साँवा अक्षर (कखरा)मा बाह्रखरी (मात्रा) मिल्नाले भाषा समृद्ध र अर्थपूर्ण बनेजस्तै देशको समाजिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको स्थूल स्वरूपलाई विवेचनात्मक दृष्टिबाट अथ्र्याइएमा मात्र जनताले देशको गति र शासनको नियत बुझ्ने विश्वास लिएर त्यसको भित्री एवं समग्र स्वरूप जनता समक्ष प्रस्तुत गर्ने जमर्कोमा यो अनलाइन खबर पत्रिका बाह्रखरी उपस्थित भएको छ । हामी आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हौँ भन्न हिचकिचाउँदैनौ भने गरिब र पिछडिएका जनताका पक्षमा सरकारको सशक्त उपस्थिती र लोकोपकारी कार्यकारीको महत्वलाई पनि अस्वीकार गर्दैनौ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैनौ । नेपालको वर्तमान राजनीतिक परिवृत्तमा सबैले आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा परिचित गराउने तर विचार, व्यवहार र कार्यशैलीमा बहुलता स्विकार गर्न नसक्ने विडम्बना देखिएको छ । कतिपय अवस्थामा लोकतान्त्रिक राजनीतिका पक्षधर भन्नेबित्तिकै निश्चित राजनीतिक दलसँग आबद्ध भनेर ठान्ने सोच कायमै छ । तर सबै राजनीतिक दल, हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तररूपमा अघि बढाउनु बाह्रखरी खबर पत्रिकाको विशेषता हुनेछ । जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताकोअधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् बाह्रखरी यहाँहरू समक्ष उपस्थित भएको छ । जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । खानेपानी, बिजुली, इन्धन, यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन । बाह्रखरीले कुनै पनि सरकारको मूल्यांकन जनताले पाएको सेवाका आधारमा गर्नेछ । भ्रष्टाचार, कालोबजारी, करछली र जनतालाई आर्थिक, सामाजिक तथा शारीरिक शोषण गर्ने कुनै पनि समूह, व्यक्ति वा प्रवृत्तिविरूद्ध समाजलाई जागरुक बनाउने एउटा अभियानकै रूपमा बाह्रखरीलाई यसका शुभचिन्तकले मान्ने र माया गर्ने विश्वास हामीले लिएका छौँ नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्नेछौँ । देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनुमा बाह्रखरीको दैनिक क्रियाकलाप हुनेछ । हामी कस्तो र कुन प्रकारको पत्रकारितामा विश्वास गर्छ भन्ने हाम्रा मूल्य र मान्यता पारदर्शी बनाउने उद्देश्यले हामीले बाह्रखरीको आचार संहिता पनि सार्वजनिक गरेका छौँ । हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।

विद्या भट्टराई भन्छिन्– त्यसदिन मैले उहाँ (रवीन्द्र) लाई शुभयात्रा पनि भन्‍न पाइनँ

पोखरा । मर्नेहरुले केही पनि लाँदैनन् भनिन्थ्यो तर रवीन्द्रले विद्याको सिन्दुर लिएर गए । उनको सिन्दुरसँगै पखालिए रवीन्द्रका सपना र योजनाहरु अनि चंगाको धागो चुँडियो चुँडियो विद्याका माया । भविष्यप्रतिको सुन्दर कल्पनाहरु एकाएक विलिन भए। विद्याले पति गुमाइन् । स्वराज र विराजले पिता ।

मर्नेहरु त बस रित्तो हात, एकै थोपा आँसु नझारी गए, बरु तारा बनेर आकाशमा मुस्कुराईरहे बाँच्नेहरु पो जानेहरुको यादमा रोई-रोई बाँचिरहेछन्, काँपेको धर्तीमा उभिएर आफैँ काँपिरहेछन् ।

