थियो । १९५० को धाराले खनेको बाटो भएर दार्जिलिङका नेपालीहरू नेपाल (र नेपालका नेपालीहरू भारत) छिर्दैछन् ? कि अम्बर गुरुङहरूलाई छिराउन राजाले खनेको बाटोबाट छिर्दैछन् ? यताबाट छिरेकाहरूको नागरिकता र सम्मानको सवाल अलग । छिर्नु र नछुर्नुबीचको संकटको सवाल अलग । एक समय थियो, दार्जिलिङे कलाकारहरू नेपाललाई आफ्नै देशसरह मान्थे । आफ्नै आमा ठान्थे । इतिहासलाई अघि राखेर नोस्टाल्जिक बन्थे । र, नेपाल सम्झेर भावुक बन्थे । जस्तो अगमसिंह पनि खुब भावुक बनेका छन् । ‘माटोको माया बिर्सेर यहाँ किन पो आयौ नि…’ भन्दै रोएका छन् अगम सिंह गिरीले खण्डकाव्य ‘युद्ध र योद्धा’मा यही ‘कन्फ्युजन’लाई डिस्कोर्समा ल्याएका छन् । फोर्समा ‘गोर्खा’ नेपालका धेर र भारतका कम । अंग्रेज भगाउन दुवै गोर्खाको उस्तै योगदान । तर, देश सेता मानिसबाट मुक्त भइसकेपछि काला मानिसहरू त्यही सेता चरित्रमा उदाए । युद्ध र योद्धाबीच खाडल बनियो । गोर्खाहरूलाई संघीय देशमा स्थान दिइएन । उनीहरूको चिनारी निश्चित गरिएन । ‘युद्ध र योद्धा’बाट नै गिरीले नेपाल र भारतलाई एक गोर्खाले हेर्ने पारम्परिक दृष्टिकोणको सवालमा आफूलाई सच्याए । तर, भूमिकामा इन्द्रबहादुर राईले गिरीको दृष्टिकोणलाई गलत व्याख्या गरिदिए । गिरीय चेतलाई ‘रोमान्टिसिज्म’ भनेर लिमिटेड गरिदिए । भने, ‘कुनै दार्शनिक विचारको व्याप्ति पक्रेर गिरी दुःखवादी भएका छैनन् । गिरीको पैतृक, पारिवारिक वा व्यक्तिगत जीवनमा कुनै अपघात छैन । ’ चिनारीको निम्ति फेरि युद्ध गर्नुपर्ने हो त ? गिरीय चेतनाले खनेको प्रश्निक बाटो यस्तो हो । तर, इबरा गिरीको परिवारमा युद्धको अपघात छैन भन्दै गिरीय काव्यलाई अव्यावहारिक तुल्याउन खोजिबसे । इबराले त गिरीले जाति–दुःखलाई नाम्लो लगाउनुको कुनै तुकसमेत नरहेको बताएका छन् । गिरीय जातिवादी चेतना दार्जिलिङे साहित्यले प्रसार गरेको मूल चेतना हो । त्यही चेतनाको जगमा अहिलेको दार्जिलिङे राजनीतिसमेत टिकेको छ । गिरी रातारात हरेक गोर्खाले नाम लिने शीर्ष कवि बने । अहिले पनि इबराहरूभन्दा धेरै लिइने नाम हुन् उनी । अहिले पनि धेरैलाई गिरीका कविता मुखस्त छन् । हरेक आन्दोलनमा बाटो देखाउने काव्यिक पंक्ति उनी नै हुन् । जातिलाई संकट पर्दा लिइने नाम उनी नै हुन् । साठीको दशक, साहित्य र राजनीतिले दार्जिलिङे वैचारिकीमा युटर्न लिएको बेला पनि हो । किनभने दार्जिलिङका सबैभन्दा प्रभुत्वशाली राजनैतिक दल अखिल भारतीय गोर्खा लिगले गोर्खा नामलाई मिथ बनाएर त्यसको छातामुनि सबै जातगोष्ठीलाई एकीकृत गर्ने विचार समाजलाई दिइरहेको थियो । गिरीका कविताले त्यही समयलाई सम्बोधन गरेको थियो । चिनारीको सवाल, जाति मुक्तिको सवाल, केवल गोर्खाहरूको सवाल मात्र त थिएन, संघीय लोकतान्त्रिक देशले सम्बोधनमा ल्याउन नसकेकाहरूको लडाइँ पनि थियो । विश्वभरि नै पहिचानसम्बद्ध साहित्यले अनुहार उठाइरहेको क्रिम समय पनि थियो । यतिखेर नै इबराहरूले गिरीय साहित्यलाई भनिदिए, ‘च्याप्टो साहित्य’ । अर्थात् गिरीय साहित्य भनेको रोनाधोना, सस्तो भावुकता, रोमान्टिक र एक आयामी वा समाजलाई काम नलाग्ने थोत्रा । वास्ताविकता के हो भने दार्जिलिङमा त्यही च्याप्टो साहित्यले समाजलाई दिएको प्रभाव नै ज्युँदो छ । समाज त्यो रामान्टिसिज्मबाट मुक्त छैन । जाति मुक्त छैन । इन्द्रबहादुरीय बौद्धिक लेखनले भने मुक्त समाजको गफ गर्छन्, जो दार्जिलिङे समाजको लागि ‘हावागफ’ हो । जाति मुक्त नबनी न भाषाले बंगाली हुँदै अरू भाषामा छिर्ने मौका पाउने हो न केन्द्रमा गोर्खाहरूको समस्याले फ्लोर पाउने हो । इन्द्रबहादुर राईहरूको बौद्धिक डिस्कोर्स दार्जिलिङे समाजमा पुल्ठो बालेर दिउँसै खोज्दा पनि भेटिन्न । मलाई कवि कालिकाजीले भने, ‘गिरीको आयाम, तीनवटा आयामले छोप्न सक्दैन । गिरी आफ्नै माटोमा जन्मिएका हुन् । जो आफ्नो माटोमा जन्मिएका हन्, उनी जिउँदा हुन्छन् । हेर्नुहोस्, अहिले तपाईंको राजनैतिक समाजले बोकेको मुद्दा गिरीले थमाएका हुन् ।’ ००० बैरागी काइँलालाई अगमसिंह गिरीले सोधेछने, ‘अब त जसो गरेर लेखे पनि कविता हुने भइहाल्यो नि होइन त, बैरागीजी ? ’ तर काइँला बोलेनन् । उनले नबोलेरै जिते । काइँलालाई लाग्छ, उनलाई गिरीले ‘रिसाएजस्तो व्यंग्य गरे ।’ ‘मसँग उनको पेच पार्ने कुरा गरेको यही नै पहिलो र अन्तिम थियो होला,’ काइँला भन्छन्, ‘एउटा धारको नेतृत्व गरेर प्रतिष्ठित भएका, कहलिएका सर्जकको अहम्मा हाम्रा गतिविधिले चोट पुगेछ ।’ वास्तवमा गिरी रिसाएकै चाँही होइनन् तर उनका केही आग्रहहरू थिए । केही भन्नु थियो उनलाई । उतिखेर साहित्यमा नयाँ प्रयोगको प्रोपोगान्डादेखि बाहिर बसेर अघिल्ला साहित्यिक मान्यताहरूलाई अथवा यसका इतिहासलाई सम्मान गरियोस्, ठान्थे गिरी । तर, ‘नयाँ’हरू चाहिँ अघिल्ला लेखनलाई नै भन्थे, ‘च्याप्टो ।’ अरूलाई ‘च्याप्टो’ भनेर आफूहरूलाई अग्लो, लामो र चौडा भन्नेहरू हुन्, इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वर वल्लभ । दुईजना नेपालका, एकजना भारतका । नेपालमा पहिलो साहित्य संस्था कसले खोले ? पहिलो मूर्ति कसको बनाइयो ? किन र कसले बनाए ? यसबारेका बहस त भएकै छैन । ‘च्याप्टो’ र ‘तेस्रो आयाम’ले कुन समाजलाई के दियो, त्यसबारे पनि बहसै छैन । च्याप्टो अर्थात् रुन्चे । नयाँहरू (इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वर वल्लभहरू)लाई लाग्थ्यो, गिरीहरू स्वच्छन्दवादी पखेटामा बसेर जसरी उडिरहेका थिए, त्यसले त कतै पुर्\u200dयाउँदैन । त्यो उडान च्याप्टो उडान भयो । जीवन र जगत्लाई त अरू आयामले पनि हेर्नुपर्छ । त्यसपछि आयो, तेस्रो आयाम । गिरी भन्थे, ‘नयाँको आडमा अरूबाट सम्पूर्णतया अनुकरण गरेर आफ्नो निजी व्यक्तित्वलाई गुमाउन खोज्नेहरूसँग भने हामीलाई खेद छ । ’ इन्द्रबहादुर राईहरूको बौद्धिक लेखन च्याप्टो साहित्यको जगबाट उठ्यो । च्याप्टो भत्काएर त्यसको ठाउँमा राखियो– त्रय आयाम । तर, त्रय आयाममा इन्द्रबहादुर राई बसेको समाज रिफ्लेक्ट भयो न विश्व समाज नै । तेस्रो आयाम न नेपाली घेरा नाघेर बाहिर नै गयो न नेपाली घेराभित्र नै पस्यो । तेस्रो आयाम न विश्व समाजमा काम लाग्यो, न आफू उभिएको समाजलाई काम लाग्यो । पूर्वीय दर्शनको सवालमा इबराहरूले गतिलै काम गरेको बताइन्छ । तर, विश्व समाजलाई अत्तोपत्तो छैन । डेरिडाबारे इन्द्रबहादुर राईहरूलाई जानकारी थियो, डेरिडाहरूलाई इन्द्रबहादुर राईहरू कुन चरा हो ? भयो । पूर्वीय दर्शनको सवालमा इबराहरूले गतिलै काम गरेको बताइन्छ । तर, विश्व समाजलाई अत्तोपत्तो छैन । डेरिडाबारे इन्द्रबहादुर राईहरूलाई जानकारी थियो, डेरिडाहरूलाई इन्द्रबहादुर राईहरू कुन चरा हो ? भयो । तर यता ? च्याप्टा कवि अगमसिंह गिरीको चेतना भने संकटमा परेका भारतीय (गोर्खा)हरूको चिनारीको खोजतिर लहसिँदै थियो । गिरीय चेतना लोकल भएर पनि ग्लोबल थियो । उनले १९५९ मा प्रकाशित गरेको ‘आत्मव्यथा’ चर्चामा यसै कारण थियो । त्यही संग्रहमा उनले ‘नचिनिने भएछौ’ लेखेका हुन् । पहिले–पहिले गिरी नेपाल र भारतलाई एउटै देख्थे । उनी भाषाबाट छिरुन् वा संस्कृतिबाट छिरुन्, पुग्दा नेपाली व्यथामा नै पुग्ने । त्यो व्यथाको जनक देश त पक्कै थियो, तर त्यो भारत हो कि नेपाल ? यो दुविधाको पेन्डुलम गिरीको चेतनामा हल्लिबस्थ्यो । त्यसै कारण उनको दुःखवादको जिलो केलाउन निक्कै गाह्रो कुरा हो भनेका हुन्– आलोचकहरू । तर, गिरी त्यही दुःखवादमा अल्झिएनन् । पछिपछि उनी त्यहाँबाट उक्लिए । र, जातिप्रति आशक्त बन्दै गए । ६० को दशकबाट हुर्किएको जातीय चेतनाले ७० को दशकमा ‘युद्ध र योद्धा’ जस्तो जातिमुक्तिको दस्तावेज निर्माण गरिसकेको थियो । अथवा भारतीय नेपालीहरूले दार्जिलिङबाट आफ्नो ऐना हेर्न थालिसकेका थिए । राजनीतिले गिरीय चेतनालाई सतहमा ल्याउँदै थियो । गोर्खालिगजस्तो राजनैतिक दलले जातीयताको विचारलाई जीवन र समाजसित जोडेर रूपान्तरणको सपना देख्न थालिसकेको थियो । अँ, बल्ल राजनीति र साहित्यले समानन्तर विचारलाई परिवर्तन र रूपान्तरणको नारा बनाउँदै थियो । तर, त्यही दशकमा तेस्रो आयामले साहित्यलाई अझ अग्लो विचारले उठाउने भए । बैरागी काइँलाले सम्पादकीयमा नै गिरीय लेखनलाई इंगीत गर्दै भने, ‘च्याप्टो लेखन ।’ नेपालका बैरागी काइँलाले नेपाली साहित्यलाई बुझ्दा भारतको नेपाली र नेपालको नेपालीको रूपमा लिए–लिएनन्, थाहा छैन । तर, ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’को अन्तर्य नेपाली संकटबाटै आएका विचार हुन् । तर, त्यसको अन्तर्य केवल नेपाली आवाज र संकटमा सीमित रहेन । त्यो आवाज विश्वका कुनै पनि ठाउँको आवाज बन्यो । नेपालमा काइँलाको ‘मातेको मान्छे’ र भारतमा गिरीको ‘नचिनिने भएछौ’ले एउटै काम गरेका छन् । यद्यपि, कविताको निश्चित भूगोल नहोला, तर त्यसले सम्प्रेषण गर्ने अर्थको भुइँले कवि बाँचेको इतिहास, भूगोल, संस्कृति र सत्ता टेकेकै हुन्छ । गिरीय च्याप्टो साहित्यले जातीय चेतना सम्प्रेषण गर्दैथियो । त्यो जातीयता भारतीय गोर्खाहरूको जातीयता हो । अंग्रेजको उपनिवेश खप्ने दार्जिलिङे समाजले अंग्रेजबाट आफ्नो चरित्र निर्माणको लागि पाएको कुनै ठूलो कुरा थियो भने त्यो हो– हिप्पोक्रेसी । अंग्रेजीलोे रवाफ । संस्कार । सभ्यता । बोलीचाली । हाउभाउ । बोलिबचन । दृष्टिकोण, विचार निर्माणमा अंग्रेजीलो मनोविज्ञानले साहित्यकार, पढेलेखेका मानिस र ठूलाबढालाई गोर्खेपनबाट पर धकेल्दैथ्यो । यस्तोमा साहित्यले पनि पश्चिमी सैद्धान्तिकी, भौतिकशास्त्र, समाजशास्त्र, आइडियोलजी, दर्शन, मिथहरू भाटभट टिप्दै केन्द्रमा विश्व राखेर ‘वैचारिक आन्दोलन’ गर्ने भएपछि अगमसिंह गिरीहरूको च्याप्टो साहित्य संकटमा परेको हो । च्याप्टो साहित्य अर्थात् स्थानीय मूल्य, स्थानीय आवाज वा आफ्नै माटोले निर्माण गरिरहेको सैद्धान्तिकीहरू संकटमा परेको हो । मसिना कुराहरूलाई ठूला कुराहरूले छोप्नु भनेको अल्पसंख्यकलाई बहुसंख्यकले छोप्नै त हो । गिरीलाई काइँलाहरूका ठूला कुराले दार्जिलिङे साना कुरा छोपिने हो कि भन्ने पीर थियो । बैरागी काइँलाहरूलाई उनले त्यही पीर व्यक्त गरेका हुन् । रिस होइन । वास्तवमा, बैरागीहरू गिरीय पीडाको (भारतीय गोर्खाहरूका राजनैतिक संकट) जरा भेट्न नसक्ने चेतनाका सर्जकहरू हुन् । उनीहरूका नयाँ प्रयोगले पुरानाहरूलाई चोट परेकोसम्म त बुझ्थे तर गिरीय चेतनाले समाजलाई दिन खोजेको दीर्घकालीन बाटोको न टुप्पो भेट्न सक्थे, न फेद । काइँलाहरूलाई त कहलिएका सर्जकको अहम्मा उनीहरूको गतिविधिले चोट पुगेको लाग्थ्यो तर गिरीलाई भने नेपाली कविको नेपाली व्यक्तिको छाप नेपाली कवितामा नपर्दा विस्मात लाग्थ्यो । अहिलेको राजनैतिक समाजले पनि गिरीय जातीयबोधबाटै समाज निर्माणको सपना देख्ने गर्छ । तेस्रो आयाम र लीलाहरूबाट समाज रूपान्तरणको कुनै आइडिया भारतीय नेपाली समाजले पाएन । साहित्यमा इबराहरूलाई जुनै स्थानमा राखियोस्, तर उनीहरूको साहित्यले समाजलाई गिरीय साहित्यले जस्तो प्रभाव पार्न सकेन । अहिलेसम्म भारतीय नेपाली साहित्य गिरीय च्याप्टो साहित्यकै जगबाट उठ्न खोजिरहेको छ । च्याप्टो साहित्य नै समाजमा कामलाग्दो भएको छ । आजको समाज गिरीय च्याप्टो साहित्यको जगमा नै उठ्दै गर्दा तेस्रो आयाम विश्वभरि छरिसकेको हुनुपर्ने हो कि ? अब बहस गर्ने बेला भइसक्यो । उतिखेर तेस्रो आयाम र च्याप्टो साहित्यबीचको द्वन्द्वलाई साह्रै खोतलियो÷खोतलिएन तर अब खोतल्ने बेला भइसक्यो । कालिकाप्रसाद सिंह भन्छन्, ‘मुझे लगता है, गिरीको मार दिया गया । क्यो कि उनका कविता सत्ता के लिए खतरा पैदा करते थे । गिरी बहुत शक्तिशाली थे, ये सबको मालुन नही थे ।’ हो त, च्याप्टो कविको शक्तिबारे सबैलाई त थाहा थिएन।तर, केहीलाई थाहा थियो।र, नै त आयो तेस्रो आयाम र भनियो– च्याप्टो साहित्य । अहिलेको राजनैतिक समाजले पनि गिरीय जातीयबोधबाटै समाज निर्माणको सपना देख्ने गर्छ । तेस्रो आयाम र लीलाहरूबाट समाज रूपान्तरणको कुनै आइडिया भारतीय नेपाली समाजले पाएन । साहित्यमा इबराहरूलाई जुनै स्थानमा राखियोस्, तर उनीहरूको साहित्यले समाजलाई गिरीय साहित्यले जस्तो प्रभाव पार्न सकेन ।
तारमा हल्लिरहेको छ आमाको फरिया: राजेन्द्र भण्डारी आँगनदेखि दलानसम्म तनक्क तन्किएको छ तार। तारमा सुकिरहेको छ आमको फरिया। सुकिरहेको छ हल्लिँदै आमाको जीवन। हल्लिरहेकी छन् आमा तारमा। हतारमा। दिइसकेकी छन् आमाले मलाई उनको आँखाको चमक। अनुहारको महक। पहाडभन्दा हेमानको माया। उनका अनुहारका चाउरीहरुमा कहीँ कतै अवश्य छु म। उनका रोगका असङ्ख्य कीटाणुहरुमध्ये एउट न एउटा अवश्य हुँ म। लडिन् उनी जीवनभर तर जितेँ मैले। उनको औँला समातेर मैले हिँड्न सिकेँ र उडेँ बादक बादल। तर धरती छोडिनन् उनले। झरीभरि ओत दिएर अहिले तारमा हल्लिरहेको छ आमाको फरिया। पूजाकोठामा अझै पनि कहिल्यै खुसी नहुने देवताहरुलाई हात जोर्नमा खुसी हुन्छिन् आमा। आमाको सङ्गीत डाडुपन्युको ठाङ्ठाङ ठुङ्ठुङ। तामाको टल्केको थाल आमाको अनुहार। म हाँस्छु, उनी घाम झुल्किन्छिन्। म बादल लाग्छु, उनी साँझ पर्छिन्। छड्किन्छिन् गृहस्थीको ओदानमा। कुन खानेकुरालाई कति आँचमा पकाउनु कुन नानी रुँदा कसरी फकाउनु जान्दछिन् आमा। बाबुका कर्कश पारा छोराछोरीका आधुनिक इसारा जुठा थालबटुका र रित्ता टिनमाझ कसरी मिलाउनुपर्छ सङ्गति, लय, ताल जान्दछिन् आमा। केही लज्जाको, केही ताप-उत्तापको केही वात्सल्य, केही आत्मसम्मानको कथा बन्दै, एउटा मीठो धुन बन्दै तारमा हल्लिरहेको छ आमाको फरिया। राजेन्द्र भण्डारी कालेबुङ, भारत #आमा #राजेन्द्र भण्डारी
राहतको रोइलो: ऋषव देव घिमिरे “आहतबाट उन्मुक्ति नै त हुन् हरेक प्रकारका राहतहरू” सेवाभावबाट मानवीयता जागृत भै मानव कलयाणमा समर्पित हुन्छन् राहतहरू जसले घाउमा मलमको काम गर्छन् । तिथि, मिति, बेला, गोचर र समय यकिन गरेर लेख्न नसकिने विषय हुन् मानिसका जीवनमा आइपर्ने दुःखहरू । कतिबेला के र कुन विषयले आहत पुर्\u200dयाउँछ र धरमराउँछ मानवीय सभ्यता भनेर किटानीका साथ भविष्यवाणी गर्न सकिन्न न त जीवनमा आइपर्ने भवितव्य नै । अनेक प्राकृतिक विपत्ति, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि लगायत ठूला महामारीलाई हाम्रा पुस्ता, हामी र हाम्रो समाज तथा विश्व समुदायले व्यतीत गरिसकेका छौँ र गरिरहेका छौँ । पहिरोले बस्ती बगाएका कुराहरू, विनाशकारी भूकम्पले गाउँ नै उजाडिएको प्रसंग, औलो, हैजा, आँधी, सुनामी अन्य महामारीका कारण खेप्नु परेको पीडा त्यस्तै गहिरा गहिरा अनेकौँ घटना र त्यसपछिका दुःखहरू । यस्ता प्रकृति प्रकोपजन्य घटनाहरूले मानवीय जीवन र जीवनयापनलाई तहसनहस पार्छ । त्यही तहसनहस अवस्थाको कठिनाइलाई, अफ्ठ्यारोलाई, पीडालाई थोरै भए पनि सहयोगले सान्त्वना दिनु नै राहत हो । भौतिक होस् अथवा भावनात्मक यस्ता सहानभूतिले मानवीय उच्चताको पाठ सिकाउँछ भने पीडितलाई केही सहयोग मिलेको हुन्छ । पीडाको यही आहतपूर्ण अवस्थामा मानिसले खोज्ने राहत स्वरुपको वस्तु भनेको भावनात्मक र भौतिक सहानुभूति हो, जो भोकसँग लड्न चाहिने राहतजन्य वस्तुको अपेक्षा हरेक आहत पुगेकाहरूले गरिरहेका हुन्छन् । बोलीको, वस्तुको र विवेकको राहत नै दुःखीहरूका निमित्त आवश्यकीय सेवा बनेर आओस् भन्दै पर्खिरहेका हुन्छन् मानिसहरू राहतको रिमझिमे उज्यालो जुन रहर नभई बाध्यता हो । विश्वलाई आक्रान्त पार्दै रमाइरहेको कोरोनाले संसारमा महिनौँ राज गरिसकेको छ । २०२० जनवरी ३१ का दिन चीनको वुहानबाट संक्रमणीय चक्रको रुप धारण गरेर कोभिड १९ वैज्ञानिक नाम पाएको रोगले यतिबेला पूरै विश्व त्रसित र आतङ्कित बनेको छ । रोग र संक्रमणको फैलावट गतिवान वायुयानले बोकेर लगेको द्रुत “पार्सल” जत्तिकै बनेर घरघर भित्रिन पु्गेको अदृश्य रुग्णताका कारण संक्रमितहरुको संख्या दिन दुई गुणा रात चौगुणा बनेर फैलिरहेछ र विश्वले विहङ्गम विपत्ति बेहोरिरहेको छ । ठूलो संख्यामा मानिसहरू आहत भएका छन् र दिनानुदिन संक्रमितहरूको संख्या उच्च सूचाङ्कमा छ । विश्वका प्राय सम्पूर्ण राष्ट्रहरू कम तथा बढी कुनै न कुनै रुपमा प्रभावित छन् । अल्पविकसित र गरिव राष्ट्र र त्यसका जनता नै यसको मारमा बढी परेका छन् । हामी अन्योलमा छौँ । गृहबन्दीमा जीवनलाई सुरक्षित राख्ने उपायमा सारा संसार लकडाउनमा प्रयासरत छ । विश्व नै यतिबेला त्राहिमामको स्थितिबाट गुज्रिरहेको छ । सान, सौकात, धन, दौलत, व्यापार, व्यवसाय, उद्यमशीलता आदि सबै थाँति राखेर मानिसहरू आफ्नो जीवन रक्षा मै केन्द्रित रहन बाध्य यो समयले जीवनभन्दा ठूलो अरु केही हुँदो रहेनछ भन्ने पाठ सिकाउँदैछ । तर सबैभन्दा बढी पीडा मजदुर, गरिब, ज्यामी र दिनकै ज्यालादारी गरेर खाने भुइँमान्छेलाई पाइरहेका छन्, जोसँग परिश्रम र मजदुरी नै जिउने माध्यम थियो । सामान्यतया आम मानिसलाई पिरोल्ने भनेको आफ्नै मनोविज्ञान र भयले पनि रहेछ । अनुशासनका नियमहरू अवलम्बन नगर्दा, प्रकृतिलाई दुरुपयोग गर्दा, जीवनलाई अति कृत्रिम बनाउँदा मानव जीवनले दुःख पाइरहेका छन् । कोरोनाको उद्गम र फैलावटका अनेकौँ टिप्पणीहरू मानव निर्मित जीवाणु, मानव सभ्यतामाथि खेलबाड गर्ने कुचेष्टाले जीवाणुको निर्माण गर्\u200dयो अथवा मांसहार चिजबाट यसको उत्पत्ति भयो भन्ने जस्ता अपुष्ट र अडकलहरु । कारण जे भए पनि यसले मानिसलाई दुःखको घनघोर सागरमा डुबाइरहेछ र प्रतिपल मृत्युको आभाष गर्न बाध्य पारिरहेको यथार्थ छ । मानिसलाई आफ्नो औकात चिन्न बाध्य पारिरहेको यो समयले घमण्डीलाई शालिन, क्रुर मान्छेलाई दयालु र स्वार्थीलाई दिनहीनप्रति सेवा भावना र बलवानलाई मृत्युचेत जागृत गराएर पीडाप्रति करुणा उत्पन्न गराइरहेको छ । जस्तो कि देवकोटाले आफ्नो पहिलो कविता “घनघोर दुखः सागर संसार जान भाइ, नगरे घमण्ड कहिले मर्नु छ हामीलाई” भने झैँ कोरोना कोभिड उन्नाइसले बीसमा उत्पात मच्चाइरहेछ र जीवन र मृत्युको मध्यमा कतिदिन अन्योल बहोर्नु पर्छ अझैसम्म यकिन छैन । राहत वितरणका लागि तयार राखिएका खाद्य सामग्रीहरू हुनेखानेलाई विपतले थोरै अत्याउला तर हुँदा खाने, कमाएर खानेलाई विपदले पीडा दिन्छ । विपदको घडीमा सुखानभूति को सानो झिल्को नै राहत हो, जो चिसो अथवा सर्दीबाट उन्मुक्तिको लागि गर्मी अर्थात न्यानो, प्रचण्ड गर्मीमा शीतलता, त्रासको अपेक्षा अनुराग, अभावमा मिल्ने सम्पत्ति हो भने भोकको लागि भोजन । हरेक जीवले आफ्नो अवस्था अनुरुपको जीवन यापन गरी नै रहेका हुन्छन् कतिलाई गराइरहेको हुन्छ । हाम्रो इतिहास परोपकारमय छ । हाम्रा शास्त्रीय मान्यताहरुलाई हेर्ने हो भने पनि मानिसले आफू भोजन गर्नुपूर्व भूमि, देवता, गाई, काग, कुकुर आदिलाई खुवाउने र छुट्याउने प्रचलन अझै छँदैछ । साधु, गरिब र दीनदुःखीलाई भोजन गराउनु, सतपात्रलाई दान दिनु आदि कर्म हाम्रा सनातनीय कर्म मात्र होइनन् अपितु यो सेवा हो र प्राणी मात्रको पूजा हो भन्ने कुरा चेतनशील प्राणी मानिसले बुझेका छन्। यिनै मान्यता र चेतनाका कारण मानिसहरू सेवा, परोपकार र पुण्यका कर्ममा कुनै न कुनै रुपमा जोडिएर खटिएका भेटिन्छन् र मानवीय उच्च संवेदनालाई प्रमाणित गरिरहेका छन् । सबैभन्दा ठूलो परोपकारमयी त प्रकृति छ, प्रकोप अपवाद छोडेर । जस्तो कि नित्य निरन्तर उदाएर सूर्यले परोपकार गरिरहेको हुन्छ । अविरल, अविराम नदिले आफ्नो प्रवाहमार्फत सेवा पुर्\u200dयाइरहेको छ । गाई सधैं साधु बनेर मानवीय रक्षा र हितका निमित्त अमृत बगाएर सेवारत छ । प्रकृतिका हरेक कणबाट नै जीवनको अस्तित्व छ त्यो मानवीय जीवनका लागि प्रकृतिको निश्वार्थ परोपकार हो । सेवा र परोपकारका थुप्रै शाश्वत चिन्तनद्वारा नै मानिसको शरीर पनि परोपकार र सेवाको निमित्त हो भन्ने भावना कुनै न कुनै प्रकारले मानिस भित्र कहीं जागृत त कहीं सुषुप्त भएर रहेकै हुन्छ । उल्लेखित दृष्टान्त भन्नुको तात्पर्यसँग वर्तमान समय र प्रकृतिले निम्त्याएको नियति र कोरोना कहर त्यसको जहरले दिएको पीडासँग जोडिएको छ जो मृत्युसँग भन्दा भोकसँग त्रसित छन् । गुडान, उडान र जलायान सबै सबैले विश्राम लिन बाध्य यो समयमा अस्पताल र स्वास्थ्यकर्मीलाई चर्को व्यस्तता छ जीवनलाई दाउमा राखेर मानवीय सेवाको नाउँमा खटिइरहेका छन् त्यो सेवा नै हो । सम्पन्न मुलुकले गरिब मुलुकलाई औषधि, परीक्षण सामग्री उपलब्ध गराएको छ त्यो पनि सेवा अथवा राहत हो । बन्दाबन्दीमा टाढाटाढासम्म हिँडेर गैरहेकालाई खाना, पानी जुत्ता थोरै भए पनि गाडीको सेवा त्यो पनि राहत हो । एक किसिमले भन्दा अफ्ठयारोमा परेकालाई सुगम पार्न सहयोग गर्न नै त राहत हो यो नितान्त सेवा भावसँग जोडिएको छ । आज कोरोनालाई मानव विनासको प्रादुर्भाव नै भन्दा पनि फरक नपर्ने यो पट्यारलाग्दो समय गृहबन्दीमा छ । मानिसले उपभोग गर्ने वस्तु या नगदको संचय वा मौज्दात निश्चित समयका लागि गरेका हुन्छन् । दैनिक या मासिक आयका भरमा जीवनयापन गर्ने परिपाटीका मान्छेहरू थुप्रै छन् यो विश्वमा । दैनिक ज्याला मजदुरी गर्नेको अवस्थालाई चित्रित गरेर लेख्ने हो भने यही विषयको मात्र थुप्रै अध्यायहरू बन्छन् । कोरोनाले अस्तव्यस्त यस समयमा, गृहबन्दीको विवशतामा आम मानिसले भोगिरहेको अभावलाई हरेक देशले आफ्नो हैसियतअनुसार राहत वितरण गर्दैछन्, त्यो पनि सेवा हो । राहत दिनसक्ने धनी मनहरुले आफूले सक्ने सेवा गरिरहेका छन्, दिन नसक्ने ले सान्त्वना र श्रमले सेवा पुर्\u200dयाइरहको यस्तो पुनित कार्यको प्रसंशा जति गरे पनि कम हुन्छ । समय धमिलो छ । अन्योल समयको मध्यमा म स्वयं कोरोनाका विविध समाचार श्रव्य र दृश्यका खैरा, फुस्रा, काला, ध्वाँसे र मलिन रङहरूमा रङ्गिएको छु । कतै समाचारमा, कहिले सामाजिक सञ्जालमा, कहिले मानवीय सेवा र सद्भावमा त कहिले आफ्ना र आफन्तका दूरभाष सम्वादमा मेरो उपस्थिति र सहभागिता हुने गरेको छ । यतिबेला कोरोनासँग हारिरहेको वैज्ञानिक युगको सामना गर्दैछ संसार । जीवन ठप्प छ र रोग मात्र समयकै हाराहारी भएर दौडिरहेको छ । मानिसहरू भुसुनासरह मरिरहेको यो दुःखद घडीमा पुर्\u200dयाएको सेवा, सुविधा, सम्वेदनशीलता, तदारुकता र राहत सम्झन्छु, सम्झदा सम्झदै नाटकको एउटा पात्रका रुपमा धिक्कार्नुको भूमिकामा आफू उभिएको अनुभूति गर्छु र केही गरौँ न भन्ने अभिप्रायले प्रेरित हुन्छु । सबैभन्दा ठूलो दुःख गरिब हुनु त्यसमाथि विपत्ति आइलाग्नु । गरिबका विवशताले सधैँ चिमोटिरहने समय । दिनकै कमाएर खानपर्ने मानिसले बन्दाबन्दीमा कसरी सास राख्ने होला, बालक, वृद्ध, रोगी, असक्त, असक्षमहरुले त झन कसरी ! यस्तो विषाक्त समयमा मानिसको जीवन जोगाउनु र दुःखबाट छुटकारा दिलाउनु नै त मानवीयता हो । थुप्रै राष्ट्राध्यक्षहरू, राष्ट्र प्रमुख, शासक, प्रशासक यतिबेला भोकसँग लडिरहेका मानिसहरूलाई राहत दिने कार्यक्रम र अभियानमा संलग्न र सरिक छन् । मेरो सम्वेदनशीलताले केही सेवाको काम गरौं भन्ने सोचिरहेको थियो । मानिसको शरीर भोजन बिना चल्न सक्दैन । भोजनको अभावमा रोगसँग लडने क्षमता पनि हुँदैन । भोक र भित्ताको चिन्ता दैनिक ज्यालामजदुरी गर्ने र विपन्न वर्गलाई नै बढी हुन्छ । केही जुझारु युवा तथा समाजसेवीहरू संलग्न भएर दैनिक गुजारा चलाउन मुस्किल भएका मानिसहरूलाई भोजन व्यवस्थापन गर्ने कुरा अगाडि बढायौँ । मानवअधिकारकर्मी गुनराज प्याकुरेल भाइको क्रियाशीलता र समन्वयमा स्थानीय युवा क्लब तथा केही सामाजिक संघसंस्था पुण्य कर्ममा जुट्यौँ । प्रारम्भमा बयानब्बे जनाबाट सुरुवात भएको राहत स्वरुपको भोजन खानेहरु सङ्ख्या बढदै गएर चार सय सैंतीससम्म पुग्यो र अहिले निरन्तरतामा छ । उदारमना केही व्यक्ति र स्वामी चैतन्य कृष्ण प्रणामी ट्रष्टले खाद्य सामाग्री र थुप्रैले गरेको तन, मन, धन र श्रमको मूल्य नै भोजन राहतको सौन्दर्य थियो । खाना खुवाउने सबैको सन्तुष्टि नै भोजन राहतको सुन्दर पक्ष बन्यो । यस्तो बेलामा यति उपकारी कर्ममा सहभागी हुनसक्दा आफूले खान पाइरहेको अवसरप्रति धन्य लाग्छ । युगगुगान्तदेखि हाम्रा शास्त्रले भनिरहेछन् ‘सेवा हि परमो धर्म ’ आज धन्य लाग्छ र अझै बढी केही गर्न पाए हुन्थ्यो भन्ने भावनासँग जहाँ हरेक दिन साथीहरु खना बनाउँछन् उत्साह भरेर । हावा, हुरी, पानी केहीले छेक्न सकेको छैन, रोक्न सकेको छैन र पुर्\u200dयाउनलाई बाँध हाल्न सकेको छैन । ती अन्नका दानाभरी अभावमा भोकै रहन बाध्य मानिहरुका लागि जीवनदान देख्छु म । अनि जब थरीथरी मानिसहरु मात्र बाँच्नका लागि खानाको लाइनमा बस्छन्, बूढाबूढी केटाकेटी, रोगी, असक्त अनि मन भरभराएर आउँछ, मन मनसँगै संवाद गर्छ परोपकारको इतिहास मानवीय सभ्यताको सन्चालन हो । परोपकार भन्दा ठूलो धर्म केही छैन । अनि जब मुस्कुराउँछ खाना समाएर पीडित त्यहाँभन्दा आनन्द लाग्ने मुस्कानको सौन्दर्य अर्को भेटदिनँ म । सेवा त संसारको सर्वोत्कृष्ट सौन्दर्य रहेछ मलाई त्यस्तै प्रतित हुन्छ । राहतले दिने भनेको खुसी नै हो जो निस्वार्थ हुन्छ । अन्योल समयमा कसरी बाँच्ने भन्ने अवस्थामा एकछाक खान पाउनु शरीरमा प्राण हाल्नु नै हो भन्ने लाग्छ जस्तो कि रोइरहेकालाई फकाउनु, दुखिरहेकालाई सुम्सुम्याउनु लडेकालाई उठन प्रेरित गर्नु । तथापि स्थानीय, प्रदेश तथा अन्य ठाउँमा प्रचारे समाजसेवीहरुले राहत वितरण गरेको दृश्य यो लेखकका लागि आहत नै बन्न पुगेको छ । एउटा सानो राहतको थैलो दिनेको भिड मानौ वैतर्णी तर्न गौ दानको दुनु समाते होस् । यस्तो देख्दा मानवताको खिल्ली उडाएरहेको प्रतीत हुन्छ । किनकि मानव सेवा त मानवीय संवेदनशीलताको समीप पुगेर जीवनयापनमा सहयोग गर्नु हो मानवीय विवशताको खिल्ली उडाउनु होइन । यस्ता दृश्यहरुले मानवीयता हराउँदै गएको चिन्ता उत्पन्न हुन स्वभाविक हो । बेसहाराहरुको सहारा राज्य हुनपर्ने हो । व्यवस्था त राज्यले नै गर्नुपर्ने हो तथापि कति अवस्थामा राज्य कर्तव्यविहीन र जनता अधिकारविहीन भएको आभास नभएको होइन । तर कुनै पनि राहत वितरणको चरणले राहत आवश्यकता कि राजनीति भन्ने अनुभूति पनि गराइरहन्छ । सामाजिक सञ्जालमा मुस्कुराइरहेका यस्ता सामग्री हेरेर आफैँलाई चिमोटन सिवाय केही छैन । २०७२ साल को विनाशकारी भूकम्प पश्चातका राहतले कतिपयको जागिर गुम्यो । कति अझै अख्तियारमा तारिख धाइरहेका छन् । राहत सामग्रीको गुणस्तरीयता सम्बन्धी मापन र गुणस्तरहीन वस्तुको खिल्ली उडाउने काम अझै जारी छ । त्रिपाल, जस्तापाताका अतिरिक्त खाद्यान्न राहतको रोइलो अझै सुनिदै छ । भूकम्पमा आफैँ संलग्न भएर जस्तापाते “टनेलघर” निर्माण गरियो, कतिले साँच्चै राहतको अनुभूति गरे कतिले गाईगोठ बनाए । अनावश्यक रुपमा पनि निःशुल्क पाएको राहतलाई चुकै भए पनि खानु पर्छ भनेर ग्रहण गरे । एक ठाउँमा राहत वितरण गर्न जाँदा त चिउरा त खाँदैनौँ चाउचाउ भए दिनोस् भनेको सम्झना कानमै छ । राहत चाहिनेलाई तात्कालीन जीवनयापनको सामान आवश्यक कि वस्तुको रोजाई भन्ने कुरा यतिबेलासम्म बुझ्न सकिएको छैन । यो भनाइको उद्देश्य विगतको विकृति नदोहोरियोस, राहत कसका लागि आवश्यकता छ, त्यही आवश्यकतासम्म पुगोस् भन्ने हो, जसलाई रोजाई होइन, पाउनु ठूलो कुरा बनोस् । खोला, खोल्सी, खोच र खमारे वनको सेपिलो भागतिर हिउँदे याममा कुहिरोले नछोडे जस्तै यतिबेला कोरोनाको कुहिरोले विश्व सङ्कटकालमा छ । लाखौँ मानिसलाई आफ्नो शिकार बनाइसकेको कोरोनाले अझै पनि त्रास र सन्त्रासका बीचमा मानवीय जगतलाई रुमल्याउँदै छ । संक्रमणको भयावहतासँगै खान नपाउनेहरुको पेट भोकले कोतरिरहेको छ । राहतको पर्खाइमा छन् साँच्चै चुल्हो नबल्नेहरू । कति मान्छे आवश्यकता बिना पनि राहत सामग्री संकलनका निमित्त लामबद्ध छन्, निःशुल्क अनुदाने राहतको लाइनमा । साँच्चै राहत आवश्यक पर्ने मान्छे र परिवार राहतविहीन छ, पहुँचविहीन छ । बाँच्नलाई अफ्ठयारो परेको यो अवस्थामा मानव सेवा नै ठूलो धर्म हो । आवश्यकताले रन्थनिएको मान्छेलाई थोरैतिनै आवश्यकता पूर्ति गर्नु नै त हो मानव सेवा, त्यो बिरामीलाई होस्, खान नपाउनेलाई होस्, लाउन नपाउनेलाई होस् अथवा गाँस, बास, कपासको होस् । मन्दिर, मस्जिद, चैत्य, गुम्बा सबका सब ईश्वर बन्दी रहेको यो अवस्थामा मानव नै ईश्वर हो भन्ने कुरा सेवाभाव तथा परोपकारले प्रमाणित गर्दैछ । एक मानवलाई अर्को मानवप्रति पैदा हुने संवेदनशीलता नै वा करुणा नै मानवता हो । मानवता नै ईश्वरको रुप हो र राहत पनि मानवता अर्थात् ईश्वरीय कार्य हो । गाउँ, टोल, बस्ती, शहर, देवालय, शिवालय, चर्च, मन्दिर, मस्जिद लगायत सामाजिक संघसंस्था र व्यक्तिहरू जो मानवताको ज्ञान भएका छन्, उनीहरु मानवीय सेवा र भोजनका लागि खटिएका छन् । खान नपाउनेहरू कहीं न कहीं पुगेर जो मिलेको खाएर कोरोना जित्ने आत्मबल सङ्गालिरहेका छन् । नराम्रो त त्यतिबेला लाग्छ, जब कोरोना कहरका यावत वस्तुको खरिद, औषधी, उपकरण, सुरक्षा सामाग्री आदिको कमिसनको राहत थुपार्न व्यग्र मान्छे नै हुन्छ र धिक्कार स्वतः निस्कन्छ यो नश्वर जीवनको उपहास गरेको देख्दा । संसार यस्तै छ । कोही मरिरहेका छन् । कोही मरेकाहरूलाई अझै मार्न उद्यत छन् भने कोही दिनरात कसरी जुटाउने र पीडित समक्ष पुर्\u200dयाउने भन्ने चिन्तामा ग्रस्त पनि । राज्यको मुख ताकेर बस्दाबस्दै गरिबको बेहाल भैसक्छ । हाम्रा राहत योजनाहरू कति प्रभावकारी, कति लक्षित वर्ग केन्द्रित र कति उपलब्धिपूर्ण छ र छन् भन्ने कुनै आंकलन र लेखाजोखा छैन। माथि उल्लेख गरेका राहतसम्बन्धी प्रतिनिधि घटनाजस्ता भोगाइहरू थुप्रैसँग हुन सक्छन् । सबैतिरबाट वर्तमान समयमा वितरित राहत र सरकारले पु्र्\u200dयाएका राहतजन्य सेवाको विवेचना गर्नै पर्दछ । सधैं हामी विपत्ति कोष निर्माण गर्छौं, रकम जम्मा गर्छौं, आखिर पाउनु पर्नेले राहतमा के पायो भन्दा केवल आश्वासन भन्ने जस्तो भएको छ । कोरोना कोष के का लागि र कसले के कस्तो राहत, सेवा, सहयोग र सुविधा पायो भन्ने प्रश्न कालान्तरमा पनि ज्यूँका त्यूँ नरहला भन्न सकिन्न । कोरोनाको विपत्ति टरेर जाओस् । राहतको रोइलो भोलिका दिनमा देख्न, सुन्न र भोग्न नपरोस्। राहत वितरण र प्राप्तिका लागि अदालतको ढोका पुग्न नपरोस् । सरकारका नाममा अन्तरिम आदेश जारी गराउन नपरोस् । यो हामी सबैको सदिच्छा हो । एकान्तबास, गृहबन्दी वा बन्दाबन्दी जे भनौं, हामीले चाहेर स्वीकारेका होइनौँ । यो बाध्यताको उपज हो । राहत रहर होइन, बाध्यता हो । रहरले राहत संकलन गर्ने र लिनेहरुलाई लायकका नायक भन्न मिल्दैन । विशुद्ध सेवाभाव जागृत गर्ने र गराउने सोच, शैली र संस्कृतिको विकासमा स्वयंले आत्मानुसाशनको नियम पालना गर्नु पर्दछ यस्तो दुखद् घडीमा । राहतमा राजनीति नहोस् । राहतको रोइलो विपत्ति, महामारी र अनिकालहरूमा रीति र रिवाज बनेर नआओस् । पटक पटक भोगेका राहतसँग सम्बन्धित घटनाक्रमले सिकाओस् कि राहत आवश्यकता हो, रहर होइन । अन्योलको यस घडीमा जसले जहाँबाट जे गरेर सहयोग गर्न सकिन्छ, त्यो गर्नुपर्छ । यस विपदको घडीमा भोकले कोही मर्न नपरोस् । राज्य त छँदैछ, व्यक्तिगत, समूहगत रुपमा मानवीय सेवा तथा उद्धारको परिणामले आँखाका आँसुहरु पुछिऊन्, भोकका ज्वालाहरु शमन हुन्, दुःखेकाहरुले सान्त्वना पाऊन् र लर्बराउँदै भए पनि जीवन उठोस् । जसले जे गर्न सक्छौँ त्यही गरौँ, जहाँबाट सकिन्छ त्यहीँबाट गरौँ । सेवा नै परमधर्म हो, मानव धर्म नै सबभन्दा ठूलो धर्म हो । यो संसारको सर्वोत्कृष्ट जीवनको सम्मान वा रक्षा साना साना सहयोग वा सेवाभावबाट सम्भव छ भने हामी सक्नेले अगाडि सर्नै पर्छ । संसारको सौन्दर्य मानवलाई मानवताका हरेक कार्यबाट अझै सुन्दर बनाउन सकिन्छ । सेवाभावले, सेवाकार्यले यो अफ्ठयारो समय सहज बनोस् । अभाव र आवश्यकताका पूरक बनेर आउने राहत मुस्कान बनोस्, रोइलो होइन । #ऋषव देव घिमिरे #कोविद १९ #राहत