अहिले यस्तै हालमा छन्, नागरिक उडड्यन, पर्यटन तथा संस्कृति मन्त्री स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई । फागुन १५ गते ताप्लेजुङमा भएको विमान दुर्घटनामा ज्यान गुमाएपछि स्व. अधिकारीको मालेपाटनस्थित घर मौन छ । सोमबार उनको पुण्यतिथीको १३ औँ दिन पुगेको छ । उनको काजक्रिया भने ७ दिनमै सकिएको छ । आइतबार घरमा पुग्दा शुभचिन्तकको भीड उत्तिकै थियो । तर, त्यो भिडका सबैको अनुहारको औंशीको रातझैं, निभेको मैनबत्तीजस्तो थिए।

मनमा पीडा राखेर अनुहारमा कृतिम हाँसो छर्दै विद्या शुभचिन्तकको सम्मानमा जुटिरहेकी थिइन् । निधारमा पहेँलो टिका लगाएकी विद्याको जीवनको रंग पनि पहेँलै भइसक्यो। तै पनि सम्हालिनुको विकल्प थिएन। एकैछिन कुरा गर्न आग्रह गरेपछि सहजै समय दिइन् ।

पतिभन्दा धेरै अभिभावक र त्योभन्दा धेरै जीवनका हरेक आरोहअवरोहका सहयात्री गुमाएकी विद्‍याको त्यो सहजपनाले उनको साहस झल्काउँथ्यो, जुन आम मानिसको लागि एक अपवाद नै हो । रवीन्द्र, रवीन्द्र बन्नुपछि उनले गरेको योगदान, राजनीतिक त्याग खुलाउँदै उनले भनिन्, म फ्रेस देखिए पनि म अझै 'ट्रमा' मा छु । रवीन्द्रसँगको भेटघाटदेखि २१ वर्षे वैवाहिक सम्बन्ध र राजनीतिक जीवनाका पाना उनले यसरी खोलिन् ।

राम्रो चिनजान भएको २०५० पछि हो । चिन्न त म त्यो भन्दा अगाडि नै विद्यार्थी साथित्वको हिसाबले चिन्थेँ । २०५० को हेटौँडामा सम्पन्न अनेरास्ववियुको १२ औँ राष्ट्रिय सम्मेलनमा उहाँ कोषाध्यक्षमा निर्वाचित हुनुभयो । म महिला विभाग प्रमुख थिएँ । पछि अर्को अधिवेशनमा उहाँ महासचिव बन्नुभयो । म महिला विभाग प्रमुख नै बनेँ । त्यतिबेला ११ जनाको सचिवालय सदस्य बन्यो । त्यो अधिवेशनदेखि नै संगठनभित्र दुईवटा धार देखिएका थिए । बामदेव गौतम नेतृत्वमा माले गठन हुँदा सचिवालय भित्र ५-५ जनाको मत विभाजन भयो । म त्यतिबेला निर्णायक थिएँ । हामी पार्टी विभाजन पछि पनि सँगै भयौँ ।

हाम्रो सम्बन्ध निकै अगाडि बढिसकेको थियो । त्यतिबेला संगठनभित्र नै सम्बन्धलाई लिएर विवाद बनाउन खोजिन्थ्यो । मेरो खुट्टामा समस्या थियो । त्यही कारण देखाएर रवीन्द्रले विद्यालाई विवाह गर्दैन्, प्रेमको भ्रम मात्र छरेको हो भन्ने एउटा जमात थियो । अर्कोचाहिँ हामीलाई समर्थन गर्ने समूह पनि थियो । यो प्रसंग किन जोड्न खोजेको भन्दा महिलाको स्वतन्त्र विचार लिने गरिन्नथ्यो । अहिलेपनि यो कायमै छ ।