दृष्टिविहीन साथीको मनोहर कथाः तेस्रो आँखा: यसपालि होइन, योभन्दा अघिल्लो छुट्टी जानु अघि नै एक दृष्टिविहीन भाइसँग परिचित भएँ म। त्यो पनि सामाजिक सञ्जालमार्फत। भएको के थियो भने, तिनताका म दसैँमा घर जाने सुरमा थिएँ। हरेक परदेशी घर जाने दिन नजिकिदै गर्दा उसलाई दिनहरू लामा लाग्न थाल्छन् । घडीको सुई कति ढिलो घुमेको जस्तो लाग्न थाल्छ। अरू सामान्य बेला भन्दा क्यालेन्डर पनि अलि बाक्ले हेरिन्छ। केहीले त क्यालेन्डरमा दैनिक गोलो घेरो लाउने गर्छन् ताकि बिस्ताराबाटै थाहा होस्, आज कति गते हो। त्यस्ता घेरा देख्दा मार्नु जस्तो हुन्छ मलाई चाहिँ। मनोरोगीहरू नै हुन् कि जस्तो पनि पनि लाग्छ। त्यो बेला म भने फेसबुक बाक्लै हेर्छु। कतै अफर लागिरहेको हेर्न र कुन-कुन साथीहरू छुट्टी मनाउन कहाँ जाँदैछन् भनेर जान्न। यही उपक्रममा मैले फेसबुकमा एउटा पोस्ट देखेको थिएँ। जुन काठमाडौँ बसाइमा भेट भएको मेरो साथी उत्तमको थियो। उसको पोस्टको आशय थियो… गाडी भाडा नभएर दसैँमा घर जान वञ्चित एक अपाङ्ग । त्यस्तो कारुणिक पोस्टले मेरो मन कति छिटो पग्लियो पग्लियो ! कमेन्टमा मैले ‘मबाट हजार रुपियाँ’ लेखिदिएँ। र, म घर आउँदै गरेको र भेटेर पैसा दिने वचन पनि दिएँ । लाग्यो, मेरो हजार रुपियाँले कसैले आफ्ना बा-आमा अनि परिवारको साथमा बसेर दसैँ जस्तो पर्व मनाउन पाउनु मेरा लागि दस गाई दान गरेको बराबरको धर्म हो। यस्तैमा एउटा रेडियो प्रोग्राममा मैले अर्को मनकारी चन्दादाताको नाम सुनेँ, अन्तर्वार्ता सुनेँ। सहयोगकर्ता नै दृष्टिविहीन, त्यो पनि विद्यार्थी! आफैँ जागिर गर्ने र पढ्ने । भलै उसका दाइहरूको काठमाडौँमै घर रहेछ तर ऊ भाउजू र परिवारका अन्य सदस्यको करूणा-पात्र नबनी आत्मनिर्भर जिन्दगी रोजिरहेको रहेछ । ऊ थियो नेपालको पूर्वी पहाडी जिल्लाको र मेरो फेसबुके साथी या भनौँ भाइजस्तै साथी… जीतबहादुर राई । अन्तरवार्ता सुनेपछि मलाई जीतबहादुरलाई भेटौँ भेटौँ लाग्यो। यसपछि मैले जीतबहादुरको फेसबुक खोजेँ । नभन्दै भेटियो। मैले त्यहाँ उनको कोमल मन र सहयोगी भावनाको फेसबुकमा मुक्तकण्ठले प्रशंसा गरेँ । सायद मेरो शब्दले ऊ झन् पग्लेछ क्यार! साथी भैहाल्यो। यसरी मेरो जीवनमै पहिलो दृष्टिविहीन साथी बन्न पुग्यो । सितिमिति सबलाङ्गहरू आँखा हुनेहरू दृष्टिविहीन तथा निकलाङ्गलाई साथी बनाउन हच्किन्छन् । के तपाईं आँखा हुनेहरूका त्यस्ता दृष्टिविहीन साथीहरू छन्? छन-छैनन् वा छन् पनि छैनन् पनि। यसअघि पनि मेरो अवस्था त्यस्तै थियो। ऊ आफैँ दृष्टिविहीन, भाडामा बसेर आफैँ जागिर गर्ने र जिन्दगी गुजारा गर्ने उसको उच्च मनोबल देखेर म भावविभोर भएको थिएँ । ऊ गीतसङ्गीतको सौकिन रहेछ। वाद्यवादनको पनि राम्रो ज्ञान भएको र ब्रेललिपिमा एमएसम्म गरेको तथा बौद्धिक पनि रहेछ। मेरो नयाँ साथी सेतो लौरोको सहायताले जीवनका हर गन्तव्यको पाइलो नाप्छ। ऊ यस्तो मनकारी कसरी भयो होला? ऊ कसरी दानवीर भयो होला? मेरो त्यही कौतुहलले ऊ मेरो मनको नजिक भएको थियो। मैले देखेका प्रायः दृष्टिविहीन कि त बाटोमा माग्न बसेका हुन्थे कि मन्दिरमा पछ्यौरा बिछ्याएर भोकको उपचार खोज्न बसेका हुन्थे। ऊ भने त्यस्तालाई दिने खालको मानिस रहेछ। बसहरू, बसपार्कहरू या फेरि आफैँ जीवनबाट हीनताबोध गर्दै गाउँमा नारकीय जीवन जिएका कति छन्, अरूको कृपामा बाँचेकाहरू। मैले देखे-भोगेभन्दा भन्दा बाहिरको मान्छे लाग्यो मलाई। यसपछि त के थियो र, हाम्रो वार्तालाप बाक्लिदै गयो । ऊ मलाई आफ्नै सहोदर दाइ जस्तो गर्थ्यो, गर्छ र म उसलाई पनि कुनै भाइ भन्दा कम देख्दिनँ। त्यसरी मसँग चिनजान भएको साथी मलाई पनि भेट्ने रहर थियो । ऊ पनि भेट्नु पर्छ दाइ भन्थ्यो। ऊसँग भेट्न र गफिएर जान्न मलाई कस्तो उत्सुकता थपिएको थियो, अचम्मको! सायद तपाईंहरू भए त्यो हदको मित्रता कुनै दृष्टिविहीनसँग गर्नुहुन्थ्यो हुन्नथ्यो वा गरे पनि एउटा औपचारिक सम्बन्धबाहेक बढी हुँदैनथ्यो कि ? अपवाद त जहाँ पनि हुन्छ । अब कुरा ममा मात्र सीमित रहेन । उसले मेरी पत्नीसँग पनि सम्बन्ध बढायो फोनमार्फत्। जीतसँग पहिलो पटक गफ गरेको दिन पत्नीले भनेकी थिइन्, ‘कति मीठो बोली यिनको त! को हो नि बूढा ?’ मैले जीतको पूरा परिचय दिइनँ, भनेँ, ‘काठमाडौँको साथी।’ ‘कस्तो मीठो बोल्ने ! देवरै जस्तो,’ पत्नीको प्रतिक्रिया थियो। एउटी भाउजूले देवर पनि होस् भन्ने चाहन्छे। मेरी पत्नीको मनोविज्ञानले मेरा आफ्नै नजिकका भाइहरू नहुँदा उसको मनमा देवरको कति ठूलो अभाव रहेछ भन्ने महसुस गराएको थियो । भाइ अभावको पूर्तिसमेत जीतले गरिदियो । त्यसैले एक दिन कामको सिलसिलामा काठमाडौँमा रहँदा म जीतलाई भेट्न चाहन्थेँ । त्यसैले उसलाई फोन गरेँ । उसले लोकेसन बतायो । सोही लोकेसन पछ्याउँदै म ट्याक्सीमा उसले बताएको ठाउँमा पुगेँ । अचम्म, ट्याक्सीबाट झर्न नपाउँदै उसले मेरो नामले बोलायो। अरू ट्याक्सी पनि त्यहाँ आउने जाने रोक्किने भैरहेका थिए। ऊ दृष्टिविहीन भएर पनि उसले मेरै र मै चढेको ट्याक्सी चिन्नु र म कता पट्टिको कुन ढोकाबाट झर्छ भन्ने अन्दाज लगाउनु दैवीशक्ति जस्तो लाग्यो। मैले ऊसँग अंकमाल गरेँ र भनेँ, ‘यस्तो राति किन कुरेर बस्नु परेको जीत भाइ? म पत्ता लगाइहाल्थेँ नि!’ उसको प्रतिउत्तरले मलाई झन्झनाहट भयो, उसले भनेको थियो, ‘दाइ, मलाई के दिन? के रात? सबै एकै त हो!’ जिन्दगीमा म आँसु नखसाई रोएको त्यही रात मैले घडी हेर्दा रातिको साढे दस बजिसकेको थियो । त्यो दिन मैले अचम्म देखेँ, उसैले खाना बनायो। मेरा लागि भनेर भक्तपुरबाट हिँडेरै कोटेश्वर पुगी धराने बंगुर ल्याएको सुनायो । खाना खाएर गफिदै उसको गायकीको रसाश्वादन गर्दै सुत्दा दुई बजिसकेको थियो । लामो समयदेखि फोनमा गफिएको जीत भाइसँग भेट्ने रहर पूरा भएको थियो र भोलिपल्ट बिदा हुने बेला निकै असहज महसुस भइरहेको थियो। मेरो मनको भाइलाई केही उपहार दिऊँझैँ लाग्यो तर के दिनु ? मसँग भएका कपडा उसलाई ठीक हुँदैनथ्यो । कपडा किन्न जान पनि त्यो डेराबाट अलि टाढै थियो। आफैँसँग के छ भनी टटोल्दा एउटा घडी देखेँ, जुन मेरो नाडीमा टाँस्सिइरहेको थियो। अनि मैले घडी फुकालेर उसलाई सम्झनास्वरुप दिएँ। उसले भन्यो, ‘दाइ मसँग एउटा राम्रो टि-सर्ट छ, तपाईंलाई ठीक हुन्छ होला ।’ चाहिँदैन भन्न खोज्दै थिएँ, उसले यसरी हात समायो कि तीजमा युगौँपछि माइत आएकी छोरीलाई कुनै आमाले कुराउनी पोको पारेर दिएजस्तै गरी टि-सर्ट थमायो। छोरीले आमालाई हे आमा पनि….के को टन्टो होला.. पर्दैन भनेको जस्तो कस्तो कस्तो मेरो घाँटीबाट निस्कियो तर मुखबाट निस्कन सकेन । शायद शब्द नै भेटिएन, भन्न। यसपछि बिदा त भएँ तर मनले भनिरह्यो, वाह जीत भाइ, तिम्रो स्वाभिमानी जीवन! वाह, तिम्रो आत्मियता! वाह, तिम्रो संसार हेर्ने तेस्रो आँखा! #दृष्टिविहीन #मित्रता #सामाजिक कथा
दम्भको उचाई: पुस्तौंदेखि चलिरहेछ अस्तित्वको एक भयानक युद्ध ! न यता न उता जस्ता नाता गोताहरू जाताततै छन् र, जिस्क्याइरहन्छन् बेला बेला । तिनीहरूलाई लाग्छ हामीसँग तिनीहरूको दम्भ भङ्ग गर्ने कुनै भेद छैन । उनी बिर्सिन्छन् हामी त आमाको गर्भबाटै गर्व बोकेर आएका मान्छे । हामी नजन्मिदै यहाँ जन्मिसकेको थियो स्वाभिमान । हाम्रो आँखा नखुल्दै बुद्धले खोलिसकेका थिए सत्यको आँखा हामीले नकराउँदै बन्द गरिसकेका थिए अशान्तिको मुख । ति नातेदार जस्ता देखिने नाट्यदारले सधैँ सबै मेरै हो भनिरहे । बुद्ध आफ्नै भने सीता आफ्नै भने मधेश आफ्नै लिपु आफ्नै धुरा आफ्नै टिष्टा देखि कांगडासम्म माटोदेखि पानीसम्म जवानदेखि जवानीसम्म सबै सँधै आफ्नै हो भनिरहे । उसलाई यो पनि आभास छैन कि जुन सागरको नुन उसले खाइरहेछ त्यसमा पनि हाम्रै पुर्खाको पसिना मिसिएको छ । उसलाई त आफ्नो सिमाना बचाउन समेत हामी नै चाहिन्छौं अनि, किन उसले हाम्रो सिमानामा नानाथरी गरिरहन्छ ? होलान केही उसले बजाएको बाँसुरीमा नाच्नेहरू तर, अब धेरै बेर छैन उनीहरूलाई रिङ्गटा लाग्न उसले सत्तामा खुवाएको भत्ताको पत्तासाफ हुने बेला हुँदैछ स्मरण रहोस उसलाई नियालिरहेछ सागरमाथाले संसारका सबै अग्ला मनमानीहरू र, पर्खिरहेछ उग्रताको चरम सीमा ताकि भत्काउन सकोस ति दम्भहरूको उचाई । #दम्भको उचाई #प्रचण्ड भाष्कर
लघुकथा:\xa0फूलको\xa0गमला: म एक दिन गिजुभाइको पात्र रिन्छेनको घर पुगेपछि: उसले फूलको बिरुवालाई पानी दियो । पातहरू पुछ्तै हेर्यो । हरिया चिल्ला देखेर खुसी फुरायो । ढोकानेर पुगेर फेरि फर्क्यो । मिसले स्कुलमा ‘फूल सार्नु’पर्छ भनेको सम्झिरह्यो । फेरि घरभित्र छिर्यो । झ्यालबाट फेरि फूललाई हेर्यो । ‘मैले हालिदिएको पानी कति छिटो खाइसकेछ फूलले’, भनेर सोच्यो । उसले खोजेको पात्र ढोकामा अझै आएन, जसलाई उसले देखाउनु थियो आफूले सारेको फूल । फेरि फूलसामु गयो । फूल निकै खुसी भएको महसुस गर्यो । मुसार्यो । हाँस्यो । गमलानेर पोखिएको थोरै मल गमलामै राख्यो । उसलाई लाग्यो, अब फूल हाँस्यो । साँझपरिसक्यो, तर ढोकाले उसको मान्छेभित्र छिराएन । ऊ कुर्दाकुर्दै रात परेपछि यसै निदायो । भोलिपल्ट बिहानै उठ्यो । उसले फूल देखाउन भनेर उनलाई बोलाउन गयो । उनी जग्गाको बैठक भनेर बिहानै उठेका रहेछन् । उसले बलजफ्ती गरेर उनलाई फूल सारेको ठाउँनेर पुर्यायो । उसलाई अचानक रिंगटा लागेजस्तो भयो । आफूले सारेको फूल देखाउन चारै बजे बिहान ब्युँझिएको रिन्छेनले बिहानिबहानै सुनेको भ्रमजस्तो आवाज सम्झ्यो, ‘यस्तो झारपात कसले सारेको, लगेर फालिहाल ।’ ‘होइन, होइन ! बाबुले सारेको, नफाल्नूस् ।’, फूलको गमला फुटाउने उसकै बुवा रहेछन् । उनले त्यही रात जग्गाको ठगीधन्दामा पुलिसले पक्राउ गरेको सपना देखेका रहेछन् । रिन्छेन फुटेको गमलानेर बसेर ‘सरी बाबा अब फूल सार्दिनँ’ भन्दै बरबराइरहेको थियो । म सोच मग्न हुँदै घर फर्कें, र गमलामा फूल सार्नथालें । (मैले फूल सार्न लागेको ठाउँमा एक पाठक आएर सुझाउँदै थिए, ‘म भएको भए सानासाना नानीबाबुहरूलाई उत्साहित गर्न पक्का पनि ‘कति राम्रो फूल, कति राम्रो काम’ भन्थें, अनि आफ्नो तनाव बच्चामा खन्याउँदिनथें’।) जगन्नाथ पौडेल , भर्जिनिया
नछुने रगत: म नछुने नभएको भए कसरी जन्मिन्थ्यौ पितृसत्ताका अहङ्कार हो ? जन्मजात प्रकृतिले दिएको वरदान हो मेरो नछुनेहुँदा बग्ने रगत मेरा नछुनेमा बग्ने रगतका कारण तिम्रो उन्मत्त यौवन पुरुषोत्व जात र धर्मभन्दा माथि छ तिमीलाई सृष्टि चलाउन चाहिने शरीर हजारौँपल्ट ठडिएका छन्न निषेधका पिरामिड थान, धाम र मन्दिरमा जान तर मूर्ति कुँद्दा कुँद्दै नछुने भएका भएका कलाहरूका पवित्र भए मूर्ति र सजियो मन्दिर । सोच्यौ तिमीले अपवित्र तिनेरलाई ? आज एउटा प्रश्न छ मेरो पितृसत्ताका अतिवादी दासहरूलाई कि देउता र मन्दिर बनाउनेहरूको मुटुमा बहेको रगत र मेरो नछुनेमा बगेको रगतमा के फरक छ ? तिम्रा अतिवादी धर्मका पूजारीलाई कहिले गर सोधेका छौ ? कि बध गरी घाँटी छिनालेर पाषाण मूर्तिमा अर्पण गरेको रगत र नछुने रगतमा जात धर्म रङ के भिन्नता छ पूजारी ? तर यति चाहिँ ख्याल गर्नु तिमीले बर्जित गरेका मन्दिर र तिमीले पूजेका मूर्तिका भगवान् मेरा लागि निषेध भएपनि निषेध छैनन् मेरा ह्रदयका भगवान् जब कि म नछुने हुँदा मात्र आउँछन् मेरो दर्शन गर्न । कुसंस्कारका निषेधित पर्खालले यही रातो रङको नछुनेमा बर्जित भएका छन् मेरा चाडपर्वहरू लखेटिएको छ घरबाट डरलाग्दा निर्जन ठाउँमा । पशुका घाँटी रेटेर रगत चढाउनेहरूले निषेध गर्या छन् नछुनेहरूलाई यही दुई थोपा रगत चुहेका भरमा के भन्न सक्छौ ? किन उस्तैउस्तै भयो ? तिमीले देउता सिँगार्ने राता अक्षता र मेरो नछुने रगतको रङ ? रगतकै डल्लाको समागमबाट जन्माउने बाआमाको थाप्न पाइन आशीर्वाद मैले उत्सव र पर्वहरूमा । दश वर्षपछि भेट भएको भाइसँग तिहारमा सप्तरङ्गी टीका लाएर । पाइन हेर्न अन्तिम सास छाड्दै गरेकी हजुरआमालाई र बिदा गर्न पाइन नछुने हुन्छे भन्दै बिहे गरेर पठाएकी बहिनीलाई । ताता रगतका फाल्साहरूमा पाइन कहिल्यै हाँस्न आमाको नैसर्गिक वरदान ठानेर । भन ए ! धर्मका चिन्तक हो ! के तिमीले सोध्यौ कहिल्यै आमालाई नछुने हुँदा र म जन्मिँदाको रगत उस्तै थ्यो आमा ? अनि यो पनि सोध बा ! आमा नछुने नभकी भए जन्मिने थियौँ हामी ? भन ए ! आवरणमा समता ओढेर रगतको जात र धर्म छुट्याउने नरपशु हो । राता रगतमा मुछिएकी नछुने माथि रातभर कति पटक थिचेर स्खलित वीर्य लतपतिएर कट्कटिएको दाग लिङ्गले अर्को दिन बिहानै किन रोकेनन् मन्दिरका देउताले दर्शन ? किन छेकिएनन् उसका रहर र उत्सव ? किन पल्टाइरहेको हुन्छ गीता पाठ ? कि दुही रहेको हुन्छ गाई ? किन बनाइरहेको हुन्छ पञ्चामृत ? किन बाँचिरहेको हुन्छ ऋचा ? किन पवित्र हुन्छ उसको शरीर ? अनि किन बर्जित हुन्छ म नछुनेलाई रगतका कारण निषेध हुन्छ उत्सव जुठो हुन्छ गीता अपशकुन हुन्छ पञ्चामृत अपवित्र हुन्छ ऋचा निषेध हुन्छन् सङ्गीनी साकेला रोदी कति पटक सोध्या छौ तिमीले मृत्युशैयामा छटपटिँदा तिम्रा शरीरमा पस्दै गरेको रगतको पोको डा.साब यो कुन जात, धर्म छुत र अछुतको रगत हो ? अनि सोध्या छौ कि छैनौ ? बा ! तिमीले नछुने अपवित्र आमालाई समागम गर्दा तिमी चाहिँ पवित्र थियौ कि अपवित्र ? अन्तिम प्रश्न अब आज मात्र चार दिन भो म नछुने भएको हिजो राति झरेको छ मेरो पाठेघरमा पितृसत्ताको दुई थोपा वीर्य भन ! मेरो योनी पवित्र थियो कि अपवित्र ? अनि पाठेघरको भ्रूण नि ? #नछुने रगत
जन्मदिनमा बुद्धिसागरको तेस्रो उपन्यासको ड्राफ्ट सकियो: बुद्धिसागर कर्नाली ब्लुज र फिरफिरेका लेखक बुद्धिसागरले आफ्नो जन्मदिन आज जेठ २० गते तेस्रो उपन्यास लेखी सिध्याएको घोषणा गरेका छन् । सामाजिक सञ्जालहरूमा आफ्नो सुन्दर सेल्फी हान्दै शुभकामना व्यक्त गर्नेहरू सबैलाई धन्यवाद दिँदै उनले नयाँ उपन्यासको ड्राफ्ट सकिएको बताएका हुन्। उनले उपन्यासको नाम र विषय भने खुलाएका छैनन्। साहित्यपोस्टको तर्फबाट पनि बुद्धिसागरलाई धेरैधेरै शुभकामना । #जन्मदिवस #बुद्धिसागर
हिमालका तीन कविता: १. जिन्दगीको छन्द एक अति असरल्ल छन्दमा समय बितिरहेछ, सहर बितिरहेछ जुवाको दाउमा कोही एक नसिबवाला जितिरहेछ कोही बेनसिब सिद्धिरहेछ खुट्टा नभिज्ने पानीमा पौडन खोज्छन् मान्छे कहिले घुँडा ठोक्किरहेछ कहिले हात घिस्रिरहेछ मान्छे जिन्दगीभन्दा जिन्सीमा माया खोज्छ ज्यानको भन्दा घरको रङ रोज्छ कुटुम्बभन्दा धेरै धेरै कपडा साँच्छ उज्यालोभित्र अँधेरो प्रेमभित्र तुषारो धनभित्र कपट मान्छे चरित्रभन्दा चित्र खोज्छ एकान्तमा म जिन्दगी खोतल्छु र पाउँछु श्वास दिनदिनै रित्तिरहेछ बेछन्द जिन्दगी बितिरहेछ । २ सँघारको उज्यालो फेरि एकपटक भाले बास्यो ताराको हूल आफ्नो बाटो लाग्यो ल्यामपोस्टको बत्तीझैँ पूर्वबाट पहेँलो घाम उदायो चिरबिरहरू ब्यूँझियो निन्द्रामै दुईपटक अलार्मे ब्यूँझियो घाम पुतली आँखाको आँगनीमा उड्यो पातहरूले मोतीझैँ एकछिने नानी पाए फूल माहुरीको बस्ती भेटियो ऋषि अवस्थीझैँ एक ध्यान एक मगन एक चित्त एक लगन । ३. एक बिहान कलिको एक प्रहर समयको एक लहर रात मुर्दा सहर बिहानको पर्खाइमा ब्यग्र बिहान चियाको कित्ली बोकेर मुखमै आउँछ भाँडाकुँडा बोकेर गल्ली गल्ली सिक्का बटुल्छ दिनभरि जवान जवानी खोज्दै हिँड्छ जीवन कहानी खोज्दै हिँड्छ चराहरूझैँ साँझमा गुँडमा फर्किन्छ सारा सहर कोही तातेर कोही मातेर आ–आफ्नो किस्मत समातेर । #हिमाञ्चल तिम्सिना
कर सूचनाका कारण बढ्यो प्रकाशकको तनाव: अर्थ मन्त्रालयले कर विवरण तथा कर बुझाउन सूचना जारी गरेपछि पुस्तक विक्रेताहरूमाझ तनाव थपिएको छ । गएको चैत ११ गतेदेखि कोविद १९ रोगका कारण सरकारले बन्दाबन्दी घोषणा गरेको थियो । त्यसयता सम्पूर्ण व्यापार बन्द छ । किताब व्यापार पहिल्यै थला परिसकेको अवस्थामा अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले कर तिर्नका लागि फागुन र चैत महिनाको कर दाखिलाका लागि जेठ २५ भित्र भुक्तानी गर्न सूचना जारी गरेपछि पुस्तक प्रकाशक तथा व्यापारीमाझ तनाव थपिएको हो । बजेट भाषणलगत्तै फाइन प्रिन्टका अजित बरालले आफ्नो निराशा पोख्दै फेसबुकमा लेखेका थिए, ‘३७ करोड राजस्व घाटा हुने गरी चकलेटमा कर घटाउने, १२ करोड जति उठ्ने तर करका मारले ३७% ले घटेको पुस्तक आयातमा लाग्ने करमा भने केही फेरबदल नगर्ने ? हाय पिएजडी अर्थमंत्रीज्यूको कर बढाउने कालिदासीय उपाय !’ बजेट भाषणमा त केही भएन तर बन्दाबन्दीले पूरै व्यवसाय चौपट भएको अवस्थामा पनि सरकारको संवेदनाहीन सूचनालाइ लिएर पुस्तक प्रकाशकमा निराशा प्रकट हुन थालेकाे छ। फिनिक्स बुक्सका सञ्चालक कुमार ढकालले पनि मन्त्रालयको कर तिर्नुपर्ने सूचनाको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘हे सरकार दिमाग ठेगानमै त छ !’ यसैगरी मञ्जरी प्रकाशना कृष्ण अविरलले सोही सूचना फेसबुकमा टाँस्दै लेखेका छन्, ‘यी डाम्नाले सबै जनता आफूजस्तै (सम्पन्न) ठान्या हुन् कि के हो?’ बन्दाबन्दी ३२ गतेसम्म राखेर कर बुझाउने मिति भने जेठ २५ सम्म राखेको भन्दै उनले सामाजिक सञ्जालमा विरोध गरेका छन् । ‘छलियुग’का लेखक अविरलले लेखेका छन्, ‘बैंकको ऋणको ब्याज, पुस्तक व्यवसाय माथिको सरकारको वक्र व्यवहार, रित्तिएको खल्ती र छ जनाको खान्की खर्च सम्झँदा छिमेकमा बनिरहेको घरमा गएर इँटा, बालुवा बोक्ने काम मागूँ कि जस्तो लाग्न थालिसक्यो।’ यति मात्र होइन, यस पटकको बजेट भाषणमा चकलेटलाई कर छूट र पुस्तकमा लागेको कर घटाउने बारेको मौनतामाथि पुस्तकप्रेमीहरूले सामाजिक सञ्जालमा व्यंग्यविरोध गरेका छन् । केही ट्रोल निर्माताहरूले नयनराज पाण्डेको पछिल्लो कथाकृति ‘चकलेट’को आवरण हाल्दै देशमा चक्लेट सस्तिएकोमा खुसी प्रकट गरेका छन् । #अजित बराल #कर #कुमार ढकाल #कृष्ण अविरल #पुस्तकमा कर #प्रकाशक #फाइन प्रिन्ट #फिनिक्स बुक्स #मञ्जरी प्रकाशन
बन्दाबन्दीमा चिटिक्क पर्नुको खुसी: बद्री भिखारी सामाजिक सञ्जालमा अब खुसी हुनुपर्ने अनेक बहाना खोज्नुपर्ने बेला आएको छ । केही साहित्यकारले भने बन्दाबन्दीका बेला बढेको दाह्रीजुँगा सफाचट पार्न सफल भएको खुसी सामाजिक सञ्जालमा प्रकट गर्न थालेका छन्। विराटनगरका साहित्यकार बद्री भिखारीले लामो समयपछि दाह्रीजुँगा सफाचट पारेपछि आफूलाई ६० वर्षे तन्नेरी महसुस गरेको सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । कोविद १९ रोगका कारण जनजीविकाका बाटाहरू ठप्प हुँदै गर्दा र कोरोनाभाइरसका संक्रमण संख्या बढ्दै जाँदा केही साहित्यकारहरूको दाह्रीजुँगा बढिरहेको थियो । बढीभन्दा बढी मानिसहरू आउजाउ हुने ठाउँका रूपमा परिचित सैलुनमा पुगेर बन्दाबन्दीका यत्तिका दिनपछि दाह्री जुँगा सफाचट पार्न सफल भएकोमा साहित्यकार नयनराज पाण्डे र किशोर पहाडीले खुसी बाँडेका छन् । साहित्यकार पहाडीले लेखेका छन्, ‘ठूलै जोखिम मोलेर आइयो । तीन महिनादेखि काट्न नपाएकाे कपाल, टोलमा हजाम खोजखाज गरी कटाएर आइयो। जे त पर्लापर्ला।’ पहाडीले बाहिर कपाल काटेपछि सेल्फ क्वारेन्टिनमा बस्ने र केही दिनपछि मात्र भेटघाट गर्ने जनाउ पनि दिएका छन् । उनको तस्बिरमा उनको खुलेको मुस्कानको तारिफ गर्नेहरू बढी देखिए । नयनराज पाण्डे यता ‘लू’ फेमका पाण्डेले त सफाचट देखिन सैलुन सञ्चालक राकेशलाई आफैँले नयाँ मास्क र पञ्जा दिए । घरैबाट लगेको स्यानिटाइजरले औजार सफा गर्न लगाए । झरेका कपाल र दाह्री व्यवस्थापन गर्न पनि उनले आफ्नै रूमाल उपयोग गरे र कपाल काटुञ्जेल मास्क लगाए। यति गरेपछि उनले साढे दुई महिनापछि कपाल काटेर हल्का भए । यति सबै गर्दा उनको जम्माजम्मी १८० रूपैयाँ खर्च भएको पनि लेखेका छन् । उनले लेखेका छन्, ‘यस्तो अप्ठेरो परिस्थितिमा त्यति रकम तिरे पनि घाटा लागेको महसुस भएन ।’ साहित्यकार पाण्डेको बयानपछि अर्का साहित्यकार रवीन्द्र समीरले आफूले घरैलाई शैलुन बनाएकामा तनाव नभएको टिप्पणी गरेका छन् भने अर्का साहित्यकार नारायण तिवारीले आफ्नो दाह्री काट्ने मेसिनको तस्बिर पठाएर ठट्टामा साथ दिएका छन् । #दैनिकी #बन्दाबन्दी
घाेषणाकाे दियाे: शिखर दुलाल दीप प्रज्ज्वलनकाे घाेषणा रगरगाएकाे बेला संत्रासले मडारिएकाे कालाे बादलसँगै महामारीको मेघ गर्जनले निम्त्याएकाे भाेकाे पेटकाे दुर्भाग्य त्याे नियतिकाे एउटा खेल आकास पग्लिएर झरेकाे असिना झैँ लकडाउनकाे वर्षातले लडेकाे पहराे निशब्द ! छातीमाथि कर्म युद्धको “नाम्लाे” साँची राखेर झ्याप्प निभेकाे दियाे गणतन्त्रको पहरेदार सूर्य बहादुर तामाङ। कथैकथा भित्रका कथा र व्यथाहरु एउटै समानताकाे विगुल धाेद्रिरहँदा भाेगाई र यथार्थ झस्काउने काउछाहरुले समाजिक दम्भकाे पराकाष्ठा इङ्गित गर्दै धिप धिप धिप धिप घाेषणा सदर गर्न बलेका दियाहरु श्रद्धाञ्जली व्यक्त गर्दै सम्झाउँदैछन् नवराज बिककाे विभत्स अध्याय पनि। साँच्चिकै भन्ने हाे भने लिपुलेकमा ब्याएकाे कालाे बिरालाे ङ्याउरा हराएर बाटाे काटेकाे रडाकाेले सिहदरबारमा काेरेका नक्सा हेर्दै आउरेहरु, चाउरेहरु चम्चाहरु, डाडु पन्युहरु सबै ट्याङट्याङ! टुङ टुङ ! ट्याङट्याङ! टुङटुङ, हलुङ्गे थर्केकाे आवाज बजाउँदै भान्सामा कुडे काेरेर गणतन्त्रको कुराउनी तछाड मछाड गरेर औँला चाट्दै हाेलान् र भट्याउदै हाेलान् सामन्तवादकाे हुटिट्याउकाे हुटहुट ! हुटहुट ! र बाल्दै घाेषणाका दियाहरु जिन्दावाद ओकलेर गिज्याउँदै हाेलान् धिप धिप धिप धिप बल्दै गरेकाे सलेदाेलाई। हाे मधेस डुक्रन सक्दैन यसबेला बिम्बहरु प्रतिबन्ध छन् उस्का दम्भहरुका कुण्ठित साम्राज्यले ताल्चा मारेर उसका स्वाभिमानहरु हराएका छन् ऊ मात्रै सुन्ने गर्छ, मौन बस्छ ऊ छक्का दाउकाे सुनचरीलाई पर्खेर बसेकाे छ सुनका अण्डा काेरल्ने सपनामा, डुबिरहेछ मनमनै र जिस्क्याउँदैछ गणतन्त्रको धिप धिप धिप धिप बल्दै गरेकाे घाेषणाकाे दियाेलाई। आकास धुम्मिएकै छ ! मेघ गर्जिरहेकै छ । तेल सक्किएका दियाेहरु धिप धिप धिप धिप जलिरहेछन् शीर्ष घाेषणालाई सिराेपर मानेर सलेदाे नसकिउन्जेलसम्मलाई धिप धिप धिप धिप बलिरहनेछन् धिप धिप धिप धिप बलिरहनेछन् दियाहरु। शिखर दुलाल नर्थ क्याराेलाइना नेपाली साहित्य समाज, अमेरिका #सूर्यबहादुर तामाङ
जात: नम्रता गुरागाईं जात यता पनि दुख्यो जात उता पनि दुख्यो यता काला र गोरा भएर दुख्यो उता ठूला र साना भएर दुख्यो उहिल्यैदेखि दुखेको जात न पाक्न सक्यो, न थाक्न सक्यो पटक पटक बल्झिरहेछ देशमा बल्झिरहेछ परदेशमा बल्झिरहेछ । यता घाँटी थिचेर सजाय दिइरहेछन् मान्छेहरु उता नदीमा फालेर सजाय दिइरहेछन् मान्छेहरु परिणाम, टुप्पोमा बसेर फेद काटिहरेछन् मान्छेहरु अक्षम्य अपराधसँग मानवता साटिरहेछन् मान्छेहरु । ओ कानूनको रेसिपी बोकेर भान्सा छिरेका महाशयहरु किन अझै सबैलाई बराबर हुने गतिलो कानून पाक्न सकेन तिम्रो भान्सामा? भन, तिम्रो पकाउने ढंग बद्लियो कि, हेर्ने रंग बदलियो ? हामीले न कुनै नयाँ रीति लाएर अनुभव गर्न पायौं न कुनै नयाँ नीति पाएर अनुभव गर्न पायौँ फेरि पनि पुरानै संस्कार पालिस लाएर बाँडने अधिकार छैन तिमीलाई खोल तिम्रो जातभातको चश्मा र बेस्सरी पकाउ काँचो पल्टेको कुरीतलाई वर्षौंदेखि उही असमान अधिकारले घोचेर चसकचसक दुखिरहेका हामी युगयुगसम्म बाँच्ने अधिकारको खोजीमा छौं ताकि फेरि नवराज विकहरुले जातका नामबाट धर्ती छाडन नपरोस् फेरि जर्ज फ्लोयडहरुले जातका नामबाट धर्ती छाडन नपरोस् ओ वाद र विवादमा नमुछिएका कानुनी भान्सेहरु तिम्रा डाडुपुन्यूले अब लेनदेनको जालबाट उम्किएर समान अधिकार पस्कनै पर्छ सबै रित्ता थालहरुमा । अमेरिका #अमेरिका #जर्ज फ्लोइड #नम्रता गुरागाईं #नवराज बिक
आऊ एउटा प्रमाण जुटाउन हिँडौँ: उमा शर्मा जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि भनेर सिमाना आफ्नै हो भनेर धरोहर आफ्नै हुन् भनेर एउटा तथ्य जुटाउनु परेको छ रगत बोकी हिँड्ने नसालाई सोधेर पानी बोकी हिँड्ने नदीलाई खोजेर आऊ एउटा प्रमाण जुटाउन हिँडौँ यो सिमाना, आमाको पेटमा नौ महिना बसेर प्रशव पीडापछि जन्मिएको सन्तान उसले आमाको माया पाउनुपर्ने उसले बाबुको संरक्षण पाउनुपर्ने उसको आफ्नै घर र थर हुनुपर्ने त्यसैले,आऊ एउटा प्रमाण जुटाउन हिँडौँ उध्रिएको भोटोजस्तो सिमाना लाजै बचाउन साह्रो भो भन्छ अनाथ बालक जस्ता यी धरोहरहरु आफन्ती भेट्टाउन गाह्रो भो भन्छन् “नास्ति सत्यसमो धर्मो” सत्य जस्तो अर्को कुनै धर्म नै छैन त्यसैले, आऊ एउटा प्रमाण जुटाउन हिँडौँ कहिले काटिन्छ सिमाना कहिले छाँटिन्छ सिमाना यतै दुख्यो भन्छ सिमाना उतै चस्क्यो भन्छ सिमाना “सत्येन रक्ष्यते धर्मो” धर्मको रक्षा सत्यले गर्छ त्यसैले, आऊ एउटा प्रमाण जुटाउन हिँडौँ साँधको कालापानी आफ्नै हो भनेर लालपूर्जा जुटाउन हिँडौँ छोरो गौतम आफ्नै हो भनेर नागरिकता भेट्टाउन हिँडौँ टोपी सगरमाथा आफ्नै हो भनेर शीर उठाएर हिँडौँ त्यसैले, आऊ एउटा प्रमाण जुटाउन हिँडौँ घर भित्रकाहरु डराएर बोल्दैनन् घर बाहिरकाहरु हराएर बोल्दैनन् जिब्रो काटिएकाहरु आवाज नभएर बोल्दैनन् आवाज हुनेहरु रिवाज नभएर बोल्दैनन् कोही किचिएर बोल्दैनन्, कोही बेचिएर बोल्दैनन् नक्शामा मात्र होइन, भावनामा पनि गाभ्नु पर्छ सिमाना त्यसैले, आऊ एउटा प्रमाण जुटाउन हिँडौँ। विन्टरभिल, नर्थ क्यारोलिना #अमेरिका #कालापानी #नर्थ क्यारोलिना #विन्टरभिल #सिमाना
कालापानी हाम्रो नासो: रामराज न्याैपाने जागौँ जागौँ नेपाली देश बचाउनलाई। तराई पहाड हिमालको मुहार हँसाउनलाई।। कहिले आउँछ कालापानी कहिले महेशपुर। कहिले आउँछ सुस्तातिर कहिले सन्दकपुर।। सिमानामा बाँध बाध्छ आफूखुशी आई। तराईका बस्ती हाम्रा डुबान पार्नलाई।। बलभद्र अमरसिंह सम्झौँ पुर्खालाई। भक्ति थापा पनि भए देश रक्षालाई।। काँगडा र टिस्टासम्म सीमा हाम्रो थियो। सुगौली र खुम्चाएर मेचीकाली भयो।। कालापानी लिपुलेक सुस्ता भन्दै जागे। स्वाभिमानी नेपाली भै बचाऊ भन्न लागे।। गोर्खालीको बहादुरी देखाउन थालौँ पुर्खाको त्यो शान मान गौरव नफालौँ।। सरकारद्वारा दीर्घकालीन समाधान गरौँ। वार्तावार्ता भन्दै सधैँ छलमा नपरौँ।। नेपालीले सधैँ यस्तो दुःख पाउनु हुन्न। लिपुलेक सुस्ता कहीँ गुम्न दिनु हुन्न।। वीर पुर्खाहरुको शीर झुक्न दिन हुन्न। अदम्य त्यो साहस सम्झौँ देश गुम्न दिनु हुन्न।। राष्ट्रवादी नेपाली हो अब जागौँ जागौँ। दिदीबहिनी दाजुभाइ सरकार सबै लागौँ।। स्वतन्त्र यो देश हाम्रो स्वतन्त्र भै बाचौँ। यो समस्या सुल्झाएर खुशीसाथ नाचौँ।। चन्द्रगढी, झापा #चन्द्रगढी #झापा #नयाँ नक्सा #रामराज न्याैपाने
हामी युवा जुटौं: टीकाराम बिक हामी युवा जागौ, देश विकासमा लागौँ विपत्तिको घडिमा, हामी युवा जुटौँ। दुखकष्टमा सेवा गर्न, हामी युवा लागि परौँ देशको मुहार फेर्न आजैबाट मुठ्ठी कसौँ । एकतामै बल हुन्छ, मिलाइ हात सब निदाइ बस्नु हुन्न युवा, उठौँ बिउँझिउँ अब। देशका कर्णाधार हामी युवाको काँधमा जिम्मेवार स्वाभिमानी भएर सगरमाथा जस्तो अटल बनौँ। विदेशी भूमिमा कहिलेसम्म पसिना बगाउने हामी युवा पौराखी हातले पसिना बगाइ सुन फलाऊँ आफ्नै माटोमा, सीप सिकी आत्मा निर्भर उद्यमशीलताको बाटोमा । रोजगार र अवसरको पर्खाइमा छन् युवा शक्ति सरकारले युवा विकासमा ध्यान दिन जरुरी। युवा हामी इँटा हौँ बनाउँछौ बलियो राष्ट्र नेपाली वीर गोर्खाली हामी युवा, उठौ लागौँ युवा। सोलु दुधकुण्ड नगरपालिका 4 सोलुखुम्बु प्रदेश न 1 #टीकाराम बि.क. #सोलुखुम्बु
प्रवासमा बन्दाबन्दीको उपयोग: बन्दाबन्दी (लकडाउन)काे समयलाई सिर्जनात्मक बनाउन एवं साहित्यको प्रवर्द्धन गर्न नेपाली साहित्य समाज न्युजिल्यान्ड तथा स्रष्टा साँझ अमेरिकाले संयुक्त रुपमा सर्जकहरूको सामूहिक साक्षात्कार कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रम जुम एप्लिकेसन तथा फेसबुकमा आयोजना गरिएको थियो। “साहित्यिक साक्षात्कार एवं रचना वाचन” भनिएको उक्त कार्यक्रममा अमेरिका र न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली साहित्यानुरागीहरूले साहित्यको आदानप्रदान गरेका थिए । यसका लागि न्युजिल्यान्डबाट १२ जना तथा अमेरिकाबाट १२ जना स्रष्टाहरुले एक-एक रचना वाचन गरेका थिए । नेपालबाट अतिथि सर्जक दामाेदर बटुवा आचार्य एवं काैशिला रीशालले पनि साहित्य वाचन गरेका थिए। अमेरिकाका स्रष्टाहरुमा प्रा. डा. शिलु घिमिरे, भगवती पाैडेल, बिटु केसी, छवि चापागाई, शशी भट्टराई, डा. कृष्ण पन्थी, दिनेश शर्मा, राधाकृष्ण काफ्ले, देवराज न्यौपाने, विजयराज भट्टराई, विश्वराज अधाकारी र सकुल काेइराला तथा न्युजिल्याण्डबाट राजेन्द्र पाण्डे, पशुपति कर्मचार्य, माेहन आचार्य, डा. वीरेन्द्र केसी, नमिता दवाडी, राजन बस्नेत, अरुण कार्की, सुरेन्द्र पौडेल, नारद कुँवर, विष्णु श्रेष्ठ, श्रीधर बस्न्यात र डा. जया तिवारीकाे उपस्थित थियो । पौने २ घण्टासम्म चलेको साक्षात्कार कार्यक्रममा कविता गजल र गीतहरू प्रस्तुत गरिएको थियो । “केही समय अगाडि न्युजिल्याण्डमा विश्व भुटानी साहित्यिक संगठनले आयाेजना गरेकाे अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन गर्ने सन्दर्भमा न्युजिल्यान्डका सक्रिय साहित्यिक व्यक्तिहरुसँग छलफल गरेदेखि नै हामीले केही न केही गर्ने अठोट लिएका थियौँ,” स्रष्टा साँझ अमेरिकाका संस्थापक तथा कार्यक्रमका एक सूत्रधार प्रा. प्रभात दीक्षितले भने, “अमेरिका भित्रका शहरहरुबीच पनि यस्ता कार्यक्रमहरु गर्ने योजना छ।” कार्यक्रमका अर्का सूत्रधार तथा नेपाली साहित्य समाज न्युजिल्यान्ड अध्यक्ष सञ्जय शान्ति सुवेदीले साहित्यको कुनै सीमा नभए जस्तै भूगोलले पाठक/स्रष्टाकाे सीमा निर्धारण गर्न नसक्ने धारणा राखे । संसारभर छरिएका नेपाली पाठकले हर स्रष्टाहरूको सिर्जना पढ्न पाउने अवस्थाको वातावरण सृजना गर्नुपर्नेमा पनि उनको जोड थियो। सहजकर्ता द्वय प्रा. प्रभात दीक्षित (अमेरिका) र सञ्जय शान्ति सुवेदी (न्युजिल्यान्ड)ले कार्यक्रम संचालन गरेका थिए । सहभागी स्रष्टा, दर्शक, पाठक तथा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमको भिडियोः #जूम #फेसबुक #रचना वाचन
म र तिमी: डोर्याएर लैजाऊ मलाई त्यहाँ जहाँं घामका किरणहरू निर्लज्ज बनी पर्नेछन तिम्रा कलेटी परेका ओठहरूमा र प्रष्ट देखिनेछन तिम्रा ति कालजयी दुई खोबिल्डे गालाहरू डोर्यायी लग त्यस निर्जन जंगलभित्र जहाँ एकतमासले हामीलाई गिज्याउन् मृत्युका आकार र प्रकारले एकै बिनोद रागमा अलप हुन् तिम्रो र मेरो मृत्यु घडीको टिक टिक लैजाऊ हजार बर्ष पूराना खोपडीहरूको पहाडमा जसको टाकुरामा तिम्रो र मेरो सामिप्यताको गोलाई मेघरूपी बादल बनी सिञ्चित गर्नेछ, क्षितिज पारीको त्यो समयलाई जसलाई युगौं देखी चियाउँदै छौं,म अनी तिमी लैजाऊ त्यहाँ जहाँ बत्तिस मुजाले कुरुप तिम्रो र मेरो मुखाक्रिती बेफिक्री सल्बलाइरहून पट्पट् फुटेका यी हत्केला र हिलोको गन्धमाझ जहाँं फुल्दा हुन् सयपत्री, कमल झुल्दा हुन् केही जोर धानबाला #म र तिमी
मनोविज्ञानमा आधारित कथाः दोष कसको ?: बाहिरपट्टि बेमौसमी पानी दर्केर परिरहेको थियो । झ्यालबाट पानीको बाछिटा अलिअलि भित्र पनि छिरिरहेको थियो । पानीसँग मिसिएर आएको हावाको झोंक्काले चिसो-चिसो महसुस भइरहेको थियो । खाटमा पल्टेर दिप्तीले नागरिक दैनिक पत्रिकाको शनिवारीय अंक मा कथा पढिरहेकी थिइन् । यस्तो मौसममा बिछ्यौनामा पल्टेर कथा पढ्नुको बेग्लै मज्जा लिन चाहन्थी दिप्ति, तर झ्यालबाट आएको पानीको बाछिटालाई रोक्न उठेर झ्याल बन्द गरिन् र पुन: ओछ्यानमा आएर पल्टिन् । उनी फेरि अघि पढ्दै गरेको कथाकै गहिराईमा एकाग्रह भइन् | कोठबाहिरबाट आएको कसैको पदचापको आवजले उनको एकाग्रता भंग भयो । हातको चुराको आवजबाट अनुराधा हुन् भनेर अनुमान लगाइन् । अनुराधा कोठा सफा गरिरहेकी थिइन् । त्यो कोठा अनुराधाको हो । ठूलो हल भएकोले दुईवटा खाट छ । दुई खाटको बीचमा टिभी हेर्न मिल्ने गरी सोफा राखिएको छ । “ल्याऊ, त्यो कपडा ! तिमीले भन्दा राम्रोसँग टेबल सफा गरिदिन्छु म । बरु यो गुलाबको फूल आफ्नो कपालमा सिउरेर मलाई देखाऊ त !” ‘यो त हिक्मतको स्वर हो !’ दिप्तिले मनमनै विचार गरी । लोग्ने-स्वास्नीको गफलाई भाँजो नहाली चुपचाप सुनिरहन मन लाग्यो उसलाई । “तपाईँ चुप लागेर बस्नू त ! म गरिहाल्छु नि !” “पीर नगर ! मलाई आफ्नो कामको खर्च उठाउन पनि आउँछ ।” “तपाईँ यहाँबाट जानू त ! फेरि दिनमै शुरु होला नि !” “भनेको मान न ! हेर त, कस्तो रोमान्टिक छ मौसम ।” उनीहरूको वार्तालाप सुनेर दिप्तिको कान बन्द होलाजस्तो भयो । आँखाबाट आँसु टल्पलाएर बग्न थाल्यो । ‘हिक्मत कहिलेदेखि यस्तो रोमान्टिक हुन थालेछ !’ हातको चुराको आवज र उन्मुक्त जोडीको स्वासको आवाजले मानौ दिप्तिले कानको वरिपरि भंमरा घुमेजस्तै महसुस गरिन् । एक किसिमले दिप्ति शिथिल भइसकेकी थिइन् । बाहिर हावा र पानी रोक्किएको थियो, तर उसको मनलाई (खै केले हो ?) नराम्री हल्लाइदिएको थियो । आफूलाई सम्हाल्दै दिप्ती कोठबाट बाहिर निस्किन् । जाँदाजाँदै तिनको नजर अर्को कोठाको बिछ्यौनामा प-यो, जहाँ हिक्मत र अनुराधा सिरकभित्र एकआपसका अंगालोमा लुटपुटिएका थिए । आफ्नो कोठामा आएर दिप्तिले कोठाको चारैतिर एकनजर दौडाई, के अन्तर छ यो कोठा र अनुराधाको कोठामा ? हिक्मत यस कोठामा आउँदा गम्भीर र शान्त हुन्छ, तर त्यो कोठामा जाँदा कसरी रोमाञ्चित हुन्छ ? उनीहरूको वैवाहिक जीवनले पनि १५ वसन्त पार गरिसकेछ । यसबीच दिप्तिले हिक्मतको यस्तो रूप कहिल्यै देखेको थिएन । ऐनाको अगाडि उभिएर दिप्तिले आफ्नो अनुहारलाई नियाल्न थालिन् । …………………………………………. हिक्मत र दिप्तिको विवाह भएको १० वर्षसम्म पनि सन्तान नभएपछि दिप्ति आफैँले दोश्रो विवाहको लागि नमान्दा नमान्दै हिक्मतलाई सहमत गराएकी थिइन् । आफ्नो ठूलो बुबाको छोरी अनुराधा, जो ३५ वर्षको उमेरसम्म पनि अविवाहित नै थिइन् । अनुराधा दिप्तिभन्दा उमेरमा ठूली भए पनि विवाहको हकमा पछि परेकी । शुरुशुरुमा राम्रो केटा रोज्दारोज्दै अनुराधाको विवाह हुन सकेन । विवाहको प्रस्ताव आउँदा पनि अनेक बहाना बनाएर असहमति जनाउँथिन् । उमेर ढल्कदै जान थालेपछि विवाहको प्रस्ताव नै आउन छाडेको थियो । तर दिप्तिले राखेको प्रस्ताव अनुराधाले एकैपटकमा स्वीकार गरिन् । विवाह भएको वर्ष दिनमा अनुराधाको कोखबाट दिनेशको जन्म पनि भयो । अब त दिनेश पनि ४ वर्षको भइसकेको छ । आज दिप्तिले (किन हो कुन्नि ?) आफ्नै खुट्टामा आफैँले बञ्चरो हानेजस्तो महसुस गरिरहेकी छिन् । आजसम्म आफू र अनुराधाबीच हिक्मतले दिने समयको बारेमा उनलेले कहिल्यै पनि गुनासो गरिनन्, न त उनीहरूबीच हुने शारीरिक सम्बन्धलाई महत्त्व दिइन् । तर आज देखिएको हिक्मतको उन्मुक्त व्यवहारले उनलाई चिथोर्न पुगेको छ । उनले आज आफ्नै कारणले आफू ठगिएको महसुस गरिन् । कहिलेकाहीं दिप्तिले सोध्थी; “म कस्तो देखिएकी छु…. ?” “खाना कस्तो लाग्यो …. ?” “यो सामान कस्तो लाग्यो…. ?” आदिआदि। जवाफमा हिक्मतले ‘राम्रो’ भन्ने शब्दबाहेक थप केही कहिल्यै पनि भनेनन् । यस्ता छोटा-मसिना सवाल-जवाफमै हिक्मतसँगको वार्तालाप सकिन्थ्यो । आजसम्म हिक्मतले दिप्तिलाई न कहिल्यै कुनै उपहार ल्याएर दियो, न त कुनै सरप्राइज, न त कुनै हाँसो-ठट्टा नै । हिक्मतको गम्भीर रूपसँग मात्र ऊ परिचित थिइन् । “अनुराधा दिदी …. अनुराधा दिदी …..” भनेर दिप्ति कहिल्यै थाक्दिन थिइन् । घरको सम्पूर्ण जिम्मेवारी अनुराधालाई सुम्पेर ऊ छोरो दिनेशसँग खुशी थिइन् । कोही नौलो मान्छे घरमा आउँदा दिप्तिलाई नै कान्छी ठान्थे । उनीहरू बीचको मिलाप देखेर सबैले प्रशंसा पनि गर्दथे । तर आज किन दिप्तिलाई न्यास्रोपन अनुभव भइरहेको छ ? हुन त त्यसबखत दिप्तिलाई कुनै अनाथलयबाट टुहुरो बच्चा पाल्ने इच्छा जागृत नभएको पनि होइन । हिक्मत पनि सहमत हुन सक्थ्यो । पछि पुर्पुरोमा हात राखेर पछुताउनु पर्ला भनेर आमाले पनि पटकपटक सम्झाएकी पनि हुन् । आमाले त भनेकी थिइन्, “सौता भनेको त माटोको मूर्ति पनि राम्रो हुँदैन ।” यस सम्बन्धमा दिप्तिले भनेकी थिइन्, “हैन आमा, हिक्मतले मेरो जे कुरा पनि मान्छ । सन्तान नहुनुमा कमजोरी मेरो हो । किन उसलाई सन्तानविहीन बनाएर राख्ने ?” आज बल्ल दिप्तिले महसुस गरिन्, के फरक हुनथ्यो र ! दिनेशको ठाउँमा अनाथलयबाट कुनै असहाय बच्चालाई पालेको भए । घरमा तीन जना मात्र हुनथ्यो, अनि हिक्मत सधैँ आफैँसँग । आफूलाई अरूले भन्ने गरेको ठिक्कै हो जस्तो लाग्न थाल्यो, “जेठी सेवा गर्नको लागि, कान्छी मेवा खानको लागि ।” हिक्मतले कहिलेकाहीं मीठो शब्दले सम्बोधन गरिदिओस् भन्ने दिप्ति आशा गर्थिन् तर आज दिउँसै यो के हो ? उसको वास्तै नगरी उछृङ्खल व्यवहार, मीठा शव्दहरू, अनि गुलबको फूल…… अनुराधा दिप्तिलाई खुब माया गर्थिन्, तर आज दिप्तिलाई त्यो सब देखावटी लागेको छ । उसका अगाडि उनीहरू त्यति धेरै कुरा गर्दैनथे तर आफ्नो कोठामा नवविवाहित जोडीजस्तो हुन्थे । अनुराधालाई खुब इज्जत गर्थिन् दिप्तिले तर आज एउटा अपराधीको रूपमा हेर्न थालिन् । आज दिप्तिले महसुस गरीरहेकी छे, बढी भावुक भएर निर्णय गर्नु गल्ती थियो । आफ्नो यस अवस्थाका लागि कसलाई दोष दिनु ? हिक्मत, अनुराधा वा स्वयं आफू..?
कोरोना: बसुन्धरा शर्मा तिम्रो आगमनको खबरले सारा संसार स्तब्ध बनायौ त्यसैले त यी गतिशील पाइलाहरु यतिका दिन टक्क अडायौ !! तिमी दिनमा दुई गुणा रातमा चौ गुणा बढ्दै गयौ सम्पूर्ण डाँडा पाखा घर आँगन नै ढाक्यौ !! तिम्रो असंख्य वृद्धिसँगै अब हाम्रो डर पनि भाग्दै छ ठप्प यो गतिलाई चलायमान गराउने रहर छ !! अब यो गतिसँगै कर्मठ हातहरु चलाई वर्षौंदेखिका बाँझा बारी खोस्री सुन फलाउने धोको छ !! भोकमारी हुने डरले आधा भरिएको मेरा लाला बालाको पेट भराउने मन छ !! खिया लाग्न लागेको यो श्रम शक्तिमा बदल्ने मन छ गरी खान आतुर यी हातहरुद्वारा संसार बदल्ने मन छ !! पलाउँदै गरेका पालुवालाई हराभरा गराउनु छ मलिन मेरी आमाको अनुहार हँसाउने मन छ !! हाम्रा पुर्खाले सिकाएको मानवीयताको थोरै अंश मात्रै भए पनि मनन गर्दै तिम्रो शक्तिलाई परास्त गर्नु छ !! संचित यो शक्तिले सगरमाथा चढ्ने रहर छ मेरो यो मातृभूमिलाई हिमाल जस्तै हँसाई विश्वमा चिनाउनु छ विश्वमा चिनाउनु छ !! भक्तपुर #कोरोना #कोरोनाभाइरस #बसुन्धरा शर्मा #भक्तपुर
लघुकथाः व्यवहार: रीता बलामी विवाहको केही दिन मात्र हुँदैछ । सक्रिय सामाजिक अभियन्तासँग विवाह भएको छ उनको । श्रीमान् युवा पुस्तामाझ लोकप्रिय छन् । नाम चलेको आइएनजिओमा कार्यरत । बेला बेलामा विभिन्न गोष्ठी र सामाजिक अभियानहरूमा लैङ्गिक, जातीय र वर्गीय समानताका पक्षमा सशक्त भाषण गर्छन् उनी । धेरै मानिस प्रभावित छन् उनको भाषण कला र आधुनिक विचारसँग । अस्मिताले पनि एक, दुई पटक त्यस्तै कार्यक्रममा भेटेकी उनलाई । “हाम्रो समाजमा व्याप्त लैङ्गिक असमानताको अन्त्य हुनका लागि हामीले आफू र आफ्नो घरैबाट त्यसको सुरुवात गर्नुपर्छ । अरुलाई दोष दिइरहनुको सट्टा मैले, तपाईंले, सबैले आ–आफ्नो घरमा आमा, श्रीमती, दिदी, भाउजू र बहिनीहरुलाई विभेदरहित र सम्मानित व्यवहार गरौँ । लैङ्गिक समानता स्वतः स्थापित हुनेछ ।” पर्रर ताली बज्यो । अस्मिता पनि त्यहीँ थिई । स्पर्श ग˗यो हृदयलाई र प्रभावित नहुने कुरै भएन । हो, उनै आकाशसँग कताकताबाट बिहेको कुरो चल्यो अस्मिताको । अस्मिताको पनि आफ्नो पहिचान बनिसकेको थियो समाजमा । क्याम्पसमा प्राध्यापन, नाम चलेको टेलिभिजनमा समाचार वाचन र साहित्य लेखनमा सक्रिय अस्मितालाई पाउन लालायित नै देखिन्थ्यो आकाश पनि । इङ्गेजमेन्टको दिन आकाशपट्टिबाट उपस्थित आमा, दिदी, बहिनीहरु, साथीहरु र आफन्त सबैले आकाशको अनेक प्रशंसा गर्दै अस्मितालाई ढाडस दिए “…सुखी राख्नेछ आकाशले तिमीलाई…।” अस्मिताले यति बोलिन्, “सुख, दुःख यस्तै हो जीवनमा । सहयात्रा, सहअस्तित्व र एकअर्काप्रति सम्मान भए त्यही सबभन्दा ठूलो सुख हो ।” “वाउ ! ठ्याक्कै दादाकै जस्तो विचार, जोडीचाहिँ मज्जाले जम्ने भो है !” आकाशको मामाकी छोरीले जिस्क्याई । हो, आज बिहे भएको तीन दिन मात्र भयो । आधा, एक घन्टामात्र भयो, दुल्हन फर्कन माइती गएर आएको । तिनै दिदीबहिनीहरुसँग बैठकमा गफिँदै, हाँस्दै बसिरहेछन् आकाश र अस्मिता पनि । एक्कासि आकाशकी आमाले सँगै रहेको बाथरुमबाट बोलाइन् र भनिन्,“बुहारी, अस्मिता ! लौ हेर त… आकाशले अस्तिदेखि नुहाएर छोडेका यी मोजा, भित्री लुगाहरु त त्यत्तिकै पो रहेछन् त…,हेर.. दुई, तीन दिनका एकै ठाउँमा थुपारेर पो राख्या रहेछ ! धोएर सुकाइदिनुपर्ने । गनाइ पो सकेछ कि क्या हो … हैन यो आकाश पनि के भको हो.. भन्नुपर्छ नि बुहारीलाई आफैँ !” एकाएक गफ, हाँसो टक्क रोकियो कोठामा । अस्मिता त झसङ्ग भइन् । मनमा खै कस्तो, कस्तो हुरी आयो । माइतीमा लैङ्गिक समानताको बहस नगर्ने दाजु र बुबाले समेत त्यस्ता कपडा कहिल्यै आमा र भाउजूलाई धुन दिएनन् । अस्मिताले भाउजूलाई कराएर बुझाएर दाइको १० वर्षको छोरालाई समेत त्यस्तो काममा बानी पार्दिसकेकी छ । उनको मन सारै अमिलो भएर आयो । कोठाका सबैजना घरी अस्मिता र घरी आकाशलाई हेर्न थाले । अस्मिताको कानले पनि तीव्र प्रतीक्षा गरिरह्यो आकाशको केही बोलीको । सब मौन थिए । तर आकाश बोलेन पटक्कै । बरु मोबाइलमा के-के थिच्दै नबोली बाहिर पो निस्क्यो । अस्मिताको कानमा आकाशको त्यो भाषण अहिले कर्कश ध्वनिमा गुन्जिरह्यो, “…अरुलाई दोष दिइरहनुको सट्टा मैले, तपाईंले, सबैले आ–आफ्नो घरमा आमा, श्रीमती, दिदी, भाउजू र बहिनीहरुलाई विभेदरहित र सम्मानित व्यवहार गरौँ । लैङ्गिक समानता स्वतः स्थापित हुनेछ ।” यत्तिकैमा फेरि बाथरुमभित्रबाट आवाज आयो, “बुहारी ! सुनिनौ ?” फर्पिङ #फर्पिङ #रीता बलामी #विरोधाभाष #व्यवहार
सम्झनामा सुकल्याण: प्रेमप्रकाश मल्ल मानिसको जीवनलाई कोही भन्छन् दैवको लीला । कोही भन्छन् प्रकृतिको उपज । जतैपट्टि लागे पनि यो रहस्यमयी संसारले मानिसको चित्त बुझाउन सक्दैन । मान्छे अनेक विचार र अनुभव लिएर सधैँ भिन्नतामा रमाएकै छ । दुख्ने ठाउँमा दुखेकै छ । आखिर जति नै फरक परिस्थिति, दर्शन र अनुभवमा उभिए पनि मान्छेले मृत्युलाई भने नस्वीकारी धरै पाउँदैन । यो अनिवार्य सत्यबाट कोही कतै भाग्न सक्दैन । जन्मपछिको सबैभन्दा ठूलो सत्य सायद हाम्रो जीवनमा यही होला । बीचको समयको लम्बाई र परिवेशअनुसार हामी अनेक खाले अनुभवहरू सँगाल्न पाउँछौँ । त्यसैलाई हामी जिन्दगीको सुनाम पनि दिन्छौँ । त्यही सुनामरूपी जिन्दगीको अनेक उकालीओराली अनि घुम्ती र मोडहरूमा हामी बाँच्ने खेल खेलिरहन्छौँ । मृत्युलाई छल्दै यति कठोर जीवनलाई सरल बनाउने यत्न पनि गर्दै रहन्छौँ । तर जति नै छले पनि त्यसले एक दिन हामीलाई नभेटी छोड्दैन । जीवनको यो कटु सत्य थाहा नपाउने मान्छे सायदै होलान् संसारमा । तैपनि मानिसले अनेक विषयगत आशक्तिहरूका बिचमा आफूलाई नहेलिरहन सक्दैन । अर्थात् परिवार, आफन्त, समाज, सम्पत्ति, सत्ता, सम्मान आदि थुप्रै विषयबद्ध छौँ हामी । सायद यी आशक्तिहरू नभएको भए मान्छेले यो संसारलाई यति भव्य र सभ्य पनि बनाउँदैनथ्यो होला । तर पनि यी सांसारिक विषयभित्र मात्र हराउन उदात्त चेतना बोकेका मनहरूले मान्दैनन् । सांसारिकतामा हराउँदाहराउँदै पनि तिनले अरूको भलाइमा आफूलाई उभ्याएर मृत्युको क्षतिपूर्ति र आदर्श जीवनको दृष्टान्त दिन्छन् । त्यसैका लागि आजसम्म संसारमा कैयन् धर्मकर्महरूको प्रादुर्भाव र प्रयोग हुँदै आएको छ । कैयन् साहित्यकार, कलाकार, वैज्ञानिक, चिन्तक, आविष्कारक र तपसीहरूको पसिना बगेको छ । प्रकृतिसँगको सापेक्षतामा बाँचेको हाम्रो जीवन तीबाट पनि निरपेक्षी छैन । तिनकै प्रभावमा चलेको हाम्रो जीवनको प्रभाव पनि तिनमा नपरिरहन सक्दैन । हाम्रो सकारात्मक प्रभाव समाजसँगै हाम्रो उत्तर जीवितता पनि हो । मृत्यपछि पनि हामीले बाँच्न सक्यौँ भने जीवनको त्यो अर्को सत्य हो । त्यसैका लागि हामीले यति मूल्यवान् जीवन पाएका छौँ । ज्ञान विज्ञान, संस्कृति र प्रकृतिले हामीलाई यति धेरै सम्पन्नता दिएको छ । जिन्दगीले यति धेरै सामर्थ्य दिएको छ । यो संसारमा मानिस नै यस्तो प्राणी हो जसले जिन्दगीमा कैयन् कुराहरू देख्नभोग्न, सिक्नसिकाउन, लिनदिन र अनुभूति गर्न पाउँछ । जीवन, प्रकृति, समाज र संस्कृतिले हामीलाई हरेक पल केही न केही सिकाइरहेकै हुन्छ । त्यसैले यो जिन्दगीभन्दा श्रेष्ठ विश्वविद्यालय र समयभन्दा मूल्यवान् वस्तु अरू के नै छ र संसारमा ? तर पनि हामी मानव जीवनको सार्थकता र समयको गति बुझेर पनि बुझ्दैनौँ । धर्म, अर्थ, कर्म र मोक्षको सनातन ज्ञान रट्छौँ तर लागु गर्दैनौँ । सबै धर्मको सार सुन्छौँ तर पनि व्यवहार बदल्दैनौँ । उसो त हामी जस्ता बहुसङ्ख्यक गरिबहरूको जिन्दगी परिवारको भरणपोषणमा लाग्दालाग्दै नसकिएको कहाँ छ र ? त्यो एउटा कुरा भयो । त्यति गर्दागर्दै पनि हामी ससाना व्यवहारले अरूलाई सहयोग गर्न सक्छौँ । केही दिन नसके पनि मीठो वचनसहितको प्रेम दिन सक्छौँ । त्यत्तिका लागि पनि त दैवले हामीलाई सार्थक वाणी र अनन्त प्रेम अटाउने मन दिएको छ । प्रकृतिले बाँच्ने ऊर्जा दिएको छ । यतातिर पुरै आँखा चिम्लिएर आजको मानव समाज किन यति बिघ्न स्वार्थी, भ्रष्ट, आरिसे, ईष्यालु, अपराधी, हिंस्रक, प्रतिशोधी र परपीडक भएको होला ? यस्तो कुत्सित मनोसामाजिक वातावरणबाट हामीले के सिक्ने होला ? अनि सिकेर के सिकाउने होला ? हेर्दा सामान्य लागे पनि हाम्रो युगका लागि यो अत्यन्त जटिल प्रश्न हो । दयामाया, प्रेम, सिर्जना, दायित्वबोध, सद्भाव, सहिष्णुता, परोपकार, समभाव र समदृष्टि आदि विषय मानव जीवनका अमूल्य निधि हुन् । ज्ञानीहरू भन्छन्, यिनैको आर्जन र व्यावहारिक प्रयोगमा नै जीवनको आनन्द छ । भौतिकवादी हुन् या त अध्यात्मवादी ! अन्ततः मानिसले सुखसन्तुष्टि नै चाहन्छ । त्यसैको प्राप्तिमा हामी आफूलाई सिध्याउँछौँ । तर उपर्युक्त विषयबोधी अभ्यास गर्दैनौँ । हामी आफ्नै आँखाअघिका असहाय र दुःखीहरूलाई देख्दैनौँ । यो जीवनको सार्थकताको समस्या यहीँबाट सुरु हुन्छ । स्वयम् मानवले नै यति सुन्दर र सभ्य बनाएको यो संसार फेरि ऊबाटै अनेक समस्याले ग्रसित छ । तिनै सत् चरित्रहरूको विकास र असत् चरित्रहरूको असल रूपान्तरण आजको अहम् प्रश्न हो । केही सज्जनहरू आज पनि यही कार्यमा आफूलाई समर्पित गरिरहेका छन् । कति महामनाहरू आज पनि आफ्नो छाक कटाएर सामाजिक सेवामा लागिरहेका भेटिन्छन् । त्यस्ता सत्कर्महरूको प्रचार त के समर्थनसमेत गर्न नसक्ने मनहरूलाई देख्दा हृदयदेखि नै दुःख लाग्छ । ध्वंस र तोडफोडमा छिनभरमै अनियन्त्रित हुन सक्ने मान्छे सत्कर्म र त्यसको उन्नयनमा सित्ती लाग्न नखोजेको देख्दा आश्चर्य लाग्छ । आजसम्मको मानव सभ्यताले के हामीलाई कुकर्म नै बढी सिकाएको हो त ? के मानव जीवनका मूल्य यिनै हुन् त ? समय निरन्तर बगिरहने नदी हो । नदी उही भए पनि पानी चाहिँ पलप्रतिपल उही बगिरहँदैन । ठीक त्यस्तै हाम्रो जीवन पनि निरन्तर भिन्न भएरै बगिरहेछ । बगिरहने समयलाई किन्न सकिने भए मान्छेले सबैभन्दा पहिले आफ्नो उमेरलाई किन्दो हो । मृत्युलाई किनेर जीवनलाई भोग्दो हो । अनि अतीतलाई किनेर भोगिआइएका जिन्दगीका बाटाहरूलाई सच्याउँदो हो । जहाँबाट बाटो बिराइएको थियो त्यहीँबाट पुनः यात्रा आरम्भ गर्दो हो । तर यी सब हाम्रा पहुँच बाहिरका विषय भइगए । बरु धेरथोर वर्तमान र भविष्य हाम्रै हातमा छ । बाँकी जीवनलाई सार्थक बनाउन मृत्युको आँखा नलाग्दासम्म हामीलाई छुट छ । विगतलाई सच्याउन नसकिने यस संसारमा भविष्यलाई बनाउने अमूल्य समय भने जहिल्यै छ हामीसँग । बरु मुख्य प्रश्न चाहिँ अन्तर्चक्षु कस्तो छ भन्ने हो । निःस्वार्थ सेवाभाव भन्ने कुरा कुनै विश्वविद्यालयबाट दीक्षित भएर मात्र पनि नहुँदो रहेछ । नभएर मात्र पनि नहुँदो रहेछ । त्यो त स्वयंभित्र प्रकट हुनुपर्ने सर्वशक्तिमान् प्रेमभाव रहेछ । अन्तस्करणमा उब्जिने भावनामा शक्ति नहुँदो त बुद्ध कसरी बुद्ध हुन्थे होला ? मानव समाजमा स्थापित सारा मूल्यहरूको पछाडि मलाई लाग्छ, सबैभन्दा बेसी मानिसको भावनाले नै काम गरेको छ । त्यसैका कारण मानव समाज सभ्यताको यो तहसम्म आइपुगेको हो । निःस्वार्थ सेवाभाव भन्ने कुरा कुनै विश्वविद्यालयबाट दीक्षित भएर मात्र पनि नहुँदो रहेछ । नभएर मात्र पनि नहुँदो रहेछ । त्यो त स्वयंभित्र प्रकट हुनुपर्ने सर्वशक्तिमान् प्रेमभाव रहेछ । अन्तस्करणमा उब्जिने भावनामा शक्ति नहुँदो त बुद्ध कसरी बुद्ध हुन्थे होला ? मानव समाजमा स्थापित सारा मूल्यहरूको पछाडि मलाई लाग्छ, सबैभन्दा बेसी मानिसको भावनाले नै काम गरेको छ । तथापि आजको भौतिक उन्नतिका तुलनामा हाम्रो समाजको आत्मिक उन्नतिको अवस्था अत्यन्त नाजुक देखिनु दुःखको कुरा हो । समयको गतिसँगै हाम्रो आत्मोन्नति भएन भने कोरा भौतिकीले मात्र हामीलाई आनन्द दिनु सम्भव छैन । दुःख र त्रासको बढ्दो कारक हुनुबाहेक त्यस्तो उन्नति अन्य केहीमा रूपान्तरण होला भन्ने कल्पना गर्न सकिँदैन । त्यसैले यो संसारलाई आज सबैभन्दा धेरै कुनै कुराको खाँचो परेको छ भने त्यो प्रेम नै हो । जबसम्म हामी आफूमा अरू र अरूमा आफूलाई उभ्याएर हेर्न सक्दैनौँ, वास्तविक प्रेमको उदय असम्भव छ । वास्तविक प्रेमको उदयबिना हामी अरूको भलाइमा समर्पित हुनु पनि असम्भव छ । यही चिन्तनबाट समयरूपी नदीसँगै कहिल्यै नफर्किने दिशातर्फ बढिरहेको यो जीवनलाई यथाशक्ति परोपकारी कार्यमा लगाउन सके साँच्चिकै जिन्दगीमा कति कुरा असम्भव होलान् ! सांसारिक जीवनमा जेलिएका हामी जस्ता साधारण व्यक्तिका लागि मन, वचन र कर्मले समाजसेवामा लाग्नु सजिलो कुरा होइन । कठिन हुनाले नै त्यस्ता व्यक्तिहरू समाजमा सधैँ आरध्य हुन्छन् । मुक्ति र निर्वाणका पर्याय हुन्छन् । समकालीन र पछिल्ला पुस्ताहरूका लागि पनि जीवन्त उदाहरण भइदिन्छन् । सायद त्यस्तै महान् व्यक्तिहरूका कारणले होला आज पनि हामी कैयन् श्रद्धेय कर्म गर्ने मनीषीहरूको नाम सुन्न पाउँछौँ । देख्न पाउँछौँ र कहिलेकाहीँ त साक्षात्कारसमेत गर्न पाउँछौँ । ती निष्काम कर्मयोगीहरू नै हाम्रो युगका महान् सौन्दर्य हुन् । व्यक्तिगत सुखसत्ताको अस्वाभाविक प्रतिस्पर्धामा अहोरात्र निर्लिप्त आजको समाजमा मानवीय आदर्शको पाठ सिकाउने त्यस्ता ज्ञातअज्ञात व्यक्तिहरूको महिमागान गर्न हामी शब्दले सक्दैनौँ । केवल हृदयले अनुभव मात्र गर्न सक्छौँ । सन्दर्भमा आज मेरो मनमा डुङ्गेश्वर–५, दैलेखस्थित मा.वि. पीपल चौतारा आइरहेछ । अतीतको शिक्षण, वर्तमानको अभिभावक र नवोदित लेखकका नाताले गत माघ दसमा सम्पन्न जसको चालिसौँ वार्षिकोत्सवमा सहभागी हुने सुअवसर प्राप्त भयो । सो अवसरमा भेटिनुभएका सुकल्याण पराजुलीसँगको सामीप्यताले मनमा आजसम्म पनि अनेक भावनाहरू तरङ्गित भइरहेका छन् । यद्यपि पोखरा–२ निवासी सुकल्याणको नाम हाम्रो जीवनमा तिन वर्षअघि नै जोडिन आइपुगेको हो । पुर्ख्यौली माटोप्रतिको उहाँको माया केवल मायामा मात्र सीमित छैन; दया, परोपकार र प्रेरणासँग पनि जोडिएको छ । आफ्ना दिवङ्त मातापिताको सम्झनामा विद्यालयमा उहाँले २०७३ मा रू.एक लाखको ‘पुष्पशान्ति गोमादेवी पराजुली छात्रवृत्ति कोष’ खडा गरिदिनुभएको थियो । लगत्तै पछिल्ला दुई वर्षमा पचास पचास हजार थपिदिएर उक्त कोषको रकम दुई लाख पुर्याइदिनुभएका उहाँले यसपालि छिमेकी सीता मा.वि. अवलपराजुल र पीपल चौतारा मा.वि. डाँडापराजुललाई स्थानीय रारा हाइड्रोपावरसँग एक एक लाखको सेयर खरिद गरिदिनुभयो । कहिले विद्यार्थीहरूलाई सुइटर त कहिले छानिएका गरिब विद्यार्थीका अभिभावकलाई कोट ल्याइदिएर उहाँले सधैँ हाम्रो मन छोइरहनुभएको छ । कार्यक्रममा समाजसेवी श्री नरसिंह मल्लले आफूले पनि वार्षिक रूपमा विद्यालयको कोषमा पाँचपाँच हजारका दरले सहयोग गर्ने वचन दिनुभएको थियो । उसो त छिमेकी नेरा आधारभूत विद्यालय पाङ्कोटमा हामी जस्ता केही नगन्य दातालाई छोडी सन्तोष सापकोटाको नाम लिनु सान्दर्भिक ठहर्ला । सुर्खेत निवासी उहाँ हाल अमेरिका बस्नुहुन्छ । उहाँले पनि हालसम्म उक्त विद्यालयमा दुई लाखको सन्तोष प्रेमा सापकोटा अक्षय कोष पुर्याइदिनुभएको छ । यस्ता कुराहरू लेखिरहँदा हामीले हाम्रा सम्पूर्ण अभिभावकहरूलाई कहिल्यै बिर्सन सक्दैनौँ । किनभने तिनैले आआफ्नो क्षमताअनुसारको योगदान दिएर नै हाम्रा सबै विद्यालयहरू कम्तीमा पनि विद्यालय जस्ता भएका हुन् । विद्यालयसँग निरपेक्ष रहेकाहरूको मायाको कुरा गरेको मात्र हुँ । त्यस्तै विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका उपसचिव गगनबहादुर वि.क.र youme Nepal जापानको समन्वयबाट musashi paint जापानद्वारा गत वर्ष पीपल चौतारालाई पाँच थान ल्यापटप प्राप्त भएको कुरा प्रअ नन्दबहादुर के.सी. सरबाट सुन्न पाउँदा बाल्यकालीन सहपाठीका नाताले मेरो मनसमेत खुसीले फुलेको हो । यस्ता ससाना घटनाहरूले पनि जीवनमा निकै ठुलठुला आनन्द र खुसी दिँदा रहेछन् । ज्ञान र प्रेरणा दिँदा रहेछन् । उसो त पाँचपाँच करोडको व्यक्तिगत लगानीमा अस्पताल बनाइदिने छिमेकी जिल्ला जाजरकोटका पूर्व सांसद राजीवविक्रम शाहले यसपालि पनि कर्णालीका जनताका लागि कोरोना विरुद्ध लड्न एक करोड दिनुभएको सुसमाचार सुन्न पाइयो । अरबौँ रकम सहयोग गर्ने अनि कति त आजीवन मानव सेवामै समर्पित हुनेहरूको नाम हामीले नसुनेका होइनौँ । तर आफ्नै आँखाअघिको दृश्यको मात्र कुरा गरेको हुँ । यसबाट सहयोगी हातहरूको कहिल्यै अपमान हुन जाने छैन । उहाँहरू सधैँ जनताका मुटुमा हुनुहुन्छ । आफूले पढ्दै जिन्दगीका श्रेणीहरूमा उकालो लागिएका शिक्षालयहरू बिर्सनेहरूको कमी छैन । यस्तो अवस्थामा माथि चर्चा गरिएका झिना प्रसङ्गहरू प्रशंसनीय छन् । आफ्नो माटो, समाज, शिक्षालय र प्रकृतिलाई आआफ्ना ठाउँबाट सकेको सहयोग सबैले गरिदिए यो संसारको गति कस्तो हुँदो हो ? सडकमा बस्नेहरूको पीडा आफ्नै ठाउँमा होला । तर पनि आफ्ना आधारभूत आवश्यकता जसोतसो पुरा गरी बाँच्नेहरूदेखि लिएर सत्ताको बागडोर समाल्नेहरूसम्मका बहुसङ्ख्यक मानिसहरू नितान्त व्यक्तिगत उन्नति र स्वार्थमा लिप्त हुँदै गएको आजको परिस्थितिमा पनि कैयन् मानिसहरू समाजसेवामा छन् । गाउँ छोडेर सहरमा बसाइँ सरेकै दिनदेखि त्यही गाउँलाई घृणा गर्नेहरूको कमी छैन । आफूले पढ्दै जिन्दगीका श्रेणीहरूमा उकालो लागिएका शिक्षालयहरू बिर्सनेहरूको कमी छैन । यस्तो अवस्थामा माथि चर्चा गरिएका झिना प्रसङ्गहरू प्रशंसनीय छन् । आफ्नो माटो, समाज, शिक्षालय र प्रकृतिलाई आआफ्ना ठाउँबाट सकेको सहयोग सबैले गरिदिए यो संसारको गति कस्तो हुँदो हो ? त्यसरी बाँच्न सके जीवनका खुसीहरू कति पल्लवित र सुवासित हुँदा हुन् ? हृदयमा यस्तो भावना जगाइदिने पीपल चौताराहरू आँखामा सधैँ आइरहून् । सम्झनामा सुकल्याणहरू सधैँ यसरी नै उदाइरहून् । क्षणभङ्गुर जीवनको त्यो अन्तिम समयसम्म पनि यस्तै प्रेरणादायी घटना र पात्रहरूसँग सधैँ भेट भइरहोस् । यो संसार यस्तै महान् कर्मयोगीहरूको सद्भावमा सधैँ फुलिरहोस् । सुकल्याण पराजुली जस्ता सार्थक नामहरू जस्तै सिङ्गो मानव जीवन पनि सार्थक हुँदै जाओस् । त्यसमा पनि आज त झन् संसारभरि कोरोना आतङ्क छ । यस्तो बेला झन् हामीलाई आपसी प्रेम, सद्भाव र सहयोगको खाँचो छ । हरेक देश, व्यक्ति र समुदायले आआफ्नो बलबुद्घि लगाएर फेरि पनि विश्व मानव समुदायको मुहार हसाउनु छ । अन्तमा लीलाधारी यो जीवनको सार्थकता, परोपकारी मन र मृत्यु जस्तो कठिन सत्यलाई पुनः सम्झिँदै यी भावहरूको आक्षरिक समापन यहीँ गर्दछु; हार्दिक धन्यवाद सुकल्याणजी ! #परोपकार #प्रेमप्रकाश मल्ल
एउटा रुमानी सम्झना: मेरो र उसको घर नजिकै थियो । पुस्तौंपुस्तादेखि सँगै, जुम्लादेखि नै । हामी पनि सँगै खेल्थ्यौँ । मभन्दा तीन वर्ष जेठी थिई ऊ । मभन्दा बाठी थिई । हामीलाई कुन जात ठूलो, कुन सानो ? थाहा नै थिएन । उसको घरमा गएर म खाना खान्थेँ । आमाले भन्नुहुन्थ्यो, “कर्म नचलुन्जेल खाँदा केही फरक पर्दैन ।” कसैले त्यो घरमा मासु खायो भनेर कसैले सुनाइदिँदा आमाले “धातुरोग थियो, सेतो पिसाब गर्थ्यो, अब ठीक हुन्छ भनेर जवाफ दिनुहुन्थ्यो । बाल बिन्दासका थिए ती दिनहरू। दिनहरू उकालिँदै थिए । जवानी चढ्दै थियो । हामी छिप्पिदै थियौँ । चन्द्र कटवाल गाउँमा मानिसहरूको आवात-जावत हुन थाल्यो । हल्ला आउन थाल्योः उनीहरू त घर नागिदिन्छन् रे ! बुटमा स्प्रिङ लगाका हुन्छन् रे ! राजनीतिकर्मी हुन् रे ! म यस्ता उम्दा मान्छेसँग भेट्न आतुर थिएँ । एकदिन राति उस्कै घरमा आएछन् । सबै समान हौँ भन्ने कुरा ‘प्राक्टिकल्ली’ देखाएछन्, “म कम्रेड पहाड। हेर्नोस् जनै लगाको ! खाना हाल्नुहोस्, खान्छु !” मजस्ता केटाकेटीबाहेक अरूले खाना त परै जावस्, पानी पनि पिएका थिएनन् उसको घरमा । गाइँगुइँती हल्ला फैलियो, ऊ पनि कम्रेड भै’छ । मनमा अनेकौं कुरा खेले । म पनि कम्रेड हुन्छु । ऊ आओस् मात्र ! म शनिबारको बाटो हेरिरहन्थेँ । छुट्टीमा म ऊसँग बाख्रा चराउन जान्थेँ । तर अब शनिबार नै खल्लो लाग्न थाल्यो । एकदिन एक्कासि एक हुलसँग स्कूलमा आई हेडसरतिर हेरेर भनी, “अब स्कूल बन्द गर्नु पर्छ।” हेड सर थर्थर हुनुभो, “तिमीहरू ठूलो जातकाले हामीलाई दबाएका छौ । तिमीहरू सामन्ती शोषक हौ । अब समानता बन्दुकको नालबाट लिनुपर्छ ।” म अक्कनबक्क भएँ । स्कूल त पढेको थिएँ, तर यस्ता कुरा पर्घेल्न सक्ने भएको थिइनँ । ऊसँग कति कुरा सोध्न मन थियो । सब चकनाचुर भयो । मलाई जातदेखि रिस उठ्यो, म उसको जातको हुनुपर्ने कि ऊ मेरो जातको ? पहिले निकै केयर गर्थी । उसले सानो चक्कु भिरेकी थिई । मलाई पनि चक्कु भिर्न निकै मन थियो । उनीहरू पल्लो गाउँ लागे । हामी घर आयौं । गाउँमा खैलाबैला मच्चियो । बिहान आमाले भर्खर ठेकीमा दहीहालेर मदानी घुमाउदै हुनुहुन्थ्यो, एक्कासि ऊ आई दलबलसहित । आमाले भन्नु’भो, “कान्छी ! त्यहाँ बाहिर बस्, म आउँछु।” “कान्छी हैन, कम्रेड भन्नुहोस्,” ऊ कड्की । आमा चुइँक्क बोल्नु भएन । ऊ सरासर आमा भएको ठाँउमा गई। मदानी समातेर घन्किघन मोही पार्न लागी । मतिर हेरेर थर्काउदै भनी, “म पहिले अरूले कुखुरा काटेको हेर्न डराउने, अहिले मान्छे काट्न डराउँदिन ।” मिसन कम्पिलिट । उनीहरू त्यहाँबाट गए । आमाले गालामा हात राखेर भन्नुभयो, “यस्तो कसले बनाए छ ? यो उही बम्मकली हो त ? कति मायालु थिई, जंगलीमुसा पसेपछि घरमुसाको सत्यानास !” म सानै थिएँ । उसका आमा-बाबु निकै मद्दत गर्थे । उसका बाले बारी जोत्न सघाँउथे । त्यसको पर्म फर्काउन मेरी आमा उनीहरूको मकै गोड्न, धान रोप्न जानुहुन्थ्यो । कहिलेकाहीँ यो वर्षको पर्म अर्को वर्ष तिर्नु पर्थ्यो । असारमा राम्रोसँग रोपाई भएन भने खान पुग्थेन । आमाले माइत गएर पिठो ल्याउनुपर्ने स्थिति थियो । हाम्रो भन्दा उनीहरूकै खेतबारी ज्यादा थियो । तर हामी सामन्ती भयौँ | स्कूल बन्द भयो । म पनि सिपाही भएँ । खेत बारी बाँझै रह्यो । उनीहरूको र हाम्रो परिवारमा आउजाउ बन्द भयो । जातिको तगारो लगाए । धेरै समयपछि म गाउँमा गएँ । पहिलेको सामाजिक सम्बन्ध पातलिँदै गएछन् । हिजोको नाताहरूको सट्टा आज तल्ला जात र उपल्लो जात भनेर झन् गहिरो जातिबाद र घृणा रोपेछन् । जेठाबाले भन्नुहुन्थ्यो, “बाबै ! यो राजनीतिले फुटाउँछ” । हो रहेछ, आजकल हरेक सम्बन्धहरू राजनीतिको आधारमा निर्धारित रहेछन् । मानिसहरू सदरमुकामतिर सरेछन् । एउटा भने निकै आलिसान बंगला बनाएका रहेछ बाटैमा । गेटसहितको । म यो गाउँका सबैलाई चिन्थें । तर त्यो बंगला लोकलको थिएन । रोडबाट मेरो घरभन्दा पहिला उसको घर आउथ्यो । सुनेको थिएँ, ऊ लडाईंबाट घाइते भएकी छे । उसका बाबुको देहान्त भैसक्यो । दाजुभाइहरू सुर्खेत सरिसके । घरैभरि झिङ्गा भन्केका । पहिलेको सफासुगर हुने घर एकछिन पनि बस्न नसकिने हालत । भुइँमा पल्टिरहेकी । बोल्न खोज्ने, बोली नबुझिने । लडाइँमा गोली लागेको प्यारालासिस भाको छ । “यिं भान्ज, नआउदो क्या आयो । हामीकन यस्तै बनाइदियो । भाइभाइ लडाई दियो । हामीकन पहिला भन्ना मस्तै दु:ख छन् । क्या बिष्ट, क्या हामी, सबै मिलेका छियौं, बसेका छियौं । ध्यौको बैरीका आखाँ लाग्या । तिनीहरूको कहिल्यै भलो नहोस् । सिरान महाबै छन्, गोणेन मस्ट छन् ।” आखाभरि आँसु ल्याएर धरधरी रोइन् । मेरा पनि आँखा रसाए । उनले पकाएको कति पटक खाएको थिएँ । मैले त अझै पनि कर्म चलाएको छैन, त्यही हातको खान पाउँछु भनेर । मैले सोधेँ, “माइजू, त्यो बाटोको ठूलो घर कसको हो नि ? भयङ्करको छ |” “कम्रेड पहाडको हो । ह्वाँको काडमाण्डौमा पनि घर छ । छोराछोरी अमरिका पढ्नुहुन्छ । म पनि ह्वाँकै घरमा काम गर्छु । त्यसैले खान-पिउनु गुजारा चलेको छ |” “ए ए, मलाई पनि याद आयो । उहाँको नाम त चर्चित छ । सबैभन्दा पहिले हाम्रो गाउँमा आउने अनि यो बम्मकलीलाई पार्टीमा लैजाने पनि उहाँ नै हो नि है !” “हो -हो भान्जा, हो ।” हो त रहेछ कति समानता भैसकेछ । बम्मकलीले मुख उघारेर हेरेँ । आँखाबाट आँसुको बलिन्द्रधारा बगेको थियो । म भारी मन लिएर त्यहाँबाट घरतिर लागेँ । भोलिपल्ट गाउँमा कार्यक्रम रहेछ । एकहुल बडीगार्डसहित कम्रेड पहाड गाउँमा आए । मानिसहरू जम्मा भए । “हाम्रो बलिदानीले प्राप्त भएको उपलब्धि अझै पनि गुम्ने खतरा छ । अझै पनि सामन्तिहरू सलबलाउन खोज्दैछन् । उपल्लो जात भन्नेहरूका ठाउको काट्नु पर्छ । हामी एकै जात ।” अस्ति गाउँमा एकजनाले मान्छे मार्दा पनि उनको पार्टीको भनेर जोगाएका रहेछन् कम्रेडले । त्यसैले उनको डर सबैले मान्दा रहेछन् । उनले आफ्नो गार्डसँग सोधे, “वई, त्यो पानी ल्याएर आउने कुन जातकी हो ?”, गार्डेले खानेखुसी गर्दै खुस्खुसायो । उनीहरू पानी नपिएर गए । फेरि अर्को टोली आयो | उहाँहरू पनि सिधै त्यही बस्तीमा गए । सुकिलामुकिला कपडा लगाएका भन्न थाले, “आमा, हामी हजुरहरूकै लागि काम गर्न आएको । हजुरहरू हेपिनु भएको छ, चेपिनु भएको छ । हामी समानता एनजीओबाट आएका ।” पहिलेको झल्कोले गर्दा यिनीहरूलाई रेस्पोन्स गरेनन् । कुनै काम गर्न पनि दिएनन् । यिनीहरूले पनि एनजीओ, हाम जिओ, तुम जिओ, भनेर फेरि उचाल्ने र पछार्ने त होलान्, है ? यो सबै दृष्यावलोकन गर्दै म अगाडि बढ्दै थिएँ । मेरा नजर कम्रेड पहाडको कम्पाउन्डमा रहेको एउटा बोर्डमा गएर टक्क रोकिए । त्यसमा लेखिएको थियो, “ अल आर इक्वेल” । तर त्यसको मुनि सानो अक्षरमा लेखेको रहेछ, नजिकै गएर ध्यान दिएर हेरेँ, “ सम आर मोर ईक्वल द्यान अदर। ” जर्ज वरेल #जनयुद्ध #त्यो दिन ठीक थियो #दलित
आमाघरका आमाहरू: मेरो घर नजिकै छ आमाघर । आमाघर अर्थात् वृद्धाश्रम । आमाघरमा आमाहरु हुनुहुन्छ । सडकमा फालिएका आमाहरुको एउटा सानो संकलन केन्द्र हो, आमाघर । आमाघरका संचालक आफैँ पनि एक आमा हुनुहुन्छ । जोशिलो, जागरुक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, बेवारिस आमाहरु संकलन गर्दागर्दै आमाघर बन्यो । यो आमाघरमा बेलाबेला म जाने गर्छु । देख्छु, आमाहरु सँगै खानुहुन्छ, पकाउनु हुन्छ, रिसाउनु हुन्छ, गीत गाउनु हुन्छ । कुनै आमालाई गीत गाउन मन लागेको बेला अर्को आमालाई ध्यान गर्न मन लाग्छ, कुनै आमालाई आकाशतिर फर्केर तथानाम गाली गर्न मनलाग्छ र टोल नै थर्किने गरी गाली गर्नु हुन्छ । कसैलाइ जिउ दुखिरहन्छ, ऐयाऐया गरिरहनु हुन्छ । मैले प्रत्येक आमाको पूरा कथा त सुनेको छैन, नसुन्दा नसुन्दै पनि सबै आमाहरुको कथा लगभग उस्तै छ । परित्यक्त आमाहरु । छोराछोरी, बुहारी वा अन्य सन्तानबाट सुनियोजित घर निकालामा परेकाहरु । आफूले जीवनभर दुःख गरेर जोडेको सम्पत्ति आफैँले जन्माएर आफैँले मुटुको टुक्रा जस्तै लालनपालन गरेर उच्च शिक्षासम्म अध्ययन गराएर विवाह गराएर सक्षम गराएपछि भएको सबै सम्पत्ति तिनै मुटुका टुक्राहरुले कानूनी रुपमा हडपेपछि आमाहरुलाई बेतलबी नोकर जत्तिको पनि माया नगरी हरेक दिन कचकच गरेर, पिटेर, एक एक वाक्यमा आक्रमण गरेर एक न एक निहुँ पारी घरमा बस्नै नसक्ने बनाएपछि त्यो भन्दा सडकको जीवन नै शान्त र सुखी होला कि भनेर मुटुका टुक्रालाई नै सर्वस्व सुम्पेर सडकमा रुमाल थापेर मागेर खान र सडक पेटीमै रात गुजारा गरेर बसेका आमाहरु । सडकपेटीमा पनि पानी, घाम, कुकुर, पुलिस, लोकल दादा, सबै तथाकथित मानिसहरुबाट अपहेलित भएर मन र शरीर दुवै बिरामी भएका आमाहरु । त्यहीँ कति मरे होलान् बेवारिस भएर, संयोगवश मर्न नसकेका र कुनै कारणले आमाघर पुगेका आमाहरु । आमाहरुका सन्तान माथि उल्लिखित सन्तानहरु भन्दा असल छन् । उनीहरु जब आमाका सबै सम्पत्ति हात पार्छन्, आमालाई हेला गर्न थाल्छन् । आमा रुन थाल्छिन् । सन्तान हुर्काइका कष्ट सम्झन्छन् । मृत पति सम्झन्छन् तर किन सन्तानको रहर गरेँ भनेर पश्चाताप कमैले गर्छन् । महिलाहरुका लागि सन्तान हुनुअघि पति प्यारो, सन्तान भएसकेपछि पति भन्दा सन्तान प्यारो । कुसमयमा पतिको मृत्यु भयो भने त झन् सन्तान नै सहारा । आशाको त्यान्द्रो । सानो छँदा सन्तानले केही नगरे पनि, गर्न नसके पनि, जे गर्छ यी सन्तानले नै गर्छन् भन्ने बलियो विश्वास, त्यही विश्वासले धेरै एकल आमाले जवानीमै पतिको मृत्यु हुँदा पनि अर्को विवाह गर्दैनन् । यौन तृष्णा, राम्रो लगाउने, मीठो खाने, साथीभाइसँग खुल्लमखुल्ला मज्जाले हाँस्ने सबै इच्छा दबाउँछन् । कतै एक छाक एक्लै मीठो खाने ठाउँमा पुगे भने सन्तान सम्झछन् र एक्लै खाँदा घाँटीमा अड्केको महसुस गर्छन् । कसैले त अलिकति थप मागेर लैजान्छन् भने कसैले एक दुई टुक्रा भएकोमध्ये मीठो कुरा, पोको पार्ने, केही नपाए पछ्यौरी वा सारीकै फेरोमा राखेर घरमा लैजान्छन् र सन्तानलाई खान दिन्छन् । सन्तानले मीठो मानेर खाइसकेपछि मात्र आमाहरु तृप्त हुन्छन् । यी आमाहरु हरेक दिन सन्तानले गाली गरे पनि, अभद्र व्यवहार गरे पनि मनमनै माफी दिन्छन् । चुपचाप एक्लै आँशु झारेर रुन्छन् । ती आमाहरुलाई सुनियोजित ढंगले आमाघरमा ल्याउने एकाथरी सन्तानहरु छन् । पढेलेखेका, विद्वान सन्तानहरुलाई सबै टिकडम र खेल थाहा छ, आमाको कमजारी पनि थाहा छ । जसरी हुन्छ, घरमा बस्नै नसकिने वातावरण सिर्जना गर्छन् । दायाँ बायाँ केही सहारा देखिँदैन । जसको सहारा होला भन्यो उनीहरु चुँसम्म बोल्दैनन् । आफूहरु रेष्टुराँमा खाएर आमालाई भोकै राख्छन् । घरको सरसफाइ, भाँडाकुँडा माझ्ने, बाथरुम सफा गराउने, जे जे गर्दा आमालाई असजिलो बनाउँछ सबै सुनियाजित रुपमा गराउँछन् । ती सन्तानहरु सबैभन्दा पहिले आमाको कोखबाट जन्मेर आमाकै दूध पिएर आमाकै स्याहारमा हुर्केको, आमाबाकै लगानीमा जवान भएको बिर्सन्छन् । आमाहरु बुढी हुन्छन् । अशक्त हुन्छन्, बिरामी हुन्छन् । करकर कराइरहन्छन् भन्ने गुनासो रहन्छ । फेरि आमा नभए पनि आमाको सम्पत्ति भने दिनको बीस पटक गन्छन् । अनि केही समय फकाएर वा झुक्याएर आमाको सबै सम्पत्ति आफ्नो कब्जामा लिन्छन् । त्यसपछि आमालाई गाली गर्ने, दुत्कार्ने, खान नदिने, औषधि नखुवाउने व्यवहार शुरु हुन्छ । बुढेसकालमा अझै धेरै चासो र स्याहार चाहिने बेलामा सन्तानहरुलाई त्यही घरमा बसेर आमालाई सन्चो बिसन्चो सोध्ने, लुगा फेरिदिने, धोइदिने, आमाको रमाइलोका लागि केही समय दिने, एउटै कुरा दोहोर्याए पनि आमाका कुरा सुन्दिने त आमाको अपेक्षा मात्र हो । तर पढेलेखेका, विद्वान सन्तानहरुलाई सबै टिकडम र खेल थाहा छ, आमाको कमजारी पनि थाहा छ । जसरी हुन्छ, घरमा बस्नै नसकिने वातावरण सिर्जना गर्छन् । दायाँ बायाँ केही सहारा देखिँदैन । जसको सहारा होला भन्यो उनीहरु चुँसम्म बोल्दैनन् । आफूहरु रेष्टुराँमा खाएर आमालाई भोकै राख्छन् । घरको सरसफाइ, भाँडाकुँडा माझ्ने, बाथरुम सफा गराउने, जे जे गर्दा आमालाई असजिलो बनाउँछ सबै सुनियाजित रुपमा गराउँछन् । आमाहरु भने नातेदारले के भन्लान्, छिमेकीले थाहा पाए इज्जत जाला कि भनेर निरन्तर सही रहन्छन् । त्यसरी सहँदा पनि आमाप्रतिको दुव्र्यवहार कम हुँदैन । खासमा भन्नु पर्दा आमाको चाँडो असामयिक मृत्यु होस् भन्ने चाहन्छन् । यो सबै खेल खेलिसकेपछि अनि आफ्नै मुटुका टुक्राले एक दिन प्रस्ताव गर्छ, आमा तपार्इंलाई आमाघरमा राख्न लैजान्छु । आमा पनि आफ्नै मुटुका टुक्राहरुबाट असुरक्षित महसूस गर्नु हुन्छ । केही विकल्प नभएपछि आमाघरको बास स्वीकार्नु हुन्छ । एक आमाले भन्नुभयो– धेरैले आमाको बखान गर्नुहुन्छ, कविता लेख्नुहुन्छ, फेसबुकमा फोटो हालेर आमाको प्रशंसा गर्नुहुन्छ । तर आमालाई बुढेसकालमा स्याहार्न तयार हुनुहुन्न । हाम्रो समाजमा विशेषतः विवाहपछि छोरीहरु त घर छोडेर जान्छन् । छोरा बुहारीहरु विवाहपछि आमाबालाई बोझ ठान्छन् । यति धेरै स्वार्थी कसरी हुन सकेको ? #आमा #जीवनको रङ #स्नेह सायमि