२०५६ मा हाम्रो विवाह भयो । म भने पछि अनेमसंघतर्फ लागेँ । कार्यालय सचिव भएर काम गर्थेँ । त्यसपछिदेखि नै म राजनीतिमा त्यति सक्रिय हुन छाडेकी थिएँ । मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ। उहाँ (रवीन्द्र) ले मलाई कहिल्यै यो, त्यो गर्न भन्नुभएन । मैले राजनीतिमा विस्तारै निष्क्रिय हुँदा उहाँले कहिल्यै किन भनेर सोध्नुभएन, आफ्नो रुची अनुसार नै अगाडि बढ्न भन्नुहुन्थ्यो । हात हालेका कुरामा अब्बल हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।

हामी अनुहार हेरेरै कुरा बुझ्थ्यौँ । म बिहानको समयमा प्राय खाली हुन्थेँ । खाली समय सदुपयोग गर्न एउटा कलेजमा प्राध्यापन गर्ने भन्ने सोच्दैँथे । एउटा कलेजमा कुरा पनि भईसक्याथ्यो । एक दिन मैले उहाँलाई सुनाए । उहाँले केही दिन पर्खिन भन्नुभयो । त्यसको केही दिनपछि उहाँ मन्त्री बन्नुभयो । म कलेज पढाउन आउन भ्याउँदिन भने । रवीन्द्र मन्त्री बनेपछिको पछिल्लो एक वर्ष धेरै समयसँगै रह्यौँ । विवाहपछि नै धेरै समयसँगै बिताएको उहाँ मन्त्री बनेपछि नै हो । हामीबीच समझदारी धेरै थियो । दुबैले एक अर्काको अनुहार हेरेर कुरा बुझ्थ्यौँ । विवाहको निम्ता मान्न जाँदा होस्, वा कुनै सामाजिक कार्यमा ।

उहाँले भन्नुहुन्थ्यो, समय के छ, मिल्छ भने जाँदा हुन्छ नि । उहाँले मलाई कहिल्यै कर गर्नुभएन । मेरो अनुहार हेरेरै कुरा बुझ्नुहुन्थ्यो । मेरा साथीहरुले पनि एक-दुई कुराहरु भन्न भन्थेँ, सहयोग गर्न भन्थे । मैले पनि उहाँको अनुहार हेरेर कुरा गर्थेँ । कहिलेकाहिँ त ३-४ दिनपछि पनि । मैले साथीहरुलाई भन्थे, म तपाईहरुको कुरा भन्छु, तर आजको आजै चाहिँ नहुन सक्छ है । साथीहरुले पनि कुरा बुझ्थेँ ।

नेवानि डुबाउन खोजिँदैछ

पहिलोपटक एभिन्युज टिभीमा हेरेकी थिएँ । उहाँले सबैलाई समान व्यवहार गर्न खोजेर भाइको सम्बन्धले कुरा गर्नुभएको थियो । पछि उहाँले भन्नुभएको थियो- "मैले सबैलाई समान व्यवहार गरेको हुँ ।" कलेज पढाउने साथीहरुले पनि रवीन्द्रलाई फसाउन खोजिँदैछ भन्थे । मैले एकदिन एकान्तमा नै सोधेँ, यो विषय के हो ?

उहाँले भन्नुभएको थियो, मैले केही गलत गरेकै छैन । सबै प्रक्रिया अगाडि नै सुरु भएको हो । न मैले कहीँ हस्ताक्षर गरेको छु, न कहीँ निर्देशन दिएको छु । यत्ति हो कि अन्तिम किस्ता नबुझाएको भए जहाज आउने थिएन, भन्नुहुन्थ्यो । पटक-पटक सोध्नु राम्रो हुँदैन । म आफैँ विश्वस्त थिएँ, यो सबै आरोप मात्र हो, आक्षेप मात्र हो । केही निजी कम्पनीहरुले नेपाल वायुसेवा निगम डुबाउन खोजेको उहाँले भन्नुहुन्थ्यो ।