म ३४ वर्षको हुँदा ?: बुद्धिसागर सानोमा स्कुल छाडेर भागेको। मोजाको फुटवल बनाएर खेलेको। खोलामा नाँगै नुहाएको। सरले मुर्गा बनाएर घाममा उभ्याएको। पहिलोपल्ट फिलिम हेरेको। घरमा आमाले पकाएको रारा चाउचाउ गड्यौलाजस्तो लागेर घिन मान्दै नखाएको। अस्ति भर्खरैजस्तो लाग्छ। समय त मिलको पट्टा पो रैछ। फनफनी घुमेको घुम्यै गर्छ। भन्छन् – खुशीमा समय चाडै बितेजस्तो लाग्छ। दुख्खमा समय एकैठाऊँमा अडेको अड्यैजस्तो हुन्छ। सम्झना छ? परिक्षा हलमा एकघन्टा कति छिटो बित्छ? हेरिरहेको टिभीको कार्टुन फिलिम कत्ति चाँडै सकिन्छ? तर, बिचबिचमा आउने विज्ञापन कत्ति लामो लाग्छ। मनपर्ने सरको कक्षा कत्ति छोटो लाग्छ र मन नपर्ने सरको कक्षा कत्ति लामो। समय र उमेरपनि त्यस्तै त हो। म सोचिरहेको छु- मेरो जीवनको ३२बर्ष मनपर्ने सरको क्लासझैँ कत्ति चाडै सकिएछ। कहिलेकाहीँ म मेरा स्कुले साथी भेट्छु। दुःखी र निरास देखिन्छन्। र, तिन्लाई जीवन मन नपर्ने सरको क्लासजस्तो अल्छिलाग्दो लागिरहेको देख्छु। म सोच्छु- समयले मान्छेलाई सुखी र दुःखी बनाउने होइन रैछ, त्यो त हामी आफैँले बनाउँदा रैछौँ। कहिलेकाहीँ लाग्छ- म आफैँले नै जीवन मनपर्ने सरको कक्षाजस्तो बनाएँ। मेरा कति साथीले आफूले नै जीवन मननपर्ने सरको कक्षाजस्तो बनाए। कति साथीका बा, आमा र शिक्षकले नै जीवन मननपर्ने सरको क्लासजस्तो बनाइदिए। साथी र ममा एउटै फरक छ- साथीहरुले बा,आमा र शिक्षकले सिकाएको बाटो हिँडे। म भने आफैँले रोजेको बाटो हिँडे। … सानैदेखि म पढाइमा साह्रै कमजोर थिएँ। स्कुलको अन्तिम बेन्चमा बस्थेँ। सरले पठाएको पनि बुझ्दिनथेँ। तर, नबुझेको कुरा सोध्ने आँटै आउँदैनथ्यो। सोध्यो भने पनि सरले ‘यत्ति पढाएर पनि बुझिनस् स्वाँठ’ भन्दै कान निमोठ्थे। त्यसैले म सरको आँखा अगाडि पर्दिनथेँ। लुकेर बस्थेँ। सायद, असल सर भएको भए, मलाई अघिल्लो बेन्चमा राख्दा हुन्। बुझाउँदा हुँन्। प्रेरणा दिँदा हुन्। म अहिले सोच्छु- मेरा जीवनमा कहिल्यै असल सर आएनन्। जति आए, खराब नै आए। ती कक्षामा चाँडोभन्दा चाँडो बुझ्ने विद्यार्थीलाई मात्र प्रेरणा दिन्थे। हाम्रा अगाडि उसको सधैँ प्रशंसा गर्थे। सोधेको प्रश्नको उत्तर नजान्दा सर, जान्ने विद्यार्थीलाई हाम्रो गालामा थप्पड हान्न लगाउँथे। हामी नजान्नेलाई सरले सधैँ गिल्ला गरिरहे। बच्चा त गिलो माटो हुन्। सर कारिगर। तिनैको हातले नै हाम्लाई विभिन्न थरी मूर्ति बनाउने न हो। सरले भने तीक्ष्ण विद्यार्थीको जहिले पनि राम्रो मूर्ति बनाउँथे। हाम्लाई भने आकार दिन नसकेर त्यत्तिकै छाडिन्थे। म जति क्लास उक्लिदै गएँ, उति ल्वाँदे भएँ। सरले गिल्ला गर्छन्, कक्षाका साथी हाँस्छन् भनेर म कक्षाबाटै भाग्न थालेँ। म दिनभर जंगल घुम्थेँ। चरा उडेको हेर्थें। जंगलमा गएपछि, मसित पढ्न नआउने किताब हुन्थेनन्, न त चड्कन लगाइरहने सर। म एक्लो हुन्थेँ। मलाई त्यस्तै मनपर्थ्यो। म प्रायः जाँचमा फेल हुन्थेँ। कहिलेकाहीँ बाले हेडसरसित कुरा गरेर पास गराइदिनु हुन्थ्यो। गाउँमा पनि फस्ट हुने विद्यार्थीलाई सबैलाई माया गर्थे। फेल हुनेलाई देख्यो कि गाली गर्थे। थुक्थे। तर, कसैले सोधेन- तँलाई किन पढ्न मन लाग्दैन बाबु! घर, गाउँ र स्कुलमा म लम्पट विद्यार्थीको रुपमा चिनिएँ। जहाँ पनि ‘यसले पढेर खाँदैन’ भन्नेहरु भेटिन्थे। पछिपछि त मलाई पनि लाग्नथाल्यो- म पढेर ठूलो मान्छे हुँदिनँ। म बरालिएँ। फिलिम हेर्न घरबाट भाग्न थालेँ। मेरो मन स्कुलमा भन्दा अन्तै रम्न थाल्यो। अनि, जब रिजल्ट आउँथ्यो- म फेल हुन्थे। साथीहरु पास भएर नयाँ-नयाँ बासनादार किताब किन्थे। त्यसबेला मेरो मन साह्रै रुन्थ्यो। ‘अब यसपालि मज्जाले पढेर पास हुन्छु’ भन्ने कसम खान्थेँ, तर फेल भएर उही क्लासमा बस्नुपर्दा झन् पीडा हुन्थ्यो। सरहरु पनि फेल हुनेलाई झनै गाली गर्थे। ‘तँ पढेर खाँदैनस्’ भनेर वचन लाइरहन्थे। ‘यसपालि त पढ्छु पढ्छु’ भनेर खाएको मेरो कसम आँसुसँगै बगेर जान्थ्यो। पछिपछि, मलाई कोर्सका किताबभन्दा अरु नै किताब पढ्न मनलाग्न थाल्यो। कमिक्स र जासुसी उपन्यास खुबै पढ्थेँ। ती रोमाञ्चक हुन्थे। पढिसकेपछि परीक्षा पनि दिन पर्दैनथ्यो। अनि म बिस्तारै पढन्तेमा गनिनँ थालेँ। तर, मेरो पढाइ सबैजसो कोर्सको किताब बाहिरको हुन्थे। आफ्नो रुचिको कुरा भेट्टाएपछि त म पनि पढ्ने नै रैछु भनेर त्यो बेला मलाई थाहा भयो। … जब बसाइँसराइ भएर म कालिकोट पुगेँ, त्यहाँको स्कुल झन् खराब थियो। रामरी पढाइ नै हुन्थेन। एकदुई जना असल सर थिए तर तिन्ले मजस्तो बिग्रिसकेको माटोलाई फेरि मूर्ति बनाउने आँट गरेनन्। मेरो मन बिरक्तियो- मैले कविता लेख्न थालेँ। रेडियोमा पठाउन थालेँ। मेरो कविता रेडियोमा बज्न थाल्यो। गाउँघर, स्कुल जताततै मेरो चर्चा फैलियो। म झन् कवि भएँ। मेरो कविता रेडियोमा सुनेर बा पहिला खुशी भएका बा, पछि गएर आत्तिन थाल्नु भो। ‘छोरो कवि हुने भो’ भन्ने पीर पर्\u200dयो। त्यसबेला कविलाई कसैले राम्रो मान्थेन। कवि जीवनमा सधैँ दुःखी हुन्छन्। भोकै पर्छन् भन्थे मान्छेहरु। सप्पैलाई लाग्थ्यो- डाक्टर र इन्जिनियर पो हुनु, कवि हुने हो? मलाई अहिले पनि लाग्छ- धेरै अभिभावक आफ्ना सन्तान डाक्टर र इन्जिनियर बनोस् भन्ने एउटै कारणले चाहन्छन्- पैसा कमाउँछन् भनेर। कम्तीमा मलाई डाक्टर बन भन्नेले ‘बिरामीको सेवा गर्ला’ भनेर भनेकाथेनन्। एसएलसी नजिक आयो। सरहरु ‘यसपालि एसएलसी पास हुने विद्यार्थी यी यी हुन्’ भनेर दिनकै नाम फलाक्थे, जसमा मेरो नाम कहिल्यै हुन्थेन। मेरै कक्षामा साँच्चिकै प्रतिभाशाली विद्यार्थी पनि थिए। तिनले आफ्नै सीप र साधनाले पढेकाथे। ती प्रतिभाशाली हुनुमा सरको योगदान एकदमै कम थियो। र, एसएलसी नजिकिदै गर्दा सरहरु प्रतिभाशाली विद्यार्थीकै वरिपरि घुम्न थाले। सरहरु सोच्थे- ‘यी केटाहरु ट्यान्लेट त छन् नै। अलिकति चिट चोराउन पाइयो भने त यिनले फस्ट डिभिजन ल्याएर स्कुलको इज्जत राख्छन्।’ एसएलसीको परीक्षामा सरले नै प्रतिभाशाली विद्यार्थीलाई चिट चोराए। हामी कमसल विद्यार्थीको हातमा भने कमसल मान्छेले नै लेखिदिएको चिट आउँथ्यो र ती चिटमा सही उत्तर नै लेखिएका छन् भन्ने पनि विश्वास गर्न गाह्रो हुन्थ्यो। जे होस्, म सेकेन्ड डिभिजनमा पास भएँ। दुईचार जना साथी फस्ट डिभिजनमा पास भए। एसएलसी पास गरेपछि, मैले बासित ढिपी गरेँ, ‘म पढ्न काठमान्डू जान्छु ।’ मैले हैरान पारेपछि बाले काठमान्डू पठाउनु भयो। मैले एसएलसी दिँदै गर्दा आफ्नो बाटो रोजिसकेको थिएँ। मैले अठोट गरिसकेको थिएँ- काठमान्डू गएर लेखक बन्छु। … जरा कमजोर थियो, त्यसैले कलेजमा पनि राम्रो विद्यार्थी हुन सकिनँ। तर, आफ्नो सपना पूरा गर्न कविता लेखिरहेँ। पत्रिकामा छापिरहेँ। मेरा रोमाञ्चक दिन सुरु भइसकेका थिए। म सितै एसएलसी दिएका एक मित्र पनि काठमान्डू नै आए पढ्न। उनले कर्नाली अञ्चलमै सबैभन्दा बढी नम्बर ल्याएका थिए। हाम्रो डेरा नजिक थियो। बा, आमा र सरले भनेका रैछन्, ‘तिमी अब डाक्टर हुनुपर्छ।’ उनलाई ठूलो बोझ थियो। त्यतिधेरै नम्बर ल्याएको विद्यार्थीले अरु विषय पढ्ने कुरा पनि थिएन। उनी साइन्सका विद्यार्थी भए। दिनमा अठार-उन्नाइस घन्टासम्म पढ्थे। तर, उनलाई डाक्टर बन्न सुझाव दिनेले उनको मनको कुरा बुझेनन्। उनी के पढ्न चाहन्छन्, उनको रुचि के हो? सोधेनन्। बस्, उनलाई डाक्टर बन्न दबाब दिइरहे। तर, उनले लाख कोसिस गरे पनि आइएस्सी कटाउन सकेनन्। एकपल्ट होइन, चार-चारपल्ट फेल भए। उनका अभिभावक रिसाए। सर रिसाए। र, उनी गाउँ नै जान छाडे। उनीसितैका साथीभाइले घरमा कर गरेरै आफूलाई मनपर्ने विषय लिएर पढेकाथे। आफ्नो बाटो रोजेकाथे। ती पास हुँदै गए। र, आफ्नो क्षेत्रमा अलिअलि स्थापित पनि हुन थाले। उनी त जहाँ को तहीँ रहे। भर्खरै मसित भेट हुँदा उनी दुब्लाएका थिए। अनुहारमा पनि रौनक थिएन। पराग खाएर दाँत पहेँलै बनाएका थिए। उनले भने, ‘बीचमा के के भो। अब फेरि पढ्न थालेको छु।’ ‘साइन्स?’ मैले सोधेँ। ‘होइन,’ उनले भने, ‘आर्टस्। सायद, पहिल्यै आर्टस् पढेको भए, म एमए पास भइसक्थेँ। अहिले आइए दोस्रो वर्षमा पढ्दैछु। त्यो बेला अरुको कुरा बढी सुनेँ।’ जे होस्, उनले ढिलै भए पनि आफ्नो बाटो रोजेछन्। मैले भने लेखनमा अलिअलि प्रगति गरिसकेको थिएँ। कवि गोष्ठीमा कविता सुनाउनु र कविता लिएर पत्रिकाको अफिसमा धाउनु मेरो दिनचर्या थियो। बाले पटकपटक फोन गरेर ‘घर आइज’ भनेर बोलाउनुहुन्थ्यो। ‘रामरी पढ्न सकिनस्। काठमान्डू बसेर के काम?’ उहाँ भनिरहनुहुन्थ्यो। तर, म घर गइनँ। काठमान्डूमा कयौँ रात भोकै सुतेँ। नौ दश महिनासम्म घर भाडा तिर्न नसक्दा घरबेटीले ढोकामा ताल्चा लगाइदिन्थे। झगडा गरेर खोल्न लगाउँथेँ। म यता भोकै थिएँ। उता बा र आमालाई चिन्ता थियो। मलाई त भोकै बस्दा पनि पीडा थिएन। अनुभव न हो, पछि काम लाग्छ- म सोच्थेँ। किनभने, यही नै मैले रोजेको बाटो थियो। एकदिन म झल्यास्स भएँ। लौ, मैले पो आफू हिँड्ने बाटो रोजेको थिएँ। घरमा त रामरी भनेको नै थिइनँ। दशैँमा घर गएको बेला, मैले बा-आमालाई आफ्नो सपना सुनाएँ। मैले भनेँ- म सित कुनै प्रतिभा छैन। म जागिर पनि खान सक्दिनँ। मलाई अरु काम केही पनि आउँदैन। मलाई एउटै कुरा आउँछ, लेख्न। लेखक बन्नलाई गाउँमा सजिलो छैन। काठमान्डू नै बस्नुपर्छ। म अझे दुख्ख गर्छु र लेखक बन्छु। सायद, मैले बा-आमालाई आफ्नो कुरा बुझाउन सकेँ। त्यसपछि पो उहाँहरुले मलाई बेरोजगार भएर काठमान्डूमा बस्दा पनि केही भन्नु भएन। मैले केवल लेखिरहेँ। साहित्यका किताबहरु पढिरहेँ। सायद, परीक्षाकै लागि भनेर यसरी लेख्नु र पढ्नु परेको भए, म बीचमै थाक्थे हुँला। तर, रुचि र सपनाले कहिल्यै थाक्न दिएन। सफलता एक एक गर्दै मतिर तानिदै आए। नेपाल एकेडेमीबाट स्वर्ण पदक पाएँ। नेपाल सरकारबाट प्रतिभा पुरस्कार पाएँ। जागिर खोज्दै कतै भौतारिनु परेन। मैले लेखेकै कारण पत्रिकामा जागिर पाएँ। अनि, ‘कर्नाली ब्लुज’ उपन्यास लेखेँ। हो, त्यसबेला लेखनमा पैसा थिएन। तर, मैले जतिजति लेख्दै गएँ, उतिउति लेखनको महत्त्व बढ्दै गयो। अहिले लेखकले पनि राम्रो पैसा कमाउन थालेका छन्। मैले पत्रिकामा लेख्ने जागिर खाएँ, त्यसबाट तलब आयो। अचेल, घरमा बसेर किताब लेख्छु- त्यसबाट रोयल्टी आउँछ। म दिनभरि आफूलाई रमाइलो लाग्ने काम गर्छु र पैसा कमाउँछु। र, ३४ वर्षको उमेरमा मलाई एक घन्टा पनि ‘काम’ गरेजस्तो लागेको छैन। म त आफ्नो सपना पूरा गरिरहेको छु। लक्ष्मी र सरस्वतीसँगै हुँदैनन् भन्थे तर दुवै मिलेर मलाई माया गरिरहेका छन्। त्यै भएर मलाई मेरो जीवन मनपर्ने सरको कक्षाजस्तो भएको छ। स्कुलका सरले म काँचो माटोलाई गिथोलेर छाडेका थिए, म आफैँले त्यसलाई सुन्दर मूर्ति बनाउन खोजिरहेको छु। मैले मूर्ति तयार गरेका दिन संसार आफैँ सुन्दर हुनेछ । (छ वर्षअघिको चर्चित लेखक बुद्धिसागरको आत्मस्वीकृति, जसलाई हामीले सङ्कलन गरेर राखेका थियौँ।) #कर्नाली ब्लुज #कसरी लेख्ने #फिरफिरे #बुद्धिसागर
गैरआख्यान किन कम लेखिन्छन् ?: सेन्ट्रल डिपार्टमेन्ट, टियुमामा अध्ययनरत अर्थशास्त्रका विद्यार्थी सुजन भट्टराई गैरआख्यानका पुस्तकहरूको ठूलो प्रशंसक हुन् । सँगैका साथीहरु उपन्यास तथा कथाका पात्रका कुरामा मग्न रहिरहँदा उनलाई भने ती कुराले पट्यार लाग्छ । ‘आख्यान फिटिक्कै नपढ्ने त होइन तर आख्यानकै पात्रहरुमा बहस चलाउन भने मलाई पट्यार लाग्छ,’ बन्दाबन्दीका बेला साहित्यपोस्टसँग कुरा गर्दै सुजनले भने, ‘साथीहरु उपन्यासमा रमाइरहेका बेला म भने गैरआख्यानका पुस्तकहरु पल्टाइरहेकाे हुन्छु । मलाई गैरआख्यानको माध्यमबाट संसार अवलोकन र मनन गर्न मन पर्छ ।’ सुजन अर्थतन्त्रका अतिरिक्त इतिहास, भूगोल, राजनीति लगायतका विषय पढ्न विशेष रुचि राख्छन् । उनी भन्छन्, “आख्यान पनि पढ्न त मजा नै आउँछ । आख्यान सत्य र तथ्यको भन्दा भावना र संवेदनाको नजिक हुन्छन् तर गैरआख्यान तथ्यपरक हुने भएकाले यसले बुझाइ र सोचाइको सीमालाई फराकिलो बनाउँछ ।” सुजन भट्टराई उनलाई सबैजसो गैरआख्यान नेपालीमै पढ्न मज्जा आउने भए पनि नेपाली गैरआख्यान पुस्तकको अभाव खट्कने गरेको छ। नेपाली गैरआख्यानको असुलभताप्रति उनको गुनासो रहेको छ । भन्छन्, “नेपालमा आख्यानको तुलनामा ज्यादै न्यून गैरआख्यान लेखिन्छन् । फेरि लेखिएका पुस्तकहरु पनि सहज रुपमा उपलब्ध हुन्नन् । कति गैरआख्यानको पुनः प्रकाशन नै नगरिएकाले पनि कतिपय पुराना पुस्तक नै पाइँदैनन् । काठमाडौँमा सबैजस्तो पुस्तक पसल चाहारेर पनि कहिलेकाहीँ चाहेको पुस्तक नपाएर रित्तै हात फर्किनु पर्छ ।” गत वर्ष अन्नपूर्णपोस्ट दैनिकले पढ्नैपर्ने १०० पुस्तकको सूची सार्वजनिक गर्\u200dयोे । उक्त सूचीमा केहीको विमति रहनु नौलो कुरा त होइन तर त्यहाँ उल्लेखित अधिकांश पुस्तक ‘आउट अफ स्टक’ रहेको पनि प्रस्ट भयो । सूची प्रकाशन लगत्तै सुजनजस्ता अनेकन् पाठकले ती पुस्तक खोजी गर्दा केही पुस्तक मात्र उपलब्ध भए। गैरआख्यानमा बढ्दो रुचि २०७५ सालमा निस्किएका पुस्तकहरुमध्ये गैरआख्यानका पुस्तकहरुलाई पाठकले बढी रुचाएको साहित्यपोस्टको सानो सर्भेले देखाएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको डा. सन्दुक रुइतको जीवनी, बुकहिलले बजारमा ल्याएको ओशोमाथि स्वामी आनन्द अरूणको पुस्तक ‘यस्तो अचम्म जो देखेँ’ तथा मञ्जरी प्रकाशनबाट प्रकाशित डा. विश्वबन्धु शर्माको ‘मान्छेको मन’जस्ता गैरआख्यानहरु यस पटक सफल साबित देखिए । यस प्रकारले हेर्दा विभिन्न प्रकाशन गृह तथा लेखक स्वयंले पुस्तक बजार घटेको जिकीर गरिरहँदा पनि गैरआख्यानको बजार भने स्थिर प्रायः रहेको देखिन्छ । पुष्पराज पाैडेल प्रकाशक तथा वितरक पुष्पराज पौडेल आख्यानको तुलनामा गैरआख्यानको बजार स्थिर रहेको बताउँछन् तर बजार स्थिर रहँदा पनि गैरआख्यानप्रति लेखककै आकर्षण भने कम्ती रहेको उनी स्वीकार गर्दछन् । “आख्यानमा भावनात्मक उडान मात्रले पनि काम गर्छ तर गैरआख्यान भनेको तथ्य र अनुसन्धानपरक हुन्छन् । त्यसैले पनि आख्यानका तुलनामा गैरआख्यान कम आएका हुनसक्छन्,” पौडेलको आँकलन छ, “अब प्रकाशककै हैसियतमा बोल्दाचाहिँ कतिपय तथ्यांकपरक गैरआख्यानलाई पुनःमुद्रण गर्न सकिँदैन । त्यसको कारण भनेको एक समयको तथ्यांक अर्काे समयमा गलत बनिदिन्छ । यसै कारणले पनि पाठकले खोजेका गैरआख्यान नपाएका हुन् । तर समयले प्रभाव नपार्ने गैरआख्यानको प्रकाशन तथा पुनः मुद्रणमा म सम्बद्ध शिखा बुक्सले भने प्राथमिकताका साथ प्रकाशन गरिरहेकै छ ।” विधा नै फरक भएकाले आख्यान र गैरआख्यानलाई तुलना गर्न नमिल्ने मत छ पौडेलको । आख्यानमा संवेदनशीलता बढी हुने भएकाले यसले पाठकलाई छिटो छुन्छ तर गैरआख्यानमा त्यस्तो हुँदैन । आख्यानको तुलनामा गैरआख्यान कम्ती लेखिएकै कारणले बजारमा पनि कम्ती पुगेको मत उनै पौडेलको छ । उनी भन्छन्, “योचाहिँ स्वीकार्नु पर्छ, हामीले पनि आख्यानको तुलनामा गैरआख्यान कम्ती नै निकालेका छौँ ।” कृष्ण अविरल लेखक तथा मञ्जरी प्रकाशनका संचालक कृष्ण अविरल गैरआख्यानको बजार पछिल्लो समय बढेको बताउँछन् । आख्यान लेखनको नाममा जस्तो पनि लेख्ने प्रवृत्तिका कारण पाठकहरुको विश्वास आख्यानले गुमाउँदै गएको, र गैरआख्यानमा आकर्षण क्रमशः बढ्दै जान थालेको अविरलको तर्क छ । “तर गैरआख्यानमै पनि पुरानाजस्ता पुस्तक नयाँ निस्किएका छैनन्,” अविरलो भनाइ छ, “आख्यानमै पनि इतिहास भेटिन्छ । जस्तो कि जनकलाल शर्मा, राहुल सांकृत्यनको लेखाइ । तर अहिले गैरआख्यानमा पनि टापटिपे प्रवृत्ति हावि छ । धैर्यताको कमी छ ।” अविरल भन्छन्, “कुनै गैरआख्यानको गहिरो अध्ययन गरेर त्यसको काउण्टर दिने क्षमता पनि कसैमा छैन । जसले गर्दा पनि हाम्रा इतिहासहरु जति हुनुपर्ने थियो, त्यो मात्रामा उत्खनन हुन सकेका छैनन् ।” गैरआख्यान लेख्नेलाई प्रश्नः गैरआख्यान लेख्न गाह्रो छ हो ? अघिल्लो पुस्ताको कुरा गर्दा शंकर लामिछाने, तारानाथ शर्मा, उत्तम कुँवर, जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी लगायत थुप्रै लेखकले गैरआख्यानमा आफ्नो दर्बिलो उपस्थिति जनाए । लक्ष्मीप्रसाद देवकोटा, बैरागी काइलाजस्ता नामहरु पनि छन्, जसले काव्य, आख्यान र गैरआख्यानमा उत्तिकै हस्तक्षेप गरेका थिए । पछिल्लो पुस्ताका नरेन्द्रराज पौडेल, माधव काफ्ले, माधवप्रसाद पोख्रेल, युवराज नयाँघरे, सुजित मैनाली, रोशन सेरचन, रमेश सायन लगायतका लेखकले गैरआख्यान लेखनीमा प्रभावकारी हस्तक्षेप जनाइरहेको समय हो यो । तर के पनि साँचो हो भने, आख्यानको तुलनामा गैरआख्यानका लेखकहरु हिजो पनि कम नै थिए, आज पनि कम नै छन् । संख्याको हिसाबमा हेर्दा गैरआख्यान आख्यानको तुलनमा हिजो पनि थोरै नै छापिन्थे, अहिले पनि । अहिलेका प्रभावशाली गैरआख्यानकार सुजित मैनालीका अनुसार, गैरआख्यान भनेको भावना प्रवाह मात्र होइन । यस विधाको लेख्नका लागि समय, अध्ययन, अनुसन्धानमा आफूलाई हदसम्म खर्चनु पर्छ भने आर्थिक रुपमा पनि ठूलो मात्रामा लगानी गर्नुपर्ने हुन्छ । यसको लागि अध्ययनको भोक तथा धैर्य पनि हुन आवश्यक हुन्छ । सुजीत मैनाली गैरआख्यान लेख्नेहरु कम छन् भन्ने तर्कमा भने सहमत छैनन् मैनाली तर संग्रह र पुस्ताकाकारकै रुपमा बजारमा आएकाहरु चाहिँ आख्यानको तुलनामा कमै रहेको उनी स्वीकार्छन् । लेखक प्रशस्त भएर पनि किताब किन कम छापिन्छन् त ? भन्ने प्रश्नमा उनी भन्छन्, “अध्ययन अनुसन्धानको विषय भनेको काठमाडौँबाट पोखरा गएर बसेर ३० दिनमा सक्छु भनेर गरिने पनि हैन । गैरआख्यान भने वार्षिक रुपमा एउटा प्रकाश गर्छु भनेर लाग्ने विधा पनि होइन । अध्ययन तथा अनुसन्धानको क्रममा कहिलेकाहीँ एउटा लेख पूरा गर्न पनि ६ महिना लागिदिन्छ । अब यसरी हेर्दा पहिलो कुरो त अध्ययनलाई पुस्तकको रुप दिनै गाह्रो छ । दिए पनि समय लामो लाग्छ । अब संख्या त कम हुने नै भयो ।” उत्कृष्ट गैरआख्यानका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको अध्ययन र अनुसन्धानको परिधि नै रहेको मत छ मैनालीको । पश्चिमा मुलुकका लेखकहरुले एउटै गैरआख्यानका लागि पूरा जिन्दगी खर्चिएका पनि छन् । नेपालकै कुरा गर्ने हो भनेचाहिँ, कुनै पनि अध्ययन अनुसन्धानमा उसको समय खर्च भइरहेको हुन्छ, त्यसमाथि खर्च पनि उठाउन उसले सक्दैन । अहिले आएर त्रिविको अध्ययन तथा अनुसन्धान क्षेत्र पनि गैरआख्यानमा खरो उत्रिन सकेको छैन । युग पाठक ्चर्चित पत्रकार तथा लेखक युग पाठक गैरआख्यान कम लेखिन्छन् भन्ने कुरामा विमति राख्छन् । तर पुस्तकाकारकै रुपमा पाठकसामु आइपुग्ने गैरआख्यानचाहिँ न्यून रहेको बताउँछन् । उनी भन्छन्– “पत्रपत्रिका, एनजीओ र आइएनजीओ, विश्वविद्यालय तथा सरकारका विभिन्न तह तथा क्षेत्रले पनि विभिन्न अध्ययन तथा अनुसन्धानको आधारमा रिपोट तयार पारिरहेका हुन्छन् । तर पुस्तकको रुपमा पाठमाझ पुग्ने भनेको न्यून नै छन् । अनुसन्धानका लागि स्थानीयदेखि राष्ट्रिय तहसम्मै बजेट बिनियोजन हुन्छ, तर काम झारो टार्ने मात्र । त्यसले कुनै बहसको रुपमा काम गर्न सक्दैन ।” युग पाठकका अनुसार मान्छेले लेखन क्षेत्रमा कविताबाट यात्रा सुरु गर्छ । पछि रहरमै आख्यानमा हामफाल्छ । तर गैरआख्यानमा हामफाल्ने आँट जोकोहीले गर्न सक्दैन । यसका लागि अध्ययन, अनुसन्धान तथा विचारको परिधि बृहत हुन आवश्यक हुन्छ । उनी भन्छन्– “गैरआख्यान, त्यसमा पनि अनुसन्धानमा आधारित गैरआख्यान रहरले मात्र लेखिन्न । यसका लागि स्रोतसाधन र सहजताको वतावरण पनि आवश्यक हुन्छ । अनुसन्धानको क्षेत्रमा प्रकाशन गृह तथा अन्य क्षेत्रहरुले लगानी बढाउने हो भने उत्कृष्ट पुस्तकहरु पाठकले पाउन सक्छन् ।” साँच्ची, गैरआख्यान किन कम लेखिन्छन् हँ ? पछिल्लो समय नेपाली साहित्यको समिपमा रहेर पत्रकारितामा संलग्न निर्भिक जंग रायामाझी अहिले उत्कृष्ट आख्यान लेखिरहेकै लेखकहरुले निसंकोच मनले सामाजिक सरोकारका विषयमा कलम चलाउने हो भने उत्कृष्ट गैरआख्यान बजारमा आउन सक्ने मत राख्छन् । तर त्यसका लागि हाम्रा लेखकहरुले आफ्नो अध्ययनको परिधिलाई बढाउन जरुरी छ । निर्भीक जंग रायमाझी उनी भन्छन्, “अधिकांश राम्रा साहित्यकारको अध्ययन र ज्ञान छैन । गैरआख्यानका लेख्नका लागि अध्ययन र ज्ञानका अलावा तीक्ष्ण बुद्धि र विश्लेषणात्मक क्षमता पनि आवश्यकता पर्छ । इतिहास, विज्ञान, तथ्यांकशास्त्र र लोजिकल स्टेटमेन्टहरु दिन सक्नुपर्\u200dयो । नेपाली लेखन संस्कृतिमा भावुकता र स्वरकल्पनामै अल्झिरहेको यही अवस्थामा उत्कृष्ट गैरआख्यानहरु आख्यानको तुलनामा आउन सक्दैनन् ।” उत्कृष्ट आख्यानमा लेखिरहँदा गैरआख्यानमा पनि खरो उत्रिएका लेखकहरु पनि छन् । उदाहरणका लागि खगेन्द्र संग्रौला, आहुति, बैरागी काइँला आदिलाई लिन सकिन्छ । आख्यानको तुलनामा गैरआख्यान कम आएका र गैरआख्यानले पाठकको भोक मेट्न नसकेको रायामाझीले पनि अनुभूति गरेका छन् । गैरआख्यानका कलम चलाउनेहरुमध्ये अधिकांश त्रिविसँग सम्बद्ध व्यक्ति तथा अन्य क्षेत्रका खोजकर्ताहरु छन् । जसरी स्वतस्फूर्त रुपमा आख्यानमा कलम चलाउनेहरु आइरहेका छन्, ठीक त्यसैगरी गैरआख्यानमा काम हुन सकिरहेको छैन । यस अर्थमा गैरआख्यानलाई आख्यानभन्दा गाह्रो विधाको रुपमा पनि व्याख्या गर्न सकिन्छ । महेश पाैड्याल त्रिविका सहायक प्रोफेसर तथा समालोचक महेश पौड्याल भन्छन्, “आख्यान बढीमा भावतरंगहरुको कथास्वरुप हो । यो लेख्नमा र पढ्नमा पनि खासै अवरोध हुँदैन । तर गैरआख्यान भनेको पूर्णत बौद्धिक विधा हो । यसले सत्य, तथ्य, विज्ञान, सटिकता, अध्ययन, अनुसन्धान, सबै माग्छ । अँ, कष्टचाहिँ अनुसन्धानात्मक आख्यान लेख्नमा पनि छ ।” पौड्यालको मतमा आख्यान होस् या गैरआख्यान, राम्रो लेख्न दुवै गाह्रो छ । र काम चलाउ लेख्न दुवै सजिलो । नेपालमा कहिल्यै पनि आख्यानको तुलनामा गैरआख्यानको संख्या बढी थिएन । पौड्याल भन्छन्, “यो केको द्योतक हो भने, बौद्धिक क्रियाकलाप, अध्ययन र अनुसन्धान निकै कम हुन्छ नेपालमा ।” #कृष्ण अविरल #कृष्ण ढुङ्गेल #गैरआख्यान #निर्भीक जंग रायमाझी #पुष्पराज पाैडल #महेश पाैड्याल #युग पाठक #सुजन भट्टराई #सुजीत मैनाली
भूपिनको गीत: भूपिन उजेली गाउँकी हे चरी मेरो गाउँ किन अँधेरी पानीको मूल एउटै हो जुम्ल्याहा किन पँधेरी खोलामा बग्ने पानी र नालामा बग्ने पानी उइ कसरी हुन्छ अशुद्ध धारामा खस्ने पानी उइ एउटै पेटमा हुर्केका जुम्ल्याहा सन्तान जन्मिँदा कसरी हुन्छन् छुत र अछुत तिनी आमा उइ तिमीले उड्ने आकाशमा लगन मलाई भँगेरी उजेली गाउँकी हे चरी मेरो गाउँ किन अँधेरी यौटै हो तिम्रो गाउँमा झैँ मानिस उड्ने आकाश जीवनको गरागरामा फिँजियोस् यौटै प्रकाश मलाई उड्ने पङ्ख देऊ म उड्छु पाखापखेरी फेरिन्न जीवन कसैको यो गाउँको रङ्ग नफेरी गाउँको नाम फेर्नलाई म भएँ अब अटेरी उजेली गाउँकी हे चरी मेरो गाउँ किन अँधेरी। #छुवाछुत #दलित #भूपिन
आँसुको मूल्य: अञ्जुलीमा उठाएको पानीमा तिम्रो आँखाबाट झरेका दुई थोपा आँसुसँग तिमी बग्दैबग्दै म हलचल नगर्ने पत्थरसँग ठोकिएर तिमी पुन बग्दै बग्दै सागरमा पुग्यौ । तिमीले आँखाबाट मोतीका दाना आँसु बनाएर खसाल्यौ र सूर्यको रापले सेक्न नसक्ने गरी पीडामा निर्थुक्क भिजेर तिमी मोतीको खोजीमा छौ ! अब भन सागरमा दुई थोपा आँसुको मूल्य कति रहेछ ? #आँसुको मूल्य #बिनोद आचार्य
आगो र म: म आगो हुँ नबले, न तात्तिए म सकिन्छु । म बन्छु म भत्किन्छु र भत्किएर म बन्छु म आगो हुँ नबले, न तात्तिए म सकिन्छु । म जल्छु म सकिन्छु र सकिएर म बन्छु म आगो हुँ नबले, न तात्तिए म सकिन्छु । म भित्र राप छ जलन छ विनास छ निर्माण छ आशा छ उदेश्य छ म जीवन हुँ म आगो हुँ नबले, न तात्तिए म सकिन्छु । #आगो र म
अविजित: आँखाले देह पिउन पाउनुको मज्जा कानले श्रवणीय सुखद् समाचार ग्रहण गर्नुको आनन्द गोडाहरूले सार्थक यात्रा गन्तव्यमा पुर्\u200dयाएको सन्तुष्टि अवर्णनीय छ, धरणीको काया भन्दा धेरैमाथि कावा खाइरहेका निर्बन्ध पुलकित अहर्निष व्योम पथमा कानेखुसी गर्दै उडिरहेका भालेपोथी आहा ! खेचर देह पिउने आँखाभन्दा आवाज नियाल्ने कानभन्दा सन्तुष्टि चुम्ने गोडाभन्दा धेरै खुसी छन्, चराहरूको राज्यमा न झूट छ न लुट छ न त फुट छ मानिसले दुरूह आविष्कार कोरल्यो अकल्पनीय प्राप्ति भोग्यो मानिसका सबै असम्भव पूरा भयो सबै जित्यो तर मानिसले मानिस जित्ने द्यूत क्रीडामा अन्ततः सबै हार बेहोर्\u200dयो र सोही रन्कामा लखरलखर दौडिरहेछ । #पेशल आचार्य
दिनहरू: फेरि नफर्किने गरि तिमी आउँदिनौ भने भो अब कहिल्यै नआऊ म पर्खाइको एउटा उत्कर्षसँग गहिरो प्रेम सम्बन्धमा छु त्यही दिन हो मैले पहिलोपटक बताससँग कुरा गर्न सिकेको जुनदिन हामी सपनाहरूको थैलो कसेर छिट्टै बाँधिने बाचामा एक्लिएका थियौ त्यही समय हो सधैँ सधैँका लागि हाम्रो धड्कन साझा बनेको जुनबेला हाम्रा अधरहरूले दूरी घटाएका थिए जब मेरो स्पर्शमा तिम्रा नयनहरू झुकेका थिए यो पनि हो तिमी आएदेखि नै तिम्ले र मैले आफूलाई बिर्सिने होडमा हातेमालो गरेका पक्कै त्यही कारण होला मेरा स्नायुहरू तिम्रो गीतले भरिए अफसोच तिम्रा रक्तसञ्चारहरू कस्तो धूनमा लठ्ठिए ? #दिनहरू
कोरोना कहरले विमोचनको रहर साँघुर्\u200dयाइदियो: राजेश कोइराला संसार रोकिएका बेला यो कुनै विषय हो र ? पक्कै होइन । तर साहित्यको इतिहासमा यो विषय एक वाक्यमा भए पनि पक्कै लेखिनेछ । म के इतिहास लेख्दैछु र ? होइन । यो केही हो, अनि केही होइन । छुसी विषय हुनसक्छ । मलाई त्यो इतिहासका लागि सन्दर्भ-सामग्री तयार पारेको भ्रम भएको हुनसक्छ, विषयः ‘कोरोना कहरले साँघुरिएको विमोचनको रहर’ । विमोचन रहरले यति लामो यात्रा पूरा गरिसकेको छ । यो अ-विमोचनका रूपमा पछाडी फर्कन सक्ने अवस्थामा छैन, भनौं न हाम्रा जीवनका धेरै पक्षहरू जस्तै । कोरोना कहरमा मैले लेखक, साहित्यकारलाई परेको यो मर्का उहाँहरूले थाहै नपाउने गरी हेरेको छु । साहित्यकर्मीलाई आफ्नो विमोचन सार्वजनिक गर्न कम्ती रहर लाग्या हुँदैन । यी रहरका दियाहरू कोरोनाले पालैपालो निभाएको मैले देखेको छु । गत फेब्रुअरी-मार्चको कुरा हो । एउटा दियो, धिपधिप बलेर निभेको थियो, नेपालमा । अरू देशमा चम्किएको कोरोना, अमेरिकामा शुरू हुन थालेकै थिएन । बस्टनका महेश्वर पन्त नेपालमा थिए । नेपाल जाने धेरैजसोले कामको फेहरिस्त लामै बोकेर जान्छ । पन्तको सूचीमा आफ्ना पिता-माताका नामको पुरस्कार ‘कालीभक्त कृष्णा पन्त पुरस्कार’ प्रदान गर्न, धुर्मुस-सुन्तली फाउन्डेशनका सिताराम र कुन्जनालाई भेट्न, ‘गौथली चरी’ को छायाङ्कन तथा तयारी गर्न, लोक-दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउनै मन थियो । उनले गरे पनि । तर एउटा पुस्तक विमोचन कार्यक्रममा आइपग्दा पन्तले सोचेअनुसार हुन सकेन । उनको उपन्यास ‘फुर्लुङ्ग’ आयो । तर विमोचन कोरोनाका कारण भएन । सानो भेटघाट र पुस्तकबारे छलफल गरेर चित्त बुझाउनमा सीमित भयो । दियो बाल्ने रहर पेन्सलभेनियाका जे. एन. दाहालको पनि थियो । अप्रिलको कुरा । उनको कथा-संग्रहको विमोचन-कथा अर्कै छ । तर रमाइलो छ । मायालु छ । सानो, चिटिक्क परेको छ । उनलाई पनि विमोचनको रहर पक्कै थियो । १४ कथाको उक्त संग्रह दाहालको दोस्रो कृति हो । ‘सन्ध्या’ (सन् २०१४) गजल-काव्यपछिको उनी लेखनमै थिए, तर परिपक्वताको लडाइँ जारी थियो । उनको कथा-संग्रह ‘लेखककी छोरी’ लाई अप्रिल १० मा उनकै छोरीले विमोचन गरीन् । घरमै । बाबा-आमाले छोरीलाई सारीमा सिँगारे । हातमा किताब राखिदिए । गज्जब । विमोचन भयो । यस्तो देख्दा लाग्छ, किन पो गर्नुपर्\u200dयो र कार्यक्रम नै । कार्यक्रमका कुरा गर्दा मे-जूनमा अमेरिकामा सकिने स्कूल-कलेजपछि । करिब तीन महिने बिदामा केही साहित्यिक कार्यक्रम हुन्छन्, आफ्ना रचना पढिन्छन्, केही दर्जन नेपाली कृति विमोचन हुन्छन् । यो यसपाली हुने देखिएको छैन । विभिन्न संघ-संस्थाका वार्षिक कार्यक्रम पनि शायदै होलान् । अमेरिकाबाट १२ हजार ७ सय २५ किलोमिटर टाढा नेपालमा के छ त ? नेपालमा भने साहित्य-कृतिको फरक प्रसंग छ । बाहिर बस्ने लेखकका कृतिको गर्भ बाहिरै बस्छ । अनि कृति नेपालमा जन्मन्छन् । मानौं कृतिका प्रसुति-गृहहरू नेपालमा छन् । कति कृतिका अक्षरहरू नेपालमा टाइप हुन्छन् । शुद्धाशुद्धि हेरिन्छन् । कृतिमा बडेमान मानिएका लेखकका दुई शब्दका नाममा लामा गनथन लेखिन्छन् । पेज बनिन्छन् । आवरण डिजाइन हुन्छन् । पुस्तक छापिन्छन् । धेरैले यसैमा जीविकोपार्जन गरेका छन् । लेखकीय रहर पालिएका हुन्छन् । यसरी नै रहर पूरा हुन्छन् । यसबेला धेरैको आम्दानी रोकिएको हुनसक्छ । जे.एन. ‘लेखककी छोरी’ सँगै विमोचनका कुरा भइरहेको, अमेरिकाको केन्टकीमा डा. लक्ष्मीनारायण ढकालको कृतिको विमोचनलाई कोरोनाले गतिलै ‘किक’ हान्यो । उनले लेखेका थिए, ‘वासदेखि पुनर्वाससम्म’ संस्मरणात्मक कृति । मार्च २२ का दिन लोकार्पण गर्न तयार गरिएको डा. ढकालको उक्त कृतिको विमोचन मिति सारियो । मे २२ मा विमोचन भयो । उनीसँग आफ्ना बाबा-आमा थिए । उनका पाठक, साथीभाई, गुरू, शुभेच्छुक आदि संसारका धेरै ठाउँमा थिए । ‘जुम’ मा विमोचन गरियो । साहित्य परिषद्, भूटानको आयोजनामा केन्टकीको लुइभिलमा भएको विमोचन कार्यक्रमलाई सुनकोश टीभीमार्फत फेसबुकमा पनि प्रत्यक्ष प्रसारण गरिएको थियो । ढकालको विमोचनको दियो फरक ढंगले बालियो भनेर चित्त बुझाउन पाइयो । अब विमाचनका यस्ता दियोहरू अझै निभ्ने छन्, केही पहर बित्नेछन् । कोरोना कहरमा, विमोचनका रहर पक्कै हामीसँग परिचित शैली वा ढाँचामा पूरा नहुने देखिँदैछ, केही समय । विमोचनका केही तस्बिरहरूः (कोइराला, अमेरिकामा निस्कने नेपाली न्युजलेटर अक्षरिकाका सम्पादक हुन् । उनका लेखहरू www.koirala.com.np मा पढ्न सकिन्छ ।) #अमेरिका #राजेश कोइराला #विमोचन
संयुक्त लेखनको नवीन कृति “विसर्ग” उपन्यास: वसन्त श्रेष्ठ “विसर्ग” उपन्यास संयुक्त लेखनको निरन्तरता हो । नेपाली साहित्यमा संयुक्त लेखनको सुरुवात वरिष्ठ साहित्यकार परशु प्रधानबाट भएर उनैबाट “विसर्ग” सम्म पनि भएकोछ । यस उपन्यासमा अर्का साहित्यकार गोविन्द गिरी प्रेरणाले साथ दिएका छन् । दुई भिन्न महादेशमा रहेर एउटा उपन्यासका माध्यमले लेखनमा एकाकार भएका लेखकद्वय नेपाली भाषा साहित्यमा निरन्तर सिर्जनारत वरिष्ठ साधक हुन्। दश जना लेखकका संयुक्त लेखनबाट “आकास विभाजित छ” ले इतिहास बनाएको संयुक्त लेखन “विसर्ग” ले निरन्तरता मात्र दिएको नभै यसले नेपाली साहित्यको संयुक्त लेखनको विकासमा एक खुड्किलो उक्लेको अनुभव गराएको छ । संयुक्त लेखन एउटा कठिन अनि चुनौतीपूर्ण हुन्छ । कुनै निश्चित विषय वा प्रसंगको आधारमा एक वा धेरै जना लेखकबाट लेखिने यस प्रकारको साहित्य निकै जोखिमपूर्ण पनि मानिन्छ । यो पछिल्लो उपन्यास विसर्गले चुनौती सकारेको छ र निरन्तरता पनि दिएकोछ । यसका लागि लेखकद्वय धन्यवादका पात्र छन् । पहिलो संयुक्त लेखन “आकास विभाजित छ” उपन्यास र यो “विसर्ग” उपन्यास दुवैको प्रकाशन पनि नेपालको निजी क्षेत्रको एक स्थापित प्रकाशन रत्न पुस्तक भण्डारबाट प्रकाशन हुनु पनि एक सुखद् संयोग नै मान्नु पर्छ । वरिष्ठ साहित्यकार परशु प्रधान लेखनमा चुनौती मन पराउॅंछन् । त्यसैले उनले संयुक्त लेखनको शुरुवात मात्र गरेनन्, निरन्तरता पनि दिए । उनी साहित्यमा मात्र होइन, जीवनमा पनि त्यत्तिकै चुनौती अनि संघर्षपूर्ण जीवन मन पराउॅंछन् । जब परशु प्रधानलाई सम्झन्छु, म उनका विगतका संघर्षमय दिनहरु याद गर्न मन पराउॅंछु । वास्तवमा उनी हाम्रा प्रेरणाका स्रोत हुन् । किनकि उनी नयाॅं नयाॅं विचारका प्रतिपादक मात्र होइन कार्यशील कर्मठ व्यक्ति पनि हुन् भने प्रगतिशील विचारका क्रान्तिकारी योद्धा हुन् । त्यसैले बीसको दशकमा उनको अन्तरजातीय वैवाहिक गठबन्धनलाई धेरैले कम्युनिष्ट पनि भन्ने गर्थे । आठ वर्षीया बाल विधवा जानकीदेवी घिमिरेसँग बीस सालमा प्रेम विवाह गरेका परशु प्रधान त्यति बेलाका समाज परिवर्तनका द्योतक हुन् भन्दा अत्युक्ति नहोला । प्रशासनिक क्षेत्रमा र साहित्यमा शिखर चुमेका परशु प्रधानले आफ्नो श्रीमती जानुकादेवीलाई विशिष्ट बाल साहित्यकार कल्पना प्रधानमा परिवर्तन गर्नमा यथेष्ठ सहयोग र प्रेम गरे । बाउन्न वर्षअघि कल्पनाले रचेको बाल गीत “ मेरो सानो खरायो आज कता हरायो …… “ आज पनि सबैलाई याद छ । साहित्यमा परशु प्रधानले नयाॅं नौलो विचारलाई प्रश्रय दिँदै संयुक्त साहित्यको लेखनलाई अघि सारे । त्यसैको फलस्वरूप “आकाश विभाजित छ” देखि यो “विसर्ग” सम्म निरन्तर लागिरहेका छन् । विसर्ग उपन्यास यस उपन्यासका अर्का लेखक हुन्, नेपाली साहित्यका स्थापित साहित्यकार गोविन्द गिरी प्रेरणा । उनी नेपाली साहित्यका सबै विधामा समानरुपमा निरन्तर सिर्जना गर्ने एक कर्मठ तथा कार्यशील साहित्यकार हुन् । तीसको दशकदेखि प्रत्येक साहित्यिक आन्दोलन होस्, साहित्यकार हुन् या कुनै पनि साहित्यिक गतिविधिसँग जोडिन सक्ने र पुग्ने क्षमता राख्ने साहित्यकार गोविन्द गिरी प्रेरणा नेपाली साहित्यका अर्का जाज्वल्यमान साहित्यकार हुन् । उनी अथक सिर्जनाका स्रोत हुन् । उनी निरन्तर अनि अविरल विचारका प्रवाह हुन् ।उनी जागरुकता र क्रियाशीलताको पर्याय पनि हुन् । तसर्थ यस्ता प्रखर र सिद्धहस्त साहित्यकारद्वय द्वारा रचित यो “विसर्ग” उपन्यास कम्जोड छ भनेर भन्न सकिने कुनै आधार देखिदैन । यो संयुक्त लेखनमा कसले कहाँबाट शुरु गरेको र कसले अन्त गरेको, कुनै पनि खुलाएको नभए तापनि नेपाली साहित्यका पाठकले शैली र वाक्य गठ्जोड़का विभिन्न कारणबाट कसको शब्द र शैली कुन हो भनेर खुट्याउन सक्नेछन् भन्ने मेरो नितान्त अभिमत रहेको छ ।उपन्यासको आकार ठीकै भएको कारणले करिब तीन घन्टाको समय अन्तरालमा यो पढी सकिन्छ । पुरुष पात्र भन्दा नारी पात्रको अधिक संख्या रहेको यो उपन्यास वास्तविक रूपमा नारीको त्याग, तपस्या अनि बलिदानको कथा हो । यस उपन्यासमा गाउँको कथा छ । शहरको वास्तविक चरित्र चित्रण छ । अनि काठमाडौँको पुरातन व्यवहारमा संक्षिप्त चित्रणको आयाम पनि कथानकमा समेटिएको छ । अनि छ यसमा देशको प्रशासनिक, राजनैतिक दुरावस्थाको वास्तविक चरित्रको नाङ्गो चित्रण । उपन्यासमा समाजमा विद्यमान भ्रष्टाचारको जताततै जालोको तानावाना छ । यस उपन्यासले विद्यमान नैतिकता, शुद्ध आचरण र महँगीले पीडित अवस्थाको चित्र प्रदर्शन गरेको छ अथवा भनौं त्यो पाटो छताछुल्ल पारेको छ । उपन्यासले पाठकलाई कतै पनि अल्मलिन दिँदैन र सरासर अन्त्यमा पुर्याएर टुंग्याइदिन्छ । कथामा यथार्थता छ । यो आफ्नै गाउँघर अनि हामी बसेकै परिवेशको कथा हो । फरक केही छैन तर प्रस्तुतिको सीप र शैलीको कारणले कथा स्वादिलो बन्न पुगेकोछ । यस उपन्यासभित्र सुब्बा सन्तोष शर्माको सोझोपन, इमान्दारिता र लगनशीलताको व्याख्या जताततै उल्लेख छ । ऊ आफ्नो निष्कलंक व्यवहारका कारणले आफ्नो कार्यक्षेत्रमा टिक्न सक्दैन । रातारात आफ्नो जागिरे अड्डाबाट राजनीति गरेको मिथ्या आरोप लागेर सरुवा हुन्छ काठमाडौँको मन्त्रालयमा । यहाँ मैले नबुझेको कुरा कोही कुनै कर्मचारीलाई मन नपराएर सरुवा गर्दा मालामाल हुने शक्तिको केन्द्र मानिने काठमाडौँमा बिना कुनै नातागोता कुनै आर्थिक चलखेल कसरी सम्भव भयो यो मेरो व्यक्तिगत जिज्ञाशा । यो चैं अलिक अमिल्दो भयो कि भन्ने मलाई लागिरह्यो । रमाको निःस्वार्थ र निष्कलंक प्रेम एउटा प्रमुख शक्तिको रुपमा सबैलाई उदाहरणीय बन्न पुगेकोछ । उपन्यास “विसर्ग” समष्टिमा पठनीय र संग्रहनीय छ । नेपाली भाषा साहित्यमा एउटा विशिष्ट उपन्यासको संख्यामा थप भएकोछ ।विशिष्ट साहित्यकार द्वयलाई शुभकामना र बधाई । #उपन्यास #वसन्त श्रेष्ठ #विसर्ग #संयुक्त लेखन
हिउँ पर्दैछ, स्विमिङ चल्दैछ: छविरमण सिलवाल सन् २०१६ को पहिलो बिहानी म युरोपको एउटा सुन्दर देश स्लोभेनियामा छु । आज गर्नुपर्ने र घुम्नुपर्ने लामै लिस्ट छ, वीरमानजी सँग । लन्चको लागि आग्नेया सेन्तोज्निकको आग्रह स्वीकार्नु छ । बिहान मातेयाले आफ्नो मेरिटेसन तथा योगा सेन्टरको उद्घाटनको लागि निम्याएकी थिइन् । चेलियाको मध्य भागमा मातेयाको योगा सेन्टरमा हामी ब्रेकफास्ट गरेर पुग्यौँ । आठ बजेको समय भने पनि क्रमशः ९:३० सम्म आइरहेका थिए मान्छेहरु । समयको पक्का त युरोपेलीहरु पनि रहेनछन् भन्ने लाग्यो । तर सबैले एउटै कुरा गरेका थिए, न्यू इयर इभका कारणले ढिला भयो भन्दै माफी माग्दै थिए । मेरिटेसनमा आउँने प्रायः सबै महिलाहरु मात्र थिए । मैले वीरमानजीलाई सोधेँ– ‘यहाँका पुरुषहरु यस्ता कुरामा विश्वास गर्दैनन् कि क्या हो ?’ उनले भने–‘यहाँका पुरुषहरु अल्छी हुन्छन् र उनीहरु यस्ता रुढिवादीमा विश्वास पनि गर्दैनन् ।’ मैले फ्याट्ट उत्तर दिएँ– ‘त्यही भएर होला नि आन्द्रेयाले जागरिलो श्रीमान् पाएकी ?’ उनले मलाई हेरेर भने– ‘बूढा’ । संसारको भाषा पनि बडो अचम्मको छ, त्यही शब्द हामीले बोल्दा ठीक अर्कोले बोल्दा अर्कै अर्थ । त्यसो त नेपालमै पनि त्यस्तो छ, तर बोलीचालीको भाषा एउटै भएकाले राम्रो त्यस्तो अप्ठ्यारो छैन । अनि अंग्रेजी बोली टोपल्ने हामीले अर्काको धेरै शब्दहरु आफ्नो बनाइसकेको तीतो यथार्थले कहिलेकाहीँ नमिठो अनुभूति पनि हुन्छ । एउटा साथीले भन्दै थिए, युरोपमा जानेर पनि अंग्रेजी बोल्दैनन्, त्यसकारण पनि हामीलाई अलिक कठिन हुन्छ । तर मेरो हकमा त्यस्तो थिएन, किनकि नेपाली फरर बोल्ने नेपालीले अंग्रेजी नबोल्नेको छोरी पट्याइसकेका थिए । यस्तै भाषाको कारणबाट धेरै दुःख पाउनु परेका धेरै कुराहरु छन् । आज मलाई पनि त्यस्तै परेको थियो । योगा सेन्टरको उद्घाटन भैसकेको थियो। सबै केही समय ध्यानमा लीन थिए । वीरमानजी सिङ्गिङ्बल बजाउँदै थिए। म भिडियो र फोटो खिचिरहेको थिएँ । एकछिन बाथरुम जान मन लाग्यो, बाहिर निस्केँ । ढोकाको देब्रैपट्टि दुईओटा ढोकामा लेखिएको थियो MOSKI र ZENSKE। म रनभुल्लमा परेँ किनकि त्यहाँ खाली अक्षर मात्र थियो, कुनै साइन थिएन । मैले अनुमान लगाएँ ZENSKE भनेको जेन्स हो ढोका खोलेर भित्र छिरें, आफ्नो काम सकेर ढोका खोल्दै थिएँ, एकजना महिला आएर मलाई उनकै भाषामा के के भनिन् मैले बुझिनँ । अनि म ट्वाँ परेको देखेपछि उनले इसारा गर्दै भनिन्– ‘त्यो हो जेन्सको बाथरुम ।’ कस्सो पहिला खोलिन छिन्, आफैँलाई हाँसो उठ्यो । उनी पनि त्यहीँ योगा सेन्टरमा आएकी थिइन्, कस्सो गाली गरिनन् । तर त्यो बाथरुममा छेस्किन भने थियो । कार्यक्रम सके पनि वीरमानजीलाई भनेर ती महिलासँग पनि कुरा गरेँ। एक छिन योगा सेन्टरमा हाँसो थेरापी भयो । बाथरुममा छेस्किनको कुरो आएपछि छेस्किनसँग भएको एउटा कुरा याद आइहाल्यो । स्लोभेनिया पुगेकै दिन फ्रेस हुनको लागि बाथरुम छिरेँ, ढोका त लगाएँ तर त्यहाँ छेस्किन रहेनछ । भर्खर सरेका होलान्, यहाँ त्यसैले छेस्किन हाल्न बिर्सेका होलान् भन्ने लाग्यो । मुस्किलले काम सिध्याएँ । भर्खर पुगेको छु । के छेस्किनको कुरा गर्नु जस्तो लाग्यो । कुरा सानो भए पनि ठूलै थियो । सर तपाईं नुहाउनुस्, म दालभातको तयारी गर्छु भन्दै वीरमानजी भान्छाकोठातिर लम्किए । म नुहाउनको लागि छिरेँ, फेरि अर्को तनाव शुरु भयो यहाँ पनि छेस्किन रहेनछ । ढोका लगाएँ मात्र, धेरै बेर त्यतिकै बसेर नुहाएको जस्तो गरे कपाल भिजाएँ हातमुख धोएँ । किन होला यसमा पनि छेस्किन छैन, पक्कै बिर्सेका होलान् जस्तो लाग्यो । भोलिदेखि त त्यही बानी पार्नु छ, एक पटक सोधौँ सोधौँ लागेको थियो। तै पनि के भन्छन् होला जस्तो लाग्यो, सोधिन्, त्यतिकै बानी पारेँ भोलिपल्ट मजाले नुहाए पनि । मनमा कौतुहल भैरह्यो सार्वजनिक ठाउँमा जहाँ पनि बाथरुममा छेस्किन हुन घरमा किन नहुने, पक्कै पैसा बचाएका होलान् जस्तो पनि लाग्यो । तर यो छेस्किन काण्ड यतिमै सीमित भएन । स्लोभेनियाका जुन घरमा गए पनि नो छेस्किन ? त्रियस्ते, इटाली नयाँ वर्षको दिन इटालीको त्रियस्ते पुगेका थियौं । बिदाको दिन भएकोले गाडी पार्किङको त्यति अप्ठ्यारो भएन । तर निकै वरै पार्किङ गरेर हिँड्दा थकित भै सकेका थियौं, तापनि घुम्नै आएको हो, जति सकिन्छ नयाँ नयाँ अनुभवहरु निस्कन्छन् भन्ने मेरो अनुमान हो । त्यसकारण पनि हिँड्न छोडिएन । पहिलो पटक मैले समुद्र नजिकबाट देखें, नीलो समुद्रको नुनिलो पानी चाखेँ, रमाइलो मानेर । वीरमानजी भन्दै थिए, यहाँभन्दा अब हामी कोपरमा गएर समुद्रमा नुहाउने भन्दै मलाई लोभ्याउन थाले । त्रियस्ते म मेरो मायाप्रीति गाँसिएको ठाउँ भएर पो तपाईंलाई देखाउन ल्याएको भन्दै मुसुक्क मुस्काए वीरमान । हुन पनि मायाप्रेमको हाँसो संसारको अरु हाँसो भन्दा प्रिय लाग्छ मलाई । मैले केही क्षण उनको अनुहारमा आएको खुशीका ज्वारभाटा नजिकबाट नियालिरहेँ । उनी भन्दै गए– ‘ऊ त्यहीँ नगरपालिकाको अफिसमा त हो नि हाम्रो लगनगाँठो कसिएको यानी कोट म्यारिज भएको ।’ उनी खुशीले उफ्रौलाझैँ भए । वीरमानजीको खाजा खाने आग्रहसँगै हामी पिज्जाको खोजीमा लाग्यौँ । म पनि भोकले रन्थनिसकेको थिएँ । भेज या चिकेन पिज्जाको लागि धेरै रेष्टुरेन्ट धायौँ, तर हातलाग्यो शून्य भयो । रेष्टुरेन्टमा बिफ या पोर्क मात्र पाइने, यी दुवै आफूलाई नचल्ने । त्यसैले विकल्प रोज्नु पर्यो । पिसाबले पनि च्यापिरहेको छ, धेरै गल्लीहरु चहारेपछि एउटा बेकरी पसलमा छिर्यौं । वीरमानजी त सिधै पसलमा रहेकी नानीको गालामा म्वाई खाए । त्यसपछि भन्छन्– ‘सर ! तपाईं पनि म्वाई खाने ?’यो के पारा होला भनेर म अकमकिएँ । मुसुक्क हाँस्दै बाथरुमतिर लागेँ। म मेनु हेर्दै चिया र बिस्कुट अर्डर गर्न थालेँ । बिस्कुट र चियाको पैसा तिरेर हामी कोपरतिर हानियौँ । बाटोमा मैले सोधे ति नानी तपाईको साली हो कि क्या हो–‘म्वाई त गज्जबले खानु भयो ।’ उनी मसक्क मुस्काए र भने– ‘यो इटलीको चलन नै हो हामीले नमस्कार गरे जस्तै हो ।’ अनि मैले बल्ल कुरो बुझें र भनेँ– ‘तपाईंले पनि आन्द्रेयलाई पहिलो पटक इटलीमै भेटेको होइन त ।’ उनले हो नभन्दै मैले भनेँ– ‘त्यस बेलाको म्वाईंले अहिले मलाई इटली घुमायो होइन त ।’ दाहिने हातले स्टेरिङ घुमाउँदै देब्रे देब्रे हात हामीले मजाले पट्कायौं । सिधा फराकिलो बाटो, यस्तो बाटोमा त एक्सिलेटरमा इँटा राख्देर स्टेरिङमात्र घुमाए पुग्छ होला नि वीरमानजी । उनी मजाले हाँसे र भने– ‘एउटा ईंटा नेपालबाट ल्याइदिनु भएको भए कामलाग्ने रैछ नि!’ अलिकति पहाडको घुमाउरो बाटो, फेरी ओरालो लागे पछि समुन्द्रको किनारमा रमाइलो वातावरण देखियो । तर सुनसान थियो, यो पर्यटकको मौसम थिएन । कार पार्किगमा छिराएर निस्कियौँ । दुई युरो छिराएर एक घण्टाको बिल लियौँ । मैले भने– ‘यहाँ कोही मान्छे छैनन्, पैसा उठाउँनको लागि किन बेकारमा दुई युरो तिर्नु छोडदिनु बेकारमा नेपाली पारा गरौँ ।’ मैले यसो भनिरहदा उनी गम्भिर भए र भने– ‘हुनतः हो सर तर अहिले घर नपुग्दै सय युरोको विल घरमा पुग्छ अनि के गर्नु बरु दुई युरो तिरो खेल खत्तम’ उनले भने । मैले पनि के भन्छन्, भनेर भनेको थिए । नियममा बाँधिएर चल्न कति मजा छ युरोपमा । जनतालाई सरकारको विस्वास, सरकारलाई जनताको विस्वास । जहाँ विस्वास हुन्छ त्यहाँ सम्मान हुन्छ हरेक कुराको चाहे त्यहाँ जुनसुकै देशमा मान्छेको बसोवास होस, अनि यसरी नै त हो नि देश बनेको । समुन्द्रको बालुवासँग धेरैले खेलेको देखेको थिए, आज म आफै त्यहाँ पुगेको छु । वालुवामा एकछिन डङरङग लडिदिए जे पर्ला त भनेर । आँखाले देखेसम्म को निलो समुन्द्रको पानी शिरमा हालेर स्नान गरियो र नुनिलो पानी चाखियो । आहा ! कस्तो लोभलाग्दो दृश्य, मलाई पानीपानी भएर समुन्द्र सँगै लुकामारी खेल्न मन लाग्यो । निकै पर क्रोयसियाको सिमान देखिएको थियो । ‘चार बज्यो सर पिरानमा जानु पर्छ, बाटो तताउँने होकी भन्दा झल्यास्स भएँ ।’ तर मलाई भने समुन्द्रसँग छुट्टि नै मन थिएन । बारम्बार खल्तिमा राखेको चिट हेरिरहन्थे विरमान, कार पार्किगको समय पनि सकिनै लागेको रहेछ । हामीलाई जानु नै छ त किन ढिला गर्ने भन्दै हामी हुइकियौँ । सडक खाली छ, ८०÷९० को स्पिडमा दौडिरहेछ कार । कोपर स्लोभेनियाकै समुन्द्रीतट, केही समय पछि हामी पहाडको भित्तामा रहेको पुरानो गाउँमा पुग्यौं । माथि कार पार्किङ गरेर तल झर्यौ । ठ्याक्कै भत्तपुरको पुरानो वस्ति जस्तै लाग्ने सुन्दर स्थान पिरान रहेछ । सानो वन्दरगाह पनि छ । बेलुकी पसल राख्नेहरु टेन्ट मिलाउँदै थिए । फेरी डाँडामा उक्लियौं, चर्चमा दर्शन गरेर कार पार्किङमा पुग्यौं । डाडाभरि लटरम्म फलेका जैतुनका बोटहरुले मोहनी लगाई रहें पनि आफ्नो गुडमा फर्कने हतारोले जैतुनलाई वाइवाई गर्दै कुलेलम ठोक्यौं । विरमाजी भन्दै थिए– ‘यही जैतुन पनि हो युरोपको आर्थिक समुन्नति ।’ बाटोभरी जताततै देखिएका छन्, जैतुन यसको तेल निकै महङ्गो छ । फेरी हामी अर्को समुन्दी तट पोर्तोरोसमा पुनः पिजाको तलतलले धेरै पसलमा पैताला नाप्यौँ, तर हातलाग्यो शुन्य, भोक त लागेको थियो । विरमानजी पनि पेटमा मुसा दौडिन थाले भन्दै थिए । समुन्द्रीतट पर्यटकहरुको लागि रम्भ्य स्थल हो, यो पोर्तोरोसको समुन्द्रीतट निकै प्रख्यात रहेछ । विरमानजी भन्दै थिए– ‘यहाँ त हामी दुई महिना बस्छौं, सिजनमा बच्चाहरु र बुढि समुद्री तटमा रमाउँछन् म व्यापार गर्छु, रमाइलो हुन्छ यहाँ तर स्टल पाउँन अलि कठिन हुन्छ, त्यसैले अलि चाढै बुक गर्छु । अनि टेन्ट लगायो सुत्यो । अहिले त अफ सिजन भएकोले पीजा नपाएको हो सर । अब केही खाउँला ।’ त्यस पछि हामीले सिफुड सँग केही खाएर बेलुकी छ बजे चेलिया तर्फ लाग्यौं । ‘खै विरमानजी यहाँ त मान्छेहरु नै हुँदैनन् नि क्याहो ? बाटोमा पनि कहीँ जाम देखिएन ।’ उनको सटिक जवाफ थियो– ‘कहाँ सडकमा हुन्छन्, त सबै काम काममा छन् नि बेकामी मान्छे भए भने देश कहाँ यस्तो बन्छ त ?’ ‘कति चाडै ६ बजेछ हेुर्नुस् त,’ मैले भनेँ, ‘घाम त लागेकै छ ।’ ‘यहाँ यस्तै हो सर, कहिलेकाहीँ त राती १२ बजेसम्म पनि घाम लाग्छ,’ भन्दै उनी मुस्कुराए । हो त म आएको बेलादेखि नै कहिल्यै अँध्यारो देखेको छैन भन्दै म जिस्किएँ, लोडसेडिङ पनि भएको छैन, उनले हाँस्दै भने, ‘यो युरोप हो नि, त्यही भएर त नेपालीहरु यता आउनको लागि मरिहत्ते गर्छन्।’ यसपछि उनी अलिक गम्भीर भए। उनको फोन बजिरहेको छ, उठाउँछन्, उनले के के भने मैले बुझिनँ, स्लोभेनियाको भाषामा निकै पोख्त भैसकेका रहेछन् । फोन काटिएपछि उनले मलाई भने, ‘सासू बूढीले डिनरको लागि बोलाइन त ।’ ‘के भो त सुसुरालीको मेजमानीमा जानुस् न त ।’ ‘म मात्र होइन, तपाईंलाई पनि लिएर आउनू भनेर थर्काइन् सासूले ।’ बिहान लन्च पनि उतै गरेका थियौँ । ‘ठिकै छ नि जाऊँ के भो र ?’ मैले भनें । चाँडै पुगेर गाडीको टायर चेन्ज गर्नुपर्ने भएकाले र बेलुकी आठ बजे समयमै निम्ता मान्न जानुपर्ने भएकाले उनले एक्सिलेटर दबाएर हतारो गरे। सडकमा लेखिएको भन्दा ओभर स्पिडमा हाँक्यो भने घरमै चिठ्ठी आउने डरले सबैलाई त्रस्त पार्दोरहेछ । त्यसैले तोकिएकै स्पिडमा गाडी दौडिरहेको छ । यो पनि एउटा राम्रो उपाय हो, त्यसैले राजमार्गमा दुर्घटना देखिएनन्, दुर्घटना भएपछि नराम्रोसँग भएको दृश्यले मन पोल्दोरहेछ । आठ बजे हामी इस्कोफियामास (वीरमानजीको ससुराली) पुग्यौं । आग्नेया सेन्तोज्निक (वीरमानजीको सासु) अंग्रेजी नबुझ्ने, म उनीहरुको भाषा नबुझ्ने, हाम्रो मिडियटर आन्द्रेया र वीरमान छँदैथिए । उनको स्नेहले म निकै भावुक बनेको थिएँ । उनी भन्थिन, ‘उसलाई राम्ररी यी यी ठाउँहरुमा घुमाउँनू।’ वीरमान हस् भन्थे । बेला बेलामा मलाई जिस्काउँथे पनि ‘सर के मोहनी लगाउनु भो मेरी सासूलाई मलाई त राम्ररी घुमा भनेर पो थर्काउँछिन् त !’ मेरो लागि अलग्गै चिकेन बनाएर प्लेटमा ल्याउँथिन्, पोर्कको लसपस नहोस् भनेर । मेरो मर्म उनले कति चाँडै बुझ्न थालिछन्, तर वाइन पिउनमा माहिर रहिछन् । बिहानै चियाको सट्टा पनि केही दिन त वाइनै नजरावें गरियो, जाडोले ठुकठुक कमाएपछि के गर्नु त होइन ? डिनरसँगै नजरावें पनि हुनै थियो, अलिक रमरम भएको छ । एक गिलास थपौँ भन्ने उनको आग्रहलाई नर्कान सकिएन । रातको १०ः३० नै पो भएछ । वीरमानजीको पुल खेल्न जाने आग्रहलाई मैले नर्कान सकिनँ, वाइनको रौनक पनि छ । निस्कनै आटेका थियौँ, वीरमानजीको ससुरा एकछिन है भनेर एउटा जग बोकेर बाहिर लागे । कहाँ गए बूढा भनेर मपछि लागें । तल्लो तलामा एउटा ठूलो ध्याम्पो रहेछ। ध्याम्पो वाइनले भरिएको थियो। बूढाले धप्प उगाए, जसरी हामी पधेँरामा पानी उगाउँछौँ। माथि आए, लौ एक एक गिलास थपौँ पो भन्छन् बा! नखाउँ भने पनि भएन मजाले पिएँ। वीरमानजी त ड्राइभर, धेरै पिउने कुरा भएन । त्यसपछि हामी लाग्यौं पुल हाउसतिर । दुई चार गेम खेलेर घर फर्कियौं । गाडी हाँक्दै वीरमानजी भन्दै थिए– ‘युरोपमा सुत्न आएको होइन नि, रमाइलो र घुमघाम गर्नको लागि त हो नि होइन र ?’ हो नि सुत्न त नेपालमा पाइन्छ मजाले! अनि यसो घडी हेरेँ, रातको १२ः३० मात्र भएको रहेछ । र भनेँ, भर्खर साढे बाह्र त भएको रहेछ नि ! उनले मुसुक्क हाँस्दै एक्सिलेटर बढाए । हामीलाई देख्नासाथ ढोका फुत्त खुल्यो, चेलिया अपार्टमेन्टको नवौँ तलामा हामी चढ्यौँ लिफ्टमार्फत । रातको एक बजिसकेछ। उनी अब सुतौँ भनेर आफ्नो कोठातिर लागे म आफ्नोतिर । बाहिर निकै जाडो छ, भित्र गमक्क छ। शरिर पनि गमक्क छ, भर्खर वाइनले छोला छोला जस्तो भैरहेछ । वीरमानजीले भनेका कुरा मनभरि खेलिरहेको छ । कतिबेला उज्यालो होला भन्ने लागिरहन्छ । यो मन न हो, धेरै नघुमाइकन सुत्ने प्रयत्न गर्छु, निद्रा पर्दैन । सोच्दासोच्दै कति बेला निदाएछु, पत्तै भएन। ब्युँझदा बाहिर सेताम्मे भैसकेका थिए । ओहो, यहाँ त मौसमविदहरुले भनेकै जस्तो हुँदोरहेछ । वीरमानजीले गाडीका चक्का परिवर्तन गर्न हिजो नपाएकोमा आफैँलाई थकथकी लाग्यो । हिजो घरबाट देखिएको पारिको हरियो जंगल सेतै थियो। बगिरहेको खोला सेतै थियो। घरका छत र गाडीहरु सबै सेता भैसकेका रहेछन् । हिमालयको देशको एउटा नागरिक युरोपमा गएर हिँउसँग रमाएको छ । यो भन्दा अनौठो कुरा के हुन्छ र ? नेपालमा हिँउसँग लुकामारी खेल्न पाएकै छैन । नौ तलाको झ्यालबाट निरन्तर म हेरिरहेको छु बाहिर हिँउ पेरेको दृश्य । आहा ! मलाई रमाइलो लागिरहेछ । बिहानको नौ बजिसकेको छ, ब्रेकफास्ट गरेर हामी इस्कोफियामासतिर हानिन्छौं । त्यहाँ हिँउ खेल्न मजा हुन्छ सर भन्दै थिए वीरमानजी । सबेरै सबै बाटोहरु सफा भैसकेका थिए । कस्तो चुस्त सरकार ! इस्कोफियामासमा निकै ठूलो चौर छ, हिँउ बिस्कुन सुकाएजस्तो भएको छ । बाटो र घर अगाडि भएको हिँउ सफा गर्न थाल्यौँ । बूढा उठेर सफा गर्दै रहेछन्, चिया पिउँदै हिँउको रौनकमा म र वीरमानजीको छोरा एनकैलाश रमाएको देख्दा ससुरा दंग । यहाँको उखानै रहेछ– ‘पानी पिउने भए छिमेकीको पल्लो घरमा चिसो पानी पाइन्छ त्यहाँ जाने, ब्रुनो(लोकल वाइन) पिउने भए यहाँ पाइन्छ ।’ त्यसैले उनले मलाई घरिघरि वाइन पिउने हो भनेर भन्दैछन् । म बाहुनको छोरो बिहानबिहानै रक्सी खादैन भन्देऊ भन्छु विरमानजीलाई । उनले के के भने खुब हाँस्दै थियो बूढो । हिँउ सोरेर नातीलाई खेल्ने ठाउँ बनाउन व्यस्त बूढो थाकेपछि गरे गर नगरे नगर भनेर घरभित्र छिरे । तपाईं त बच्चा जस्तो पो लाग्यो त सर कति यो हिउँमा खेलेको ? वीरमानजीले भन्दा पो झस्किएँ ! माथिबाट खानाको लागि खबर आयो बूढोले एक जग वाइन लिएर आए। ‘हिउँमा स्केटिङ खेल्न आज रोग्ला जाने हो सर,’ वीरमानजीले आजको योजना सुनाए। वाइनको गिलास ठोक्काएर नजरावें गर्दै लन्च खायौं । रोग्लाको रमाइलोमा रमाउने आशा लिएर हिउँको शहरबाट उकालो लाग्यौ । रोग्लामा रमाउँदै गर्दा वीरमानजीले भने, ‘सर आज स्विमिङको लागि लास्को जानु पर्छ है !’ हिँउ परिरहेछ, स्विमिङ् जाने कुरा गर्छन्, के भनेको होला भनेर एकछिन त म ट्वाँ परे । छोराले म पनि जान्छु भनेर भन्यो । सासूआमा र आन्द्रेया पनि जान्छन्, यहाँ फोन बजिसक्यो पो भन्छन् त । म पन्छिने कोसिसमा थिएँ र भनेँ मसँग त स्विमिङ कस्टम नै छैन नि कसरी जानु ? मेरो मतलब थियो, यस्तो जाडोमा हिँउ परेर माइनस १४ पुगिसकेको छ, उनी स्विमिङ् जाउँ भन्छन् । यिनले जिस्केका होलान् भनेको त साँच्चै पो रहेछ ! मैले उम्कन खोजे पनि उम्कन सक्ने अवस्था थिएन। अझ उनकी सासू र श्रीमती पनि जाने रे! कसरी महिलाहरुसँग स्विमिङ खेल्ने हो म त छक्क पर्दै थिएँ । उनी त जाने भनेपछि जाने नि भनेर एउटा चाइनिजको स्टोर अगाडि गाडी रोकिहाले । भित्र पसेर आफैँले खोजेर दुईओटा स्विमिङ् कस्टम ल्याए । म त छक्क पर्दैछु। फोनमा कुरा गर्दै थिए, कुराकानी सकिएपछि वीरमानजीले भने, ‘सर अब सिधै जाने हो। सासूआमा र आन्द्रेया नजाने रे स्विमिङ, म ढुक्क भएँ र भनेँ, ‘अब हामी तीन भाइ मात्र खेल्ने भयौं होइन त ?’ ‘हो नि! महिला पाटीलाई सन्चो भएन रे तर बेलुका डिनरको लागि ससुराली नै जानु पर्ने भयो,’ वीरमानजी ठट्टा गर्न खोज्छन्, ‘के हो तपाईंले के गर्नु भयो मेरो सासुलाई सधैँ उतै बोलाउँछिन् त ? खै नजरावें कै कमाल होला नि! मजाले गिलास ठोक्काउँछिन् त ! बूढालाई यो लोकल होइन, अर्को वाइन ल्याऊ भनेर भन्छिन् ।’ मैले भनेँ, ‘राम्रै हो नि होइन र?’ ‘हो त सर,’ उनले भने, ‘मलाई त सासूले खातिर गरेको देखेर खुशी लागेको छ । जो कोहीलाई त मन पराउँदिनन् ।’ वरिपरि हिँउ नै हिँउ छ। गाडीका ताँती छन् लास्कोमा। वीरमानले स्विमिङ पुलको पार्किङमा कार छिराए । काउन्टरमा पुगेपछि एउटीले उनलाई भनिन्– ‘ओहो ! अस्ति टिभीमा तपाईंको अन्तरवार्ता सुनेको थिएँ, मलाई पनि तपाईंको कन्सर्टमा आउन मन छ,’ भन्दै उनको सम्पर्क नम्बर मागिन् । उनी मख्ख परे, उनी भन्दै गइन्, ‘पत्रिकामा पनि तपाईंको अन्तरवार्ता पढेको थिएँ ।’ उनी मुसुक्क मुस्काए मात्र । सिङगिङ बल थेरापीमा उनी निकै सिपालु रहेछन् । सबैले उनलाई चिनेको देखेकोले मैले भनेँ, ‘युरोपयिनहरुको मगज राम्रैसँग भुट्नु भएछ त ?’ उनले मुसुक्क हाँस्दै भने, ‘त्यति नगरे यहाँ कसरी बाँच्नु र सर ?’ उनको सम्पर्क राम्रै रहेछ। सबैले मान्ने मिजासिला, हँसिला । त्यसैले त उनलाई जीवनयापन गर्न सजिलो भएको छ । त्यो उनको एउटा क्यामरा र क्यानभासको कमाल हो । पैसा तिरेर तीन ओटा कुपन र लकरको चाबी लिएर हामी भित्र छिर्यौं । लुगा खोलेर लकरमा राखेर हातका कुपन र लकरको चाबी घडीजस्तै बाँधेर पहिला मजाले तातो पानीले नुहायौं । त्यसपछि चिसो तातो चिसो तातो पानीमा टेक्दै स्विमिङ् पुलतिर लाग्यौँ । ओहो, कति ठूलो रहेछ! मान्छेहरुको भिड त्यस्तै! केटाकेटी सबै एकै ठाउँमा। एकछिन त अलमल परेँ म । तर सबै उस्तै भए पछि के अलमल पर्नु र ? अगाडि बढियो। तीन तलासम्मको रहेछ। पानी तातै रहेछ। त्यही भएर वीरमानजीले मलाई केही नभनेका सरप्राइज दिएको भन्दै थिए । तातोपानीको फोहोरामा बसेर आनन्द लिँदारहेछन्, हामीले पनि त्यही गर्यौँ । करिब एक घण्टासम्म हामीले त्यहाँ बितायौं । निकै रमाइलो र आनन्द भयो तन र मन । उनको छोरो निकै खुशी देखिन्थ्यो । पुनः आएर मजाले नुहायौं र लकरमा गएर लुगा लगाएर घर फर्कियौँ । उनी भन्दै थिए, ‘देख्नु भयो सर, यहाँका मान्छेहरु हिउँ परेपछि मात्र स्विमिङ आउँछन् । यी सबै प्राकृतिक फोहोराहरु नै हुन्। प्राकृतिक रुपमा आएको पानीलाई व्यवस्थित गरेर बनाएका हुन् । यस्ता प्राकृतिक स्विमिङ पुलहरु धेरै छन् यहाँ ।’ मलाई अचम्म लाग्यो, हाम्रो देशमा पनि त यस्ता तातोपानीका मुहानहरु छन् तर व्यवस्थित हुन सकेका छैनन् । जे होस्, स्विमिङपछि ज्यान निकै हल्का भयो । डिनरको लागि इस्कोफियामासमा आग्नेया सेन्तोज्निकको न्यानो माया छँदै थियो । पुनः वाइनका गिलासहरु ठोक्किए, हामी सबैले भन्यो नजरावें । ◊ #छविरमण सिलवाल #यात्रा #स्लोभेनिया
हजुरबा ! नर्क साँच्चै हुन्छ र ?: मेरा स्वर्ग भैसकेका हजुरबुवालाई सोध्न मन छ “हजुरबा ! नर्क साँच्चै हुन्छ र ?“ त्योबेला स्याखु बन्दै गर्दा भन्दै थिए उनी – “स्याना ! झूटो बोल्ने नर्क जान्छन ! स्याना ! पाप गर्ने नर्क जान्छन् ! मरेर लानु के छ र, सबैको भलो गरेस् स्याना ! कुभलो गर्ने नर्क जान्छन् ।“ त्यसपछि स्याखु सकियो, हजुरबा सकिए बूढालाई जल चढाँउछु र आजको वृतान्त बताउँछु – “हजुरबा ! झूटो बोल्ने हाकिम भएका छन् हजुरबा ! पाप गर्ने नाइके भएका छन् श्रमजिवीको पसिना चुसी, जुकोजस्तै ढाडिराछन् हजुरबा ! कुभलो गर्ने कुबेर भएका छन् ।“ हजुरबा फिटिक्कै बोल्दैनन् आजकल बुढा बोल्नेभए सोध्ने थिए “हजुरबा ! पापलाई केहिले गुन्छ र ? हजुरबा ! मूर्खलाई दबाइले छुन्छ र ? बाँकी छैन घरमा केही, स्याखुसमेत चोरी सके हजुरबा ! के यी जानलाई नर्क साँच्चि हुन्छ र ?“ #हजुरबा
जनता त आगो हो: जन ता त आगो हो आगोसँग कहिल्यै नजिस्कनू र आगोलाई कहिल्यै ख्यालमजाक नगर्नू । सम्झ यसकारण कि– आगो जो तिम्रो प्राण रक्षक हो आगो जो तिम्रो अध्याँरोको मार्गदर्शक हो आगो जो तिम्रो जीवनको अभिन्न अंग हो । जनता त आगो हो आगोसँग कहिल्यै नजिस्कनू र आगोलाई कहिल्यै ख्यालमजाक नगर्नू । सम्झ यसकारण कि– आगो सिर्फ आगो हो आगो आगोबाहेक केही बन्दैन । तिमीले सम्झ्यौ होला आगो खरानी हो आगो अंगार हो आगोले अरूलाई मात्र खरानी बनाउँछ आगोले अरूलाई मात्र अंगार बनाउँछ । जनता त आगो हो आगोसँग कहिल्यै नजिस्किनु र आगोलाई कहिल्यै ख्यालमजाक नगर्नू । सम्झ यसकारण कि– आगो जसको समुन्द्रको जस्तो न क्षेत्र हुन्छ आगो जसको जमिनको जस्तो न आकार हुन्छ । आगो जसको न निषेधित क्षेत्र हुन्छ । जनता त आगो हो आगोसँग कहिल्यै नजिस्कनू र आगोलाई कहिल्यै ख्यालमजाक नगर्नू । सम्झ यसकारण कि– आगोलाई जिस्केको मन पर्दैन आगोलाई ख्यालमजाक गरेको चित्त बुझ्दैन । आगो सबैको साझा हो आगो सबैको शक्ति हो आगोभन्दा अर्को केही छैन जो अरुलाई जलाउँछ र आफू जल्दैन । #आगो #यकिना अगाध
नहुनु पर्ने केही: हिँड्नु कति खतरनाक हुन्छ ? चट्याङ छ मनभित्र प्रेम गर्नु, गरिरहनु……. प्रेम गर्नु तर कति खतरनाक हुन्छ ? मुटु छ दहभित्र नगर्नु केही पनि गर्नु पर्ने/नगर्नु पर्ने केही पनि नगर्नु घटिरहनु यस बीचमा पनि तर घट्नै पर्ने थुप्रै घटनाहरू…… कतै जाँदै गरेको कुरा आफूलाई समेत थाहा नहुनु थाहा भए पनि थाहा नदिनु कुवाको सङ्ग्लो पानीमा जिन्दगीलाई भिजाइदिनु आधा र आधालाई सुकिलै छाडिदिनु सुकेका रूखका हाँगाहरूमा सेताम्मे फुलिरहनु आरुका फूलहरू जसरी— चराहरू सुनाखरी ठानेर टिप्नु त्यसलाई र टाँस्नु लपक्क छातीमा हातमा एउटा फूल हुनु पहेंलो/पहेंलो, रातो/रातोजस्तो फूल प्वालहरू हुनु पुष्पदलको बीचमा एउटै आकारका थुप्रै प्वालहरू……. त्यसलाई सम्झिनु बाँसुरी बजाउनु जोडले आवाजै सुक्ने गरी अलिकति पनि नसुन्नु हावाले समेत तर थुप्रै कुराहरू हुनु नि यसरी नै म सोचिरहँदो थिएँ यता भइसकेछ केही नहुनु पर्ने देखेर पनि भनिनौ तिमीले दहका भिजेका कपडाहरू खोलेर एकाबिहानै उडिगएछन् बाफहरू दहबाट खोज्दा दहभित्र थुप्रै मुटुहरू भेटिए श्वास फेर्न बिर्सेका जलकुम्भी, कमल र लेउका मुटुहरू भेटिए ढुङ्गाका नभएका मुटुहरू भेटिए अरु पनि धेरै धेरै मुटुहरू भेटिए थाहै पाइन तर मैले कुन बाफले पोल्टामा च्यापेर उडाइलगेछ आफूसँगै मेरो मुटु पनि……. कतै जाँदै गरेको कुरा आफूलाई समेत थाहा नहुनु twitter: @SeasonShrestha #नहुनु पर्ने केही