मैले शुभयात्रा भन्न पाइनँ

हरेक दिन क्वार्टरबाट निस्कने बेलाँ मैले शुभयात्रा भन्ने गर्थेँ । म बिहानै उठेर अर्को कोठामा व्यायाम गर्दै थिएँ । उहाँ सुत्नुभएको थियो । उठाइन । पछि उहाँ उठ्नुभएछ । मलाई व्यायाम गरेको देखेर बोलाउनुभएनछ । पछि भन्नुभएको थियो । मैले हो र भनेँ ।

स्वास्थ्यमा उहाँले खासै ख्याल गर्नुहुन्थेन । बरु सोध्नुहुन्थ्यो, म कस्तो देखिएको छु, के खाँदा ठिक होला । त्यो दिन बिहान पनि उहाँले मलाई एकदम निद्रा पर्‍यो नि विद्या भन्नुभयो । म आज फ्रेस छु नि । मैले पनि अँ आज फ्रेस देखिनुभएको छ भनेँ । पछि चियाँसँगै खायौँ । एक छिनमा निस्किन्छु भन्नुभयो । म पनि साढे ९ मा निस्किनुपर्ने ।

सँधै म त्यस्तो बेला तल आएर शुभयात्रा भन्थेँ । अरु बेला बिहान खाली हुन्थेँ भन्न भ्याउँथे । अहिले रिसर्च सेन्टरमा काम सुरु गरेको छु । म नि साढे ९ मा पुग्नैपर्ने । म पनि हतारमा भएँ । म तल झरिनँ । पछि तल आउँदा उहाँ गइसक्नुभएको रहेछ, मैले सर जानुभयो भनेको त जानुभयो भने । मैले शुभयात्रा भनिनँ भन्ने लाग्यो ।

त्यो चाहिँ मेरो लागि एउटा... त्यस्तो दिन भयो एकाएक बादलले संसारको उज्यालो दिन घामलाई छेकेजस्तै । त्यो दिनको क्षण रमाइलोबाट नरमाइलो बन्यो ।

आङछिरिङसँग मेरो चिनजान आजभन्दा करिब २७ वर्ष पहिले भएको हो । मैले गल्फ खेल्ने सिलसिलामा रोयल नेपाल गल्फ क्लबमा हाम्रो पहिलो भेट भएको हो । दुईचार पटकको भेटमै हामीबीच धेरै कुरा मिल्ने पायौं र हामी साथी भयौं । प्रायः जसो, हामी सँगै खेल्थ्यौं । कहिलेकाहीँ मात्र ग्राहकसँग खेल्न आउँदा उसको अन्तै खेल्न जाने बाध्यता हुन्थ्यो । नत्र हामी सँगै खेल्थ्यौं । म आफ्नो गाडी लिएर उसको घरनजिक पुग्थें, ऊ बाहिर निस्किन्थ्यो । मेरै गाडीमा सधैं सँगै जान्थ्यौं।

हामी हप्ताको पाँच दिन खेल्थ्यौं । चार दिन रोयल नेपाल गल्फ क्लबमा । अरु दिन दैनिक २ घन्टा खेल्थ्यौं । शनिबार बिदाको दिनचाहिँ हामी गोकर्ण जान्थ्यौं, दिनैभर खेल्थ्यौं । त्यसरी सुरु भएको हो हाम्रो गल्फ यात्रा । छिरिङ ताप्लेजुङ जाने एक दिन अगाडिसम्म पनि हामी गल्फ खेलिरहेका थियौं । दुर्घटना भएको दिन हामी नखेल्ने उसले मलाई जानकारी दिएको थियो । हाम्रो अन्तिम भेट नै त्यही रहेछ ।