कैँची: हरिशरण परियार डोबहरूमा दौडिरहन्छ कैँची कहिले दायाँ कहिले बायाँ कहिले माथि कहिले अर्धगोलाकार अनि दिन्छ एउटा मूर्त आकार । संसारको नक्सामा दौडेर बनाउन सक्छ सिंगो देशको आकार कपडाको थानमा नाचेर निकाल्न सक्छ ढाकाटोपी र, कुर्ता पाइजामा राष्ट्रिय झन्डाको आकार । यसैलाई चलाएर मेरा पुर्खाहरूले युगौँदेखि ढाकिरहे सभ्यताको लाज काटिरहे युगौँ युग जिन्दगीको भोक । तर, आफ्नै धारसँग अनभिज्ञ केबल औँलाद्वारा निर्देशित बनिरह्यो अछुत जिन्दगीको सारथि अनि क्रमशः कोरिए कर्मको सिमाना लुटिए हातबाट मखमली पसिना । आज थाहा छ मलाई, अरू जस्तै अमानवीय बन्यो भने कैँची काटिन सक्छ लाजको वस्त्र काटिन सक्छ मानव तस्बिर काटिन सक्छन् औँलाहरू अनि काटिन के बेर राष्ट्रिय झन्डा ? #छुवाछुतविरुद्ध राष्ट्रिय दिवस #दलित
लकडाउन डायरी: जहाजको आवाज र बारम्बार खोसिएको खुसी आकाशमा उडेको हवाई जहाजको आवाजले एकाबिहानै निद्रा खलबल बनाइदियो । सिरानी छेउको मोबाइल स्क्रिनले बिहानको ६.२५ भएको संकेत गरिरहेको थियो । एकान्तबास अगाडि हवाई जहाजका आवाजले केही फरक नपर्ने भैसकेको म, आज यो आवाजले निद्रा खल्बलाउँदा मन खल्लो भयो, छटपटी बढ्यो, त्यो भन्दा बढी मनमा खुसी-उमंग पनि भरियो । म हाल स्पेन बार्सिलोना बस्दै आएको छु । म बसेको स्थानबाट एयरपोर्ट जम्मा ४ कि.मि. टाढा छ । यस बार्सिलोना एयरपोर्टको टी वन र टी टु टर्मिलनबाट विश्वका ९४ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका सयौँ जहाजहरुले १४५ विभिन्न डेस्टिनेसनको लागि दैनिक उडान भर्थे । यी हवाइजहाजहरु प्रायः म बसेको ठाउँ माथिको आकाश प्रयोग गरेर उडान भर्थे । “९ दिनमा नौलो, २० दिनमा बिर्स्यो” भन्ने उखान सम्झेँ। आकाशमा जहाजहरुले उडान नभरेको पनि लगभग दुई महिनाभन्दा बेसी भैसकेका थियो, सायद मैले हजाई जहाजको आवाज भुलिसकेको रहेछु, अनि हवाई जहाजको आवाजले मेरो निद्रा खलबलाउँदा आफू दुःखी भएको अनुभव गरिनँ। एकान्तबासपूर्व म एकतमासले व्यस्त थिएँ । दिनमा उपलब्ध २४ घण्टामध्ये १४ घण्टा लगातार काम गर्नु मेरो लागि सामान्य दैनिकी जस्तै भएको थियो । १८७ सदस्य राष्ट्र भएको अन्तर्राष्ट्रिय श्रमिक सगंठन (ILO)को ८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरन्जन भन्ने नारा केवल मानिसको लागि मात्र हो जस्तो लाग्थ्यो, आफूलाई काम गर्ने मानिस नभै रोबोट मेसिनजस्तै सम्झने गर्थें । आफूलाई रोबट मेसिन सम्झेसँगै जीवन बिस्तारै अब सरल रुपमा बग्न थालेको थियो । दुई वर्षअघि युरोप छिर्दा मनमा गुनेका, मनमा फलेका लड्डुहरुको स्वाद चिनीको चास्नीमा डुबेर गुलियो भएजस्तै मिठास आउन थालेको थियो । भाषा ज्ञानको विकास, कार्यअनुभवले बिस्तारै अर्को महिनामा काम गर्ने समयअवधि र महिनामा बुझ्ने तलब आफू सन्तुष्ट हुने गरी कम र बढी हुनेवाला थियो । एक जना दाइसँग मिलेर एउटा सानो बार रेष्टुरेन्ट खोल्ने दिन यही गर्मी सिजनमा गर्ने भनेर तोकिसकेका थियौँ। यसले मन हाइड्रोजन ग्यास भरेको बलुन उडेजस्तै माथि उड्न थालेको थियो । नसोचेको कोरोना प्रवेशले मेरो सबै खुसी खोसेर एकान्तबासमा धकेलिदियो । आजसम्म मुखैमा आएको खुसी यसरी खोसिनु जीवनको पहिलो खोसिएको खुसी भएको छ । कोरोना पछिको एकान्तबासले सुरुमा मनमा ठूलो बेचैनी निम्त्यायो । शुरुका दिनमा एकदमै हतास हुने खालको भयो । जीवन नै एक तमासले अन्धकारतिर धकेलिएको अनुभव हुन थाल्यो । परदेशमा आफ्ना भाषाका प्रिन्ट बुकहरु त्यति सम्भव नभएसँगै इन्टरनेटमा आफूलाई व्यस्त राख्न थाले । ओशो, विपस्यना र ओमशान्तिका ध्यानविधिको क,ख,रा बुझेको थिएँ। त्यसमा आफ्नो समय धेरै खर्चिन थालेँ, अनलाइन बुकहरु पढ्न थालेँ, बिस्तारै माया, मोह, राग, लोभ, क्रोध, कामवासनाबाट आफूलाई सकेसम्म टाढा राख्नुपर्ने बुझेँ । एकान्तबासका दिनहरु अब प्रिय हुन थाले । आफ्नो जीवनमा यस्तो सु–अवसर अब चिन्ता माथिको विश्रामअघि कहिल्यै आउन नसक्ने कल्पना गरेँ । स्वःअध्ययनलाई जोड दिँदै बिस्तारै सामाजिक सन्जालहरुलाई समय कम दिन थालेँ । “हुने हार दैव नटार” भने भनाइ एक तमासले फेरि सम्झेँ । विश्वका सबै वैज्ञानिकहरु कोरोना रोकथाममा जुटिरहँदा केही उपलब्धि हासिल हुन नसकिरहेको यस अवस्थाले यो उखानलाई अझ न्याय गरेको सम्झे, कोरोना महामारीलाई दैवको नै लीला सम्झेँ । ओशोको प्राय साँझको समय गरिने कुण्डलिनी ध्यानका १५,१५ मिनटका चार चरणहरुले ठोस चट्टानजस्तो शरीरमा थुनिएका र ब्लक भएका इनर्जीहरुलाई बिस्तारै तरलतामा बगाउँदै पैतालाबाट ठाडो दिशामा बग्न मद्दत गरेको बुझ्न थालेँ । सन्ध्याकालीन समयमा नाच्दा आफ्ना शरीरका अंगहरु स्वःस्फूर्त रुपमा नाचिसकेपछि त्यो रात आउने गहिरो निद्राको अनुभव राम्रोसँग गर्न थालेसँगै यसले मानसिक स्वःस्फूर्तता ल्याउने र मेमोरी पावर बढाउने तथ्य गहिरोसँग अध्ययन गरे । ब्रह्मकुमारी विश्वविद्यालयअन्तगर्त ज्योतिको परिकल्पना गर्दै गरिने राजयोगले मस्तिष्कमा एक किसिमको रिल्याक्स तथा पोजिटिभ इनर्जीतिर आफूलाई लगेको महसुस गर्ने कुरामा अझ बढी प्रष्ट भए । त्यस्तै आफ्नो श्वासप्रश्वासलाई महसुस गर्दै गरिने विपस्यना ध्यानले नकारात्मक सोचको प्रभाव कम हुँदै जाने कुरा अझ गहिराईसँग अध्ययन गर्न पाए । समग्रमा एकान्तबासले आर्थिक मनोदशालाई नराम्रोसँग प्रभाव पारे पनि बिस्तारै माया, लोभ, द्वेष, कामवासना, क्रोध यी सब झुटा हुन फजुल हुन् भन्नेतर्फ मन डोहोर्याउँदै लगेको थियो । आध्यात्मिक अध्ययनमा आफूलाई पाउँदा मन चङ्गा हुन थालेको थियो । यो खुसी पनि कोरोनामा आएको फैलावट दरको कमी र मृत्युदर कमसँगै खोसियो । कोरोना प्रभाव घटदै जानु आफैँमा एकदमै राम्रो भए पनि अपवादको रुपमा मलाई अब एकान्तबासमा जस्तै अध्ययनलाई समय दिन नसक्ने अवस्थाले फेरि खुसी खोसिएको महसुस गरे । बिहानीपखको जहाजको आवाजले मनमा एकतमासले उत्सुक्ता थप्दै थियो । अब छिटै अवस्था सामान्यतर्फ फर्किने संकेतसँगै सानाखालका रेष्टुरेन्टहरुलाई सन्चालन गर्न दिने यहाँको सरकारको निर्णयले आफ्ना पहिलाका योजनामा अगाडि सोच्ने अवस्था सिर्जना भएको थियो । छुटेको काम पनि हात लाग्ने र आर्थिक पाटोमा सुधार आउने निश्चित थियो । यसले मनमा फेरि एकान्तबास सँगै गुम्सिएका खुसीहरु सल्बलाउन थालेका थिए । जहाजको आवाजले निद्रा खल्बलाइसकेपछि फेरि निदाउन कोसिस गरे । अहँ, निदाउन सकिनँ । स्याङजा वालिङमा ३ कोरोना बिरामी थपिएसँगै ५ मा कोरोनाको पुष्टि भन्ने हाइलाइट समाचार स्थानीय आँधिखोलाखबरमा हेरेपछि सल्बलाएका खुसीहरु एकै ठाउँमा एक गोलो ढिक्का भई छाति च्यापेको जस्तो हुन थाल्यो । ७० वर्षकी आमा सम्झेँ । श्रीमती, दाइका साना दुई छोरी सम्झेँ । हाल आफू रहेको देशमा २७,१०० भन्दा धेरै मानिसहरुले ज्यान गुमाउँदा जति यहाँ आफूलाई सुरक्षित सम्झेँ, त्यो भन्दा बढी असुरक्षित गाउँमा पाँच जना कोरोना सक्रंमित बिरामी हुँदा भएको महसुस गरेँ । आज क्वारेन्टिनबाट यति कोरोना संक्रमित बिरामीहरु भागे, एम्बुलेन्समा नक्कली कोरोना बिरामी फेला पर्यो, सरकारी हस्पिटलले कोरोना बिरामी लिन अस्वीकार गर्यो, सुनौली बोर्डरमा हजारौँ गाउँलेहरुले आफ्नो गाउँ आउन कुरेर बसेको खबरहरुले एकान्तबासबाट बिस्तारै सरलतातिर बग्न थालेको मेरो दैनिकीमा खुसी एकाएक खोसिदियो । एकाबिहानै जहाजको आवाजले मनमा ल्याएको खुसी एकाएक चुँडिन थाल्यो । म आफू हाल बसेको ठाउँ स्पेनमा अहिले मृत्युदर शून्यमा झरेको छ, सक्रमण दर ४ अंकबाट कहिले २ कहिले ३ अंकमा झरेको छ र पनि फेरि मार्च १४ बाट सुरु भएको लकडाउन जुन २१ सम्म कायम नै गरिएको छ । यहाँ अपवादका एकाध घटनाबाहेक कुनै किसिमको अप्रिय घटनाहरु भएका छैनन्, हाम्रो गाउँमा कोरोना बल्ल समुदायस्तरमा फैलिने क्रममा छ, मृत्युदर बढ्ने दिन आउन बाँकी छ तर हामी सरकारलाई वा व्यवस्थालाई दोष देखाउँदै आफू जति संयम र उत्तरदायी हुनु पर्ने हो त्यो एकरति पनि भएका छैनौँ । यसले हाम्रो अवस्था इटालीमा जस्तै हुने निश्चितप्रायः छ । भारतका नेता महात्मा गान्धी पनि २१ दिन कुनै अन्न बिनाको भोक हड्ताल गरेको इतिहास हामीले बिर्सेका छैनौँ। त्यस्तै सामान्यतयः मानिस २१ दिनदेखि ४० दिनसम्म बिना खाद्यान्न रहन सक्नेतर्क ब्रिटिस मेडिकल जर्नललाई आधार मान्दा पाउन सकिन्छ । तर यसको विपरीत हामी यस्तो विषम परिस्थितिमा पनि फेसबुकका स्टाटसमा आजको खाना भन्दै फोटो देखाउन अनावश्यक रुपमा बजारमा भिड गर्न रोकेका छैनौँ। यसले हामी खानाका लागि भन्दा पनि रोग फैलिन दिनको लागि बढी अग्रसर छौँ जस्तो लाग्छ । यो रोगसँग बच्ने भनेको रोग लाग्न नदिनु नै हो। यो केवल सामाजिक दुरी कायम गरेर मात्र सम्भव छ। खानाका लागि भन्दै हामी तरकारी पसलमा उस्तै भिड गरिरहेका छौँ। हरेक पसलहरुमा सोहीअनुसार भिड गरिरहेका छौँ। यो प्रवृत्ति मृत्युदर वृद्धि भए मात्र एक्कासि रोकिने प्रस्ट छ, जुन सारै दुःखको कुरा हो । आशा छ, हामी सबैमा रोग फैलावट प्रतिको जिम्मेवारीबोध हुन आउँनेछ र अब हामी सरकार वा व्यवस्थाले केही गरेन भन्दै आन्दोलन गर्न भन्दा पनि आफू संयमित रहने छैन। अब हामीले खाना नै नखाई पनि २१ दिन देखि ४० दिनसम्म बाँच्ने कुरा बुझ्न जरुरी छ र खानालाई भन्दा रोगलाई बढी महत्त्व दिन आवश्यक छ। यो गर्दासम्म सामाजिक दुरी कायम हुनेछ र बिस्तारै संक्रमण दर घट्ने छ। यससँगै म लगायत हाम्रा खोसिएका खुसी पुनः सल्बलाउन थाल्ने छन्। #क्वारेन्टिन #बन्दाबन्दी
लोकतान्त्रिक पागलखाना\xa0: अजित अधिकारी बन्दाबन्दी सातौं दिन बन्दाबन्दी सत्रौं दिन बन्दाबन्दी सत्ताइसौं दिन ….. बन्दाबन्दी सन्ताउन्नौं दिन …. यसरी लम्बिदै गएका बन्दाबन्दीसFगै तन्किएका छन् अनगिन्ती अभाव र भोकहरु चुड्न सक्छ अब भोकले चिमिर्किएको आन्द्रो सुक्न सक्छन् अभावले फुस्रो भएका ओठहरु अनि ढल्न सक्छन् आस्था र विश्वासहरु वाह लोकतन्त्र! तँलाई ल्याउन काँधको हलो, जुवा फ्यात्तै फालेर निस्किएका थिए काकाहरु आन्दोलनमा, घाँसको भारी कान्लामै छोडेर भीरभीरै आएका थिए दिदी, बैनी अनि भाउजूहरु सडक तताउन, ठोस्दै गरेको अगुल्टो छोडेर आएकी थिइन् आमा मुर्दाबाद र जिन्दाबादका नारा लगाउन, ठेलाभरी सपना बोकेर हिँडेको भाइ होमिएको थियो आन्दोलनमा अघिअघि नारा लाउँदै र, थापेको थियो गोली छातिभरि छिट्टै गरिबका दिन आउँछन् भनेर। गरिबका दिन त आए आमा तर छिट्टै मर्ने दिन पो आए! ए सरकार! जब भोको पेट, नाङ्गा आङ, तिर्खाले सुकेका घाँटी, अभावले थिलिएको शरीर विद्रोहमा उत्रिन्छन् नि, थेगिनसक्नुको हलचल आउन सक्छ, सडकभरी भोकहरु उत्रिनेछन्, सडकभरी नाङ्गा जुलुस निस्किनेछन्, त्यसैले ए सरकार अब क्वारेन्टिन होइन एक वडा एक पागलखाना व्यवस्था गर। अथाह भोक, रोग र अभावले जनता छिट्टै पागल हुनेछन् भोको पागल चिच्याउनेछ व्यवस्थाविरुद्ध, पागलहरुको हुल बढ्नेछ सडक हुँदै उतै आलिशान नयाँ दरबारतिर। ठीक त्यतिबेला थुन्दै घाँटी लामबद्ध पागलहरुको भाँचेर खुट्टा सरकारविरोधी पागलहरुको लगेर कोच्नु पर्छ, लोकतान्त्रिक पागलखानामा र बजाइदिनुपर्छ बाहिरपट्टि चर्को स्वरमा रेकर्डेड कविता “भोकले कोही मर्नु पर्दैन” #. #अव्यवस्था #कोरोना #क्वारेन्टिन #महामारी #राजनीति
देशलाई प्रश्न: झोलाहरु बोकेर बिहानै बसुन्धराबाट झर्थिन र साझमा घर फर्किन्थिन मेरि धर्मपत्नी सहरको प्रख्यात अस्पतालमा सरसफाइको काम गर्थिन । हरेक दिन हिडेर जान्थिन अनि हिडेरै आउथिन अनि आएर उनी भात पकाउथिन। अकस्मात !जब एक रात ढोकाहरु ढक्ढकाएर प्रबासको कुनै सरकार झै गरेर घरबेटी आयो अनि दस मिटर परबाट हाम्रो अनुहारलाई हेर्दै यो बातायो कि ृजसरी पनि अबको दुइ दिनमा यो रुम खाली गर अनि आफ्नौ गाउँ घर जाउ किनकी, तिमिले काम गर्ने (टिचिङ्ग) हस्पिटलमा भर्खर कोरोना भाइरस देखिएको छ। “हाम्रो जाने ठाउँ कहि छैन हजुर“ भनेर अनि रोएर हजार बिन्तीहरु बिसायौ तर, अफसोच हाम्रो आसुले कसैको अनुहार भिजेन दरवार साहुको ‘‘‘ मन पग्लिएन । लाचार भएर अनि हतार हतार सारा सम्पतीहरु बजारमा बेचेर अनि घरभाडा तिरेर हामी सडक किनारमा आयौ । र कुनै फुटपाथको बेसाहारा झै गरेर कयौ दिन त्यही खाते भएर बितायौ । सिङ्गो सहरको हित्तको निमित्त काम गरिरहेकाहरुलाइ हतोत्साहित गरियो र लखेटियो हामिहरुलाइ त्यही सहरबाटै। प्रसासन आयो अनि लकडाउन भनेर उठायो र खेदायो हामिहरुलाइ तर सरकार आएन र बोलाएन हामिहरुलाइ र केही पनि दिएन । जुन बखत, सहरमा हामिले चिनेको कोहि पनि थिएन । हामी बेसाहारा थियौ अनि बेसाहारै भयौ र अन्तत एकसाथ हामी आफ्नै गाउँ फर्कियौ । रित्तो पासपोर्ट बोकेर या,मानौ कि भिसाबिहिन भारतको बाटोहरु हुँदै हप्ता महिनौ दिन लगाएर लगातार स्वदेस हिडिरहेको नेपाली कामदारहरु झै गरेर हो हामी फर्कियौ आ(आफ्नु काधमा एकएक ओटा बच्चाहरु चेपेर तर,स्वागत भएन गाउमा हामिहरुलाइ बहिस्कार भयो जहाँ , निधेस लेखिएको प्रेबेसद्वारको दिवारमा टागिएको थियो काढे तारको बार । त्यही दोधारमा बसेर म सोचिरहेथे अब हामी कहाँ जाने के खाने ? र कोरोनाकै बिसयलाइ लिएर गाउँ सहरबिच यति अन्तरद्वन्द छ किन यति धेरै आफैमा आन्दोलित छ बिबादित छ आज बिभाजित छ यो सिङ्गो गाउँ। सहर र आफू आफुमै बिखन्डित छ ? सहरले झोला लिएर गाउँ जा भन्यो यसैले ,म गाउँ गए गाउले फर्किएर फेरि सहर जा भन्यो र म ऐले,अलपत्र भए सरकार आखिर हामी कुन ठाउका नागरिकहरु थियौ बिचलित भएर म सोचिरहेथे। अतीत! त्यहि नगरको बिकासको निमित्त आफनै मुखको गाँसहरु झिकेर अनि चन्दाहरु दिएर बनाएको त्यही बाटोहरुमा हाम्रा आफ्नै आखाका आसुहरु खसिरहे र त्यही आसुहरुलाइ कुल्चिएर अघाडि बढिरहेथ्यो कसैको चिल्लो कार गाढि। एकरात अकस्मात उनी बिरामी भैन आखाहरु उठाएर पनि अन्धो झै गरेर हेरिरहेको सिमाना बारिको गाउ यो मेरो जिम्मेवारि हैन भनिरहेथ्यो र भनिरहेथ्यो मेयर यो तिम्रो नागरिक हो यसैले यस्लाइ पारि लैजाउ । स्थानिय प्रेदेसिय र सङ्गघिय सरकारहरु झै गरेर उनिहरु बाजिरहेथे र आफ्नै देसमा आएर पनि प्रबेस नपाएर कर्णालिको किनारमा न्यास्रीरहेका नेपालीहरु झै निन्याउरो अनुहार लगाएर म दुइ देसको दोधारमा बसिरहेथे । त्यसको ठिक भोलीपल्ट मैले आफुलाइ अस्पतालमा पाए अनि रोए कराए र चिच्याए किनकी,मैले यो समचार थहा पाए कि प्रसब ब्यथाले रन्थनिएर छट्पटाइरहेकी मेरि श्रीमतिलाइ अस्पतालले कोरोना सङ्गक्रमित भनेर इन्कार गरेको थियो अनि तीस बर्सको कलिलै उमेरमा उन्ले अकाल मर्नु परेको थियो। र उनिसङ्गै एकसाथ बाचिरहेको गर्भको बच्चा पनि मरेको थियो । उपचार,आहार अनि बाँसस्थान र कपास यो देसको बिधानले नै प्रत्याभुत गरेको नागरिकहरुको नैसर्गिक अधिकार हो सरकार! भ्रस्टचार गर्नेहरुलाई बारम्बार पुरस्कार दिन्छ यो देसमा तर बर्सौ बर्स लगातार किन इमान्दार भएर काम गर्नेहरुलाइ तिरस्कार गरिन्छ ? सरकार अर्काको ज्यान जोगाइरहेकाहरुको लागि सम्मान खै ? ए!समाज ! तेरो अनुहारको रुप र निधारको तक्दिर फेर्न मैदानमा मौजुद भैरहेका महान सिपाहीहरुलाइ प्रोत्साहान खै ? राम्रो काम गर्ने तमाम मान्छेहरुलाइ सलाम खै ? आफू फलामको तारमा हिडेर अनि तेरो परिवार बचाइरहेकाहरुलाइ उचित ब्यहवहार खै ? अनि कहि पनि (अन्त) आवास नपाएर तलाइ आफ्नु (आफन्त)सम्झिएर स्वदेस आइरहेकाहरुलाइ सुरछित ओछ्यान खै? सायद सतिको अभिसाप परेको यो देसमा सत्कर्म गर्नेहरुको हालत अन्तत त्यही नै हुन्छ। र यो समाज र यो देसको त्यो घटिया आदत अब सात जन्मसम्म यथावत रहन्छ। यहाँ ,अकाल मरिन्छ मुला नेपालमा किन? मरिन मेरि श्रीमती अस्पतालमा आएर पनि उपचार नपाएर सरकार ! हो मरिन मेरि श्रीमती अस्पतालमै मरिन। डाक्टर ! ‘‘ र त्यो त्यही अस्पताल थ्यो जहाँ,उनले बर्सौ वर्ष काम गरेकी थिइन् । #देशलाई प्रश्न
निर्णय: सुरेन्द्र अस्तफल हाम्रो खासखुसलाई किन मसला हाल्छन् बुज्रुकहरू फाँटमा हराएको गोरुझैँ बेखबर भएको बेला खोलाको बगरमा गाएको गीत सुनेर किन पछ्याइरहन्छौ हामीलाई हामीसँग त वर्णशङ्करको बेजोड तालमेल छ सक्छौ ताली बजाऊ सक्दैनौ चुपचाप बस हामी खोकौँ कि बर्बराऊँ हामी थुकौँ कि जुर्मुराऊँ नभुल्नू कहिल्यै जनताहरू तिमीहरू पथिक हौ हामी तिमीहरूको गन्तव्य । गरेकै छैनौँ निर्णय किन बकबक गर्छन् मिडियाहरू ? किन फलाकिरहन्छन् पत्रकारहरू ? किन भरिएका छन् सामाजिक सञ्जालका वालहरू ? लाग्छ तिनीहरू एककिसिमका मनोरोगी हुन् कुहिनाले हिर्काएर दुईतिहाइको पहाड जिस्काइरहेछन् ए देशवासीहरू नेपालनामक यो राज्यमा हामी नै आदि र हामी नै अन्त्य हौँ मात्र तिमीहरू हाम्रो चाल हेरीहेरी आफ्नो चाल बनाउनू र लेख्नू भनेपछि मात्र समाचार बनाउनू । #शासक #समाचार #सुरेन्द्र अस्तफल
लघुकथा: जीवनमाला\xa0: बार्दलीमा बसेर सान्नानी पर पर …. सेतै फुलेका काँसघारी, भेरीको बगर र भेरीपारिको जङ्गललाई आँखाभरि समेट्छे । जँहा ऊ आफ्ना चन्चलता, खुसी र उमंगका साथ सपनाका थुङ्गाहरू बटुलेर बुन्दै थिई सुन्दर प्रेमिल जीवनमाला । धागोको पैया बनेको अल्लारे उमेर र पबित्र प्रेममा आफ्ना चाहना, खुसी र सुखको कल्पनाका पबित्रता गाँस्दै थिई ऊ । विस्वास अनि समर्पणलाई धागोको गाँठोमा बेस्सरी कसेर सिंगार्दै थिई भविष्यको सम्भावनाहहरू, टलक्कसँग टल्काउने भरोसामा । हो, यही बाटो, चौतारी, वन, झाडी, रूख, बुटा, पाखो र सललल बगेको भेरीको तिर अनि बलौटे बगर नै बन्नपुग्यो सान्नानीको लागी कहिले खुसी त कहिले पीडाले मुटु छेड्ने तीर । सान्नानी अर्धचेतनाबाट केही बोल्न खोज्छे । शब्दले नै गला थिचेझैं वाक्य निस्कदैन । आँखाका पानी सकिएर बगरका बालुवाझैँ ओभानो छ । कयौं दिनहरू बितिसक्यो उसको जीवन छताछुल्ल भएको, नसोरिने गरी पोखिएको, अनि समाजमबाट ठूलो अपराधीको पगरी पाएको र कलंकितको सम्मान भिरेको । ऊ सम्झन पुग्छे, सबैभन्दा प्रिय ठानेको मान्छे, उसका त्याग र बाध्यताहरू । सान्नानी ढल्दै-उठ्दै गर्दा पटकपटक ठोकिन्छे बर्दलीका खम्बासँग र ती रगताम्बे भित्री र बाहिरी चोटहरू बोक्दै, बजारिन्छे बार्दलीका तिखे कुनाहरूमा जीवन बजारिएकै जसरी, र फेरि थचारिन्छे उही जमीनमा डढेल्लो लागेको धरतीझैँ डढेको मन लिएर। हरक्षण नयनभरि घुम्छ, त्यो तितो पल । हृदयले छाम्न पुग्छ, घर परिवार जसले उसका चाहनामात्र हैन, जिन्दगीलाई नै कष्टका साथ रेटीदिएका थियो । सान्नानी आफ्नो समाज र सामाजिक परिवेश सम्झन्छे, र भेट्छे छियाछिया मुटुको घाउमा नुन-चुक-खुर्सानी दलिदिने आडम्बरी मानवता । ऊ ताप्न चाहन्छे कानुन, न्याय र अधिकारको रापिलो घाम । तर सान्नानी आफ्नो निर्दोशितामा पाउँछे, केवल ऊमाथि बर्सिएका प्रश्नका वर्षा, घृणा र दुर्व्यवहारका भेल । सान्नानीलाई लाग्छ, अब आउने सारा समय अन्धकारका रातहरू मात्र हुन्, जँहा सान्नानीलाई नै उसैको भविष्यले मिर्मिरे चिहाउन दिने छैन | सान्नानी अर्धचेतमै निसास्सेझैं भाग्दै भेरीको तिरमा पुग्छे, र फटाफट भेट्टाउँछे आफूले बटुल्न खोजेको र बुन्दै गरेको प्रेमिल जीवनमालाका थुङ्गाहरु, च्यातिएर लुछिएर, कुल्चियर, बाँधिएर भेरीमा बग्दै लास बनेर किनाराभरि लम्पसार परिरहेको सहयोगीसमेतका कयौं सुन्दर सृष्टिहरू ।
बन्दाबन्दीले पुस्तक संसारमा हिमपहिरो: गएको मार्च महिनामा जब कोरोनाभाइरसको आतंक शुरू मात्र भएको थियो तर अवस्था गम्भीर बनिसकेको थिएन, त्यतिञ्जेल पुस्तक प्रकाशकहरूसँग कार्यक्रमको चाङ थियो। यस्तै चाङमध्येमा उभिएका थिए बालबालिकाको बेस्ट सेलर लेखक जेफ किने। विम्पी किड सिरिजको नयाँ पुस्तक ‘रअली जेफरसन्स असम फ्रेन्डली एड्भेन्चर’ अप्रिल महिनामा निस्कने तयारी भएकाले उनले अमेरिकाका विभिन्न ६ सहरमा एउटा किताबयात्रा तयार गरिरहेका थिए। यसअघिका विम्पी किड शृंखला निकै हिट रहेका कारण उनका लागि यो पुस्तक पनि महत्त्वको थियो। उनलाई बजारले कसरी मूल्याङ्कन गर्ला भन्ने चासो बढेर गएको थियो तर कोविद १९ रोगले सबै कुरा गडबड गरिदियो। चुक्चुकाउँदै जेफ भन्छन्, ‘किताब निस्कन पाएको भए यो बन्दाबन्दीमा केटाकेटीहरू कति रमाइलो मान्थे होलान्!’ तर उनको यो किताबयात्रा अब अगस्त महिनासम्म लम्बिएको छ। यो सूचीमा उनी मात्र होइन, अन्य चल्तीका लेखकहरू एलेना फेरेन्ते, डेभिड मिसेल, हास्यकलाकार माइकल इयान ब्ल्याकदेखि आयान हिर्सी र पंकज मिश्रसम्म परेका छन्। गर्मी महिनामा निकाल्न तयार पारिएका किताब त रोकियो नै आउँदो जाडो यामका लागि ठिक्क पारिएका पुस्तकहरू पनि अड्किए। यस्तो अवस्थालाई केही पुस्तक व्यापारीहरूले पुस्तक बजारमा आएको हिउँपहिरो नामकरण गरेका छन्। यहाँ त कोरोनाभाइरस मात्र होइन, अब हुने राष्ट्रपतीय निर्वाचन, संकटापन्न स्वास्थ्य समस्या, आर्थिक संकटजस्ता कयौँ कुरा एकसाथ किताबको व्यापारमाथि थोपरिने हुनाले व्यापारीहरूले हिउँपहिरो गइरहेको बताएका हुन् । हार्परकोलिन्सका जोनाथन बर्नहाम भन्छन्, ‘यो जाडो यामका लागि पुस्तक निकाल्न र बेच्न पाइएन भन्ने कुरा त एउटा सामान्य समस्या मात्र हो, कोविद १९ ले पारेको समष्टिगत समस्यालाई हेर्नुभयो भने हिउँपहिरोको अर्थ बुझ्नुहुन्छ।’ हार्परले हालै अमेरिकी सेनाका राष्ट्रिय सुरक्षा सल्लाहकार लेफ्टिनेन्ट जनरल एचआर म्याकमास्टरको आत्मकथा ‘ब्याटलग्राउन्ड’ निकाल्न लागेको थियो तर अड्किन पुग्यो। संकटको घडीमा सबैभन्दा मार पर्ने भनेको साना लेखकलाई हो। साना लेखक भन्नाले जसको प्रशंसक समूह सानो छ, ठीकै बिक्री हुन्छ, त्यस्ता पुस्तक बजारमा सबैभन्दा कम प्राथमिकतामा पर्छन्। किताब कति बिक्री हुन्छ भन्ने कुरा त्यसलाई कसरी डिस्प्ले गरिन्छ भन्नेमा पनि भर पर्छ। यस्तो अवस्थामा किताबको भिडमा नाम कम सुनिएका लेखकको किताब प्राथमिकतामा पर्दैन र त्यस्ता किताब नदेखिई वा नसुनिई ओझेलमा पर्ने गर्छन्। झन्, यस्तो बन्दाबन्दीका बेला एक्कैचोटि धेरै पुस्तक बजारमा निस्किएको खण्डमा राम्रो बिक्री हुने पुस्तकहरू एकअर्कामा प्रतिस्पर्धा गर्ने हुनाले तुलनात्मक रूपमा कम बिक्री हुने आशंका बढेर गएको प्रकाशकहरू बताउँछन्। हिटाची कम्पनीले यस पटक २० प्रतिशत पुस्तक ननिकाल्ने निर्णय गरेको छ। प्रमुख कार्यकारी अधिकारी माइकल पिच भन्छन्, ‘धेरै किताब निकालेर पनि के गर्नु? ती भिडमा थिचिने पक्का छ।’ यसरी कुन निकाल्ने र कुन ननिकाल्ने निर्णय गर्नु चाहिँ अँध्यारोमा ढुंगा हान्नुसरह भएको ग्रोभ एटलान्टिक प्रकाशनका प्रमुख कार्यकारी मोर्गन एन्ट्रेकिन बताउँछन्। उनी भन्छन्, ‘पाठकले के खोजिरहेका छन्, कसैलाई थाहा छैन। अनि, केही चाहिँ यो निकाल्ने र त्यो ननिकाल्ने भनेर गुना गरेर बसिरहेका छन्।’ कयौँ पुस्तक पसल बन्द भएको भन्दै युरोपा बुक्सले एलेना फेरेन्तेको बहुप्रतिक्षित उपन्यास जुन महिनाको रिलिज स्थगन गरेर सेप्टेम्बरमा पुर्यायो। आफ्नो पुस्तकको व्यापार साना पसलेको आडमा धेरै हुने र बन्दाबन्दीमा त्यस्ता पसल बन्द भएका कारण उपन्यासले बजार पाउला भन्नेमा शंका रहेको भन्दै रिलिज मिति सारेको हो। यतिबेला फेरेन्तेको उपन्यास ‘द लाइङ लाइफ अफ एडल्ट्स’ पहिलो संस्करणमा नै एक लाख ५० हजार प्रति छापेर ठिक्क पारिएको छ। यो स्थगनलाई भने केही ठूला बिक्रेताहरूले आफूहरूमाथि धोका भएको बताइरहेका छन्। यस्तो संकटको घडीमा बहुप्रतिक्षित उपन्यास स्थगन गर्दा बिक्रीले दिने राहतबाट वञ्चित तुल्याएको महसुस तिनले गरेका छन्। यति मात्र होइन, पुस्तक कुरेर बसेका प्रशंसकहरूमाथि धोका नै भएको युरोपा बुक्सका प्रमुख सम्पादक माइकल रेनोल्ड्स बताउँछन्। सबैभन्दा खुसीको कुरा चाहिँ बन्दाबन्दीको यो अवस्थामा पनि पाठकहरूले किताब किन्नुलाई भने नियमित नै गरेका छन्। हालै गरिएको एक सर्भेले अघिल्लो वर्षको तुलनामा पुस्तक बिक्री उति घटेको भने छैन। खासगरी हंगर गेम्स शृंखलाकी सुजाने कोलिन्स, थ्रिलर लेखकहरू जोन ग्रिसम, स्टेफन किङजस्ता लेखकका पुस्तक यस्तो संकटको घडीमा बढी पढिएका छन्। सुजाने कोलिन्सको नयाँ उपन्यास द ब्यालेड अफ सङबर्ड्स एन्ड स्नेक्स एक हप्ताअघि रिलिज भए पनि बिक्री संख्या पाँच लाख बढी भइसकेको छ। ग्रिसमको कमिनो विन्ड्स उपन्यास अप्रिल अन्त्यबाट शुरू भए पनि दुई लाख सात हजारभन्दा बढी बिक्री भइसकेको छ। यस्तै स्टेफन किङको नयाँ उपन्यास हार्डकभरमा पनि एक महिनाभित्रै दुई लाख प्रति बिक्री भइसकेको एनपिडी सर्भेले जनाएको छ। तर प्रशंसक बिनाका लेखकहरूले यो दिन भने देख्न नपाउनु स्वाभाविक भएको केहीको धारणा छ। जस्तो कि रेन्डम हाउसले नयाँ उपन्यासकार नमिना फोर्नाको किशोर उपन्यास द गिल्डेड वन्सको रिलिज सारिएको छ। त्यस्तै माइकल सियर्सको थ्रिलर टावर अफ बाबेल २०२१ मा मात्र निस्कनेछ । केही सीमित पुस्तक पसल खुलेका र यस्तो अवस्थामा पाठकले नयाँ लेखकमाथि झट्टै विश्वास गरिनहाल्ने र मिडियाले पनि पर्याप्त ठाउँ नदिने हुनाले सम्भावना भएका उपन्यासलाई सार्नुको विकल्प नभएको प्रकाशकहरूको धारणा छ। #पुस्तक व्यापार #बन्दाबन्दी
एउटा भ्रम अनि यथार्थ: इतिहासको कालो रातभित्र निस्सासिरहेछ वर्तमान समय तर हामीलाई गर्व छ हाम्रो इतिहासमा हामीले इतिहासमा नहारेको त कहाँ हो र ? तर कहाँ बुझाइयो र मौलिक इतिहास ? यथार्थलाई भत्काइयो तथ्यहरु बङ्गाइयो र तयार गरियो एउटा ठेली सबैलाई घोकाइयो हामी वीर गोर्खाको सन्तान इतिहासमा हार्नु परेन र त हाम्रो अहंकारको पहाड चुलिएर सगरमाथा भन्दा उच्च भयो छेकिदियो गतिशील पाइलाहरू अनि कसरी चुम्न सकिन्थ्यो र ? प्रगतिको नयाँ आयामहरू । इतिहासले हामीलाई दास नबनाएको कहाँ हो र ? तर पनि भनियो हामीले कसैको गुलाम बन्नु परेन ! अभिभावकहरू अरूको गुलाम बनेकाले सन्तानको भविष्य कोर्न बिर्सिए वर्तमानमा रमाउन आदत भएकाले आउने दिनको सुन्दर रुपरेखा तयार गर्ने योजना नै आएन ’एउटा पुष जाँदैमा जिन्दगीको जाडो सकिदैन’ यो कुरा बुझेको भए अहिले किन हुन्थ्यो र, हाम्रो यो दुर्गति ? के इतिहास एउटा गर्व मात्र थियो, शिक्षा थिएन ? के हामीले लेख्नु पर्दैन र नयाँ इतिहास ? वर्तमान युग प्रति हाम्रो कुनै उत्तर दायित्व छैन ? यस्ता धेरै विषयहरू अन्नुत्तरित सवाल बनेर सैलुङ्ग पहाडझैँ उभिएको छ हाम्रो सामु तर हामी समयले दिएको अभिभारा बिर्सिएर पुर्खाहरूको विरासतको सिरानी हालेर निदाइरहेको छौँ चीर निन्द्रामा र निदाइरहेछ हामीसँगै यो युग ! #एउटा भ्रम अनि यथार्थ