छिरिङ एकदमै 'एम्बिसियस' र निडर व्यक्ति थियो । आँटेको कुरा पुर्‍याउने साहस उसमा थियो । यो एउटा गजबको स्वभाव हो । यसका लागि ऊ कसरी प्लान गर्थ्यो मलाई खासै थाहा थिएन । उ निकै 'फोकस्ड' व्यक्ति थियो । हामी गल्फ खेल्नेबेला उसको कयौं फोन आउँथे । गल्फमा शतप्रतिशत कन्सन्ट्रेट हुनुपर्छ, तर, उसलाई ती फोनले प्रभाव पार्दैन थिए । फोनमा कुरा सक्थ्यो अनि गेममा फर्किन्थ्यो ।

त्यत्रो ठूलो एम्पायर खडा गरेको मान्छे ऊ कयौं प्रेसर हुन्थे होला । तर, ऊ त्यो देखाउँदैन थियो । आफ्नो प्रयास जारी गरिरहेको हुन्थ्यो, काम गरिरहेको हुन्थ्यो । उसको अर्को गजबको भनेको उसको फोनमा मोबाइल नम्बर सेभ हुँदैन थिए । फोन गर्नलाई कन्टयाक्टमा गएर नाम खोज्दैन थियो । नम्बरै डायल गर्दथ्यो । त्यस्तो अद्वितीय स्मरण शक्ति उसबाहेक मैले कसैमा देखेको छैन । एउटा हिसाब नमिलेको विषयमा हामी साथीहरुबीचमा बाजी पर्थ्यो। तर, ऊ सामान्य हिसाबमा करेक्सन गर्दिन्थ्यो ।

ऊ अरुभन्दा रमाइलो तरिकाले खेल्न रुचाउँथ्यो । र, हाम्रो ग्रुपमा उत्कृष्टमध्ये एक खेलाडी थियो, ऊ । ६ ह्यान्डिक्यापसम्म ऊ पुगेको थियो । म उसलाई एउटा साथीको रुपमा सम्झिन्छु, एकदमै ठूलो हृदय भएको साथी । साथीहरुलाई एकदमै सहयोग गर्न रुचाउने । भोलि के हुन्छ भन्ने उसले चिन्ता देखाउँदैनथ्यो । उसको आफ्नो समस्यालाई कहिल्यै अरुको अगाडि ल्याउँदैनथ्यो ।

उसलाई नयाँ ठाउँ जान मन लाग्थ्यो । पूर्वपश्चिमका सबै हिमाली भेग उ पुग्‍यो। 'मलाई डुल्न मन लाग्यो’ मात्र भन्थ्यो । उसको एउटा तस्बिर एकदमै प्रसिद्ध छ । ब्याकग्राउन्डमा सगरमाथा भएको तस्बिरमा उसले गल्फ प्रहार गरेको देखिन्छ ।

हो त्यो स्थानलाई उसले लिने योजना बनाएको रहेछ । मलाई देखाउन लगेको थियो । कोङ्दे भन्ने ठाउँ लुक्लाबाट हिँडेर २ दिन र हेलिकप्टरबाट ७, ८ मिनेटको फ्लाइटमा पुगिन्छ । त्यो स्थानबाट सगरमाथामाथि डाँडा मुन्तिर देखिन्छ । ५-६ वटा ८ हजारभन्दा बढी उचाइका हिमाल पनि देख्न सकिन्छ ।

त्यो बेला उसले गल्फ हान्ने भन्यो । विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी टाइगर उड्स थिए । छिरिङको टाइगरलाई नेपाल ल्याउन इच्छा रहेछ । उसले सँगै लगेको १ नम्बरको उड (ड्राइभर) निकाल्यो । र त्यहाँबाट ५-६ वटा सट प्रहार गर्‍यो। मैले त्यो नियालेर बसिरहेको थिएँ । त्यो बेला म रोयटर्सका लागि काम गर्थें । मैले एउटा तस्बिर खिचें, तस्बिर गज्जबको थियो । छिरिङले बल हानेको र पछाडि एभरेस्ट । त्यस्तो दृष्य त एकदमै विरलै पाइन्छ ।

त्यो फोटो हिट भयो । संसारभरबाट राम्रा प्रतिक्रिया आए । यस्तो ठाउँमा यो मान्छेले कसरी गल्फ हान्यो भनेर सबै छक्क परे । अधिकांश दैनिकको हेडलाइन बनेको रहेछ त्यो तस्बिर । भारतको टाइम्स अफ इन्डियाको फ्रन्ट पेजमा त म आफैंले देखें । त्यो अपूर्व थियो किनभने नेपाली राजा रानीको कलर फोटो त त्यो फेजमा छापेको मलाई याद छैन । एउटा सामान्य नेपालीले गल्फ हानेको फोटो फ्रन्ट पेजमा छापियो ।

घुम्ने योजना थियो । तर, तस्बिर योजनाबमोजिम खिचिएको थिएन । त्यो स्थानमा होटल बनाउने सपना बुनेर मलाई त्यहाँ लिएर गएको रहेछ उसले । मलाई त्यो मान्छेले किन लग्यो भन्ने लाग्यो । यहाँ कहिँ होटल बन्छ ? कसरी सामान ल्याउने, के गर्ने ?

त्यो बेला मैले भनेको थिएँ- नचाहिने कुरा नगर । कहाँ होटल बन्छ ? त्यसको ३-४ वर्षपछि हामी गएका थियौं, होटल बनिसको थियो । ऊ पाइलापाइलामा विजनेस पनि देख्ने मान्छे । ऊ भन्थ्यो- ‘यहाँ गल्फ कोर्स त बन्न दिउँ न त्यसपछि नेपालमा टुरिस्ट कति आउँछन् कति ! हो हाइ-इन्ड टुरिज्म नेपालमा प्रबर्द्धन गर्ने उसको सबैभन्दा ठूलो इच्छा थियो । छिरिङको त्यो सपना सफल भएको भए नेपालमा पर्यटन क्षेत्रमा एक प्रकारको अचम्मको अध्याय थपिन्थ्यो । तर, त्यो सम्भव हुन सकेन । टाइगर उड्सबाट त्यो तस्बिरपछि राम्रो प्रतिक्रिया आएपनि टाइगरको प्रेम स्कयान्डलका कारण टाइगर नेपाल आएका थिएनन् ।

उसको बारेमा कुरा गर्दा उसको ट्राभल एजेन्सी कम्पनी सम्झिन्छु । त्यतिबेला सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने र सबैभन्दा बढी कर तिर्ने कम्पनी उसको थियो । होटलहरुलाई पछि पारेको थियो उसले ।

त्यसको केही समयपछि उसले मलाई नयाँ अफिस देखाउन लग्यो । मैले के गर्न लागेको भनी सोध्दा जवाफ आयो, ‘एयरलाइन्स खोल्ने हो ।’ मलाई ऊ फेरि पागल लाग्यो । फेरि नचाहिने काम गर्न लागेकोमा मैले सुझाव दिएँ, ऊ चुप बसेन । भन्यो, “म नेपालको सबैभन्दा ठूलो एयरलाइन्सको मालिक बन्छु ।” नभन्दै आज उसको कम्पनी नेपालमा सबैभन्दा धेरै उडान भर्दछ ।

यही सम्झिन्छु । उसले एयरलाइन्सको आँट नदेखेको, असम्भव सपना नदेखेको भए आज छिरिङ हाम्रै माझ रहन्थ्यो । ऊ एउटा अचम्मको शक्ति भएको मान्छे थियो । आज बिहान उठ्नेबित्तिकै के गरौं कसो गरौं हुन्छ । गल्फ कोर्स कति दिनदेखि शून्य छ । समय धेरै बलवान चिज हो । धेरै मिस गरेका छौं, हामीले ।