छोराको प्रश्नले जन्माएको 'बा' !: नीरा शर्मा भनिन्छ– आमाले नौ महिना पेटमा बच्चा बोक्छिन् र बाबुले नौ महिना मस्तिष्कमा । हुन त हामीले आमाको व्यवहार र बुबाको व्यवहारमा आकाश र पातालको अन्तर भेट्छौँ । “कसको धेरै माया लाग्छ– बाबाको कि मम्मीको ?” अविभावकले बाल मस्तिष्कमै एक किसिमको विभेदको बीज रोपिसकेका हुन्छन्, प्रश्न प्रतिप्रश्न गरेर । त्यो बीज बढ्दै गएपछि त्यो बच्चाले सर्वत्र आमा भेट्छ र बा उसको लागि ओझेल पर्छन् । अपवाद छाडेर हेर्ने हो भने बच्चाको सामीप्य आमासँग धेरै हुन्छ । त्यसैले त हर गल्ती, हर पीडा, हर चोट र दुखाईहरूमा आमाको नाम पहिलो पंक्तिमा आउने गर्छ । मानिस कुनै अकस्मात भयमा पर्दा उसको मुखबाट निस्किने पहिलो शब्द नै ‘आमा’ हो । दुख्दा ‘ऐया नि आमा ! ’ निस्किहाल्छ जो कोहीको मनबाट । उसो भए के बाहरू सन्तानको नजरबाट साँच्चै टाढा छन् ? प्रश्न उठ्छ । तर यस प्रश्नको अडिग जवाफ भएर कविता उभिएला सायदै मानिसले सोचेका थिए होलान् । उसो त बालाई सम्बोधन गरेर कविता, गीत, गजल, कथा नलेखिएकै भने होइन । अन्तर्राष्ट्रिय व्यक्तिहरूले पनि बाको बारे आफ्नै शैलीमा कविता प्रस्तुत गरेका छन् । कवि थियोडोर रोथ्केको ‘माई पापाज्वाल्ज’, रवर्ट हेडनको ‘दोज विन्टर सन्डेज’ र सिल्भिया प्लाथको ‘डयाडी’ कविता टड्कारा उदाहरण हुन् । फरक–फरक भूमिकामा चलचित्रका पात्र पनि नभएका होइनन्, बा । सर्सर्ती हेर्दा आम मानिसको आँखाले आमामा भावुकता र बाभित्र कठोरता देख्छ । यी त दृष्टिका कुरा भए । तर, यही आँखामा अलिकति फरक दृष्टि राखेर हेरियो भने बा पनि आमाजस्तै कोमल छन् । छायामा परेर धमिलो आकृति देखिनु र यथार्थमै धमिलो हुनुमा धेरै फरक छ । त्यस्तै ओझेलमा परेर धमिलो देखिएका बाको अनुहारलाई कोमल, भावुक, मायालु बनाएर देखाएको छ, कवि नीरा शर्माको ‘बा’ कविताले । आम मानिसले वर्षौंदेखि देखिरहेको बाको कठोर अनुहारलाई नै बदल्ने हिम्मत कसरी गरिन् नीरा शर्माले ? के यो उनको साहित्य मात्र हो ? अथवा भोगाई ? कि चर्चाको कुनै एउटा स्कुप मात्र ? हामी सबैको अन्तरात्मामा यी प्रश्नहरू खेलेकै होलान् । हामीले यिनै प्रश्नहरूको जवाफ नीरा शर्माबाटै लिने जमर्को गरेका छौं प्रस्तुत छ ‘बा’ कविता – बा मैले धेरै पढेँ आमाका वेदनाका कथाहरू तर कहिल्यै पढिनँ बाका अनुहारमा सलबलाएका दुःखका वक्र रेखाहरू धेरै पटक कविले आमाकै तारिफमा कविता कोरे आमाकै गीत–सङ्गीत भरे आमालाई धरती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन् र त बा सधैँ ओझेल परे । बारीको डिलमा चुपचाप ठिङ्ग उभिएको बूढो रुखझैं बा कहिल्यै उभिएनन् भन्ज्याङको चौतारीझैं ढसमस्स बसेनन् बा कहिल्यै बा त हाम्रो अँध्यारो मेटाउन मैनझैँ जलिरहे हाम्रा खुसी समेट्न मोनो रेलझैँ चलिरहे जिन्दगीभर कुदिरहे कुदिरहे थाकेर सुइय नगरी सधैँ एक्लै कुदिरहे त्यसैले त अग्लिँदैछ एक्लोपनको हिमाल बाको मनभित्र । यतिखेर लम्पसार छ नीरस जिन्दगी बाकै अघिल्तिर थिचिएर त्रासले सधैँ घुरिरहन्छ घ्वारघ्वार कुम्भकर्णको निद्रामा बाको अन्योल जिन्दगी तर बा कर्कलाको पातमा टलपल शीतझैँ आँसु टिलपिलाएका आँखामा निद्रा हराएपछि खुसीहरूको सिला खोज्दैछन परेलीका डिलहरूमा । बोल्दाबोल्दै भासिन्छ बाको स्वर बोली बन्द हुन्छ एकाएक थाहा पाउँछु म गला अवरुद्ध भएको र पनि दबाएर सबै पीडा मुस्कुराएको अभिनय गर्छन् म चिन्छु त्यो मुस्कान त्यो नक्कली मुस्कान जो बाको होइन– हुँदै होइन । फुंग रङ उडेका उदासीका फूलहरू फुलेका छन् बाका मुहारभरि चाउरिएर ग्राफ जस्ता गालाका रेखाहरूमा कतै एक धर्को सन्तोष छैन कपाल झरेर खुइलिएको बाको तालुमा जिम्मेवारीको चर्को घामले उदाएदेखि अस्ताउँदासम्म ठुंगिरहन्छ । भित्र मनमा कताकता विगत र आगतको उही चिन्ताको पहाड उभिएको छ र बा त्यही पहाडमा उभिएर संसार जितेको नाटक गर्छन् अनि बाँड्छन् हामीलाई पैंचो मागेका उधारा खुसीहरू तर यथार्थमा बा हारिरहन्छन् पलपल मेरो लागि तिम्रो लागि र हाम्रो लागि हो, बा त्यो हरूवा हो जो सधैँ हारिरहन्छन् केवल सन्तानका लागि । प्रस्तुत कविता कवि नीरा शर्माको ‘बा’ शीर्षकको कविता हो । सन् २०१५ डिसेम्बरमा फेसबुकमा पहिलो पटक पोस्ट भएको थियो । यो कविताले सामाजिक सञ्जालमा धेरै दिनसम्म आफ्नो एकाधिकार जमाएको थियो । यही कवितामाथि टेकेर धेरै फेसबुक पेजहरूले आफूलाई सामाजिक सञ्जालमा स्थापित पनि गराएका थिए । बालाई पढिरहेकै समाजले कवि नीरा शर्माको बा कविता पढेपश्चात् मान्छेले मान्छेलाई कविताको माध्यमबाट भन्न बाँकी कुरा धेरै रहेछ भन्ने पनि अनुभव गराएको थियो । सन्तानले आफ्नो अभिभावकको आँखामा हेर्दा भरोसा देख्छ । अभिभावकले आफ्नो सन्तानको आँखामा भविष्य । कवि नीरा शर्माले अब बा कविता लेख्छु भनेर लेखेकी नै होइनन् । हुन त साहित्य नै त्यस्तो अद्भूत रचना हो, जो न चाहेर लेख्न सकिन्छ । न लेख्दिनँ भनेर नलेखी बस्न नै । तर उनको मस्तिष्कमा बा भने घुमिरहेको उनले भेट्थिन् । अमेरिकामा बसोबास गर्दै आएकी कवि त्यो समय नेपाल आएकी थिइन् । उनको छोरा चितवनमा बसेर चिकित्साशास्त्र पढिरहेका थिए । एकदिन कोठामा बसिरहँदा उनको जेठो छोरो सुयशले आफ्ना बाले अमेरिकामा किन र केका लागि यति धेरै दुःख गर्छन् भनेर गुनासो गरे । कुराकानीकै क्रममा उनले सोधे, “संसारमा आमाले जस्तै दुःख बाले पनि गर्छन् तर साहित्यमा पनि सधैँ आमाको कुरा मात्र गरिन्छ बाको खासै लेखिदैन, किन होला मामु ?” छोराको प्रश्नले कविको आँखामा आफ्नो बाको अनुहार आयो । कवि नीरा शर्मा भन्छिन्, “मेरो मस्तिष्कमा बा कविताको विजारोपण मेरो जेठो छोराले गरिदिएको हो । छोराले उसको बाबाले जीवनभर गरेको दुःखको कदर गर्दै प्रश्न नउठाएको भए सायद उनको मनमा घुम्ने थिएन मदानी र निस्किने थिएन नौनी भएर ‘बा’ कविता ।” भोलिपल्ट उनी बा आमालाई भेट्न आफ्नो माइती लमजुङमा पुगिन् । “त्यसपटक बा आमासँगको भलाकुसारीमा मैले बालाई मेरो छोराले उसको बाबालाई बुझे जसरी बुझ्ने कोसिस गरेँ,” उनी भन्छिन् । उनले बाको अनुहारमा जे देखिन्, त्यही भावलाई ‘बा’ कवितामा उतारेकी छन् । उनी भन्छिन्, “बा कवितामा कल्पना कत्ति पनि छैन, मैले मेरा बालाई जस्तो देखेँ त्यस्तै लेखेँ । बा कविताको प्रत्येक शब्दमा म मेरा बालाई देख्छु । कविलाई लाग्छ कि संसारमा बा दुई प्रकारका छन् ।” [bs-quote quote=”कविता यति धेरै चर्चित हुनुमा उनी भन्छिन्, “यही कविता कुनै छोराले लेखेको भए यति मन पराइँदैनथ्यो सायद । म छोरी भएर बाको मर्म बुझेको कारण पनि कविताले धेरैको मन छोयो ।”” style=”style-2″ align=”left” color=”#dd9c39″ author_name=”नीरा शर्मा” author_job=”कवि” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/nira-sharma.jpg”][/bs-quote] एकथरी बा हुन्छन् जसले सन्तान जन्माउनुलाई ‘ठट्टा’ सम्झिन्छन् र उनीहरू प्रतिका सबै जिम्मेवारी आमाको काँधमा जिम्मा लगाएर पन्छिन्छन् । अर्काथरी बा हुन्छन् जसले आफ्ना सन्तानलाई सफलताको चुचुरोमा पुर्\u200dयाउन जम्मै दुःख, पीडा, कष्टको भारी बोकेर आफैँ बेस क्याम्पसम्म पुग्छन् अर्थात् आफ्ना सम्पूर्ण जिम्मेवारी बहन गर्छन् । तर जब सन्तानले सफलताको चुचुरो चुम्छन्, तब बा–आमालाई भुइँको धूलो ठान्छन् । “बुढेसकालमा सन्तानप्रति गुनासो धेरै हुने र तिनै पोकाहरूले थिचिएर हो दुःखी हुने,” कवि थप्छिन् । माइतीबाट चितवन फर्कने क्रममा बाटोभरी कविका आँखामा बाको अनुहार मात्र आइरह्यो । बसमा बसेपछि उनले ‘बा’ लेखिन् । बेलुकी चितवन पुगेपछि आफ्नो कविता फेसबुकमा पोस्ट गरिन् । सामाजिक सञ्जालभर उनको बा कविता हजारौँ पटक सेयर भए । कतिले आफ्नो नाम राख्दै अनलाइनलाई दिए । सामाजिक सञ्जालमा बा कविता भाइरल भइरहेको थियो तर कविलाई थाहा थिएन । त्यसैबेला साहित्यकार किशोर पहाडीले कवि नीरा शर्मालाई फोन गरेर बा कविता कविको नाम बिना नै सेयर भैरहेको सुनाए । कतिलाई त किशोर पहाडीले नै कमेन्ट गर्दै बा कविताकी रचनाकार नीरा शर्मा हुन् भनेका थिए । तारिफ, चर्चा, अन्तर्वार्ताजस्ता कार्यबाट टाढै रहने कवि नीरा शर्मालाई ‘बा’ कविताले बाहिर ल्यायो । यस कवितालाई सङ्गीतकार हरि लम्सालले सन् २०१७ मा आफ्नो सुमधुर स्वर र सङ्गीत दिएर सुगन्ध थपिदिए । बाको मुख हेर्ने दिन पारेर रिलिज गरिएको उक्त भिडियोले कवितालाई अझ उचाइमा पुर्\u200dयायो । कविता यति धेरै चर्चित हुनुमा उनी भन्छिन्, “यही कविता कुनै छोराले लेखेको भए यति मन पराइँदैनथ्यो सायद । म छोरी भएर बाको मर्म बुझेको कारण पनि कविताले धेरैको मन छोयो ।” सन् २०१९ मा कवितालाई गायक रवीन शर्माले वाचन गरेका छन् भने समालोचक महेश पौड्यालले यस कवितालाई अंग्रेजीमा अनुवाद पनि गरेका छन् । बा कविताजस्तै फरक धारमा उभिएर कविता लेख्न रूचाउने कवि नीरा शर्मामा अरू धेरै कविताहरू पत्रपत्रिकामा प्रकाशन भइसकेका छन् । उनै नीराको कविताकृतिको प्रतीक्षामा पनि धेरै पाठकहरु रहेका छन् । यो उनका बारे गरिएका कमेन्टहरूबाट पनि बुझ्न सकिन्छ । हामी कवि शर्मालाई उत्कृष्ट कृति प्रकाशनको लागि अग्रिम शुभकामना बोल्छौं । #नीरा शर्मा #बा
प्रेमान्तर: आमाको आशीर्वाद बोकेर चन्द्रमा छुन हिँडेको मान्छे म बाटैमा भेटियौ तिमी मध्यरातमा । कुनै अन्धकार जङ्गलको बीचमा इशारा गरिदियौ छेउकै इनारतर्फ पूर्णिमाको पूर्ण चन्द्रमा टिप्न गल्ती गर्यौ तिमीले, केही त पक्कै नत्र आमाले सानो छँदा थालमा पानी राखेर चन्द्रमा देखाएजति आनन्द किन पाइनँ मैले ? #दीपक
कविको नजरमा कविः विकेश कविन र विवश बाबु: कविता के हो ? के होइन ? कविताको निश्चित परिभाषा के हो ? कविता किन लेख्छन् कविहरूले ? कोही कवि हरेक दिनजसो कविता लेखिरहेका हुन्छन् भने कोही कवि महिनौँसम्म पनि लेख्न सकिरहेका हुँदैनन् । आखिर किन ? यी सम्पूर्ण प्रश्नका उत्तर भने नभएका होइनन् । परन्तु यी प्रश्नका उत्तर भने समान हुँदैनन् । कविपिच्छे फरकफरक उत्तर पाइन्छन् । कला र कवितालाई कवि मनु मन्जिल यसरी व्याख्या गर्छन्– ‘प्रकृतिले हामीलाई जीवन दियो । हामी मानिस उसलाई हृदय दिन्छौँ । प्रकृति बोल्छ गहिरो कुनै भाषामा, त्यसैलाई सायद कला भन्छौँ, कविता भन्छौँ ।’ ‘आफूमा भएको ऊर्जा (सीप पनि होइन, ज्ञान पनि होइन) र ब्रह्माण्डमा भएको ऊर्जाबीच सम्पर्क भएर जे आउँछ, त्यो नै कविता हो,’ कवि नवराज पराजुली यसरी कवितालाई दुई ऊर्जाबीच सम्पर्क भएर आएको कुनै अनिश्चत/अज्ञात कुरा भनेर स्वपरिभाषित गर्छन् । कवि महेश पौड्याल भन्छन्, ‘कविता निरन्तर आफ्नै गतिमा चल्ने विधा हो । यो ह्वात्तै चुलीमा पुग्ने र ह्वात्तै रसातलमा खस्कने विधा होइन ।’ ‘सुन्ने, देख्ने, छुनेभन्दा पनि परको कुरा हो कविता । यो पराभौतिक कुरा हो,’ कवि रमेश क्षितिज कवितालाई यसरी पराभौतिक कुराको रूपमा स्वव्याख्या गर्छन् । स्वपरिभाषित गर्छन् । यसरी नेपाली कविताका चार कविहरूः मनु मन्जिल, नवराज पराजुली, महेश पौड्याल र रमेश क्षितिजका कविताका परिभाषा/व्याख्या हेर्ने हो भने पनि कविपिच्छे कविताको व्याख्या असमान रहेको पाइन्छ । वर्तमान नेपाली कविताको क्षेत्रमा विशेषतः युवा कविहरूले कवितामा नयाँ प्रयोगहरू गरिरहेका छन् । तिनीहरूले फरकफरक कोणमा फरकफरक शैलीका फरकफरक स्वादका कविताहरू लेखिरहेका छन् । यसले गर्दा नै कविताका पाठकहरू बढेको पनि बुझ्न सकिन्छ । युवा कविहरूमाझ साथसाथै नेपाली कविताको क्षेत्रमै एकदमै मनपराइएका (कविताहरू) र आफ्ना कविताहरूको माध्यमले आफ्नो छुट्टै पहिचान बनाएका युवा कवि हुन्– विवश बाबु । कुनै पनि विषयलाई सूक्ष्मरूपमा बुझेर त्यही सूक्ष्मताको वृक्षमा कविताको फल फलाउने कवि हुन् बाबु । उनी कविता लेख्छन् । उनी कविताको साधना गर्छन् । उनी कविताको अनन्त पथमा यात्रारत छन् । उनी कवितालाई (अ)कविता भन्छन् । (अ)कवितालाई कविता भन्छन् । सायद (अ)कविताभित्र विशाल कविता लुकेको हुन्छ भन्ने कवि विवश बाबुको बुझाइ छ । उनी कविता, (अ)कविता सबैप्रति सकारात्मक छन् । सायद यही कारणले गर्दा उनी कुनै पनि विषयलाई गहनरूपमा बुझेर कविताका ढाल्न सक्छन् । कवि विवश बाबुको एउटा कविता छ ‘बाटो’ शीर्षकको । यो कवितामा राजनीतिक पदचापहरू कतै पनि आँखाले देखिदैनन् । यो कवितामा क्रूर शासकीय व्यवस्था कतै पनि देखिदैन । परन्तु यो कवितामा ‘कु’राजनीतिक विचरणले कसरी देशका जनताहरू मारमा परिरहेका छन्, शोषित बनिरहेका छन्, भुइँमान्छे बनिरहेका छन्, ती सम्पूर्ण कुराहरूलाई कवि बाबुले विशिष्टरूपमा चित्राङ्कन गरेका छन् । लाग्छ, कविले वर्तमान नेपाली राजनीति लेखेका छन् कवितामा जुन राजनीतिले हरेक नेपाली स्वाभिमानी शीरमा आफ्नो भ्रष्ट र अराष्ट्रिय बुट बजारेको छ । यो ‘बाटो’ शीर्षक कविता पढिसकेपश्चात् हामीलाई बाटो भन्नु नै हामी नेपालीहरूको स्वाभिमानी शीर हो भन्ने लाग्न सक्छ । बाटो भन्नु नै हाम्रो जीवन हो भन्ने लाग्न सक्छ । बाटो भन्नु नै हामी हौँ कि भन्ने पनि लाग्न सक्छ । ‘बाटो’ शीर्षक कविताको अन्तिम हरफमा कवि विवश बाबु लेख्छन् – “युगौँदेखि हामीले बनाएको समयको यो बाटोमा हाम्रै पैतालाहरू नहिँडेर किन कुद्छन् ? सभ्यताका टायलहरू । जसले हाम्रा आँखाहरूमा भ्रमको हिलो छ्यापेर जान्छन् ।” एउटी गृहिणीको दिनचर्या, उसको जीवन, उसको घर र घरका प्रत्येक परिवारजन साथसाथै बस्तुभाउ प्रतिको अपार समर्पण, उसको सपना, उसको विपना आदिइत्यादि कुरालाई कवि विवश बाबुको ‘सुन्तली’ शीर्षक कवितामा प्रस्तुत गरिएको छ । यस कवितामा गाउँले जीवन, परम्परावादी आचरण र विचरण, एउटी महिलाको महान् समर्पण आदि कुरालाई देखाइएको छ । सुन्तली जो सुकै कुनै गाउँले महिला हुन सक्छिन् । परन्तु उनी सहरकी महिला कदापि हुन सक्दिनन् । यो कविताले एकातिर मान्छेले आफ्नो कर्मप्रति वफादार हुनुपर्छ, घरपरिवारको भलो हुने काम गर्नुपर्छ आदि कुरा बताएको छ भने यो कविताले महिलाहरूलाई केवल घरमा घरकै काम मात्र गराएर राख्नु हुँदैन, उनीहरूलाई पनि स्वतन्त्र भएर बाँच्न दिनुपर्छ भन्ने कुरा अप्रत्यक्षरूपमा बताएको छ । यसै ‘सुन्तली’ कविताको एक हरफ यस्तो छः “हुँदाहुँदा कहिलेकाहीँ समयले सुन्तलीको चप्पल लुकाएर आफू पर पुग्छ फुटाएर छर्दै छर्दै बाटाभरि सुन्तलीले अनुहार हेर्ने ऐनाका टुक्राहरू धूवाँले पोतेको अनुहार लिई, खाली खुट्टा किन कुद्छे सुन्तली ? समयको पछिपछि सायद उसलाई कसैले सुनाइदिन्छ समयले लगिगयो उसको छोराको जुत्ता ।” कवि विवश बाबुको कविता यसप्रकार छः १. बाटो हाम्रा नङ्ग्राहरूले भित्तो उधिनेपछि बनेको हो यो बाटोको बनोट । हामीले आफ्नो टाउको ढोक्काएर फुटाएका हौँ चट्यानहरू । र चाक्लो बनाएका हौं यो बाटोलाई । हामी खाली खुट्टा दौडेर हाम्रा पैतालामा कोपाएका हौँ सिसाहरू, खिलहरू । र, बाटोलाइ नबिझाउने बनाएका हौँ । हामीले पसिना पोखाएर यो बाटोमा धूलो उड्न दिएनौँ । हाम्रो निद्राले ननिदाई खनिरह्यो यो बाटोका नालीहरू । हामीले आफ्नो उमेरलाई रगतले मुछेर बिछ्याएका हौँ यो बाटोमा र पो यो बाटो बलियो बनेको हो । हामीले आफ्ना मुटुहरू भित्तामा टाँसेर जोगाएका हौँ यो बाटोलाई पहिरोबाट । बेलाबेलामा हाम्रो थकानलाई छेउतिर बिछ्याएर बनाएका हौँ पार्किङस्थल । हामीले आफ्नो शीर ढड्याएर स्वाभिमान बालेका हौँ यो बाटोलाई उज्यालो बनाएका हौँ । अनि हाम्रा हत्केलामा आफ्नै बैँस फुलाएर राखेका हौँ छेउछाउमा यही बाटोलाई सुन्दर बनाउन । हिजो नालीमा कुहिएको न्यायको साँगुरो सोच सफा गर्न हाम्री भाउजूले आफ्नी दूधे बच्चीलाई सडकमा सुताइन् । तर, यो युग बोकेको घोडाको टाप बजारियो हाम्री छोरीको हृदयमा । आज सडकको छेउमा उम्रिएको झार उखेल्दै गरेकी हाम्री बिरामी आमालाई धकेलेर अघि बढ्यो यो व्यवस्थाको एम्बुलेन्स । र, सायद भोलि हाम्रा छोराहरूले गुर्जेगानोको गाडी कुदाएर बाटो बिगारेको आरोपमा कलिला आङहरूमा यो विधानले र्कोरा बजार्नेछ । युगौँदेखि हामीले बनाएको समयको यो बाटोमा हाम्रै पैतालाहरू नहिँडेर किन कुद्छन् ?? सभ्यताका टायलहरू । जसले हाम्रा आँखाहरूमा भ्रमको हिलो छ्यापेर जान्छन् । २. सुन्तली बिहान ब्युँझनु पूर्व सकिन्छ सुन्तलीको सपनाको शृङ्खला । र त बिहानै अलार्म लगाउन पाउँदैनन् गोठका भोकहरूले आदिम संगीत निकाल्दै मूलको पानी बोलाइरहेको छ, सुन्तलीको गाग्रीलाई अँगेनालाई पनि त जाडो भैसक्यो सबैका बिस्ताराले कुरेका छन् एक कप तातो चिया । ठूलो छोराको ट्युसन क्लास, छिटो पठाउनु पर्ने ! हेर्नुस न, निफनेको आटो सकिएछ। उता खरबारीमा खरले प्रत्येक दिन कुरिबस्छ सुन्तलीको आँसीले दिने मृत्युदण्ड श्रीमान्ले टाईको गाँठो पार्न त सिके हुने, बाटुलीले आजै हुड्डा बोलाएकी छिन्। साँझमा पूजाकोठाले बोलाउँछ फेरि, दिनभरिको गोबर गोठमै छ फेरि भैंसी पनि त एकहाते छ ससुरा बाले बेलुकी सुक्खा रोटी खोज्नुहुन्छ ढिला भए छोराछोरी नखाई सुतिदिन्छन् र, पनि कहिलेकाहीँ निस्किहाले, सुन्तलीको फुर्सदले किन निद नबोलाएर कुरुस बोलाउँछ ? नचुँडाई फुकालेर आफ्नै गुजुल्टिएको जिन्दगी, किन बुन्छन् सुन्तली र सुन्तलीको कुरुसले अरुका लागि मात्र स्विटर अनि सपना? हुँदा हुँदा कहिलेकाहीँ समयले सुन्तलीका चप्पल लुकाएर आफू पर पुग्छ फुटाएर छर्दैछर्दै बाटाभरि सुन्तलीले अनुहार हेर्ने ऐनाका टुक्राहरु धूवाँले पोतेको अनुहार लिई, खाली खुट्टा किन कुद्छे सुन्तली ? समयको पछिपछि सायद उसलाई कसैले सुनाइदिन्छ समयले लगिगयो, उस्को छोराको जुत्ता । यतिखेर, मेरो सिरानीमा एक बोतल ख्याल राखेर मेरो निधारमा एक सागर प्यार राखेर चाँडै निदाइसकी मेरी सुन्तली भोलि बिहानै मलाई बजार जानु छ। #विकेश कविन #विवश बाबु
‘अछुत’को प्रेमगीत: अभय श्रेष्ठ म छु वारि भीरमाथि, डाँडाको बतासजस्तै पारि छ मेरो मुटु । जसरी पुरानो भित्तामा चल्छ खिया लागेको पुरानो घडी ठिक त्यसरी नै चल्छ नयाँ संविधानमा सत्ताको रथ त्यसरी नै तिम्रो नजरमा म अझै पिँढीभन्दा तल करजोरी गरिरहने उही पुरानै अछुत हुन्छु । हार्नेहरूको वीरताझैँ मेटिन्छ त्यहाँ मेरो आँसु, पसिना र रगतको इतिहास । म मान्दिनँ– प्रेमको संसारमा वर्णको कुनै भित्ता हुन्छ एक बारको अमूल्य जुनीकै जोखिममा रोजेको हुँ मैले एक ‘सवर्ण युवतीको प्यार तर, हरेक पटक प्रेमको आलिङ्गनमा मेरो कलेजाको मध्य भागमा रोपिन्छ जातको खन्जर । मान्छेको निर्दोष रगत र अक्षत प्रेमलाई जिउँदै जल्न नदिन अब त मसँगै छन् वर्णको प्रदूषित हावा र प्रेमको निषेधमा निःसासिएका सहस्र मानिस प्रेमको पवित्र सौन्दर्यशास्त्रले पनि भन्न सक्दैन मेरो पवित्र प्रेमलाई अपवित्र यो देशको सर्वोच्च विधान रगतले सिँचेको यो भूमि, पसिनाका बुँद, यो घाम, यी जूनतारा बतास र रूखपातले पनि युगमाथि तर्जनी औँला ठड्याइसके । तर, भोरको मन्द हावाझैँ मेरो हृदयमा नित्य ठोकिएको प्रेमको जवाफमा किन रोकिन्छ मलाई प्रेमनगरको प्रवेशद्वारमा ? म प्रेमको अतुल गहिराइमा बोल्छु मौन भाषा त्यसलाई तिमी तरबारले थुन्छौ जवाफमा वाचाल छ मेरो मौन जलाएर धर्मशास्त्रका पाना र उद्धरणहरू छाड्नु छ मैले यहाँ पवित्र प्रेमको डोब दिनु छ युगलाई प्रेमको भाषामा एउटा बाफिलो जबाफ यो देश सबैको फूलबारी हो भने मत्स्यवेदको प्रवेशद्वारमा तोड्नु छ मैले निषेधाज्ञा । म पनि त चाहन्छु यो दुःखी दुनियाँमा नचलोस् आँधीहुरी मेरो पवित्र प्यारको आकाङ्क्षामा नखलबलियोस् कुनै रूखको जरा नलागोस् कुनै वनमा डँडेलो तर, दुनियाँमा कैयन् यस्ता कुरा छन् जसलाई नजलाए यहाँ धेरैले जिउँदै जल्नुपर्छ । म छु वारि भीरमाथि डाँडाको बतासजस्तै पारि छ मेरो माया । #दलित
अजयका तीन मुक्तक\xa0: १. पूरानो अतित सम्झाई दियो कुनै बेलाको त्यही गुनको बदला लियो कुनै बेलाको जसले मेरो सिसाको घरमा पत्थर हान्यो अहिले उहीँ नै घनिष्ट साथी थियो कुनै बेलाको ।। २. म गरिब तिमी धनी गाह्रो हुनेरहेछ फेरि प्रेम छुट्छ भनी गाह्रो हुनेरहेछ हिरा जस्तो सम्बन्ध पितल हुने डरले मन पराउँछु भन्न पनि गाह्रो हुनेरहेछ ।। ३. छोरा मात्रै चाहिन्छ भन्ने बाआमाको दिल थियो शिक्षित भएर पनि मस्तिष्क भने शिथिल थियो छोरी भएको कारण भ्रूण हत्या भयो जसको आमा महिला अधिकारकर्मी बाबू वकिल थियो ।। #अजय अनमोल
मालचरी: भुर्र उडेर गए एक हूल मालचरी सूर्यको अर्को उज्यालो फन्कोसँगै आशाको डिलैडिल जसलाई क्यै गरी बन्द गर्नु छ बचेराको चिँ चिँ नदेखिने बनाउनु छ गुँडभित्र सूर्यको डिस्को लाइट नलाग्ने बनाउनु छ बर्षाको धारे हात सजाउनु छ भित्ताहरू रङ्गिन छेस्काहरूले बच्नुछ शिकारीको निशानाबाट फुत्किनु छ सर्पको आहार हुनुबाट जोगिनु छ ठक्कर दिने सपनाभन्दा अग्ला महत्वकांक्षाको पहाडबाट सामना गर्नु छ चीलबाजहरूसँग चुँडाउनु छ खुट्टामा बाँधिएको धागो हुनु छ निको अलौकिक घाउबाट नपर्नु छ पासोको डोकोमा ठुङ्नु छ जाल थाप्न खोज्ने जालधारीको कानमा मिसिनु छ आफूजस्तै उड्ने अर्को जातसङ्ग उडाउनु छ बोकेर कहिले, उडिनु छ बोकिएर कहिले लुक्नु छ कहिले रुखका हाँगाहरूमा देखिनु छ कहिले खुल्ला आसमानमा हल्लाउनु छ पखेटा नपुगुन्जेल उचाइको आकाश भर्नु छ सानो र ठूलो आन्द्राको लहर हेर्नु छ हिमाल मुन्तिरको सुन्दर दृश्य देख्नु छ उ पारीको चरीको अर्को बस्ती सुन्नु छ आफ्नै नाम खुल्ला आकाशभरी र राख्नुछ नयाँ किर्तिमान तर बत्ती ननिभ्दै फर्कनु छ आफ्नै स्थल बन्द हुनु छ आँखा खोल्ने ढोका सधैँभरिलाई दिनु छ पालो अर्को मालचरीलाई एउटा अर्को नयाँ कथाको लागि । #मालचरी
मासुको मण्डी: एउटा दृश्य हाटबजारको जहाँ किनबेच हुन्छ राज्यसत्ताबाट स्थापित विसंगतिका घरेलु कारखानामा उत्पादित बाइप्रडक्टहरू । स्टलमा सजाइएका ननभेज परिकारहरू छन् नितम्बको चौडाई स्तनको गोलाई कम्मरको छिनाई आँखाको गहिराइ ओठको मोटाई र अरू यस्तै यस्तै । बिक्रेताहरू छन् विवशता बेरोजगारी गरिबी परित्यक्ता बेखर्ची महँगी बेथिति आदि र इत्यादि ! ग्राहकहरू छन् फरक स्वादका पारखीहरू चरम विकारका शिकारीहरू असङ्ख्य असफल प्रेमीहरू बिरक्तिएका मनहरू फास्टफुडमा रमाउनेहरू बजारिया फ्लेभर रुचाउनेहरू । हरेक साँझको सघन घुर्मैलोसङ्गै सुरु हुने यो मण्डीमा बार्गेनिङ हुन्छ मासुको मुल्यको मासुको रङको मासुको स्वादको मासुको क्वालिटीको । लिलाम बडाबड हुन्छ क्रेताको क्रय शक्तिको बिक्रेताको कामशक्तिको रुप र सौन्दर्यको उमेर र वयको खर्चिने समयको । सिद्धान्त लागू हुन्छ माग र आपूर्तिको गुणस्तर र मूल्यको अवमुल्यन हुन्छ प्रेमकोर कसमको सिन्दुरको र संस्कारको धर्मको र कर्मको । राष्ट्रबाट बर्जित तर चर्चित बजार सरकारलाई कर छली गर्ने कालोबजार धर्मले निषेध गरेको नियोजित बजार जति मास्न खोज्यो झन फस्टाउँदो बजार खै कस्तो बजार ? साह्रै सस्तो बजार एउटा मान्छेले अर्को मान्छेलाई सबैभन्दा सस्तो मूल्यमा सजिलैसँग किन्न पाइने मान्छेको मासुको हाटबजार । #मासुको मण्डी #राधिका कल्पित
अब रंगीन चार्ल्स डिकेन्स: लन्डन/भिक्टोरियन कालमा खिचिएका प्रख्यात लेखक चार्ल्स डिकेन्सका आठ तस्बिरलाई यतिबेला उनकै नाममा खुलेको संग्रहालयले रंगीन बनाउने अभियान शुरू गरेको छ। ‘क्रिसमस क्यारोल’, ‘ओलिभर ट्विस्ट’, ‘अ टेल अफ टु सिटिज’, ‘डेभिड कपरफिल्ड’ तथा ‘ग्रेट एक्सपेक्टेसन्स’जस्ता प्रख्यात उपन्यासका लेखकको तस्बिर रंगीन बनाउने यस अभियानलाई केहीले स्वागत गरेका छन् भने केहीले भने आलोचना गरेका छन्। चार्ल्स डिकेन्स म्युजियमले यस अभियानलाई अघि बढाएपछि डिकेन्स वास्तवमै कस्तो देखिन्थे होला भनेर कल्पना गर्नेहरूका लागि एउटा मसलासमेत दिएको छ । रानी भिक्टोरियाको पालाका यी लेखकको फेसन मोह, रोजाई, छालाको रङ आदि सबै अध्ययन गरी उनको रंगीन तस्बिरमध्ये एक (यहाँ देखिएको) सार्वजनिक गरिएलगत्तै यसको पक्ष र विपक्षमा कुराहरू उठ्न थालेका हुन्। उनको तस्बिरलाई रंगीन बनाउन डिकेन्सका पनातिका पनि पनातिको सहयोग लिइएको म्युजियमले जनाएको छ। डिकेन्सका सन्तानका दुई जना पनातिका पनि पनाति अझै ज्यूँदै छन्। गेराल्ड डिकेन्स र मार्क डिकेन्सको छालाको बनोट अध्ययन गरी चार्ल्स डिकेन्सको अनुहारलाई रंगीन बनाउन सहयोग लिइएको संग्रहालयले जनाएको हो। ‘अनुहारको रङलाई अन्तिम स्वरूप दिँदा मलाई त अचम्मै लाग्यो,’ रंगीन तस्बिर अभियानमा संलग्न ओलिभर क्लाइडले भने, ‘उनको यो तस्बिरलाई अन्तिम रूप दिइसक्दा मलाई के लाग्यो भने उनको यो तस्बिर खिच्ने क्रममा उनको स्वास्थ्य उति राम्रो थिएन होला। उनी अलि पहेँलिएजस्तो वा अनुहारमा कान्तिको अभाव स्पष्ट झल्कन्छ।’ उनको यात्रामोहका कारण बरोबर विभिन्न मुलुकमा गइरहन्थे । जसका कारण उनी एउटा गोराजस्तो नदेखिई अलि छाला डढेको अध्ययनले देखाएको ओलिभर बताउँछन्। उनी भन्छन्, ‘यो तस्बिर हेर्नुभयो भने उनले कयौँ समयदेखि कपाल नकोरेको र दाह्रीलाई नसम्याएको देखिन्छ।’ डिकेन्सका आठ तस्बिरहरूलाई रंगीन बनाउने अभियान चलाइएको हो। तीमध्ये यो पहिलो चरणको तस्बिर हो। यो तस्बिर उनी ४७ वर्षको छँदा लिइएको विज्ञहरू बताउँछन्। अभियानकी क्युरेटर फ्रान्की कुबिकी भन्छिन्, ‘धेरैलाई कुनै साहित्यकारको अनुहारलाई रंगीन बनाउनु सामान्य काम जस्तो लाग्ला तर यसका लागि हामीले लामो शोध गरेका छौँ र धेरैको सहयोगले उनको वास्तविक रङ ल्याउने प्रयास गरेका छौँ। रंगीन बनाइएका यी सबै तस्बिरहरूलाई बन्दाबन्दी खुलेपछि चार्ल्स डिकेन्स संग्रहालयमा प्रदर्शनका लागि राखिने पनि कुबिकीले बताइन्। #चार्ल्स डिकेन्स #संग्रहालय
इज्जत: मेरो हजुरबुवाले भन्नुहुन्थ्यो बुवाआमाले पनि भन्नहुन्थ्यो अनि, गाउँ समाजका सबैले भन्नुहुन्थ्यो इज्जत राख्नुपर्छ है कान्छा ! सबैका लागि र सधैँकालागि सबैभन्दा ठूलो र विशाल छ मान्छेको इज्जत । आरोप प्रत्यारोप लाग्ननहुने लागेको कुरा देख्न नहुने देखेको कुरा सुन्न नहुने छाडेर हिँड्न नमिल्ने ढाकेर मात्रै राख्नुपर्ने अनि, कसैलाई देखाउन नमिल्ने कस्तो छ यो इज्जत लागेको इज्जत पखाल्न नमिल्ने च्यातेर पनि नच्यातिने ढाकेर निकहिल्यै नढाकिने छोपेर पनि नछोपिने अनि, लुकाएर पनि नलुक्ने सुकाएर पनि नसुक्ने कस्तो अचम्म छ लागेपछि टाँस्सिइरहने सधैँ बडहरको खोटोजस्तो छ इज्जत . आफ्नो मनलाई थाम्न नसकेसी दृष्टिलाई बक्र बनाएसी अपनत्वलाई त्यागेपछि मान्छे मान्छे भित्रको भावना पशुत्वमा ? पान्तरित भैदिन्छ अनि, मानवबस्तीको जञ्जीरलाई तोड्दै डर, त्रासको भावनाको अन्त्य हुन्छ अनि, लगाम बिनाको घोडा बन्दै मान्छे पशुत्वमा परिणत भई अपराधीबन्न पुग्दछ बर्षौदेखि आर्जन गरेको मान, प्रतिष्ठा एक क्षणमा खरानी बनाउँछ ऋाफू सकिन्छ परिवार सकिन्छ समाज नै दुर्गन्धित बनाउँदै सिङ्गो राष्ट्रलाई समेत डुबाउँछ त्यसैले इज्जत इज्जत नै हो जसले मान प्रतिष्ठालाईं बढाउँछ मान्छेलाई मान्छेजस्तै बाँच्न सिकाउँछ निडर र स्वाभिमान बनाउँछ बलशाली र शक्तिशाली बनाउँछ अनि, मान्छे भित्र मानवता बढाउँदै अजर र अमर बनाउँन सक्छ यही सानो इज्जत । #नारायणप्रसाद न्यौपाने
प्रश्न: कुल्चिएर बाटो मुनिको एउटा फूल भेरी नदीको आत्माभित्र अछुत रगत मिसिएको छ अब मन्दिरमा चढाउने पानी चल्छ चल्दैन ? एक चौथाइ साइँली सुनको औठी सँगै बगरमा दुई चिम्टी अछूत सिन्दुर पोखिएको छ अब घाटमा लासहरू जल्छ जल्दैन ? फुटेर मूल्यहीन प्रेमिल मुटुको भाग्य चट्टानमा कालरात्रिमा जस्तै रगत लतपतिएको छ अब चट्टानबाट मूर्ति बन्छ बन्दैन ? कठिन अन्तिम स्वासहरू सँगै अछुत भौतिक शरीर पञ्चतत्वमा बिलिन भएको छ अब मान्छेले स्वास फेर्छ फेर्दैन ? ब्लड ब्याङ्कको एक पाउण्ड बाँकी रगत कस्को हो ? रक्तनलीमा छकबार गर्ने ढोका हुन्छ हुदैन ? #प्रश्न
धरती: तिमी स्वास्नी बनाउँछौ र कुल्चिदिन्छौ अनि भन्छौ– नारी धरती हो धरती सहनशीला हो ! बुझ पचाउँछौ कि ? नारी त आकाश पो हो ! आकाश बर्सिएन भने कहाँ बाँच्छ धरती कसरी पुरिन्छन् तिम्रा खडेरीले चिरिदिएका दरारहरू ? #धरती
म हराउँदैछु: आजभोलि अनौठा सपना आउँछन मेरो सहरमा मान्छेले कुकुरलाई र, कुकुरले मानिसलाई आलोपालो गरि टोक्छन । दुवै स्वास्थ्यचौकी लगिन्छन् । फर्काइन्छन् पटक पटक त्यसैले त आज सहर शान्त छ । जीवन सम्भ्रान्त छ । धन्य हामीसँग चेष्टा छ । रमाउने रहर छ । बजार छ । पार्कहरू छन् । त्यसैले त अर्काले घुमाउने, रोटेपिङ्गमा बसेर घुम्न पाइन्छ । त्यसैले त चटकेको बाँदर हेर्न पाइन्छ । बाहिर नेमप्लेटमा लेखिएको छ बाँदरका बारेमा बुझ्न मदारीलाई सम्पर्क गर्नुहोस् । #म हराउँदैछु
स्वर्ग: मलाई एउटा लामो लौरो चाहिएको छ तिखो, लामो लौरो त्यो लौरोले म सुरुमा हावा छेड्छु त्यसपछि बादल छेड्छु त्यसपछि आकाश छेड्छु हावाको चिसो बादलको सेतो र आकाशको नीलो छेडेर बनेको प्वालबाट नियालेर हेर्दा खराउ लगाएर हिँडिरहेका देवताका पइताला देखिन्छन् होला वर्षौअघि बितेका मेरा पुर्खाहरू देखिन्छन् होला नाच्न नजान्ने इन्द्रको आँगनमा नाचिरहेका अप्सरा देखिन्छन् होला । रिटायर्ड बृद्ध पेन्सनको लाममा बसे जस्तै ८४ लाख जन्म–मृत्युको दस्तुर तिरिसकेर ब्रह्मामा लिन् हुन नाम लेखाएर खुइय गर्दै पालो पर्खिरहेका बृद्ध आत्माहरू देखिन्छन् होला । मोटो सिसाको चश्मामा लामो सेतो दाह्री भएको ५,००० वर्ष बूढो चित्रगुप्तले धूलो लागेको पूरानो ढड्डामा स्वर्ग जाने र नर्क जानेहरूको नाम रेकर्ड जाँच्दै गरेको देखिन्छ होला । उनी बस्ने मेच पछाडिको सानो कालो खोपीबाट स्वर्ग पठाउनुपर्ने अपराधीहरूको गोप्य सूची कसैले दिँदै गरेको देखिन्छ होला । कसैले थाहा नपाउने गरी स्वर्गको एउटा टुक्रा जग्गा नर्कको नाममा पास गर्न इन्द्र र यमराजबीच वार्ता भइरहेको देखिन्छ होला । किराले मक्काएको कल्पवृक्षको हाँगामा फलेका अनौठा अमिला तिता नमीठा फल खाएर बान्ता गरिरहेका देवगणहरू देखिन्छन् होला । मलाई एउटा लामो लौरो चाहिएको छ तिखो, लामो लौरो । #स्वर्ग
चर्चित कविताः जुलिया प्रास्टाना: प्रकाश गुरागाइँ म काली छु हो हाँडीको पिँधजस्तै काली मलाई कालो हुनुको पीडा छैन । मेरो कपाल कपाल होइन घोडाको जगर हो त्यो जगरमा छ घोडा हुनाको पहिचान । मेरा आँखा चिम्सा छन् एकदमै चिम्सा र कुना चाउरिएका यो उर्वर बैंसमा पनि बूढी देख्नु तपाईंको दृष्टि हो । मेरो नाक थेप्चो र बाङ्गो छ हो एकदमै बाङ्गो नागबेली नाक माथिल्लो ओठ सुकेको छ तल्लो ओठ ठूलो छ जस्तो निग्रोहरूको हुन्छ छाला बाक्लो र फुस्रो छ जस्तो गोहोरोको सुन्दरता छालामा छ तर, म गोहोरो होइन । निधार झोलुङ्गे पुलजस्तो छ बायाँ कानमा टुसो पलाएको छ दुब्लो भएर गाला सुकेका छन् अनुहारभरि भुत्लाहरू छन् यी तारजस्ता भुत्ला ठडिइरहन्छन् । यति भनिसकेपछि तपाईं मेरो अनुहारको चित्र बनाउन सक्नुहुन्छ मलाई त्यो चित्र सुन्दर लाग्नेछ हो, मलाई थाहा छ मेरो चित्र प्रदर्शनीमा राखिने छैन न त बिक्नेछ र्.याम्पमा म बिक्छु केवल सर्कसमा जहाँ नाचिदिन्छु तपाईं मलाई मन पराउनुहुन्न तर, मेरो नाचमा खूब रमाउनुहुन्छ । म तपाईंजस्तो छैन म, मजस्तै छु साँच्चिकै सुन्दर छु म जुलिया प्रास्टाना हुँ, यो समयको । (‘खुट्टामा श्रीपेच’ कवितासंग्रहबाट) #निग्रो #प्रकाश गुरागाइँ #विभेद
संस्मरणको विश्वव्यापी प्रतियोगिता हुँदै: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको तत्वावधानमा विश्वव्यापी रुपमा फैलिएको काेराेना (काेभिड-१९)का कारण सर्जकले भाेग्नु परेकाे लकडाउन र यससँग सम्बन्धित विषयमा खुला “संस्मरण लेखन विश्वव्यापी प्रतियोगिता” को आयोजना गरिने भएको छ। संस्मरण लेखकले “लकडाउन अनुभूति” लेखी पठाउनुपर्ने बताइएको छ। प्रतियोगितामा भाग लिन रचना पठाउने विभिन्न सात नियम तोकिएका छन्। १) आफ्नाे रचना तथा संस्मरण इमेल मार्फत पठाउनुपर्नेछ । २) रचना टाइप गरेको हुनुपर्नेछ । ३) रचना तथा आलेख अप्रकाशित र बढीमा २००० शब्दको हुनुपर्नेछ । ४) कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा लेख/रचना स्वत: अस्वीकृत हुनेछ । ५) एकजना सर्जककाे एउटा मात्र लेख प्रतियोगितामा समावेश गरिने छ । एकभन्दा बढी आएमा स्वतः रचना रद्द हुनेछ । ६) रचना/संस्मरण कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र पठाउनुपर्नेछ । ७) रचना विषय केन्द्रित नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । स्रष्टाले आफ्नो संस्मरणका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ । ८) प्रतियोगिताका लागि प्राप्त रचना कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिनेछ । ९. प्रतियोगिताका लागि प्राप्त रचनाकाे भाव, भाषा, शैली र घटनाहरु एउटै पृष्ठभूमिकाे पाइएमा वा अरूसँग कसैको संस्मरणकाे अंश मिल्न गएमा या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ । १०. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय आयोजकको रहने छ । ११.संस्मरणात्मक रचना प्राप्त हुनुपर्ने अन्तिम मिति २०७७ साउन मसान्तसम्म हुनेछ । १२. पुरस्कार : प्रथम -रू.३०,०००/- ( रू.तीस हजार) द्वितीय -रू.२०,०००/- (रू.बीस हजार)र तृतीय -रू.१०,०००/- (रू.दस हजार) रहने छ । १३. पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ रचनाहरुकाे को सूची तयार गरिनेछ । उत्कृष्ट सूचीमा परेका रचनाहरु निर्णायक मण्डलले संकेतात्मक (काेडिङ्ग)का आधारमा अध्ययन गरी नतिजा सार्वजनिक गरिने छ । १४. यस प्रतियोगितामा समावेश उत्कृष्ट संस्मरणहरुसहित सङ्ग्रह प्रकाशित गरिनेछ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले जनाएको छ । रचना पठाउने सम्पर्क Email: [email protected] रहेको पनि समाजले जानकारी गराएको छ। #कोविद १९ #प्रतियोगिता #बन्दाबन्दी #लकडाउन