राष्ट्र प्रेमी व्यवसायी हो, छिरिङ । उसले कुनै पनि काममा नेपालीको पैसा विदेश पठाउने वा नेपालको पैसा विदेश पठाउने कुनै पनि काम गरेन । उसले जति पनि काम गर्‍यो नेपाल र नेपालीलाई फाइदा हुने गर्‍यो।

उसले सबै क्षेत्रमा काम गर्‍यो। एयरलायन्स खोल्यो, होटल बनायो । पर्यटकलाई नेपाल एयरलाइन्सलाई हात जोड्नुपर्ने अवस्था अन्त्य गर्‍यो । सेवा दिनका लागि उल्टै आफैं हात जोड्यो । पर्यटकको उद्धार गर्न, घाइतेको उपचार गर्न, पर्यटकलाई राम्रो सुविधा नदिएर विदेशमा नेपालको नराम्रो छाप पर्न नदिन अनुनय विनय गर्थ्यो । जहाँ–जहाँ मान्छेले छोडेको छ त्यहाँ उसले होटल खोलेको छ । गोकर्ण डूब्न लागेको बेला एक्वायर गरेको हो । मुस्ताङमा होटल खोल्ने उसको प्लान थियो ।

उसको एयरलाइन्सले पैसा मात्र कमाइरहेको छैन । दुर्गमका लागि यतिधेरै अन्न ओसारिरहेको छ । विकटका लागि खाद्यान्न ढुवानी गरिरहेको छ । उसमा त्यो क्षमता छ, उसले त्यो पनि गरिररहेको छ । उसले जति पनि काम गरेको छ, भविष्यले त्यसको मूल्यांकन गर्ने छ । मलाई त्यो विश्वास छ । हाइ-इन्ड टुरिज्म उसको अल्टिमेट लक्ष्य हो । एक रातको १ हजार / १२ सय डलरको टिकट बेच्ने योजना उसको थियो । उच्चस्तरको सेवा दिने र सोहीअनुसार लाभ लिने उ सोच्दथ्यो।

पछिल्लो समय भारतको कुम्भमेलालाई नियालेको थियो । १०-१२ करोड पर्यटक कसरी होल्ड गर्ने उसले नियाल्यो । उसले पत्ता लगायो कि फाइभ स्टार होटलजस्तो टेन्ट पाइने रहेछ, त्योबाट सुविधा दिन सके मान्छेले जति पनि पैसा तिर्दो रहेछ ।

अचम्मका कुरा सोच्थ्यो । एकपटक लुम्बिनी जाँदा होटल किन्न मन गरेको थियो । अहिले पछिल्लो समय चाहिँ जलविद्युत्तर्फ सोच्न थालेको थियो । त्यसमा पनि सबैको फाइदा हुने खालको उसले गर्न खोज्थ्यो । एक्लैले गर्ने खालको होइन । त्योचाहीँ उसको एउटा हिन्दीमा बडप्पन भन्छ नि, त्यो थियो उसमा ।

गल्फमा उसको प्यासन थियो । उसैको लागि पनि हामीले गल्फ खेल्न निरन्तरता दिनुपर्छ । यसैका लागि आउने शुक्रबार कार्समा एउटा पूजा गर्ने योजना बनाएका छौं ।

(गोपाल चित्रकारसँग बाह्रखरीले गरेको कुराकानीका आधारमा)

२०७५ फागुन १५ गते वास्तवमा मुलुक अत्यन्त शोकमा परेको दिन हो । त्यो दिन मुलुकले सातजना होनहार व्यक्ति गुमाउन पुगेको छ । विशेषगरी मैले भन्दा तीनवटा क्षेत्रका तीनजना व्यक्ति गुमाउँदा मुुलुककै लागि अपूरणीय क्षति पुगेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र प्रशासक युवराज दाहालको हेलिकोप्टर दुर्घटनाले वास्तवमा तीन क्षेत्रका खम्बा गुमाएको महसुस मैले गरेको छु ।