मेरा बाल मस्तिष्कहरू: मेरा बाल सुलभ मस्तिष्कहरूले के सम्झदी हुन् मेरी आमा उनले दिएको डेरिमिल्क भित्रको अमिलोपन भोकाएका मेरा पेटहरूले जे देख्छन तिनै माथि रसाउन जिब्रोलाई आदेश दिन्छन् मेरो बालसुलभ मस्तिष्कलाई के थाह आमा ? खानेकुरालाई देखेपछि रसाएका मेरो जिब्रो जस्तै मेरो शरीर देखेपछी कसैको जिब्रो रसाउँछ भनेर । पितृ वात्सल्य नपाएकी म मलाइ सबैले नानू तिमी भनेको मायाले सुम्सुमाउँदा पिताको रूप देख्ने म । मलाइ अंकल भन्न सिकाउनेहरूको त्यो सुम्सुमाइमा प्रेम हैन हिंसा लुकेको छ भनेर । मेरो बाल सुुलभ मस्तिष्कले पत्ता लगाएन मेरी आमा मलाइ कठै भनेर मेरा अगाडि आँखा रसिला पारिदिनेहरू राप्तीका घडियाल गोही जस्तै रहेछन् भनेर सिकारको अगाडि गएर पिलिक्क रुने अनि स्वाठ्ठ जिउँदै निल्दिने । न फुल्न सकेकी म नफलाउन जानेकी म न जवानसँग परिचित म नजवानीसँग परिचित म तिनै अपरिचित भावहरूको आँकलन गरेर मेरो कोपिला जस्तो शरीरलाई निमोठ्नेहरूसँग मेरो जिन्दगी सुरक्षित देख्ने तिम्रा अदालतका न्यायाधीशहरूको निर्णय र आदेशको भाव मेरो बाल सुुलभ मस्तिष्कले बुझेन आमा । तिमीले खाना खान आइज भन्दा आउने तिमीले साहूको गोडा मिच्न जा भन्दा जाने तिमीले स्कुल नजा पैसा छैन भने पछि चुपचाप घर बस्ने म फेरि तिमीले मलाई लुच्छ्नेको हात समाएर मेरो भविष्यलाई मध्यनजर गरेर जा भन्यौ म फेरि गए चुपचाप केही नबोली । मेरो बालमस्तिष्कले बुझ्न सकेन मेरी आमा मैले समाएको मनुष्यको हात रूपी सिउँडीको काँडो मेरो काल हो भनेर आफ्नो हक आफ्नो जीवन आफू हुनुको अस्तित्व एक सरो नाइलनको डोरीमा अडेको छ भनेर मेरो बाल सुलभ मस्तिष्कले बुझेन मेरी आमा मेरा योनी चोखो हुनेहरूलाई म कसरी बिटुलो भएँ भनेर । #मेरा बाल मस्तिष्कहरू
हेर्ने नजर, देख्ने नजर: सागर अर्याल एउटा मान्छे बन्दै गरेको मन्दिर हेर्नका लागि जान्छ । मन्दिर परिसरमा देवताको मूर्ति बनाउँदै गरेको मूर्तिकार भेट्दछ । मूर्ति बनाउँदै गरिरहेको हेरिरहँदा अकस्मात् उसको नजर मूर्तिकारभन्दा केही मिटरमात्र पर रहेको मूर्तिमा पर्दछ, जुन मूर्तिकारले अहिले बनाइरहेको मूर्तिसँग हुबहु मिलेको छ । त्यो देखेर उसले मूर्तिकारलाई सोध्दछ, “के तपाईँलाई एउटै देवताको दुइटा मूर्ति बनाउन भनिएको छ ? किन उस्तै अर्को मूर्ति बनाउँदै हुनुहुन्छ ?” “छैन । बनाउन भनेको त एउटा मात्रै हो । मैले लिने ज्याला पनि एउटैकै हो ।”, मूर्तिकारले भने, “तर त्यो पहिलो मूर्ति लगभग अन्तिम समयमा आएर बिग्रन गयो । त्यसैले अर्को मूर्ति बनाउन थालेको हुँ ।” मूर्तिकारको जवाफ सुनेपछि त्यो मान्छेले पहिलो मूर्तिलाई नियालेर हेर्याे । धेरैबेरसम्म नियालपछि पनि उसले उक्त मूर्तिमा बिग्रिएको कुनै संकेत पाएन । र मूर्तिकारलाई सोध्यो, “होइन, यहाँ त केही पनि बिग्रेको देखिदैन नि?” “मूर्तिको नाकतिर केही कोरिएको छ ।”, मुर्तिकारले जवाफ दियो । “तर खै ? मैले त त्यस्तो बिग्रिएको कहीँ पनि देख्दिनँ त । कि यहाँबाट नदेखिएको हो ?” “हैन ।” “यो मूर्ति कहाँनेर राख्न गइरहेको छौँ नि ?” मान्छेले मूर्तिकारलाई सोध्यो । “यो मूर्तिलाई २० फिट उचाइको खम्बा माथि राखिने छ ।” मूर्तिकारले भन्यो । आश्चर्य चकित हुँदै मान्छेले फेरि आफ्नो जिज्ञासा राख्यो, “यो मूर्तिलाई २० फिटको उचाइमा राखिँदै छ भने मूर्तिको नाकमा रहेको त्यस्तो सानो कोरिएकोलाई कोट्याई कस्ले पो देख्नसक्छ र ? यहाँबाट त पटक्कै देखिएको छैन ।” त्यो मान्छेको जिज्ञासा सुनेपछि मूर्तिकारले उसलाई एकचोटि हेरे, र मुस्कुराउँदै भने, “तपाईँहरूले नदेखे पनि मेरो आँखा त्यही बिग्रेको ठाउँमा जान्छ, र त्यही आँखा रोकिन्छ । भगवान्ले पनि त देख्छन् ! त्यो बिग्रेको ठाउँ भगवान्ले र मैले त सधैं देख्छौं । त्यसैले मेरो मनले नमानेर अर्को मूर्ति बनाउँदै छु । यदि अहिले मैले मेरो गल्तीलाई ढाकछोप गरेँ भने मेरो जीवनभरिलाई पश्चाताप हुन्छ । मूर्ति त्यहाँ रहुञ्जेल त्यो कमजोरी रहिरहन्छ । मैले आत्मसन्तुष्टिका लागि पुनःअर्को मूर्ति बनाउँदै छु ।” ………………….. वास्तवमा हामीले हाम्रो सामाजिक जीवन होस् वा व्यवसायिक जीवन, जानी जानी वा अन्जानमा गल्तीहरू भएका हुन्छन् । ती गल्तीहरूलाई ढाकछोप गर्छाैँ, नदेखे जसरी छोड्दछौं । यसरी वेवास्ता गरिएका गल्ती र कमजोरीहरूले कालन्तरमा गम्भीर सजाय दिइरहेको हुन्छ । हाल विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण पनि धेरै जसो असावधानी, हेल्चेक्र्याइँ, वेवास्ता र लापरवाही गरेको कारणले बढिरहेको छ । बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र आफन्तजनमा एकप्रकारको बाध्यता होला ! तर अरू सामान्य र सर्वसाधारणमा संक्रमण फैलिनु भनेको अधिकांश असावधानी नै हो । अब यसको अन्त्य कसरी हुन्छ ? अहिले भन्न सकिने अवस्था छैन । अहिलेको विश्व जलवायु परिवर्तनको ठूलो शिकार भएको छ । वातावरण विनास, प्राकृतिक श्रोतको दोहन, दीगो विकासमा नजर अन्दाज, पारिस्थितिक प्रणालीको बिग्रह र क्षणिक स्वार्थ पूर्तिमा मानवजाती रमाइरहेको छ । यसैको परिणामले विभिन्न प्रकारका विनाश, प्राकृतिक विपत्ति र घटनाहरू घटिरहेका छन् । हामी सबैलाई थाह छ, यो गर्नु हुँदैन । यसले वातावरणमा नकारात्मक असर पार्दछ । वातावरण बिग्रेमा हुने परिणाम पनि थाहा छ । तर हामी अझै पनि वेवास्ता गर्दै छौँ । अघि उल्लेख गरिएको मूर्तिकारको जस्तो सोच र विचार हामीले राख्न सकेका छैनौँ । त्यसैले यसको परिणाम पनि हामीले भोग्नु नै पर्दछ । भोग्दैआइरहेका पनि छौँ । मानवजातीले आफूलाई जति विकसित गरे पनि, जति सम्पन्नशाली बनाए पनि, प्रकृतिलाई कहिल्यै पनि जित्न सक्दैन । प्रकृतिको सामू मानवजातीले हार्नै पर्दछ । त्यसैले हामीले यो पृथ्वीमा मानवजातीको अस्तित्व रक्षाको लागि वातावरणलाई अहिलेदेखि नै जोगाऊँ, जलवायु परिवर्तनको दुष्परिणाम रोकौँ । यदि वेवास्ता गरिरह्यौं भने, पछि पश्चाताप गरेर केही गर्न सकिने अवस्था रहँदैन । प्रायः हामीले आफ्ना सहपाठी वा इष्टमित्रहरूसँग आफूलाई दाँज्छौँ । उसले यस्तो प्रगति गर्यो, मैले गर्न सकिनँ । ऊभन्दा म के कुरा मा कमजोर थिए र ?, आफूले आफूलाई सोध्छौँ । हामी अहिले जे छौँ, जुन अवस्थामा छौँ, त्यो हामीले विगतमा गरेको सकारात्मक कार्य, गल्ती र कमजोरीहरूको संयुक्त परिणाम हो । विगतमा गरेका गल्तीहरूलाई पुनःस्मरण गर्दै अहिले पछुताउन थाल्यौँ भने त्यही पछुतोले हामीलाई अघि बढ्न दिँदैन । त्यसैले मूर्तिकारले झैं आफ्नो गल्ती आफैँले पत्ता लगाई सुधार गर्न सक्यौँ भने त्यसको परिणाम पनि राम्रो आउँछ । हामी अरू जस्तै प्रतिष्पर्धी बन्न सक्छौँ । आफूलाई सफल बनाउन सक्छौँ, उदाहरणीय बन्न सक्छौँ । जीवनमा पुनः पश्चाताप गर्नु पर्दैन । अहिले मानिसहरू विज्ञान र प्रविधिको विकाससँगै विद्युतीय सामाजिक सञ्जालमा बाँधिएका छन् । सायद उनीहरूलाई ती सामाजिक सञ्जालको लतबाट छुटाउन, एउटा कुलतमा फसेको व्यक्तिलाई पुर्नस्थापना केन्द्रमा लगेर राखेजस्तै, कुनै दिन सामाजिक सञ्जाल पुर्नस्थापना केन्द्रमा लगेर राख्नु पर्ने दिन आउन सक्छ । आफ्ना मनका हर्ष होस् वा दुःख, त्यही पोखेको देखिन्छ । सञ्जालकै माध्यमबाट एकले अर्कोलाई वाहवाही व्यक्त गरेका हुन्छन् । आफ्नो जीवनको महत्वपूर्ण समयमा विद्युतीय वाहवाहीमा रमाएका वा रोएका छन् मान्छेहरू । वास्तवमा त्यो वाहवाही वा गोहीका आँशुले समय बर्वादबााहेक अरू केही हुँदैन । सञ्चारका विभिन्न माध्यमहरू छन् । ती लत नलाग्ने माध्यमहरूको अधिकतम उपयोग गर्न सकिन्छ । यही सामाजिक सञ्जाललाई पनि आफ्नो वशमा राखेर, लतमा नफँसी सकारात्मकता र नयाँ उर्जाको लागि उपयोग गर्न सकिन्छ । तर, धेरैले दुरुपयोग गरेका छ, लतमा फँसेका छन् । यहाँ पनि हामीले नजाँनिदो गरी गल्ती गरिरहेका छौँ । पछिको परिणाममा वेवास्ता गरिरहेका छौँ । त्यसैले, आफूलाई आफ्नो लक्ष्य र भविष्यप्रति चिन्तनशील बनाउँदै, अहिले गरेका गल्ती र कमजोरीहरू सच्याउन जरुरी छ । अन्त्यमा, आफूलाई हेरौं, आफ्ना कार्यहरूलाई नियालौँ, आफ्नो दिनचर्याको पुनरावलोकन गरौँ, र आफ्ना गल्ती पहिल्याऔँ । समयमै आफूलाई सच्याऔँ । यदि आफूलाई जानीजानी गल्तीतर्फ डोर्याएनौं भने हाम्रो गन्तव्य स्वतः सही ठाउँमा पुग्ने छ । सकिन्छ भने, अरूलाई पनि सकारात्मकता र सही बाटोमा डोर्याउने कोशिस गरौँ, खुसी बाँडौँ । यदि सकिँदैन भने, कमसेकम अरूको खुसीचाहिँ नखोसौँ । “हेर्ने नजर”ले नदेखे पनि “देख्ने नजर”ले देखेको हरेक कमीकमजोरी र गल्तीहरू सच्याउँदै जाऔँ । मेरो विचारमा सहमति वा विमति हजुरको ईच्छा… !! (लेखक हाल मुतिmनाथ विकास बैंक, साना तथा लघुबैकिङ्ग डेस्क प्रमुखको रूपमा कार्यरत छन् ।) #देख्ने नजर #हेर्ने नजर
छोराको नजरमा लक डाउनसँग हारेका बाको कथा: "राहत": “बा ! मलाई पनि पल्लोघरको आश्रवको जस्तै चारचक्के साइकल कहिले किन्दिने ? भन्नूस न बा ! दशैँमा किनिदिने हैन त ?” पिंढीमा ढल्किएर रेडियो सुनिरहेका बाले रेडियोको आवाज निभाउनुभयो । मतिर एकनासले हेर्नुभयो, अनि चोरी औंला मैतिर ताकेर भन्नुभयो, “तँ तीन कक्षामा प्रथम भइस् भनेचैं ल्याइदिऊँला ! हुन्छस् हैन त प्रथम ?” मैले बाको प्रस्तावलाई सतहमै राखेर हुन्छको भावमा मुन्टो हल्लाएँ । पछाडि फर्केर दुवै कुम उचालेर ङिच्च देखिएका दाँतलाई हातले छोप्दै म भर्यांङको आडमा जमीनमा उत्रिएँ, अनि खुरुरु एकातिर दौडिएँ । हामी मधेश झरेको करिब त्यही चार पाँच महिना भएको थियो । बा हामीभन्दा अगावै आएर कसैको घर ठेक्कामा लिनुभएको थियो । घर वरिपरि नरिवल र सुपारीका बोटहरू लगाइएका थिए । माथि एकतल्ला भएको, मुनि वस्तु बाँध्न मिल्ने काठको घर अब हाम्रो दिन रात कटाउने थलो भएको थियो । पहाडमा खासै बाली उब्जनी नभएकोले मधेश बसाईं सरेको कुरा बाले नयाँ छिमेकीलाई सुनाउँदै गरेको सुन्न भ्याएको थिएँ मैले । कोहीलाई छोरो पढाउनकै लागि मधेश आएको पनि भन्नुहुन्थ्यो बा । बुच्चे हापिन र गन्जीमा सजिएको म प्राय: घरबाहिरै खेल्न निस्किएको हुन्थेँ । पैनीको किनारमा जान मलाई मनाही गरिएको थियो । टाढाटाढा खोलामा पौडी खेल्न अनि माछा मार्न केटाहरूसँग जान पनि मलाई बन्देज थियो । छेउमा एकापट्टि मनोहर सिक्देलको घर थियो । अर्कोपट्टि ब्रजेश सिटौला, अनि उत्तरमा रामकिसन थारुको घर । रामकिसन पेसाले मिस्त्री थिए । गाउँका मान्छेहरूका घर बनाउने, ग्वाली बनाउने, पैनी अनि कुलोमा पुल र भित्ताहरू मर्मत गर्ने काम गर्थे उनी । ब्रजेश सिटौला चैँ गाउँकै लखपतिको सूचीमा थिए । उनका एक छोरा अमेरिका, छोरी अस्ट्रेलिया अनि जेठो छोरा भने गाउँमै बसेर खेतिबाली समाल्थे । उनको ज्यान देख्दै सायद उनी ठूलै व्यापार गर्दा हुन् झैँ लाग्थ्यो । उनीहरूको घरपछाडिको आँखाले देखेसम्मको सबै खेत उनीहरूकै हो भनेर बाले आएकै भोलिपल्ट आमा र मलाई सुनाउनुभएको थियो । बाको कुरा सुनिसकेपछि मलाई पनि, ‘मधेश झरियो, अब हामी पनि धनी बनेर धेरै खेत किन्ने’ भन्ने रहर नलागेको होइन । सिक्देल बाको घर लगभग सुनसानजस्तै थियो । उनका एक छोरा एक छोरी रहेछन् । छोरीको विवाह भैसकेको थियो। छोरा काठमाडौंतिरै बसेर पढ्दा रहेछन् । श्रीमान् श्रीमती मात्र घर रुग्न बसेका थिए। छोराले कति पटक काठमाडौं बोलाउँदा पनि गाउँ नै प्यारो भनेर बसेका । सिक्देल बाकोमा सुरुदेखि नै बाले हाम्रा लागि (विशेष मेरो लागि ) दूध ठेक्का गरिदिनुभएको थियो । पछि एक माउ भैंसी किनेपछि सिक्देल बाकोमा म बिहान-बिहान दूध लिन जान नपर्ने भयो । बा दिनभर खेतमा काम गर्नुहुन्थ्यो । कोही बेला अरूको मेला पनि जानुहुन्थ्यो । बिहान नरिवल र सुपारी झारिदिने काम गर्नुहुन्थ्यो । रूख चढ्न भनेसी पहिलेदेखि सिपालु मेरा बा । उहाँको लागि त्यो गाह्रो काम थिएन । आमा बिहान भन्साको काम सकाएर दिउँसो सुपारी फ्याक्ट्री जानुहुन्थ्यो । सुपारी काट्ने, सुकाउने, प्याकिङ गर्नेजस्ता काम आमाले गर्नुभएको मैले आमासँगै गएको बेला देखेको हुँ । मेरा प्राय: खेल्ने सबै साथीहरू छिमेकी गाउँका मधेशी केटाकेटीहरू हुन्थे । उनीहरूसँग स्कूल गएदेखि नै चिनजान भएको थियो । त्यसमध्ये मेरो मिल्ने साथी रमेश टुडु थियो । स्कूलदेखि लिएर लुकिछिपी पैनीको डिलैडिल कुद्न पनि ऊ साथमै हुन्थ्यो । बारीमा पाकेका आरुका दानादेखि लिएर आँपका दाना, अरूका करेसाबरीका काँक्रा, भुइँ कटहरजस्ता धेरै चोरी हामीले गर्न भ्याइसकेका थियौँ । कक्षा तीनको आधा वर्ष उतै पहाडको स्कूलमा पढेर अन्तिम जाँच मैले यहीँको शान्ति निकेतन विद्यालयबाट दिएको थिएँ । जाँच दिनुअगाडि नै देशमा कुनै रोग आएको कुरा बा रेडियो सुनेर बताउनुहुन्थ्यो । स्कूलले पनि यही कारणले हाम्रो जाँच छिटै लिएको थियो । गाउँका ठूल्ठूला मान्छे आएर हामीलाई घरबाहिर जानु हुँदैन, साबुन पानीले मिचिमिची हात धुनुपर्छ भनेर बताउँथे । कोहीकोहीले मुखमा लगाउनुपर्ने टालोजस्तो कपडाका टुक्रा पनि दिएर दिन्थे । मैले पनि पहिलो दिन त लगाएँ । भोलिपल्टदेखि त सास फेर्न गाह्रो भएजस्तो हुने, कान तानिएजस्तो हुने, अनुहारै भारी भएजस्तो हुन थालेपछि फालिदिएँ । बा-आमा काममा जान छोडनुभएको पनि हप्तौं भएको थियो । समाचारले लकडाउन हो कि के जाति भनेर बाहिर निस्कन हुँदैन भनेर बारम्बार भनिरहन्थ्यो । बा चनाखो भएर रेडियो सुन्दै, “अझै एक हप्ता बढायो रे ! उता उदयपुरमा नि मस्जिदमा रोगी भेटिए रे !” भन्दै त्रासको भावमा आफूले समाचार सुनिसकेपछि हामीलाई नि सुनाउनुहुन्थ्यो । नजिकैका दोकानहरू पनि प्राय:जसो बन्द नै देखिन्थे । खुले पनि बिहान-बेलुका चुस्स खुल्थे । पुलिसहरू डन्ठा लिएर घुमिरहन्थे । बाहिर निस्किए स्कूलका सरले जस्तो पछाडि तिघ्रामा कुटिहाल्थे । डरले म पनि बाहिर निस्केको थिइनँ । घरको बरन्डाबाट सिटौला बाको कम्पाउडभित्र स्पष्ट देखिन्थ्यो । आश्रब (सिटौला बाको नाति) आफ्नो साइकल कम्पाउन्डभित्रै हाँकिरहन्थ्यो । म साइकललाई एकटकले हेरिरहँदा, बा मलाई हेर्नुहुन्थ्यो । सायद बालाई लाग्थ्यो, धनी मानिसको त नामै महँगो हुँदो हो । धनी परिवारको छोराको नाम आश्रव थियो, म गरिबको विजय ! जिन्दगीमा कहिल्यै नहारोस् भनेर राखिदिएको हुनुपर्छ मेरो नाम । मलाई कहिल्यै नहारोस् भन्ने बा भने केही न केही कुरामा प्राय: हारिरहनुहुन्थ्यो । यसपटक पनि बा हार्नुभएको थियो । लकडाउनमा सरकारले गाउँका गरिब मजदुर परिवारलाई भनेर केही छाक पुग्ने चामल, दाल, चिनी, एक प्याकेट नुन, एक पोको तेल अनि दुइटा साबुन राहत भनेर बाँडेका थिए । यहाँका ठूलाबडा कोही पनि नचिनेकोले हाम्रो परिवारको नाम राहतको सूचीमा अटेको थिएन । र, पनि बा र म राहत बाँड्दै गरेको म पढ्ने विद्यालयमा पुगेका थियौँ । “हामी पनि गरिब हौँ, म पनि एक मजदुर हुँ । मजदुरी नगरी चुल्हो सल्काउन धौधौ पर्छ हजुर ! यो बन्दले ठूलो असर पार्यो हजुर ! मिल्छ भने हामीलाई पनि राहत उपलब्ध गराइदिनुहोस् न,” बाले आफ्नो भन्दा पनि मेरो पेटको लागि अनुनयविनय गर्नुभयो। “तपाईंको नाम सूचीमा छैन। हामीलाई माथिबाट सीमित सामग्री मात्र पठाएको छ,” राहतका अगुवाले भने। बा र म निरास भएर फर्कियौं । फर्किदा मैले बाको मलिन मुहारतिर हेर्दै भनेँ, “बा ! होस्, मलाई आश्रवको जस्तो साइकल चाहिंदैन ! म पढेर ठूलो मान्छे बन्छु र कुनै दिन हामी ठूलो गाडी किनौंला !” बाले मलाई एकटकले हेर्नुभयो र आफूतिर टाँस्नुभयो । शिर उठाएर बालाई हेर्दा उहाँका आँखा रसाएको प्रस्टै देखिन्थे ! #राहत #लक डाउन
फाइनल म्याच: हातमा ज्याबल या कहिले हतियार सम्झेर सुरक्षित निर्भय मस्त निदाएँ युगौंयुग तड्पेर ब्युझँदा ममाथि शोषण गरिरहेका थिए हातमा किताब बोकेका मानिसहरू । हतार हतार मैले पनि उठाएँ कलम लेख्न थालें बोक्न सिकेँ अँगालोभरि भरि किताबहरू । हातमा कलम या कहिले किताब ठानेर सुरक्षित निश्चिन्त फेरि निदाएँ वर्षौंवर्ष झस्केर उठ्दा ममाथि शासन गरिरहेका थिए हातमा हतियार बोकेका मानिसहरू । कहिले हुन्छ मेरो मुक्ति ? कहिले हुन्छु म स्वतन्त्र ? ज्याबल र हतियार बोक्छु म शोषित नै भइरहेको हुन्छु फेरि कलम र किताब बोक्छु म शासित नै भइरहेको हुन्छु । अबदेखि श्वास अक्षरहरूको लिन्छु प्रश्वासमा फाल्न सिक्नेछु बारुद कलमले संवाद गर्छु प्रतिवादमा तयार राख्नेछु हतियार किताब र हतियार बोकेर एकसाथ म कहिले निश्चिन्त रहने छैन मस्त निदाउने छैन एकपल कलम भिर्दा भुल्ने छैन हतियार हतियार बोक्दा बिर्सने छैन कलम । सम्भवतः अब भने रोचक हुनेछ यो ऐतिहासिक महासंग्रामको फाइनल म्याच । #आहुति #दलित #शासन #शोषण
साधनाका मुक्तकहरू: १. मनको मान्छेको जय जय,कहाँ रोकिन्छ र ? गुमाउँछु कि भन्ने भय,कहाँ रोकिन्छ र ? व्यक्त नगर्दैमा प्रेम गर्दिनँ, ठान्छौ मुर्ख तिम्ले घडी नचल्दैमा आखिर समय, कहाँ रोकिन्छ र ? २. गरिने काम र बोलिने बात, फरक हुन्छन् यहाँ हरेकको स्वभाव जन्मजात, फरक हुन्छन् यहाँ चिन्नै सकिन मान्छेहरू भन्दै, गर्छौ कति गुनासो देखिने दाँत र चपाउने दाँत, फरक हुन्छन् यहाँ । ३. सकि नसकी बाले बाटेको, डोको छँदैछ थोत्रिएर पिँधमा फाटेको, डोको छदैछ सुनेको थिएँ तिम्लाई लिन हेलिकप्टर आउँछ रे मलाई लिन त बिट काटेको डोको छँदैछ । #साधना तिवारी
सम्झनामा लकडाउन: खोपेर गहिरो डोब हाम्रो मानसपटलमा छुट्नेछ यो कठिन समय पनि हामीबाट र रहनेछ सम्झनामा लकडाउन । सबै तिक्तताहरू बिर्सेर हतार हतारमा साथीभाइहरूबीच गरिएका ग्रुप च्याटहरू अत्यासिलो समय बिताउन बनाइएका टिकटक र ट्रोलहरू लकडाउनको फुर्सदमा कोरिएका गीत र कविताहरू एकआपसमा साटेका मायाहरू । हो रहनेछन् सबैसबै सम्झनामा जीवन र मृत्युको दोसाँधमा झुण्डिएको एक पल प्रियजनको चिन्ता गर्दै लेखिएका स्टे सेफ र कोरोनाले हामीबाट टाढा खोसेर लगिएकाहरूका निम्ती आँसुका सेता अक्षरहरूले लेखिएका रिप शब्दहरू चिन्ता छ भोलि फेरि देख्न पाइने हो कि होइन मलाई हेर्दै मुस्कुराऊ भन्ने यी सेता हिमालहरू भोलि फेरि मेरो आँगनमा ओर्लिने हो कि होइन बोकेर उमंग यो स्नेही घाम भोलि फेरि यो कोठाभित्र छिर्ने हो कि होइन लिएर जीवनको सार योे बैंशालु हावा भोलि फेरि यसरी नै देखिने हुन् कि होइनन निल गगनमा यी चम्किला ताराहरू भोलि फेरि गाउने हुन कि होइनन् चराहरूले प्रभातकालिन धून भोलि त फेरि म कसरी भन्नसकौँ कि फर्किएर त्यही लयमा दौडने छैन यो समय दौडने छैन यो सहर दौडने छैनन मान्छेहरू तर म भन्न सक्छु रहनेछ सम्झनामा लकडाउन । #सम्झनामा लकडाउन
प्रश्न: प्रदीप लामा कुल्चिएर बाटो मुनिको एउटा फूल भेरी नदीको आत्माभित्र अछुत रगत मिसिएकाे छ अब मन्दिरमा चढाउने पानी चल्छ चल्दैन? एक चौथाई साँइली सुनको औंठीसँगै बगरमा दुई चिम्टी अछूत सिन्दुर पोखिएको छ अब घाटमा लासहरु जल्छ जल्दैन? फुटेर मूल्यहीन प्रेमिल मुटुको भाग्य चट्टानमा कालरात्रिमा जस्तै रगत लतपतिएको छ अब चट्टानबाट मूर्ति बन्छ बन्दैन? कठिन अन्तिम स्वासहरुसँगै अछूत भौतिक शरीर पञ्चतत्त्वमा विलिन भएको छ अब मान्छेले स्वास फेर्छ फेर्दैन? ब्लड ब्याङ्कको एक पाउण्ड बाँकी रगत कस्को हो? रक्तनलीमा छेकबार गर्ने ढोका हुन्छ हुँदैन? (कवि लामा काठमाडौँस्थित प्रसादी एकेडेमी र लिटल एन्जेल्समा रसायनशास्त्र अध्यापन गर्छन्।) #दलित #प्रदीप लामा
आऊ हामी आगो फूल्ने रुख बनौँ: हाम्रा आँखाहरू चिथोरेर उनीहरू आकाशतिर हेर्दै चिच्याउँछन् र भन्छन् आऊ हिर्काऊ यो घाम आऊ फुटाऊ यो घाम हाम्रो आङमा जब पनि पोखिने गर्छ तातो घाम ! गिद्धहरू आफ्ना आँखामा हरबखत आगो बोकेर हिँड्छन द्रोर्णाचार्यले निष्कासित गरेपछि नै हो एकलव्य तलतिर घोप्टो मुख लाएर बसेको एकलव्यले औंली चुडायो र देखाइदियो अर्जुन र उसको रगत एउटै हो उनीहरूले पत्याएनन् वास्तवमा एकलव्य निख्खुर कालो छ ऊ कुरुप छ ऊ एकलव्य हो ऊ जर्ज फल्योड हो ऊ नवराज विक हो ऊ दिपिका परियार हो ऊ दीपशीला सुनार हो ऊ जगत राम हो ऊ रामलाल हरिजन हो । जातीय विभेद रङभेदकै कारण घिच्रोमा घुँडाले बेस्सरी थिचेरै सडकबीच निर्दोष जर्ज फ्लयोडहरू मारिन्छन् त्यो अमेरिका यता भारतमा पनि छ नेपालमा पनि छ । घामबिनाको कालो संसारमा हामी सुतेकै ओछ्यानमा उनीहरू लुकेर आउँछन् र बलात्कार गर्छन् हाम्रो शरीर स्वाभिमान र त्यसपछि हाम्रो अनुहारमा तातै नुनिलो पिसाब फेर्छन् । विरोध गर्ने हाम्रा टाउकाहरू कुल्चेर हाम्रो लाशहरूमाथि उभिएर उनीहरू गीतार बजाउँछन् । सास फेर्न गाह्रो भएको छ हामी बाँचिरहेको मुलुकभित्र सास लिन पाउनुपर्छ मर्न अघि बोल्न पाउनुपर्छ सबले जर्ज फल्योडले मर्न अघि बोले । लोकतन्त्रको बाघ गर्जिने यो मुलुकमा मजदुरहरू मारिन्छन् छोरीहरू लुटिन्छन् खोलाका बगरमा दलितहरूको हत्या गरिन्छ न्यायको नाममा अन्याय गरिन्छ सत्ता चुपचाप रमिता हेर्छ । हाम्रो छुटेको अनुहार अब कस्ले खोज्ने ? यो असमानताका साङ्गलाहरू चुडिनुपर्छ लु बनौ न हामी विप्लवी अब बरू उनीहरूले बाघी घोषित गरोस् हामीलाई यो युद्धमा हामी होमीनै पर्छ आऊ हामी आगो फूल्ने रूख बनौं ! #लोकतन्त्र
बन्दाबन्दीमा के गर्दैछन् स्याङ्जाली स्रष्टा?: साहित्य सिर्जनाका क्षेत्रमा स्याङ्जा जिल्ला एउटा उर्वर भूमि हो। कोविद १९ रोग र यसले निम्त्याएको असहज परिस्थिति तथा बन्दाबन्दीको अवस्थामा यहाँका स्रष्टा के गर्दैछन्? सिर्जनाका काम के भइरहेका छन्? कोविद १९ पछि के सोच्नु भएको छ? लगायतका प्रश्न स्रष्टाहरूलाई साहित्यपोस्टका प्रतिनिधि मिलन समीर र शम्भु अर्याल ले स्याङ्जाली प्रतिनिधि स्रष्टाहरुसँग गरिएको कुराकानीः देवीप्रसाद वनवासी, वालिङ, स्याङ्जा यस महामारीको घडीमा म स्याङ्जा, वालिङ नगरपालिका वडा नम्बर-२, अर्मादीखोला, शङ्खरेडाँडास्थित आफ्नै निवासमा एकान्त बासको पूर्ण पालन गरेर बसिरहेको छु । पुराना पत्रपत्रिकामा प्रकाशित भएका विविध आलेखहरूलाई समेटेर एउटा सङ्ग्रहको स्वरूप दिँदै प्रकाशनको लागि पूर्व तयारीको काममा जुटिरहेको छु । कम्प्युटर टाइप गर्ने काम पूरा भैसकेको छ । यस कृतिको नाम “वनवासी वाङ्मयको विविध आयाम” राख्ने सोच बनाएको छु । यो कुनै विधागत विषयवस्तुमा केन्द्रित कृति भन्दा पनि समग्र समाजको बहुआयामिक साहित्यिक सङ्ग्रह हुनेछ । यस पुस्तक सम्पादनको सम्पूर्ण जिम्मेवारी स्याङ्जाली युवा कवि मिलन समीरलाई दिएको छु । लकडाउन खुल्नासाथ महामारीको परिस्थिति सहज बनेपछि छिट्टै नै यो पुस्तक प्रकाशनका लागि अगाडि बढाइने सोचाइमा रहेका छौँ । आजको विज्ञानको चरमोत्कर्षमा पक्कै पनि कोभिड-१९ लाई परास्त गर्ने एन्टिभाइरस कुनै न कुनै आविस्कारकले बनाउने नै छन् । यथाशीघ्र यसको उन्मुलन होस् र समग्र मानव जीवनको रक्षा होस् भन्ने कामना गर्दछु । महेश्वर शर्मा, आँधिखोला, स्याङ्जा हालः काठमाडौँ यतिबेला म काठमाडौँ, महाराजगन्जस्थित आफ्नै निवासमा छु । लकडाउनको पालना गरिरहेको छु । पहिलेदेखि नै लेखपढमै व्यस्त रहने मेरो बानी हो । अहिलेको समयमा पनि पुस्तक पढ्ने र लेख्नमै बढी समय दिइरहेको छु । समाजमा आधुनिकताले ल्याएको विकृति र सरकारबाट भएका कमीकमजोरीहरूलाई समावेश गरेर एउटा निबन्ध सङ्ग्रह तयार गरेको छु । कृतिको नामङ्कन भने अहिलेसम्म गरेको छैन । तपाईं हिँड्दा डुल्दा जहाँकहीँ देख्नुहुन्छ- अव्यवस्थित किसिमबाट डाँडाकाँडा, भीरपाखा, कान्ला, खेतबारी मोटरबाटो खन्ने क्रममा जथाभावी भत्काएर भूक्षयको अवस्था निकै सोचनीय छ। भूक्षयले मान्छेका खेतबारी मात्रै नभएर घरगोठसमेत पहिरोले पुरिएर नष्ट भएका कैयौं कृषकहरूका पीडादायी आवाज जताततै देख्नुहुन्छ। डोजर, ट्रयाक्टर र ट्रिपर अधिकांश हुने खानेहरूकै छन् । कृषक, मजदुरका आवाज सुनिदिने कसले ? फेरि कुनै पनि विदेशी गाडी चढ्न मात्र नेपाल आउँदैनन् । मनकामना र चन्द्रागिरीमा जस्तो केवलकारको संभावना छ। हाइड्रोपावरको सम्भावना त सबैलाई थाहा भएकै विषयवस्तु भयो । नेपालको भूगोलको आफ्नै विशेषता छ। कतै ट्रेकिङको विशेषता छ । कतै रोपवेको त कतै मोटरवेको । आ-आफ्नो विशेषताअनुसार नेपाली भूगोलको संरक्षण गर्नु नेपालको अहिलेको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता हो । नेपालको महत्त्वपूर्ण सम्पत्ति भनेको माटो हो । यसको संरक्षण गर्नु सबैभन्दा पहिलो आवश्यकता हो । यसो भन्दै गर्दा बाटो खन्दै नखनौं भनेको होइन । आवश्यकताको पहिचान र प्रक्रिया पूरा गरेर मात्रै काम गरौं । कमसेकम माटोलाई अहिले जस्तै गरी बगेर जाने जस्तो दीर्घकालीन असर हुनेजस्तो दुर्भाग्यपूर्ण अवस्थाबाट रोकौं । महामारी कहिलेसम्म रहिरहने हो, त्यो त थाहा भएन । महामारी सामान्य बनेपछिको अवस्थामा आफ्नै जन्मस्थल स्याङ्जा आउनेछु र सबै स्रष्टाहरूलाई भेट्ने योजना बनाएको छु । विश्वप्रेम अधिकारी, पुतलीबजार, स्याङ्जा सरकारले एकान्तबासको घोषणा गरेको दिनदेखि पुतलीबजार नगरपालिका, वडा नम्बर-१०, राङखोलास्थित घरमा नै बसिरहेको छु । स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा प्रकाशन गरिँदै आएको त्रैमासिक साहित्यिक पत्रिका “रजस्थल” को ८० अंकसम्म आइपुगेको थियो । अधिकांश समय “रजस्थल”को प्रकाशनलाई दिन्थेँ । अहिलेको परिस्थितिले हाललाई प्रकाशन रोकिएको छ । अहिले लकडाउनको समयमा केही नयाँ सिर्जनशील काम गरौं भनेर स्याङ्जामा रहेर वा स्याङ्जामा जन्मेर अन्यत्र कतै रहनुभएका स्रष्टाहरु अर्थात् कम्तीमा पनि एउटा पुस्तक निकालेका लेखकहरूको व्यक्तिवृत्त सङ्कलन गरिरहेको छु । महामारीपश्चात् परिस्थिति सहज बनेपछि यसलाई पुस्तकको आकार दिने सोच बनाएको छु । यसमा कोही पनि नछुटून् भन्ने मेरो इच्छा छ । बढ्दो उमेर र नयाँ प्रविधिसँग अभ्यस्त हुन नसक्दा फेसबुक र म्यासेन्जर मार्फत सबै स्रष्टाहरूसँग सम्पर्क गर्न सकिरहेको छैन । अहिलेसम्म मेरो सम्पर्कमा नआउनु भएका स्याङ्जाली स्रष्टाहरू कोही हुनुहुन्छ भने सम्पर्क गर्न अनुरोध पनि गर्दछु । देवेन्द्र लम्साल, बिरुवा, स्याङ्जा कोभिड १९ को महामारीकै कारण नेपाल सरकारद्वारा गरिएको लकडाउनको बेलामा म यतिबेला मेरो गाउँ बिरुवा गाउँपालिका, वडा नं ६, ज्याग्दीखोलास्थित घरमा बसिरहेको छु । यतिखेर त म गाउँमै एकान्तवासको पालना गरेर केही समय खेतबारीलाई दिएको छु र धेरै समय साहित्य लेखन र अध्ययनमै बिताएको छु । भेटघाट हुन छाडेपछि अत्यार लाग्दोरहेछ । साहित्यिक मित्रहरूसँग फोनमा भए पनि निरन्तर सम्पर्क र कुराकानी गरिरहेको छु । केही अधुरा रचनाहरूलाई पूरा गर्ने काम गरिरहेको छु भने केही नयाँ सृजना सिर्जिएको छु । मेरो प्रधान सम्पादकत्वमा प्रकाशित हुँदै आएको साहित्यिक त्रैमासिक पत्रिका “ज्याग्दीखोलाको तरङ्ग” ले यतिखेर कोभिड १९ कै कारण निरन्तरता प्राप्त गर्न सकेको छैन । विश्वव्यापी रुपमा फैलिएको यो महामारी तुरुन्तै साम्य हुने संभावना पनि देख्दिन म । साम्य भैहालेछ र लकडाउन खुलेछ भने सृजित रचनाहरू प्रकाशित गर्ने र पत्रिकालाई निरन्तरता दिने काम गर्नेछु । डा. घनश्याम न्यौपाने परिश्रमी, कालीगण्डकी, स्याङ्जा हालः नवलपरासी यतिबेला म पश्चिम नवलपरासी, बर्दघाटस्थित निवासमा सचेत हुँदै सुरक्षित ढङ्गले परिवारका साथमा बसेको छु । एक प्रकारको बन्दीजस्तो अवस्थामा मैले सुकुम शर्माको हिमालमुनिको गाउँ, माधव काफ्लेको खुसीको पीरो धूवाँ, रञ्जु उपाध्यायको प्रियसँगको यात्रा, कल्पना खरेलको समलिङ्गी प्रेम, रामलाल जोशीको मदनपुरस्कार प्राप्त ऐना लगायतका केही कृति पढेँ । केही समालोचना, छन्दोबद्ध कविता, गजल र लघुकथा लेखेँ । यीबाहेक आमन्त्रण गरिएका केही अनलाइन साहित्यिक कार्यक्रमहरूमा सहभागी पनि भएको छु । कोभिड १९ जीवनमा भोगेको पहिलो महामारीको असर हो । यति लामो अवधि नजरबन्दमा रहेको जस्तो अवस्थाले नौला अनुभव र नयाँ अनुभूतिहरू मनमस्तिष्कमा सुरक्षित रहेका छन् । यस्ता अनुभव र अनुभूतिहरूलाई कलात्मकता र कुशलतापूर्वक सिर्जनामा रूपान्तरण गर्ने योजना छ । अबको जीवनलाई पूर्ववत् ढङ्गले चलाउन सकिनेछैन भन्ने पनि महसुस गरेको छु । अतः चुनौती, समस्या र अभावसँग सङ्घर्ष गर्दै सम्भाव्यताहरूको खोजी गर्ने सोचमा छु । लेखनाथ काफ्ले, वालिङ, स्याङ्जा कोविद १९ का कारण संसारभर लाखौँ मानिसको ज्यान लिनुका साथै कयौँ दैनिक कामकाज मात्र नभएर हजारौं विकासका आयोजनाहरुलाई थिलोथिलो पार्यो । यसले धनी-गरिब, ठूला-साना केही नभनी सबैलाई समान रूपमा व्यवहार गरेको देखिन्छ ।अझै साँच्चै भन्ने हो भन्ने अविकसित देशका मानिसहरूलाई भन्दा विकसित देशका मानिसहरूलाई झन नराम्ररी प्रभावित गरेको छ । सायद लकडाउनको नियम राम्रोसँग पालना नगरेर पनि हुन सक्छ । पृथ्वीका सबै प्राणीमध्ये मान्छेलाई सबैभन्दा चेतनशील र बुद्धिजीवी प्राणीको रूपमा लिइन्छ । मानिसले प्रकृतिको नियमअनुसार चल्न नखोज्दा तथा यसको सही औषधि पत्ता लगाउन नसक्दा यस रोगले यस्तो भयानक रुप लिएको हुनसक्छ । हिजोको जंगली अवस्थाबाट विकसित हुँदै मानिसले पृथ्वीमा अनेकौँ चमत्कारिक काम गरे । जहाज बनाए । रकेट बनाए । कम्प्युटरको आविष्कार गरे। कृत्रिम पानी वर्षाए । रोबोटको आविष्कार गरे । अनेकौँ बम बनाए । तैपनि मानिसले आफूलाई बेलाबेलामा आक्रमण गर्ने रोगको औषधि समयमा पत्ता लगाउन नसक्दा अहिले बन्द कोठामा खुम्चिएर बस्न बाध्य बनायो । यस धरतीका सबै जीव तथा प्राणीहरू वृद्धि हुनका लागि साथै आफूलाई चलायमान हुन मन पराउँछन् । सायद जीवित प्राणीको लक्ष्य पनि यही हुन सक्छ । जीवनमा केही गर्छु भन्ने मानिस यसैगरी महिनौँ दिनसम्म कोठामा बन्द भई बस्नुपर्दा कतिको मन भतभती पोलेको हुनसक्छ । मैले सयौँ महापुरूषहरूको जीवनी पढ्ने मौका पाएको छु । विश्वका कयौँ महापुरूषहरू चाहे स्वतन्त्र रहून् तथा जेलको बन्द कोठामा बसून्, तिनीहरू सबैले केही न केही काम गरेर समय बिताएको मैले पाएको छु । सायद यही कुरालाई मनन गरेर होला भानुभक्तले “ज्युँदै मर्याको भनी नाम कसको ? उद्यमबिना बित्दछ काल जसको !” भनेर लेखेका । समय त्यसै खेर फाल्नुभन्दा आफ्नै हैसियतअनुसार सबैले केही न केही गरेर समय बिताएको राम्रो देखिँदो रहेछ । सायद प्रगतिको बाटो पनि यही होला । महात्मा गान्धीले पनि त्यसै बस्नुभन्दा जुम्रा हेरेर बस्नु भनेका । यही कुरालाई मध्येनजर गरी मैले पनि बन्दाबन्दीको समयलाई भरपूर सदुपयोग गर्न खोजेको छु । स्पष्ट रूपमा रूपमा भन्नुपर्दा- घरायसी काममा दाउरा जम्मा गर्ने, अन्न तथा तरकारी खेती गर्ने, फलफूल (सुन्तला) गोड्ने तथा मलजल गर्ने, बन्दै गरेको घरको मर्मत गर्ने, घर वरपर सफा राख्नुका साथै इच्छा लागेका दर्जनौँ पुस्तक, पत्रपत्रिका पढ्ने र आफूभित्र गुम्सिएर बसेका केही रचनाहरू कापीमा उतार्ने साथै रेडियो र टिभीतिर पनि केही ध्यान दिँदै यतिबेलाको समयलाई बिताइरहेको छु । #मिलन समीर #शम्भु अर्याल #स्याङ्जा