दुर्घटनाको दिनमा समेत १० बजेर ५३ मिनेट जाँदा म दाहाल सरसँग कुराकानीमै थिएँ ।

उहाँले म कार्यक्रममा छु, केहीबेरपछि कुरा गरौंला भन्नुभएको थियो । त्यसपछि उहाँसँग कुरा गर्न पाइएन । केहीबेरपछि अनलाइनहरुमा एकाएक समाचार देखिए । पहिले त मैले हेलिकोप्टर कतै आकस्मिक अवतरण गरेको हो कि जस्तो मानेको थिएँ । केहीबेरपछि अन्त्यन्त दुखद् खबर सुन्नुपर्यो । जुन मुलुकको लागि अपूरणीय क्षति हो ।

रवीन्द्र अधिकारीलाई मैले विद्यार्थी नेता हुँदादेखि नै चिनेको हो । उहाँलाई मैले अझ राम्रोसँग चिन्ने मौका सांसद भइसकेपछि पाएँ । उहाँ सांसद भएपछि विकास समितिको सभापति पनि हुनुभयो । त्यो बेला उहाँको भिजन, काम गर्ने जाँगरलाई मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।

विकास समितिमा रहँदा नेपालको समृद्धिको लागि उहाँले जुन भूमिका निर्वाह गर्नुभएको थियो, त्यो सायदै कसैले गर्न सक्ला । उहाँसँग नजिकमा हुँदा उहाँले गर्न खोजेका विषयमा म जानकार थिएँ । मन्त्री भइसकेपछि पनि उहाँसँग धेरै बस्ने र घुम्ने मौका पाएको थिएँ ।

पछिल्लो समयमा उहाँसँग झापामा रात्रिकालीन उडान सुरु गर्ने बेला पनि सँगै गएको थिएँ । त्यो तयारीका क्रममा उहाँ जानुभएको थियो । त्यही फ्लाइटमा म पनि सँगै थिएँ । तयारीका क्रममा त्यहाँ सानो कार्यक्रम पनि भएको थियो । त्यही फ्लाइटमा युवराज दाहाल सर पनि हुनुहुन्थ्यो । भैरहवा विमानस्थलको निरीक्षणका क्रममा पनि सँगै गएको थिएँ ।

व्यक्तिगत हिसाबमा भन्दा उहाँ अत्यन्त काम गर्न सक्ने युवा नेता हुनुहुन्थ्यो । मुलुकको लागि केही गरौं भन्ने व्यक्ति हुुनुहुन्थ्यो । उहाँको निधनले भावी नेतृत्व गुमाएको मैले महसुस गरेको छु । उहाँको निधन हुनुभन्दा करिब एक साताअघि पनि उहाँसँग भेट भएको थियो । उहाँले तपाईंलाई भारी बोकाउनुपर्नेछ भनेर भन्नुभएको थियो । तर त्यसपछि उहाँसँग भेट हुन पाएन ।

उहाँले आफ्नो मन्त्रालयमा रहँदा छोटो समयमा देखिने परिवर्तन गर्नुभएको थियो । नेपालको पर्यटन क्षेत्रको मात्रै नभएर आर्थिक हिसाबले पनि राज्यको लागि ठूलो क्षति हो उहाँको निधन ।

उक्त दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन व्यवसायीका हस्ती नै हुनुहुन्थ्यो । उहाँमा काम गर्ने जोश, जाँगर अरुको भन्दा निकै फरक थियो । उहाँको निधनले निजी क्षेत्रलाई वास्तवमा ठूलो क्षति पुगेको छ । हस्पिटालिटी क्षेत्रमा नेपालमा उहाँले जत्तिको अहिले कसैले काम गरेको पाइँदैन ।

पर्यटनमा उहाँले गरेको योगदान निकै ठूलो हो । उहाँको काम गर्ने क्षमता कस्तो थियो भने लो प्रोफाइलमा रहने तर निकै महत्वपूर्ण काम गर्नुहुन्थ्यो ।